याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक - Naya Online

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक

विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू समुदायको प्राचीन सामाजिक राज्यसंरचना र शासकीय कालखण्डका मुख्यतया ४ आधारहरू रहेका पाइन्छन् । सँगसँगै यसैको अभिन्न अङ्गका रुपमा मुन्धुमी आस्था र विश्वास पनि जोडिएको पाइन्छ ।
सर्वप्रथम प्राचीन सिन्धुघाँटी सभ्यताकालीन आद्य ऐतिहासिक कालखण्डसँग जोडेर लेखिएको इतिहासबाट आजको स्तम्भ लेखनको सन्दर्भ शुभारम्भ गरौँ ।

धेरैजसो पुरातत्त्वविदहरूका अनुसार, आद्य ऐतिहासिक काल ( Protohistoric period) मा लेखन कलाको अभ्यास र प्रयोग भइसकेको भएतापनि उक्त समयको लिपि पढ्न र बुझ्न कठिन हुने उनीहरूको मत रहेको पाइन्छ ।

ताप्मादेन र पतङवा (२०५८) का अनुसार शम्बर राजा चत्तुका पालामा सुप्चेङ्खा वंशले शम्बर राज्यमा आक्रमण गरे । धेरैदिन युद्ध चलेपछि शम्बर राज्यमा सुप्चेङखाको विजय भयो । अनगिन्ती मानिसहरू सुप्चेङखाद्वारा हत्या गरिएपछि बाँकी रहेका सम्पूर्ण शम्बर वंशको त्यहाँबाट भागाभाग सुरु भयो । भाग्ने क्रममा १३ ओटा गढका प्रान्तीय राजाहरूले आआफ्नो समूह लिएर सिन्धु माहाङजोक लगायत उत्तर र दक्षिणका भूभागतर्फ भागे । भाग्नहरू चार समूहमा विभाजित थिए ।

गाधम नामका राजाको नेतृत्वमा एउटा समूह पूर्व दिशातिर लागे । चत्तु नाम गरेका राजाको समूह पूर्व हुँदै पछिबाट उत्तरपूर्वी भूभागहरूमा फैलिदै गए । जतगम नामक राजाले नेतृत्व गरेको समूह उत्तर तर्फ सरेर गए । येकदम नाम गरेको राजाले नेतृत्व गरेको समूह पश्चिमउत्तरी दिशातर्फ नै बसाइँ सरेर गए । जसमध्ये तिनै चत्तु नाम गरेका राजाको सन्तान अहिलेका लिम्बूका पुर्खा मानिएको इतिहासमा उल्लेख गरिएको छ । यो अवधि खासै यकिन नभएतापनि धेरैजसो पुरातत्त्वविदहरूको अनुमानअनुसार २७०० इसापूर्वदेखि इसापूर्व १९०० बिचमा विकसित भएको मानिन्छ ।

चेम्जोङ, (१९७८) का अनुसार, पवित्र स्थल मुना मैदानदेखि मागोङवंशी एक हूल छुट्टिएर सिन्युक मुलुकमा पुग्यो । त्यहाँ बसोबास गर्ने क्रममा तिनीहरूको वंशमा माङहाङ नामका प्रतापी राजा भए । भनिन्छ, उनले युमाको भक्ति र आराधना गरेकाले युमाबाट शक्ति प्राप्त गरेका थिए । युमाबाट ज्ञान र उपदेश पाएकाले त्यसैबेलादेखि उनले आफ्ना जनहरूलाई प्रारम्भिक कृषि युगमा प्रवेश गराएका थिए । यो बेलाबाटै चासोक चढाउने प्रचलन पनि सुरुवात भएको मान्यता रहिआएको छ । तर चासोकको बारेमा अर्को मुन्धुमी मिथक पनि प्रचलित छ ।

राजा माङहाङको पाँचौ पुस्तापछि सिन्युक देशमा शानवंशीहरू राजा भए । यो वंशको उदय भएपछि सिन्युक देशमा राजाहरू आपुङ्गी भई आफू–आफूबिचमा लडाइँ गर्न थाले । यसै बखत सिन्युक देशमा एकजना धर्मात्मा तथा ज्ञानी मानवको जन्म भयो । उसको नाम कान्देनहाङ थियोे । कान्देनहाङको ज्ञान र बौद्धिकताबाट अत्यन्तै प्रभावित भई राजा लुहाङले उनलाई आफ्नो दरबारमा बोलाई मन्त्री पदमा नियुक्त गरे । तर मन्त्री पदमा नियुक्ति पाएको केही समय नबित्दै उनले मन्त्री पद त्यागेर उनी धार्मिक प्रचारप्रसारमा तल्लीन रहँदारहँदै दिवङ्गत भए ।

