याक्थुङ र लिम्बु पहिचानको रस्साकस्सी - Naya Online

याक्थुङ र लिम्बु पहिचानको रस्साकस्सी

दिलेन्द्र कुरुम्बाङ

तामाङहरूलाई आजभन्दा ८९ वर्ष अघिसम्म नेपालमा भोटे, लामा, मुर्मि, श्येँ आदि विविध नामले बोलाइन्थ्यो । कतिले घृणित र अपमानित ढंगले नाम बोलाउँथे । म सानो छँदा पनि तामाङलाई भोटे, गाईको मासु खाने भनेर घृणा गरेको थाहा छ । भोटे लामा अरुलाई पनि भनिने भएकोले पृथक अस्तित्व र पहिचान स्थापित गर्न ८९ वर्ष अघि सरदार बहादुर जङ्गवीर तामाङको अगुवाइमा तामाङहरूले भिम शमशेरकोमा विन्ती पत्र पेश गरेछन् ।

सो विन्ती पत्र बमोजिम भीम शमशेरले वि.सं. १९८९ भाद्र ६ गते एक इस्तिहार जारी गर्दै अब उप्रान्त नेपाल सरहदभित्रका बाह्र तामाङहरूले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ लेख्ने लेखाउने गर्नु, जङ्गी, निजामति, सरकारी अड्डा खाना, पल्टनका कागज र दुनियादारको व्यवहारमा तामाङ भनी लेख्ने बोलाउने गर्नु भन्ने आदेश दिए ।

यहाँ तामाङ समुदाय र सरकारी पक्ष दुवैलाई निर्देशन गरिएको छ । स्वयं तामाङहरूलाई अब उप्रान्त भोटे लामा नभनेर आफ्नो जात लेख्दा तामाङ लेख्नु लेखाउनु भनेका छन् । र, सरकारी अड्डाखाना, निजामती, जङ्गी सबैलाई तामाङ लेख्न बोलाउन उर्दि गरिएको छ ।

यसरी तामाङहरूले आजभन्दा ८९ वर्ष अघि नै आफ्नो असली पहिचान सुरक्षित गरे । हामी बल्ल हिजोआज बहसमा प्रवेश गर्दैछौं कि हाम्रो पहिचान लिम्बू कि याक्थुङ भनेर । टुङ्गो लाग्न कति वर्ष लाग्ने हो ? टुङ्गो लाग्ने हो कि होइन ? भविश्यको गर्भमा छ । यस हिसाबले हामी तामाङहरूभन्दा १ शताब्दी नै पछि छौं । तामाहरूलाई पनि त अनेक नामले बोलाइन्थ्यो तर सबै एभोइड गरेर आफूले के भन्ने गरेको छ त्यो नाम स्थापित गर्न राज्यसँग नै पहल गरे र सफल भए । आज विश्वभरिका तामाङहरूले आफूलाई तामाङ भन्न, तामाङ भाषा भन्न गर्व गर्छन् ।

याक्थुङ कि लिम्बु
हुन त किताब लेख्ने, लेख लेख्नेहरूले लिम्बु शब्दको उत्पत्तिको बारेमा अनेक किंबदन्ती जोडेका छन् तर कुनै पनि पत्यारिलो छैन । इमानसिंह चेम्जोङले इशाको छैटौं शताब्दीमा पान्थरको फेदेन यक सुम्हात्लुङमा चुम्लुङ गरी लिम्बु, लिम्बुवान नामाकरण भएको उल्लेख गरेका छन् । लि?+आबु > लिम्बु भएको भन्ने तर्क छ । याक्थुङ भाषावैज्ञानिक फेनोमेना यो ढंगले गुज्रेको कहीँ पाइन्न । बरु लि?आबु > लियाबु > ल्याबु हुनसक्छ तर लिम्बु हुन आउँदैन । लिम्बू शब्द त्यहाँदेखि प्रचलनमा आएको हो भने किन स्वयं याक्थुङ समुदायले यो नाम शब्द बोकेर हिँडेन ? किन अरुले नै भन्ने गर्छन् ? त्यसैले यो सत्य होइन, केबल अनुमानको व्याख्या हो ।

