कथा: आकर्षण - Naya Online

कथा: आकर्षण

निर्दोष जीवन

गोरो वर्ण
आकर्षक शारीरिक बनावट,
ओंठमा कलेजी कलरको लिपिस्टिक ।
आँखामा कालो गगल्स लगाएकी,सेतो टिसर्ट र कालो पाईन्टमाअग्लो हिलमा टकटक आवाजका साथ एउटी सुन्दरी म बसेको कुर्सीको ठीक विपरीत आमने सामने रहनेगरी आएर बसिन् । उनको शरीरबाट महङ्गो विदेशी अत्तरको सुवासना सिधै मेरो नाकमा आएर ठोकिन पुगेपछि हो मैले उनीतर्फ आफ्नो नजर तेर्साएको । यस्तो लाग्थ्यो उनी बलिउड फिल्म नगरीबाट सिधै यहाँ प्रवेश गरेकी हुन् । मैले जब पहिलो पटक आफ्नो नजर उनीतिर लगाएँ मलाई यस्तो लाग्यो म यतिबेला सपना देखिरहेको छु । विश्वास नलागेर मैले आफैलाई चिमोटेँ ।

‘ऐथ्या …आ’ आफुले आफैँलाई चिमोट्दा समेत दुख्दो रहेछ भनेर मैले पहिलोपटक महसुस गरें ।

म सपनामा होइन । पुरै विपनामा थिएँ ।

आँखामा कालो गगल्स भएको कारण मैले उनको सुन्दर मुहारलाई अझै स्पष्टरूपमा देख्न नपाउँदा मनमा एक किसिमले उनले लगाइरहेको गगल्स एकपटक निकाले हुन्थ्यो झैं भएको थियो । तर मनले चाहेजस्तो हुन सकेन । गगल्स मै उनको मुहारको विचरण गरिरहेँ ।

उनी को हुन् अनि कहाँबाट आएकी हुन् ? मलाई केही पनि थाहा थिएन ।

थाहा होस् पनि कसरी ?

जब कि उनलाई मैले यो भन्दा अगाडि कहिल्यै देखेको याद छैन । एक मनले त उनीसँग परिचय गरुँ झैँ लागेको थियो ।

फेरि सोंचे !

न उनले मलाई पहिले कतै देखेकि छन् नत मैले नै उनलाई । विना प्रसङ्ग के भनेर परिचय गर्नु ?

मनमा निकै दुविधा भयो । एक मनले भन्छ यस्तो मौका फेरि आउँदैन । अर्को मनले भन्छ यतिका मान्छेहरू भएको बेला परिचय गर्नु उपयुक्त समय होइन । मैले दोस्रो मनको आवाजलाई सुनेँ र कार्यक्रमतर्फ आफ्नो ध्यान केन्द्रित गरेँ ।

कार्यक्रम सञ्चालकले सम्बोधन गर्दै भने –“आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण संगीतप्रेमी महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु ।”

निशाको स्पर्श म्युजिक एल्बम विमोचन नाम लेखिएको एउटा सुन्दर व्यानर मञ्चमा टाँगिएको थियो ।

सञ्चालकले पुनः सम्बोधन गर्दै थिए “आज हामी यहाँहरू माझ एउटा म्युजिक एल्वमको विमोचन गर्न गइरहेका छौँ । हाम्रो बिचमा यतिबेला एल्वमकी गायिका निशाको आगमन भैसकेको हुँदा अब हामी कार्यक्रमलाई कत्ति पनि ढिलो नगरी एल्वम विमोचनतर्फ जाने छौं । निशा जीलाई अगाडि मञ्चमा आउन अनुरोध गर्दछु ।

मेरो सामुन्नेमा बसिरहेकी उनै सुन्दरीको नाम रहेछ निशा । उनी गायिका पो रहिछन् । गीत संगीत त मलाई पनि असाध्यै मन पर्छ । एक किसिमले मनलाई यतिबेला सुकुन मिल्यो । अचानक मेरो मनमा बेग्लै प्रकारको खुशी प्राप्त भैरहेको महसुस हुन थाल्यो । उनी गायिका रहिछन् र आज उनैको एल्वम विमोचन रहेछ ।

कार्यक्रमका प्रमुख अतिथिको हातबाट एल्वमको विमोचन भयो । विमोचन पश्चात् एल्वममा समावेश भएका गीतहरू मध्येबाट निशाले म्युजिक ट्रयाकमा केही गीत पनि गाइन् । उनको स्वर पनि असाध्यै मीठो रहेछ ।

यतिबेला भने मेरो मनमा कता कता निशाले डेरा जमाउन पुगेको जस्तो महसुस गर्दै थिएँ । उनी हेर्दा पनि अप्सराजस्तै देखिन्थिन् । त्यसमाथि पनि उनी संगीत प्रेमी रहिछन् । अब भने मलाई निशा प्रेमी हुने चाह विस्तारै बढ्दै गएको आभाष हुँदै थियो । तर विडम्बना निशासँग भने मेरो कुनै सामान्य परिचय समेत थिएन ।

आखिर मन न हो कहिलेकाहीँ त्यसै बहकिन्छ । मन उडेर माथि–माथि बादल छुन पुगिदिन्छ । कहिलेकाहीँ आफ्नै मनलाई समेत कन्ट्रोल गर्न नसकिंदो रहेछ । यतिबेला मलाई यस्तै भैरहेको थियो ।

