वैकल्पिक राज्यव्यवस्था स्थापनार्थ जुटौं - Naya Online

वैकल्पिक राज्यव्यवस्था स्थापनार्थ जुटौं

‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ गतवर्ष चैत्र ८ गते सम्पन्न प्रथम राष्ट्रिय भेलामार्फत राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको केन्द्रीय समिति निर्वाचित भएको छ । यसबीच महासङ्घले ८ राज्यसमिति र १४ अन्तर्राष्ट्रिय समितिहरु पनि गठन गरेको छ । यस अङ्कमा हामीले महासङ्घको राज्यसमितिका संयोजकहरुलाई विद्यमान परिस्थितिमा आधारित प्रश्न सोधेका छौं ।

प्रश्नः प्रतिगमनको विरुद्ध भइरहेका अधिकांश आन्दोलनहरु काठमाडौंकेन्द्रीत छन् । तर प्रतिगमन त देशैभर भइरहेको छ । आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि भइरहेको प्रतिगमन झन् भयावह छ । तपाईंको प्रदेश र समुदायमा पनि कुनै न कुनै रुपमा प्रतिगमन भएकै छ । तर सम्बन्धित भूगोल वा जाति समुदायका उत्पीडितहरु नै प्रतिरोधका निम्ति वैचारिक, सांगठनिक रुपमा तयार नभइरहेको अवस्था छ । यस्तो परिस्थितिमा उत्पीडित समुदायमाझ प्रतिरोधी चेतको बीजारोपण गर्न यो महासङ्घले कस्तो भूमिका खेलिरहेको छ ?

शोभा सुनुवार, कोइँच राज्यसमिति संयोजकः
सबैभन्दा पहिला त नेपालीहरुको दिमागमा जकडिएर बसेको डार्विनको उद्विकासको सिद्धान्त र उपभोक्तावादी सोचबाट मुक्त हुनुपर्दछ । अनि भौतिकवादी पश्चिमा औपनिवेशिक व्यक्तिवादी चिन्तनलाई त्याग्नुपर्छ । व्यक्तिगत सुखभोगभन्दा पनि समाज र समुदायको हितमा रमाउनसक्ने उन्नत समाज भयोभने प्रतिगमनका आन्दोलनहरु स्थानीय तहसम्म पुग्छन् । तर हामी उपभोक्तावादी भौतिक चिन्तनबाट मुक्त हुन सकिरहेका छैनौं । यसैको परिणाम भूगोल र जाति समुदायका उत्पीडितहरुले प्रतिगमनविरुद्ध गर्ने प्रतिरोधी आन्दोलन पनि शहरकेन्द्रित (काठमाडौं) भएको हो ।


जहाँसम्म भूगोल वा जाति समुदाय प्रतिगमनको प्रतिरोधमा उत्रिन तयार छैनन् भन्ने कुरा छ । त्यसको मूल कारण हामी आदिवासीलगायत आम नेपालीहरु वैचारिक रुपमा अझै पनि प्रष्ट छैनौं । खरो राष्ट्रवादी र प्रष्टवक्ता भनाउँदाहरुको नै अमेरिकाको भिसा लाग्यो भने राष्ट्रियता एक पलमा काँचको महल जसरी भताभुङ्ग भत्किन्छ र प्रवास लाग्नुमा गर्व गर्छन् । यस्तो प्रवृति भएपछि प्रतिगमनको प्रतिरोधमा उत्रनका लागि वैचारिक, सांगठनिक रुपमा तयार हुनसक्ने कुरै भएन ।
प्रतिगमनको विरुद्ध लडेर आएका भन्नेहरु अति प्रतिगमनकारी भएर निस्केपछि आम नेपालीमा कसैमाथि भरोसा हुँदै भएन ।

आदिवासी जनजातिको सवालमा अहिलेको विडम्बना, कोही पनि आदिवासीहरु आफ्नो थातथलोमा बसिरहन तयार छैनन् । न आफ्नो मातृभाषामा सूचना तथा अभिव्यक्ति सम्प्रेषण गर्न जाँगर गर्छन् । तपाईं हामी विदेशी भाषामा बोल्न लेख्नमा गर्व गर्छौं । पुर्ख्यौली थातथलो बेचेर शहर पस्नमा लालायित छौं । जो शहरमा बसेका छन् उनीहरुलाई गाउँ फर्किन भनेपछि ज्वरो आउँछ । यस्तो भएपछि हरेक आन्दोलन काठमाडौंकेन्द्रित हुने नै भयो ।

यसो भनिरहँदा यथास्थितिलाई स्वीकार गरेर बसिरहने कुरा भएन । यी समस्याहरुलाई चिर्न हामीहरु स्थानीय तहदेखि सङ्घसम्म वैचारिक वहस पैरवी गर्नका लागि संगठित भएका छौं । सबैभन्दा पहिला शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि स्थानीय भूगोल र समुदायकेन्द्रित रैथाने पाठ्यक्रम बनाउनमा हस्तक्षेपकारी अन्तरक्रियात्मक अभियान सञ्चालन गर्नुपर्दछ भन्ने हाम्रो बुझाइ रहेको छ । आदिवासी सौन्दर्यको शिक्षण नै प्रतिगमनविरुद्ध प्रतिरोधको जग हो । अहिले आदिवासी जनजाति साहित्यकारहरु आदिवासी सौन्दर्य खोजीको अभियानमा जुटेका छौं । सबै समुदाय र भूगोलको रैथाने अर्थात् आदिवासी सौन्दर्यको संकलन र प्रकाशन भएपछि अझ हामी तीब्र रुपमा हाम्रो वैचारिक अभियानलाई गति दिन सक्छौं ।