कतिले लुम्बासुम्बा बाट लिम्बु भएको, कतिले लिङबा (उम्रेको) बाट लिम्बु भएको, सुसुवा लिलिम याक्थुङ सा भन्दा भन्दै लिम्बु भनेको भन्ने अनेक तर्कहरू गरेका छन् । सेनकालीन पुराना कागजात दस्तावेजहरूमा लिम्बु उल्लेख भएको पाइन्न तर पृथ्वीनारायण शाहदेखि यताका दस्तावेजहरूमा लिम्बू भेटिएबाट गोरखाली शासकहरूको सम्पर्कमा आएपछि हामीलाई लिम्बु भन्न थालिएको प्रष्ट छ । सेनकालसम्म राय भन्ने गरिन्थ्यो । गोरखाली शासकहरूलाई याक्थुङ भन्न, उच्चारण गर्न, लेख्न निश्चय पनि गाह्रो भो त्यसैले उनीहरूलाई सहज लाग्ने शब्द लिम्बु भन्न थाले । राज्य तहबाट लिम्बु भन्न लेख्न थालिएपछि बाँकी अरु सबैले लिम्बु भन्न थाले । पछि राणाकालमा जब गोरखा पल्टन प्रारम्भ भो तब भर्ति हुनेहरूको नाम र इथ्नीसिटी जनाउँदा लिम्बु लेख्न थालियो । यसरी गोरखापछि अंग्रेजले हामीलाई लिम्बु भनेको सारा डक्युमेन्टले बोल्दछ । स्वदेशी शासक र विदेशी अंग्रेजले लिम्बु भन्दा हामी याक्थुङ हो हामीलाई याक्थुङ भनियोस् भनेर तामाङहरू जस्तो सचेत वर्गको उदय भएन । एथ्नीसीटी याक्थुङ जनाउनेमा २००७ सालका क्रान्तिका कमाण्डर जिवि याक्थुङबा त्यसपछि पूर्व सिडिओ मञ्जुल कुमारसिंह याक्थुङबाको दृष्टान्त भेटिन्छ तर उनीहरूले अभियान चलाएनन् । जे जे भने पनि जे जे लेखे पनि तिनकै कुरा फलो गर्ने लिम्बु चलन बसेर आयो ।

याक्थुङहरू स्वयंले आज पर्यन्त आफ्नो भाषामा याक्थुङ नै भन्छन् लिम्बु कदापी भन्दैनन् । आनी? याक्थुङ सा, याक्थुङ लाजे, याक्थुङ मुन्धुम, याक्थुङ पाःन, याक्थुङ सःङ भनेर आफ्नो मातृभाषामा भन्दछन् । सिक्किममा भोटे लाप्चेले चोङ भन्छन् । यसरी अरुले नै किरात वा लिम्बु भन्ने गरेका हुन् । त्यसैले लिम्बु शब्द अरुले भनेको कोलोनाइज्ड शब्द हो अथवा (exonyme) हो भने याक्थुङ आफैलाई आफैले भन्ने (endonym) शब्द हो ।