कार्यक्रममा उपस्थित हुनेहरूलाई सामान्य चियापानको व्यवस्था गरिएको रहेछ ।

म परेँ चियाप्रेमी
चिया पाएपछि मलाई अरु के चाहियो र ?
म सिधै चियाको कन्टेनरतर्फ लम्किएँ
संयोग भनुँ कि के भनुँ ?
निशा मेरो अगाडि टि कन्टेनरको सामुन्नेमा दुईवटा हातमा एक एकवटा कफमा चिया लिंदै रहिछन् ।

मैले सोंचे निशाको हातमा भएको दुईवटा कप मध्ये एउटा कप निशाले आफ्नो लागि र अर्को कप निशाले आफ्नो कोही प्रिय मान्छेका लागि समाएको हुनुपर्छ भनेर मैले मनमनै अड्कल काटिरहेँ । म निशाको छेवैमा उभिएको थिएँ । उनले मतिर नजर लगाउँदै मुसुक्क हाँसिन् र उनको हातमा चियाले भरिएको एउटा चियाको कप म तिर लम्काउँदै “लिनुस् चिया यो तपाईंका लागि® भनिन् ।

म निकै अचम्मित परेँ ।

चियाको कप समाउनु कि के गर्नु

म निशालाई हेर्दै आफैमा दङ्ग खाएँ ।

“लिनुस् न चिया”

उनले दोस्रोपटक भनेपछि मैले चियाको कप समाउन बाध्य भएँ । एक पटक फेरि पनि मनमा यो सपना हो कि विपना भन्ने लागिरह्यो । तर यतिबेला म विपनामा नै छु भनेर म एकिनका साथ भन्न सक्थें । उनी चियाको कप मेरो हातमा थमाएर आफ्ना साथीहरूको माझमा पुगिन् । म उनले मेरो हातमा थमाइदिएको चियाको कपलाई बडो प्रेमपूर्वक हेर्दै चियाको चुस्कीमा रमाउन पुगें । जीवनमा चिया कति पटक पिइयो त्यसको कुनै हिसाब छैन तर आज पिएको चियाको स्वाद जस्तो पहिला पिएको चियामा पक्कै पनि थिएन । किनकि आजको चियाको स्वाद सायद म मेरो जीवनकालमा कहिल्यै बिर्सन सक्नेछैन । किनकि आजको चिया अरु कसैले होइन एक सुन्दरीले प्रेमपूर्वक मेरो हातमा थमाएर गएकी थिइन् ।

म चियाको स्वाद लिंदै कहिले मीठो कल्पनामा हराउन पुग्थे त कहिले आँखा निशा भएतिर फाल्थें । निशा आफ्ना साथीहरू र शुभचिन्तकहरूबाट बधाई र शुभेच्छा लिदैंमा व्यस्त थिइन् । म भने एउटा कुना छेऊ पक्रेर निशालाई नै नियाली बसेको थिएँ । प्रेमको नजरले हेरिरहेको थिएँ । मलाई कता कता निशासँंगको भेटले म आफैलाई निशाप्रति धेरै नै नजिकिँदै गइरहेको महसुस हुन थालेको थियो । मेरा आँखाहरू निरन्तर निशा तर्फ नै अडिरहेका थिए । मान्छेहरू पातलिंदै गइरहेका थिए त्यही मौका छोपेर मेरो मन निशाको समीप पुग्न खोजिरहेको थियो । चियाको कप नजिकैको डस्ट्विनमा राखेर म निशाको नजिक पुगेँ ।

आफ्नो परिचय दिंदै भनें ‘म विवेक शर्मा’ ।
निशा – धेरै धेरै धन्यवाद हजुरलाई मेरो कार्यक्रममा आएर कार्यक्रमलाई सफल पारिदिनु भएकोमा ।
म – तपाईंलाई एल्बमको सफलताको शुभकामना साथै बधाई छ । तपाईंको स्वर साह्रै मीठो रहेछ ।
निशा – धन्यवाद । मेरा गीतहरू सुनेर कस्तो लाग्छ सल्लाह सुझाव दिनु है ?
म – भैहाल्छ नि !

हातको घडी हेर्दै आफूलाई निकै हतार भएको जस्तो गरेर म निशासँग बिदा भएँ । हतार पनि किन नहोस् निशासँग कुराकानी तन्काउनलाई हामी बिच कुनै त्यस्तो पुरानो चिनजान पनि त थिएन । हामीबिच पहिलोपटक भेट भएको थियो । त्यो पनि अकस्मात् भेट ।

बेलुका खाना खाएर बेडमा पल्टिंदै गर्दा निशालाई नै सम्झिएँ, निशाकै बारे कल्पिएँ ।
कति राम्री केटी ‘कति मीठो आवाज’ मान्छे पनि फरासिली रहिछे ।
यस्तै सोंच्दै थिएँ ।

पाइन्टको गोजीबाट मोबाइल निकालें । फेसबुकको भित्तामा निशाको नाम सर्च गरें । थुप्रै निशाहरूको प्रोफाइलको बिचमा मैले सर्च गरेको निशालाई भेट्टाउन सफल भएँ ।

तुरुन्तै निशाको फेसबुक प्रोफाइल भित्र प्रवेश गरें । उनका सुन्दर सुन्दर तस्विरहरू नियालें । ठुला ठुला सुन्दर आँखा, त्यस्तै ठुला सुन्तलाका केस्रा जस्ता ओंठ, टमक्क परेको मोहनी लाग्ने उठेका छाती हरेक तस्विर जुुम गरिगरी हेरिरहें । हरेक तस्विरहरू उत्तिकै सुन्दर थिएँ । आखिर मान्छेका तस्विरहरू सुन्दर देखिनलाई पनि त मान्छे स्वयं सुन्दर हुनुपर्छ नि हैन र ? मनले मनसँंग यस्तै बातचित गरिरह्यो । अब भने मेरा आँखाहरू निशाका तस्विरलाई छाडेर निशाले फेसबुकमा पोष्ट गरेका उनका स्टाटसहरू तर्फ केन्द्रित हुुन पुगेँ ।