आदिवासी सौन्दर्यले सुख, शान्ति र समृद्धिको लागि शहर पस्नुपर्छ वा गाउँ नै शहर बन्नुपर्छ भन्ने प्रतिगामी चिन्तनलाई विस्थापित गर्छ । जब आदिवासीहरु स्वचिन्तन, स्वपहिचान, स्वविकास, स्वायत्त बनेर स्वशासन गर्न थाल्नेछन्, तब आदिवासी मौलिक विचारको पुनर्निर्माण हुनेछ । प्रतिगमनबाट उत्पीडित भूगोल वा समुदायमाझ आदिवासी सौन्दर्यले प्रतिरोधी चेतको बीजारोपण गर्ने छ । यसको लागि महासङ्घले बौद्धिक वर्ग, नीति निर्माताहरुसँग अन्तरक्रियात्मक बहस पैरवी गरेर राज्यलाई दबाब दिनका लागि भूमिका खेलिरहेको छ ।

शाक्य सुरेन, नेवाः राज्यसमिति संयोजकः
राज्यसत्ताले यो मुलुक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय फूलबारी हो भन्ने कुरा ब्यवहारमा कार्यान्वयन नगरेसम्म नेपालको राष्ट्रियताको सवाल अधुरो नै रहन्छ ।
विकेन्द्रीकरण र स्थानीय स्वायत्तताका लागि संघीयता आएको भएता पनि नेताहरुको सोच केन्द्रीकृत नै छ । उनीहरू काठमाडौं उपत्यकामै सिंगो नेपाल देख्छन् । खास नेतृत्व विचारले नै गर्ने हुँदा आदिवासी जनजाति आन्दोलन सही दिशामा अघि बढाउन कवि, लेखक, साहित्यकार, अनुसन्धानकर्ताहरु एकै ठाउँमा बसी वैचारिक एकताका साथ सही मार्गचित्र निर्माण गर्न यो महासङ्घको आवश्यकता परेको हो ।

छम गुरुङ, तमुवान राज्यसमिति संयोजकः
लेखक, संस्कृतिकर्मीहरू संगठित प्रतिरोधको लागि जति क्रियाशील हुनुपर्थ्यो, त्यति भइरहेजस्तो लाग्दैन । यसमा आत्मसमीक्षासहित थप जुट्न पर्ने देख्छु ।

नेपाल भनेकै काठमाडौं, आन्दोलन भनेकै काठमाडौं, भाषा भनेकै उही खसपर्वते या यस्तैयस्तै एकात्मक शासकीय भाष्यमा केन्द्रित छ यो राज्यसत्ता । तर यहीँको नेवाः समुदायमा भएको उत्पीडनलाई हेर्दामात्र पनि थाहा हुन्छ, यो राज्य कति दमनकारी छ, अझै कति विस्तारवादी, सांस्कृतिक उपनिवेशवादी र असमावेशी छ । सिडिओ आश्रित पहिचानहीन संघीयताको त्रुटीपूर्ण अभ्यास भइरहेकै छ, राज्य संघीयताको न्युनतम मापदण्ड पालना गर्न पनि गाह्रो मानिरहेछ । पुरानै एकात्मक ढर्राको धङधङीमा चलिरहन खोजिरहेको छ । त्यसो त, बेलाबेला मौसमी या अपरिणाममुखी आन्दोलनहरू नभएका होइनन् । यता प्रतिगमनको शृङ्खला निरन्तर छ । हामी शासित वर्ग समुदायले पनि आफ्नो समतामुलक संस्कृतिलाई उही शासककै विभेदकारी संस्कृतिको छायामा पारिरहेजस्तो लाग्छ । हाम्रा आन्दोलनोन्मुख संगठनहरू या समूहहरूको तहगत संरचनाले पनि यो कुरा प्रष्ट पार्दछ । सामान्य कार्यक्रम गर्दा पनि हामी कोही उँचो स्थानमा, कोही भुइँमा, कोही कता हो कता कुनामा उभिन्छौं, कोही हेरेर फर्किन्छौं । यी मसिना कुरामा पनि जातव्यवस्थात्मक उचनीच विचारधारा प्रभाव परिरहेजस्तो लाग्छ । हाम्रो समतामूलक संस्कृतिको मैदान पनि पिरामिडीय मन्चमा साँगुरिँदै गइरहेजस्तो लाग्छ । तसर्थ, हामी आदिवासी जनजाति राष्ट्रहरूले समाजको सबभन्दा पीँधको मुद्दा बोक्दै विश्वका अरू समुदायका अनुभवहरुबाट सकारात्मक प्रेरणा लिएर विगतका आन्दोलनहरूको समीक्षा गर्दै, नयाँ कुरा सिक्दै हाम्रो अनुकूलित वैकल्पिक राज्यव्यवस्था स्थापनार्थ जुट्नुपर्छ । पहिला जुटौं र एकसाथ लडौं !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...