धेरै वर्षपछि, सिन्युक देशमा लिपाहाङ राजा भए । उनले आफ्ना प्रजाहरूलाई कान्देनहाङले लेखेका युमा सम्बन्धीका धार्मिक पुस्तकहरूमा लेखिएका ज्ञान र विद्याहरूको व्यापकरुपमा सन्देश फैलाएका थिए । लिपाहाङको देहावसान पश्चात् उनकै रानी सुयेन्नो सुनुहाङमाले महारानी भई राजकाज सम्हालिन् । उनले राजसभाको आयोजना गरी युद्धका सरदारहरूलाई भनिन् – सिन्युक देश विस्तार गर्नू । आ–आफ्नो फौज अघि बढाई पूर्व,पश्चिम,उत्तर,दक्षिण चारैतिरका देशहरूमा रणकौशलता पूर्वक हमला गरी विजय प्राप्त गरेर गर्वले शासन चलाउनू । साथै दैवी शक्ति आर्जन गर्नका लागि युमाको भक्ति र पुजा गर्न पनि हुकुम गरिन् ।

सुनुहाङमाको हुकुम मुताविक लडाइँका नाइकेहरूले आ–आफ्नो पल्टन लिएर चौतर्फी युद्धको मोर्चामा संलग्न भए । दक्षिणपश्चिमी देशमा हमला गरिएको मोर्चाको कमान्डर सुवाङ हाङवाले सम्हालेका थिए । उनले सुचुवाङ मुना खाम्ना देशमा सशक्त आक्रमण गरी विजय हात पारे । उनका छोरा मुनाफेनहाङ युमाको ठूला भक्त थिए । युमाकै दैवीशक्ति मुनाफेनहाङको शरीरमा प्रवेश भएकाले अधर्मी होरु देश (तिब्बत) का राजाको फौज उपर साहसिक आक्रमण गरी सानदार विजय प्राप्त गरे । त्यसपछि, त्यहाँका मानिसहरूलाई युमाको बारेमा प्रशिक्षित गराएका थिए । मुनाफेनहाङको सेखपछि उनैका सन्तान लाशाहाङ राजा भए । उनैले उपाजोङवासीलाई युमा धर्म ग्रहण गर्न सिकाए । त्यसबखत उपाजोङ दक्षिणतिरको तेमेन देशबाट बौद्ध धर्म भित्र्याएर उपाजोङका बासिन्दालाई सिकाइँदै थियो ।

इङनाम, (२०५१) का अनुसार, दक्षिण तिब्बतमा बौद्ध धर्म स्थापित भइसकेको थियो । तर उत्तर तिब्बतमा प्रारम्भिक चरणको युमा धर्मकै सकारात्मक प्रभाव बढिरहेको थियो । यसबाट रुष्ट हुनगई दक्षिण तिब्बतका राजा नाडाङ थिराल चेनका दुष्ट मन्त्रीले उत्तर तिब्बतका राजासँग सम्पर्क गरी गोप्य तवरबाट उनको हत्या गर्ने षड्यन्त्र रच्न थाले । त्यसबेला उत्तर तिब्बतका राजा मुनाफेनहाङ (मुक् केगुबाहाङ)बृद्ध अवस्थाका भइसकेको हुनाले उनका छोरा लाशाहाङले समग्र उत्तर तिब्बतमा राज्य गरिरहेका थिए । लाशाहाङको उक्साहटमा बहकिएर दक्षिण तिब्बतका राजा नाडाङ थिराल चेनकै अधर्मी मन्त्रीहरूद्वारा ८३३ ख्रिष्टाब्दमा उनीहरूले गोप्य तवरले आफ्नै राजाको हत्या गरे । त्यसपछि लाशाहाङ उत्तर र दक्षिण तिब्बतका राज सिंहासनमा विराजमान भए । उनी युमा धर्मका प्रमुख अनुयायी र प्रचारक पनि थिए । तिब्बतको इतिहासमा यो राजालाई दर्मा भनियो । त्यसैताका तिब्बतमा लालुङ पालडोर बौद्ध धर्म अन्तर्गतको थोमनी सामबोटाका मुख्य अनुयायी थिए ।