उनका केही प्रेमिल स्टाटसहरूले मनमा बेग्लै किसिमको तरङ्ग उत्पन्न गरिदियो । मान्छेजस्तै सुन्दर स्टाटसहरूले मेरो मन विस्तारै निशातिर खिचिंदै गइरहेको थियो ।

यत्तिकैमा “खै उठ्नु विस्तारा लगाउनु पर्यो । यो छोरा मान्छेको जातलाई विस्तारा जस्तो सुकै भए पनि पल्टिन पाए हुने” श्रीमतीको अप्रत्याशित आवाजले निशातिरको मेरो ध्यान भङ्ग हुनुपुग्यो ।

श्रीमतीले भनेको कुरा त मान्नै पर्यो ! नत्र आफैलाई समस्या पर्छ । विस्ताराबाट उठ्दैगर्दा मैले निशालाई फेसबुकमा फ्रेण्ड रिक्योस्ट पठाईसकेको थिएँ । श्रीमती जी विस्तारा मिलाउँदै गर्दा म भने मोबाइल हातमै लिएर बाथरुम प्रवेश गरें । वास्तवमा यतिबेला मलाई न त पिसाब लागेको थियो न त दिशा नै !

निशाले कतिबेला मेरो फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गर्लिन् र निशासंग कुरा गरुँला भन्नेमात्र ध्यान थियो । करिब दश मिनेट यही मोडमा बसिरहेँ । यतिबेला सम्म पनि निशाले मेरो फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गरेकि थिइनन् । आज उनको एल्वम विमोचन भएको दिन । घरमा पारिवारिक जमघट भएर सायद अनलाइन आउन भ्याइनन् भन्ने ठम्याँईका साथ निशालाई एउटा मेसेज यसरी लेखी पठाएँ… हाई निशा जी म विवेक, दिउँसो तपाईँको एल्वम विमोचन कार्यक्रममा हाम्रो भेट भएको थियो । यति लेखेर म अफलाइन हुँदै बाथरुमबाट बाहिर निस्किएँ ।

अनि बाबू नानीले खाना खाए त ? श्रीमती तर्फ प्रश्न तेर्साउँदै सोधेँ ।

श्रीमती – हैन तपाईं कस्तो खालको मान्छे हो भनेको ?अगि छोराछोरीसँग सँगै टेवलमा बसेर खाना खाएको होइन ? हैन तपाईंको दिमागमा के चाहिँ कुरा नाचिरहेको छ र यति छिट्टै बिर्सिने ?

म – हैट ! दिमाग के भएको होला मेरो ? हो त छोराछोरीसँग टेवलमा संगै बसेर खाना खाएको हुँ कसरी बिर्सिन पुगेछु हँ ? आफैसँग प्रश्न गरें । ध्यान जति निशाले खिचिछन् भन्ने कन्फर्म भयो ।

श्रीमती – हैन के भयो हजुरलाई ?, किन टोलाउनु भएको ? कि कुनै तरुनीले तपाईंलाई टुनामुना लगाई ?

म – मनमनै “कस्तो ठ्याक्कै पारेकी ! तिमी ज्योतिषी हौ क्या हो “भन्न मन त लागेको थियो तर भन्न मिलेन ।

“ह्या तिमी पनि के के पो सोचिं पठाउँछेऊ भन्या खै मलाई थकाई लागेको छ म सुत्छु “भन्दै पलङ्को देब्रे कुना तिर गएर पल्टिएँ ।

श्रीमती – त्यही त, कत्तिन बारी जोतेर आएको झैं थकाइ लाग्यो रे ? हैन आजभोली तपाईँलाई के भएको हो कुन्नि ! परिवार प्रति कुनै ध्यान नै दिनुहुन्न । परिवारमा कसैको मतलवै राख्नुहुन्न । के भएको छ हो तपाईंलाई ? हेर्नू है बुढा मलाई त तपाईंको चालामाला निको लागिरहेको छैन ।

म – ए कति कचकच गरेकी के तिमी । सुत न हो बत्ति निभाएर, भोलि कुरा गरौंला नि !

श्रीमती – तपाईंले यस्तो त कति पटक भनिसक्नु भो !

बिहान नौ बजेसम्म तपाईंलाई निन्द्राले छोड्ने होइन । चिया त विस्तारामैं टक्राईदिनुपर्छ । मसँग, छोराछोरीसँग कुरा गर्ने फुर्सद हुनु पर्यो नि हजुरलाई ।

खाना खाएर हिंडेको मान्छे एक्कासि बेलुका हो घरमा आउने । कसैको मतलव छैन तपाईंलाई ।कमसेकम छोराछोरीलाई त समय दिनुस् । उनीहरूलाई कतै घुमाउन लैजानुस् । खुशी हुन्छन् ।

म – श्रीमतीको कुरा सुनेर पनि नसुने जस्तै गरि कताकता हराए जस्तो हुँदै यसरी सोंच्न पुग्छु …
उसलाई लाग्दो हो कि मैले उसका लागि र परिवारका लागि समय दिन सकिन भनेर, कति गुनासोका पोकाहरू फुकाउन मन छ होला मेरा सामु उनलाई । म भने यस कुरा प्रति खासै गम्भीर हुन सकिरहेको छैन । उनका पनि त रहरहरू होलान् । मन भरी थरिथरिका सपनाहरू होलान् ।