यसरी लिम्बु जाति, लिम्बु भाषा शासकीय औपनिवेशिक नीति, औपनिवेशिक राज्य र औपनिवेशिक भाषाको माध्यम भएर फैलियो । लिम्बु शब्द स्थापित भएर जानुमा पर्वतेनेपाली भाषा र अंग्रेजी यी दुई भाषाको भूमिका छ । याक्थुङ भाषाको एक सुको पनि योगदान छैन । यी दुई भाषामा भन्नु र लेख्नु पर्दा याक्थुङ नभनेर लिम्बु भन्ने वाध्यत्मक परम्परा जस्तै बनेको छ । याक्थुङ भाषामा त लिम्बु भनिँदै भनिदैन । देशभित्र पर्वतेनेपाली भाषाको दबदबा बढेसँगै लिम्बु जाति, लिम्बु भाषा भन्ने नाम औपचारिक रूपमा स्थापित भो । याक्थुहरूलाई अरु बाहिरकाले लिम्बू भनेका हुन् भन्ने कुरा धेरै स्वदेशी तथा विदेशी लेखकहरूले स्वीकारेका छन् । जसरी याक्थुङ समुदायको प्राकृतिक श्रोत साधन धाराशायी बन्दै गयो उसरी नै मौलिक संस्कृति, पहिचान, पेशा, भाषा संकटमा पर्दै गयो । अरुकै सापटी ज्ञानले समाज चल्न थालेपछि आफ्नो मौलिक र परम्परागत सम्पदाहरू नासिदै जाने नै भो । चाड पर्व अरुकै, भाषा अरुकै, तिथिमिति अरुकै, महिना बार अरुकै, बच्चाको नाम बनाउन पण्डितको जिम्मा, संस्कार संस्कृति अरुकै लिएपछि लिम्बु भन्ने शब्द त्यसै मौलिने भो । यसरी हेर्दा हाम्रो समाज हिन्दू ज्ञानसत्ता र राज्यसत्ताद्वारा निर्देशित र संचालित छ । हाम्रो आफ्नो ज्ञान प्रणालीलाई औपनिवेशिक राज्य सत्ताले निकम्मा बनाइदियो, विस्थापित गर्यो । र त हामी न उभोको न उधोको भएका छौं ।

थर, गाउँठाउँका नाम समेत विकृत
हाम्रा धेरै थरहरू विकृत पारिएका छन् । तर हामी थर सच्याउन पहल गर्नुभन्दा गर्वका साथ त्यही विकृत थर लेखि रहेका छौं भनिरहेका छौं । चेम्जङ > चेम्जोङ, लाओती, लौती > लावती, सङबाङफे > सम्बाहाम्फे, तुम्बाङफे > तुम्बाहाम्फे, फ्याक > फियाक, सन्यक सन्यक्पा > संयोग आदि विकृत पारिएका थर हुन् । तर सम्बन्धित थरीहरू कतिलाई थाहा होला धेरैलाई थाहा नहुनसक्छ । यसरी थर विकृत पार्दा पनि हामीले सच्याउने प्रयाय त गरिएन नै बरु गर्व मानेर त्यसै पो लेख्न, भन्न थालियो ।
हाम्रा अधिकांश गाउँ ठाउँका मौलिक नामहरू जुन हाम्रा पुर्खाहरूले सृष्टिको प्रारम्भिक कालमा ढालफाँड गरेर बस्ति बसाए, आवाद गरे, सभ्यता उमारे, संस्कृतिको विकास गरे ती नामहरू गोरखाली शासकहरूको आगमन भएपछि धमाधम कि त नाम फेरियो कि त अप्रभंशित तुल्याइयो । तर हामीले कहिल्यै प्रतिवाद गरेनौं । अम्लाबुङलाई नवमीडाँडा, फेदेनलाई फिदिम, मेयङलुङलाई म्याङलुङ, पावरक मावरकलाई राजारानी ताल, सुक्यातेल्लकलाई सुकेटार, मुक्कुमलुङलाई पाथिभरा, फक्ताङलुङलाई कुम्भकर्ण बनाए । तर हामीले कहिल्यै प्रतिवाद गरेनौं । पान्थर हिलिहाङ गाउँपालिकामा भएको मिलुङ, मिधुङलुङ झरनाको नाम मृदुङ्गा होइन भन्दा त्यहाँका कतिपयले हामी यहाँका बासिन्दा तिमीहरूलाई के थाहा छ मृदुङ्गा नै हो भनेर उल्टै हामीसँग आइलागे । तर स्थानीय इतिहासका जानकार महानुभावहरूले दरो काउन्टर गरेपछि मत्थर भए । हाम्रो बुद्धि यस्तो छ ।

यसरी हेर्दा हाम्रो सबै कुरा सिध्याइसकेको छ । जातीय चिनारी नाम त सिध्यायो सिध्यायो थर पनि बाँकी राखेन गाउँठाउँको नाम सक्यो, व्यक्तिगत पहिचान नाम त झन हिन्दू ज्योतिष जिन्दावाद छ । तर यी सबै हाम्रै विवेक शुन्य व्यवहारका उपज हुन् ।