राजा लाशाहाङले आफ्नो गढ ( जोङ) मा बोलाएर उनीसँग बौद्ध धर्मको बारेमा छलफल गरे । राजा लाशाहाङले “अर्काको अध्ययन गर्नु नराम्रो होइन । तर त्यसका कारणले आफ्नै धर्म र संस्कृतिको अनास्था वा विनाश गर्नुचाहिँ अरुको धर्म पालना गर्नुभन्दा सयौँगुना खराब पक्ष हो” भनेर लालुङ पालडोरलाई सम्झाउने प्रयास गरे, तर उनी असहमत भए । यसकारण राजा लाशाहाङ र पालडोर बिचमा वैमनस्यता उत्पन्न भई लाशाहाङले दबाब सिर्जना गर्नथाले । लालुङ पालडोरको बहकाउमा लागेर तिब्बती लामाहरू लाशाहाङको विरुद्धमा उभिए । त्यसपछि उनीहरूले ‘लाङडार्मा’ अथवा ‘गोरु टाउके’ तुच्छ संज्ञा दिएर लाशाहाङको हत्या गरेका थिए । यसपछि उनकी रानी युमालाई नेपालका राणाहरूले शाहवंशीय राजाहरूलाई नाम मात्रको राजा बनाए झैँ उपाजोङको राजसिंहासनमा राखी उनीहरूले आफ्नो अनुकूलको दोस्रो कार्यालय स्थापना गरी मुलुकको सम्पूर्ण शासनभार हत्याएका थिए । तिनीहरूले मुलुकको नाम उपाजोङबाट फेरि ल्हासा कायम गरे । जसको अर्थ “ईश्वरीय भूमि वा ईश्वरको भूमि” भन्ने हुन्छ ।

यसरी ८३९ ख्रिष्ताब्दमा राजा लाशाहाङको हत्यापछि तिब्बत साम्राज्य विभाजित भयो । विभिन्न ससाना समूहले आफ्नै स्वराज्य दाबी गर्नथाले । कतै–कतै चारभाइ भनेर लेखिएको पाइएपनि लाशाहाङका उवाहाङ र चङबाहाङ नामका दुईभाइ छोरा थिए । तिब्बतको इतिहासमा यिनीहरूलाई युसुङ र युमटेन भनिएको छ । यी दुई राजकुमारहरूबिच पनि राजसिंहासनको बारेमा कलह भयो । ल्हासाका लामाहरूले कान्छा राजकुमार चङबाहाङलाई राजसिंहासनको लागि रोजेर तिब्बतको राजा बनाए । ८४१–८५४ ख्रिष्टाब्दको अन्तरालमा लामाहरूको पक्षपाती व्यवहारले प्रथम राजकुमार ज्यादै अपमानित भएको महसुस गरेकाले फौज भेला गरेर दक्षिण तिब्बतको सबै किल्लाहरूमा आक्रमण गरी आफ्नो अधीनमा पारे । उनले कब्जा गरेका दक्षिणी गढ (जोङ) हरू चाङपाजोङ,पावाजोङ,साम्येजोङ, टानाकजोङ, थिरिङजोङ र खम्पाजोङ हुन् । उनले दक्षिण तर्फको हमला अभियान जारी राखेका थिए । यसै सिलसिलामा राजा उवाहाङले आफ्नो तिब्बती फौज दक्षिणतिर बढाएर हिमाली क्षेत्रका अधिकांश किल्लाहरूमा आक्रमण गरे । उनले ताप्लिजोङ,पेमेजोङ,यासोकजोङ,मिक्लाजोङ र चेम्पाजोङ आदि भूमिहरूमा विजय हासिल गरे । राजा उवाहाङले उत्तर बिहारको मिथिला प्रान्तको सिमासम्म आफ्नो राज्यको सिमाना कायम गरेका थिए । त्यसबेला राजा मावरोङहाङ (जो बौद्ध धर्मावलम्बी थिए पनि भनिएको पाइन्छ) सेनमकवान अन्तर्गत थिए भने, मिथिलामा शक्तिशाली पालवंशी राजा बिग्राह पालले शासन गर्थे ।

७७० – ८१५ ख्रिष्टाब्दमा मगधका राजा धर्मपालले मिथिला प्रान्तको प्रशासनिक अधिकार तिब्बती राजाबाट फिर्ता लिएका थिए । उवाहाङ यस्ता राजा हुन्, जसले तिब्बतसमेत समावेश गरी याक्थुङ लाजे लिम्बूवान भूमिमा शासन गर्न सफल भएका थिए । राजा उवाहाङले हालको पूर्वी नेपाल इलाम जिल्लाको पश्चिम दक्षिणतिरको डाँडामा तिब्बत मातहतको चेम्पाजोङ नामक किल्ला निर्माण गरेर शासन सञ्चालन गरेका थिए । तिब्बती भाषामा ‘चेम्पा’ भनेको ठूलो र ‘जोङ’ भनेको किल्ला÷गढ अथवा ठूलो गढ भन्ने अर्थ बुझिन्छ । यसरी राजा उवाहाङले याक्थुङ लाजेमा १६ वर्षसम्म शासन गरेका थिए ।