कतिपय अव्यक्त चाहनाहरू मन भित्रै गुम्सिएका होलान् । आफ्नो श्रीमान्को साथमा कतै टाढा छोराछोरीलाई पनिसंगै लिएर घुम्न जाने रहर, केही आफ्नो खुशीका लागि भने केही सन्तानका खुशीका लागि तर यी सबै कुराहरू कल्पनामा मात्रै सिमित हुनपुगेकाछन् । एकदिन यीनै कल्पनाका कुराहरू जीवनमा यथार्थ भएर आउनेछन् भन्ने विश्वासको साथ निदाउन पुग्छु । ऊ भने एकोहोरो फलाकिरहेकी थिई । सायद उसका कुराहरूलाई मैले बडो ध्यानपूर्वक सुनिरहेको छु भन्ने लागेर होला पुराण सुनाए झैं भट्भट्याई रहेकी थिई । म निदाइसकेको छु भन्ने कुरा बिचरीलाई थाहा भएको भए यसरी आधारात सम्म कराउने पनि थिइन होला ।

विहानपख मलाई निन्द्राले छोड्यो । बेड नजिकै रहेको टेवलमा भएको मोबाइल समाउँदै फेसबुक खोलें । निशाले मेरो फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गरेर धन्यवादका केही शब्दहरू समेत लेखी पठाएकी रहिछिन् । एक प्रकारले एका बिहानै मनमा खुशीको मीठो तरङ्ग पैदा हुन पुग्यो । मैले पनि पुनःगुड मर्निङ भनेर लेखें ।

निशा पनि अनलाइन मै रहिछिन् क्यारे उताबाट पनि रिप्लाईमा गुड मर्निङ भनेर आयो । केही बेरको कुराकानी पश्चात् दिउँसो कतै कफि सपमा भेटेर कुरा गर्ने सहमतिमा एक अर्काको मोबाइल नम्बर आदानप्रदान गर्दै बिदा भैयो । निशाले यसरी सजिलोसँग भेट्न राजी होलिन् जस्तो मनमा पटक्कै लागेको थिएन । कहिलेकाहीँ जीवनमा नसोचेको कुरा भैदिंदो रहेछ ।

ओछ्यान बाट उठें, बाथरुम गई फ्रेस भएँ । त्यतिञ्जेलसम्म श्रीमतीजी चियाको साथमा सिटिङ रुममा आइसकेकी थिइन् । पत्रिका पढ््दै चियाको चुस्कि लिनुको मजा नै बेग्लै नानीबाबु अझै उठिसकेका थिएनन् ।

श्रीमती जी चिया लिएर मेरो छेवैमा आएर बसिन् ।

श्रीमती – सुन्नुन

म – अँ भनन

श्रीमती – हामी कतै जाउन घुम्न परिवारको साथमा हुँदैन ?

म – भैहाल्छ नि ! किन नहुनी । केही समय पर्ख ।

श्रीमती – अनुहारमा खुशीका किरण ल्याउँदै साँच्चै हो नि? कि मेरो कुरालाई यतिकै टार्नका निम्ति भन्नू भएको ?

म – होइन । साँच्चै जाने । मैले पनि सोचिरहेको छु परिवारलाई कतै घुमाउन लैजाउँ कि भनेर ।

श्रीमती – खुशी हुँदै ,ल अब म खानाको तयारी गर्न भान्सामा गएँ ! तपाईंले गोठमा भैंसीलाई अलिकति पराल थुतेर दिनु, डुँडमा पानी राखिदिनु !

म – सिटिङ रुमबाट उठें अनि श्रीमतीले भनें अनुसारको कामधन्दा सकें । निशालाई आज भेट्ने दिन । नुहाई धुवाई गरेर खाना खाएर म निशाले दिएको समय र लोकेसनमा पुगें ।

निशालाई फोन गरें । निशाले आफू साथीको पार्लरमा छु भन्दै थिइन् । मलाई पछाडि फर्केर माथि हेर्न भनी मैले निशाले भने झैं पछाडि फर्किएँ र माथि हेरें । निशा कफि सपको माथिल्लो तलामा रहिछिन् । म सरासर फलामे सिंढी चढेर कफि सपमाको एक शोफामा गएर बसें ।कफि सपको आडैमा निशाको साथीको पार्लर रहेछ ।म शोफामै बसेर निशालाई केही बेर पर्खें ।

निशा – सरि है विवेक जी मैले तपाईंलाई कुराएँ

म – हैन ठिकै छ । सन्चै हुनुहुन्छ नि ? मैले केही फर्मालिटी पुरा गरें

निशा– म एकदम ठिक छु । तपाईंको के छ सुनाउनुस् ।

म – मेरो पनि सबै राम्रो नै छ

यतिञ्जेलसम्म कफिको अर्डर लिन एउटी सुन्दरी हाम्रो छेवैमा आएर उभिसकेकी थिईन् र भनिन् “हजुरहरूको अर्डर के छ ?

म– दुईवटा क्यापाचिनो अर्डर गरें ।

निशाको सामुमा यतिबेला म निकै नर्भस भैराखेको थिएँ । कुराको थालनी कहाँबाट ,कसरी गर्ने भनेर केही मेसोमेलो नै पाइरहेको थिइन । सुनेको थिएँ “सुन्दरीहरूको सामु केटाहरूको पत्लु गिला हुन्छ® भनेर साँच्चै आज मेरो सवालमा यो भनाई सत्य सावित हुन पुगेको थियो । हामी केही बेर दुबैजना मौन रह्यौं ।

विस्तारै निशाले नै कुराको थालनी गर्दै भनिन्

“हजुर के गर्दै हुनुहुन्छ आजभोली?