उपनिवेशलाई शिरोधार्य गर्ने कि स्वपहिचान दावी गर्ने ?
अरुले दिएको नाममा गर्व गर्ने चाहिँ राई र लिम्बु भन्नेहरू देखिए । राई त एउटा पगरी हो सुब्बा जस्तै । त्यसैले राई जाति होइन, हामी राई होइनौं भन्ने थुप्रै समूहहरू छन् । औपनिवेशिक राज्यले थोपरेको विकृत पहिचानलाई बोकेर हिड्ने कि शुद्धिकरण अभियान थाल्ने ? अरुले दिएको नाम अरुले दिएको उपाधिमा गर्व गर्ने कि पुर्खाको नासो र विरासतलाई जिवन्त राख्ने, यसमा गर्व गर्ने ? आजको जल्दो बल्दो सवाल यो हो । औसत मान्छेहरू यस्तो सोच्न सक्दैनन् । उनीहरू जता हुल देख्छन् त्यतै दोडिन्छन् । कुन ठीक कुन वेठिक छुट्याउँदैनन् । सामाजिक संजालमा बेहिसाब बक्नेहरू त्यही कोटीका हुन् । यसका लागि अलि फरक ढंगले सोच्न, चिन्तन गर्न, विश्लेषण गर्न सक्ने क्षमता चाहिन्छ । आलोचनात्मक चेतनाको लेभलबाट सोच्ने विषय हो यो । दुनियाँ जता जता दौडिन्छ त्यता त्यता दौडिने चेतना स्तरबाट सम्भव हुँदैन । कतिले भन्ने गर्छन् लिम्बु भनेर साराले चिन्छ कता यो भत्काउनु ? सम्भव हुँदैन । सम्भव र असम्भवको कुरा गर्ने हो भने लिम्बुवान प्रदेश, संघीयता स्वायत्तताको कुरा किन गर्नु ? असम्भव जस्तै छ । नगरी बसे भैगो नि । संसारमा स्थापित मान्यता नभत्किने हो भने पृथ्वी अहिलेसम्म चेप्टो छ भनेरै पढ्नु पथ्र्यो होला । विश्वमा ६० वटा मुलुकको बृद्धि भएर २०० भन्दा बढी हुन्नथ्यो होला । अमेरिकामा १३ बाट ५० राज्यमा पुग्दैनथ्यो होला । भारतमा २९ राज्य हुँदैनथ्यो होला ।

वि.सं. २०४७ भन्दा अगाडिसम्म व्यक्तिगत सुझबुझका आधारमा जाति भाषा नाम लेख्दै भन्दै आएकोमा किरात याक्थुङ चुम्लुङको स्थापना भएपछि संस्थागत रूपले २०४८ को जनगणनालाई लक्षित गरी जाति लिम्बू, भाषा लिम्बू र धर्म किरात लेखौं भनेर आव्हान गर्न थालियो । कियाचुले त्यसबेला कुनै खोज, अनुसन्धान, प्राज्ञिक अध्ययन र निचोडका आधारमा नभै परम्परागत भास्यलाई फलो गर्दै निरन्तरता दिएको थियो । किरात धर्म सं. २०३६ मा स्थापना भएको किरात धर्म साहित्य उत्थान संघको एजेण्डा हो । लिम्बु जाति, लिम्बु भाषा औपनिवेशिक राज्यले स्थापित गरेको भास्य हो । कियाचुले राज्यको यो भास्य र किरात धर्म साहित्य उत्थान संघको भास्यलार्ई टपक्क टिपेर फलो गर्न थाल्यो । र, २०४८, २०६८ हुँदै २०७८ मा आइपुग्दा बोकि राखेको छ । चुम्लुङको आफ्नो इन्नोभेसन देखिएन अथवा नवीनता र सृजनशीलता पाइएन । अरुले निर्माण गरेको भास्य र एजेण्डालाई मेरो भनेर प्रचार गरिहिड्दैछ । आफ्नो जातीय पहिचान, सम्पदा संरक्षण र विकास गर्ने उद्देश्य राखेर स्थापित सामाजिक संस्थाले औपनिवेशिक राज्यले थोपरेको भास्यलाई समातेर गर्वका साथ निरन्तरता दिइराखेको छ । योभन्दा दुःखलाग्दो अरु के हुनसक्छ ? औपनिवेशिक राज्यले खडा गरेको लिम्बु जाति भाषा र किरात धर्म उत्थान संघले थालनी गरेको किरात धर्मलाई ल्याएर कियाचुले आफ्नो स्लोगन बनायो । भरेभन्दा कियाचुको आफ्नो त केही पो रहेनछ । सापटी एजेण्डा बोकेर दौडिरहेको रहेछ ।