आफू पनि गीत–संगीतको क्षेत्रमै छु भनेर जवाफ फर्काएँ

निशा – अचम्मित हुँदै वाउ ! कति राम्रो

विवेक जी म त भरखरै मात्र यो संगीतको दुनियाँमा प्रवेश गरेको छु । मलाई तपाईंको फुल सपोर्ट चाहिन्छ है ?

म – आफूले जानेको सम्म सिकाउने र सधैं साथ–सपोर्ट रहने प्रतिबद्धता जाहेर गरें

आकर्षक कपमा कफि हाम्रो सामु टेवलमा आइपुगेको थियो । कफिको चुस्कि लिंदै हामीले विविध बिषयमा कुराकानी गर्दै अगाडि बढ्यौं ।

म – घरिघरि म निशाले थाहा नपाउने गरी उनको सुन्दर मुहारमा एकोहोरो हेरिरहेको हुन्थे । साँच्चै निशा निकै सुन्दरी थिइन् । निशाले लगाएको आकर्षक पहिरनले त झन मेरो मनलाई समेत कब्जा गरिसकेको थियो । कता कता निशालाई मेरो मनले मनमनै मन पराउन थालिसकेको थियो ।

निशा – हजुरको परिवारमा को को हुनुहुन्छ ?

म – निशाको प्रस्नको जवाफ कसरी दिने भनेर निकै दोधारमा परें ।तर पनि अब जवाफ त मैले दिनु नै पर्ने थियो ।मैले आफु पनि विवाहित र एक छोरा ,एक छोरी छौं भनेर जवाफ दिएँ

निशा – कति सुन्दर परिवार रहेछ । अनि म्याडमले के गर्नु हुन्छ ? कि म्याडम पनि संगीत क्षेत्रमै हुनुहुन्छ ? निशाको यो चाहिँ दोस्रो प्रश्न थियो ।

म – होइन । म्याडम टोटल्ली गृहिणी हुनुहुन्छ ।अनि तपाईंको परिवारमा चाहिँ को को हुनुहुन्छ ?मैले पनि निशा सामु प्रस्न तेर्साइदिएँ

निशा – मेरो एउटा बाबू छ । म हालसालै मात्र बिदेशबाट नेपाल आएको हुँ । मेरो म्युजिक एल्बमको कामले गर्दा म अहिले नेपाल छु । सर चाहिँ बाहिर नै हुनुहुन्छ । भिषाको प्रोसेस भैरहेको छ । भिषा प्रोसेस सफल हुनासाथ म बाबुलाई लिएर बाहिर जानेछु ।

म – मैले कल्पना नै नगरेको कुरा एक्कासि मेरो सामु निशाले भरररर भनिदिंदा म निकै अचम्मित भएँ । सोचेको थिएँ, निशा अनम्यारिड होलिन् भनेर । तर यहाँ कथाले अर्कै मोड पो लिएर आयो । यतिबेला मेरो मन भरङ् भएर उध्रियो । कता कता नमजा अनि निकै असहज लागिरहेको थियो । तर पनि निशाको सामुन्नेमा मैले सबै कुरालाई सहज मानिलिएँ ।मैले पनि आहा ! कस्तो सुन्दर परिवार निशाकै शैलिमा व्यक्त गरिदिएँ ।

केही बेरको कुराकानी पश्चात् हामी कफि सप बाट उठ्यौं । काउन्टरमा कफिको बिल मैले नै बुझाएँ ।

निशा – मेरो एक छिन पार्लरमा सानो काम बाँकी छ । फेरि भेटौंला है भन्दै निशाले बाई भन्दै पार्लर तिर छिरिन् ।

मैले पनि हस् भन्दै टाउको हल्लाउँदै घरतर्फ लागें । मान्छेको जीवनमा नसोचेको पनि हुन्छ भन्थे हो रहेछ । निशालाई भेटेपछि मैले धेरै थोक गुमाउन पुग्दाको बेला निरास भए जस्तै हुन पुगेको थिएँ । घरमा पनि कतिबेला आइपुगें पत्तै भएन ।मनमा अनेकौं कुराहरू खेलिरहेका थिए । कतै निशाले मसँग झुट त बोलेकि होइन भन्ने पनि लाग्यो । फेरि सोंचे आखिर मसँग निशाले झुट बोल्नु पर्ने त्यस्तो कारण नै के थियो र ?निशाको कुरा सत्य हो भनेर मेरो मनले स्वीकार गरिसकेको हुँदा आफ्नो मनलाई जसोतसो सम्हालें ।

बेलुका म फेसबुक चलाउँदै थिएँ । निशाले तपाँइसँग भेटेर खुशी लाग्यो भनेर मेसेज पठाएकी रहिछन् । मैले पनि आफूलाई खुशी लागेको जानकारी गराएँ ।

निशा – के गर्दै हुनुहुन्छ?

म – फेसबुक चलाउँदैछु । रेडिमेड उत्तर फर्काएँ

निशा – हाँसेको इमोजी सहित खाना खानु भो भनेर लेखी पठाइन् ।

म – अब एकछिनमा खाने तपाईंले खानु भयो ?

निशा – मैले खाएँ

म – कति छिटो त

निशा – हामी अलि छिटो नै खान्छौं ।

यतिकैमा “ल खाना खान आउनु है बूढो® भन्दै श्रीमती जीको निम्तो कानमा आएर ठोकियो । निशालाई मेरो खाना खाने बेला भयो पछि कुरा गरौंला भन्दै बाई भनें ।

छोरा – बाबा ममिले भन्नू भएको हजुरले हामीलाई घुमाउन लैजाने रे हो ?

म – खाना चपाउँदै अँ अँ को शैलीमा मुन्टो हल्लाएँ

छोरी – हामी पोखरा जाने कि इलाम बाबा?

म – इलाम

श्रीमती – इलामको चिया बगान साह्रै सुन्दर छ भन्छन् । गज्जब रमाइलो हुने भो । साँच्चै बूढो हामी जाने चाहिँ कहिले ?

म – नानी बाबुको परीक्षा सकिएपछि

सबैजना सहमती सहितको खुशी ब्यक्त गर्यौं ।

खाना खाएर पुनः निशासँंग कुरा गर्ने मनसायले मेसेन्जरमा निशालाई अनलाइनमा खोजें । निशा अनलाइनमा थिइनन् । निशा विवाहित भएको कुरा थाहा पाएर पनि मेरो मन निशाबाट पर हट्न सकिरहेको थिएन । मैले कतिबेला निशालाई मन पराउन थालेछु आफैलाई थाहा छैन । हुन त यो माया भन्ने चिज नै यस्तै हो । कहाँ कतिबेला कोसँग भेट हुन्छ । कतिबेला कोसँग माया बस्छ थाहै हुन्न । माया त आफै हुनेरहेछ ।

निशा र म प्रायजसो मेसेन्जरमा, फोनमा कुरा गरि नै रहन्थ्यौं । कता कता हाम्रो मन र बिचार पनि मिलेको हो कि जस्तो लाग्थ्यो । हामी कहिलेकाहीँ खुब जिस्केर पनि कुरा गरिरहेका हुन्थ्यौं । यतिबेला निशाले पनि कतै मलाई मन पराएकी छन् कि झैं लाग्थ्यो । निशालाई मन पराएको कुरा खै कसरी व्यक्त गर्ने मसँंग कुनै आइडिया नै थिएन । हामी दुबै जना विवाहित थियौं । दुबै जनाको परिवार छ । फेरि मेरो कुराले निशालाई अप्ठ्यारो पर्छ कि भन्ठानेर कति पटक त मैले यस्ता कुराहरूलाई मनमै दवाएर राखें ।

आखिर मन न हो बहकिन्छ । मेरो मन पनि बहकियो । जति कोसिस गरे पनि मैले निशालाई भुल्न सकिन । अब मैले यो कुरा निशालाई भन्नै पर्छ भन्ने निश्चयकासाथ मैले निशालाई पुनः के हामी भेट्न सक्छौं भनेर मेसेज पठाएँ ।

केही दिन आफु घरायसी कामले निकै ब्यस्त रहेको कारण अर्को हप्ता आइतवार पहिला भेट भएकै कफि सपमा भेट्ने भनेर निशाले मेसेज गरिन् । मैले पनि हुन्छ भन्दै सहमती जनाएँ ।

श्रीमती – हजुरलाई एउटा कुरा सोधुँ ?

म – के कुरा भनन

श्रीमती – तपाई आजकल किन परिवारप्रति खासै ध्यान दिनुहुन्न ?

म – लौ फेरि एक्कासि यस्तो कुरा कहाँबाट आयो ?

मैले मेरो परिवारलाई ध्यान नदिए अरु कसले दिन्छ त?

समयमा घरमा आएकै छु । घर खर्च धानेकै छु । तिमीहरूलाई लाउन खान पुराएकै छु अनि यो भन्दा कति ध्यान दिनुपर्यो मैले?

श्रीमती – तपाईले मलाई पहिलेको जस्तो माया नै गर्नुहुन्न । मेरा पनि त रहरहरू हुन्छन्,चाहानाहरू हुन्छन् । मैले कसलाई सुनाउँ , कसले बुझिदिन्छ मेरा रहर अनि चाहानालाई ? तपाईं आजभोली मसँग नजिक हुन खोज्नुहुन्न । पहिला त्यति धेरै माया गर्ने मान्छे आज एक्कासि यसरी परिवर्तन हुनुभयो ।

म – हेर तिमीले भनेजस्तो म केही परिवर्तन भएको छैन । उमेर छँदा पो माया पिरती, प्रेमका कुरा आदी इत्यादि हुन्छन् अब बुढेसकाल लागिसक्यो बुढी । फेरि तिमी दुईवटा बच्चाकी आमा समेत भैसक्यौ । ल यी ऐना हेर त तिमी कति बुढी देखिन्छेऊ । अनि तिमी पनि त परिवर्तन भएकी छौ । पहिला पहिला त खुब सुत्नेबेला गिलासमा तातो दूध लिएर मेरो नजिक आउँथ्यौ । तर आजभोली पुरै वेवास्ता गरेकीछौ । मैले यति कुरा त बुझ्छु के । मलाई जिस्किन मन लाग्दा तिमी छोराछोरीले थाहा पाउँछन् भनेर मेरो नजिकै पर्न खोज्दिनौ । कतिबेला छोराछोरी निदाउलान् भनेर कुरेर बस्यो उल्टै तिमी समेत भुसुक्क निदाईसकेकी हुन्छेऊ । अनि निदाएको मान्छेलाई कसरी ब्युँझाउनु जस्तो लागेर म पनि जसोतसो मन बुझाउन बाध्य हुन्छु । खै त तिमीले मेरो मनको चाहनालाई बुझेकी ?