मैले यो विषय उठान गरेको लगभग ७, ८ वर्ष हुँदैछ । कोहीबाट प्रभावित भएर वा कन्भिन्स भएर होइन मेरो आलोचनात्मक चेतले जे देख्यो त्यो वकालत गर्न थालेको हुँ । मेरो कुनै समूह वा सपोर्ट ग्रुप पनि छैन । विलकुल प्राज्ञिक बहस छेडेको हुँ । कुनै जनगणना वा दस्तावेजिकरणलाई लक्षित गरेर शुरुवात गरिएको पनि होइन । जनगणना आउँछ जान्छ तर यो अभियान चलिरहन्छ । पछिल्लो समय यो विचारको दायरा बढ्दै जाँदैछ, स्वाभाविक रूपमा विचार समूहहरू जन्मिदैछन्, अभियान संचालन हुँदैछ ।

टुग्याउनीमा,
हाम्रो दिमाग पुरै कोलोनाइज्ड भएको छ । यसलाई डिकोलोनाइज्ड गर्दै लान आवश्यक छ । तब मात्र असली पहिचानको मर्म बुझ्नसक्छौं । हामीले हामी आफैले र आफ्ना पुर्खाहरूले के भनेर ल्याए त्यता ध्यानै दिएनौं । खाली अरुले के भन्छ, के भनेर चिन्छ, सरकारी लेखोटमा के छ त्यसमा मात्र हाम्रो चिन्ता र चासोे लियौं । स्वनाम हामीलाई मन परेन पराइनाम प्यारो र स्ट्याण्डर्ड लाग्न थाल्यो । औपनिवेशिक दिमागले अक्सर यो सोच्दछ । केबल अरुको आँखाबाट आफूलाई हेर्दा लिम्बू मात्र पायौं अरु विकल्पहरू देख्दै देखेनौं । यो दुनियाँमा एकले अर्कालाई आआफ्नै ढंगले चिन्ने चिनाउने चलन सर्वव्यापी छ तथापि अरुले जे जे भनेपनि आफूले आफैलाई के भन्छन् त्यसैलाई क्यारी गर्छन् । हामीलाई अरुले लिम्बू भनुन या किरात, भन्न दिऔं तर हामी आफैले याक्थुङ भनौं, लेखौं सकि जान्छ त । यसो गरेमा पुर्खाको विरासत थामियो, भाषा संस्कृति पनि जोगियो, आफ्नो मौलिकपनको सुगन्ध पनि आयो । यो एक मात्र शब्दले थप लाख शब्द बोलेको हुन्छ । तर याक्थुङ भन्ने स्वपहिचान नाम विस्थापित भो भने ठूलो मूल्य चुकाउनु पर्छ । भाषाको मृत्यु भएपछि पुनः व्युँतिएर आउँदैन । हेर्दा फगत एक शब्द जस्तो लाग्छ तर यसले पहिचान र अस्तित्वको सिंगो पर्वत बोकेको हुन्छ । याक्थुङ भन्दा जति अपनत्व महसुस हुन्छ त्यति लिम्बु भन्दा हुन्न । मान्छेले आफ्नो भाषा संस्कृतिको लागि जीवन बलिदान दिन्छन् तर हामी त आफै पो मास्न उद्यत छौं । हाम्रो बुद्धि अचम्मको बुद्धि ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...