श्रीमती – के गरम् त नि ! छोराछोरी बुझ्ने भैसकेकाछन् । डराउनु त पर्यो नि ,त्यसै गति छाड्नु पनि त भएन नि । अनि तपाईं पनि त खाना खायो कि मोबाइल चलाउन हतार हुन्छ । भयो अब मोबाइल बन्द गर्नु भन्दा सुन्ने होइन । अहिले आएर मलाई मात्रै दोष लगाउनुहुन्छ ।

म – साँच्ची आजकल तिमी साह्रै गतिछाडा भाकि छौ है । बुढी आइमाईले लगाउने जस्तो कपडा लगाएर बस्छेउ सधैं । अलि सुहाउँदो लगाउनु नि । आफ्नो बुढी हो कि होइन भनेर छुट्याउन समेत गाह्रो हुनेगरी बिनासित्ति झुम्री भएर नबस त

श्रीमती – तपाईं पो कलाकार । म केलाई राम्रो भएर बस्नु पर्यो र ? घरको काम धन्दाले भ्याईनभ्याई हुन्छ अनि कतिबेला राम्री हुन पाउनु ? त्यसमाथि दुई दुई सन्तानकी आमा भैसकें । अब पनि तपाईंले मलाई भर्खर कै तरुनी जस्तै बन भनेर हुन्छ त ?

म – कमसेकम यसो हल्का श्रृङ्गार त गर्न सक्छेऊ नि । आजकल तिमी साह्रै बुढी देखिन थालेकी छौ । अरुका श्रीमतीहरू कति राम्री भएर हिंड्छन् आफ्नो भने सधैं उस्तै । कहिल्यै राम्री देख्न नपाउने ?

श्रीमती – ल्याईदिनु पर्यो नि त अलि राम्रा राम्रा कपडा र गहना । सधैं उहीँ पुरानो थोत्रा भिर्नु पर्छ अनि कताबाट सुन्दरी देख्नुहुन्छ त ? राम्री देखिनलाई त बुढोले पनि मेरी बुढीलाई कस्तो लगाउँदा राम्री देखिन्छे भनेर सोंच्नु पर्यो नि । हैन कुनै तरुनीले मायाजालमा त पारेकी छैन तपाईलाई ? खुबै मलाई तरुनी बन भन्दै हुनुहुन्छ ? तपाईंको चालामाला निको लाग्या छैन है बुढा आजभोली मलाई ..कतै तरुनीको चक्करमा त पर्नु भाछैन । तपाईंको पारा हेर्दा त अलिअलि शंका लाउन थाल्यो मलाई (हा हा हा)

म – के कुरा गरेको होला ? यो आईमाईको जात नै यस्तै हो के । खाली शंका गर्ने

मोबाइल चलाउँदा नि कोसँग मस्केको हो रे, अलिकति ढिलो घर आउँदा आज कुन चाहिँ तरुनीसँग बसेर आयो होला रे । अचम्म लाग्छ । हैन तिमीले भन्न खोजेको के ? हामी छोरा मान्छे तिमीहरू झैं घर भित्रै थन्किएर कसले कमाएर ल्याउँछ र पेट भर्ने ? घरमै बसिबसि आउने भए किन दुःख गर्नुपथ्र्याे र ? अनि तिमीलाई त थाहै छ । म ठुलो नभए पनि सानोतिनो कलाकार हुँ । साथीभाइ भेट हुन्छ । काम नै यस्तै भएपछि कहिलेकाहीँ रमाइलो त गर्नै पर्यो नि । कलाकार भएपछि राम्रो देखिनै पर्यो,नत्र कसैले पत्याउँदैनन् । कहिले कहाँ जानुपर्छ ,कहिले कता सुटिङ पर्छ केही ठेगान हुन्न । हामी कलाकार जुनसुकै बेला तयार हुनुपर्छ । तिमी भने घरमा बसेर कचकच मात्रै गर्न जानेकी छौ । ल म हिंडे बजारतिर तिम्रो गन्थन सुन्नु छैन मलाई .. ।

आज आइतबार निशालाई भेट्ने दिन । मेरो मनमा निशा प्रतिको प्रेम प्रकट गर्ने दिन म निक उत्साहित थिएँ ।आफूलाई जेन्टल बनाएर म निशालाई भेट्न कफि सप गएँ । यसपालि भने निशा म भन्दा पहिला नै आएर कफि सपमा बसिरहेकी रहिछन् । यसपालि निशाले क्याविनमा मलाई पर्खेर बसेकी रहिछन् । मलाई पनि मन पर्यो निशाको क्याविनको रोजाई ।

मलाई देख्नासाथ निशाले हात हल्लाउँदै हाई भनिन् । मैले पनि हेल्लो भनि जवाफ फर्काएँ ।

केही बेर बस्न नपाउँदै टेवलमा कफि आइपुग्यो ।

अरु केही मगाउँ ? निशा भन्दै थिइन् । निशाको यस्तो खालको प्रस्तुतिले निशाको मनमा पनि मेरो जस्तै प्रेमको हुटहुटी बढेको हुनुपर्छ , मैले मनमनै अनुमान लगाएँ ।

नाई पर्दैन । कफि इनफ छ भनिदिएँ ।

म आफ्नो मन भित्र चलिरहेको प्रेमको आँधीलाई निशाले नै शान्त पारिदेओस् भन्ने चाहन्थे ।अब यो भन्दा धेरै मेरो मनमा निशा प्रतिको प्रेमलाई मन भित्र मात्रै सिमित राख्न चाहन्नथें ।

हामी दुबै जना कफि त पिउँदै थियौं तर मौन रूपमा निशाले नै कुराकानीको शिलसिलालाई अगाडि बढाउने जमर्को गरिन् ।

निशा – ल सुनाउनुस् विवेक जी कसरी दिनहरू बिताउँदै हुनुहुन्छ ?

म –निशा जी धेरै दिनदेखि मेरो मनमा एउटा कुराले मलाई साह्रै नै बेचैनी बनाएको छ ।

निशा – हाँस्दै ! लौन के भयो ? के कुराले बेचैनी बनायो तपाईंलाई के म जान्न सक्छु ?

म – खै कसरी ब्यक्त गरुँ निशा जी । तपाईंलाई देखेपछि मेरो मनमा एक प्रकारको बेचैनी आफसे आफ शुरु भएको छ । तपाईंलाई देखेपछिका मेरा बाँकी दिनहरू तपाईंकै कल्पना गरेर बितिरहेछन् । तपाईंसंग मात्रै कुरा गरिरहुँ जस्तो भैरहन्छ ।साँच्चै निशा जी म तपाईंलाई थाहै नपाई प्रेम गर्न थालिसकेको रहेछु ।

निशा – तपाई पनि खुब मजाक गर्नुहुँदोरहेछ ।तपाईंको कुरा सुनेर मलाई रमाइलो पनि लाग्यो ।

म – निशा जी मैले कुनै मजाक गरेको छैन । सबै कुरा थाहा पाउँदा पाउँदै पनि । हामी दुवै जना विवाहित हौं भन्ने जानेर पनि खै किन हो मेरो मनमा तपाई प्रति प्रेमको टुसा उम्रिदैं गएको मैले महसुस गरेको छु । म तपाईंलाई मन पराउँछु निशा जी ! साँच्चै म तपाईंलाई प्रेम गर्छु ।

निशा – विवेक जी तपाई यो के भन्दै हुनुहुन्छ ?यो असम्भव कुरा नगर्नुस् । हाम्रो परिवार छ । हाम्रो आफ्नै जिम्मेवारी पनि छ । तपाईंले जे भन्दै हुनुहुन्छ वास्तवमा यो कुनै प्रेम होइन । यो त केवल आकर्षण मात्रै हो । मेरो बारेमा तपाइलाई कति नै थाहा छ र? अनि मलाई पनि तपाईंको बारेमा कति नै कुरा थाहा छ र?

म – तपाईंले भनेको सबै कुरा आफ्नो ठाउँमा ठिक हुन् । यी सबै कुरा हुँदाहुँदै पनि निशा जी म तपाईंलाई माया गर्छु । निशा जी मलाई भन्नुस्, “के हामी विवाहित महिला–पुरुषले कसैलाई मन पराउन सक्दैनौ र ?कसैलाई प्रेम गर्न सक्दैनौं र ? प्रेम त जोसँग पनि त हुन सक्छ नि निशाजी होइन र ?

निशा – विवेकजी प्रेमलाई यति साह्रै सस्तो पनि बनाउनु हुँदैन । तपाँइले आज मलाई राम्री देखेर मलाई मन पराउनु भएको पनि त हुन सक्छ नि ? अनि आँखाले राम्रो देखे जतिका सबैसंग प्रेम गर्दै जाने हो भने वास्तविक प्रेमको महत्व नै रहँदैन नि । प्रेम त मैले पनि गरेको छु । म मेरो श्रीमानलाई प्रेम गर्छु । मेरो मनमा मेरो श्रीमान बाहेक म अरु कसैलाई प्रेमको स्थानमा राख्न सक्दिन । तपाईंले अहिले जुन कुरा भन्दै हुनुहुन्छ, यो वास्तवमा कुनै प्रेम नभएर क्षणिक शारीरिक आकर्षण मात्रै हो ।

विवेक जी यदि तपाईं मलाई साँच्चै प्रेम गर्नुहुन्छ भने मलाई गर्ने प्रेम तपाईंले आफ्नो श्रीमतीलाई गर्नुहोस् । साँच्चै तपाँईको प्रेमको पहिलो हकदार तपाँईको श्रीमती हुनुहुन्छ । आज प्रेमको नाउँमा शारीरिक आकर्षणहरू बढ्दै गएर कयौं सुन्दर परिवारहरू तहसनहस बन्न पुगेका छन् । तपाईंको यति सुन्दर परिवार छ । आफ्नो सुन्दर परिवारलाई कुरूप बनाउने बाटोमा पाइला चाल्न बन्द गरिदिनुस् । विवेक जी क्षणिक आकर्षणमा परेर वास्तविक प्रेमको सुवासनालाई दुर्गन्धित नपार्नुहोस् । म तपाईंलाई एउटा असल साथीको रूपमा मात्रै यी सब कुरा भन्दै छु । यदि मेरो कुराले तपाईंलाई चोट पुगेमा कृपया मलाई माफ गर्नुहोला । म तपाईंले सोचेको जस्ती केटी होइन । तपाईंले मलाई कुन नजरले हेर्दैहुनुहुन्छ त्यो त म जान्दिन ।

यतिकैमा निशाको मोबाइलको घण्टी बज्छ । निशाले आफ्नो फोन रिसिभ गर्छिन् ।

म निरीह प्राणीजस्तो भएर निशाको सामुन्नेमा चुपचाप बसिरहेको छु । भर्खरै पिएको कफिको मीठो स्वाद पनि एकछिनमा कस्तो नमिठो लागेर आयो ।

निशा – सरि विवेक जी बाबुलाई एक्कासी बिसन्चो भएछ । घरबाट फोन आयो हामी फेरि कुनै अर्को दिन भेटेर कुरा गरौंला है ? भन्दै हतार हतारमा काउन्टरमा कफिको बिल तिरेर निशा आफ्नो स्कुटर लिएर घरतर्फ लागिन् । म भने एकोहोरो निशा कुदिरहेको बाटोतर्फ चुपचाप हेरिरहें !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...