ईङनाम, (२०५१) का अनुसार, उवाहाङपछि उनकै सुयोग्य पुत्र माबोहाङ राजा भए । उनले थाक्थाकुम माबोहाङ पदवीद्वारा सुशोभित भई १५ वर्षसम्म राज्य गरे । उनलाई युमासाम अथवा युमाको आत्माको प्रतीकको रुपमा लिइन्थ्यो । यो समयलाई ८६५ –८८० ख्रिष्टाब्द मानिएको छ ।
यहाँबाट के स्पष्ट हुन्छ भने, तिब्बतमा युमा लाशाहाङ्मा र याक्थुङ लाजेमा थाक्थाकुम युमा भनेर पुकारियो । यसबारेमा ज्यादै बृहत र विस्तृत इतिहास पढ्न पाइने भएका कारण सकेसम्म अत्यन्तै संक्षिप्तमा मात्रै समेट्ने कोसिस गरेको छु ।

अर्कातर्फ तत्कालीन फेदाप लाजे हालको लिम्बूवान क्षेत्रमा क्रान्ति भएपश्चात् बाजदेवहाङ राजा चुनिएर आफ्नै वंशानुगत ढाँचामा राजवंश सुरु गरे । उनी पछिका शंखदेव,शंखदेव दोस्रो,देवपावर,भिचुक,घाङटुक,सोतुम्हाङ,लिम्डङ, लिजेहा, मापुनह,डेन्डेहाङ र कुंडुंजापा गरी ११ जना राजाहरू भए । लिम्बूवानका राजा कुंडुंजापा बाजदेव राजवंशको अन्तिम राजा थिए । उनका छोराहरू मुन्धुङ्गे,सन्धुङ्गे, कनेहाङ र कोचुहाङ थिए । कोचुहाङ उत्तर बङ्गालमा बसाइँ सरी त्यहाँ उनले आफ्नै राज्य कोचपिगरु स्थापना गरेका थिए, र त्यहीँबाट कोच शब्दको प्रयोग भएको हो भनिन्छ ।
केही मुन्धुमविदहरूले कुंडुंजापाको नामको पछिल्तिर ‘हाङ’ थप्नुका साथै यी माथि उल्लेखित उनका चार छोराहरू बाहेकका चङबाङ लिम्बा,मुर्गेन र थाप्मिबा पनि समावेश गरेको पाइन्छ । यहाँ मुन्धुम र इतिहासको फ्युजन भएको हो कि…? भन्ने मेरो नितान्त व्यक्तिगत अनुमान रहेको छ । मुन्धुमकै आधारमा ताप्पेसो लुम्माहाङ,फुरुप्सो थेचोङहाङ,साङगेनहाङ पानगेनहाङ,मियारा थोकचोकहाङ, लालासो पाङवोहाङ,सगिम्सो सङमिहाङ,खेच्चुवेत उप्पाहाङ र सेच्छेरे सेनेहाङहरू नै येत्हाङ वा सावा येत्हाङ हुन् कि फरक? भन्नेमा पनि केही अलमल रहेको हुनसक्छ । जेहोस्, यो तिब्बती राजा उवाहाङको आक्रमण हुनुभन्दा पहिलेको समय हुनुपर्छ । अथवा उनीहरूलाई मरावोङहाङले पराजित गरिसकेको अवस्था पनि हुनसक्छ ।

अब यसपछि एउटा याक्थुङ लाजेको महत्त्वपूर्ण इतिहासको ब्रिजिङ प्रक्रिया सुरु हुन्छ । दस लिम्बू सरदारहरूले यहाँ बसोबास गर्नका लागि आठ राजाहरूलाई मनाएका थिए भन्ने इतिहासमा खासै विवाद देखिँदैन । अब आठ राजा को थिए? त भन्दा तिनै बाजदेवहाङ र त्यहाँका बासिन्दा साथै लिम्बूवानका अधिकांश भूभाग करिब ३१ वर्षसम्म तिब्बत र प्रत्यक्ष राजा माबोहाङद्वारा शासित भएको समयमा तिब्बतबाट लिम्बूवानमा प्रवेश गरेकाहरू मध्येकै हुनुपर्छ । यद्यपि, दस लिम्बू सरदारहरू फेदाप लाजेमा प्रवेश गरेका समयका आठ राजा पछिल्लो समय मानिन्छ ।
दस लिम्बू सरदार (जो,उनीहरूले आफूलाई लिम्बस भनेर पनि चिनाउने गर्दथे) हरूको फेदाप प्राचीन फेदाप राज्यमा प्रवेशपछि फेदाप राज्यले एउटा नयाँ ऐतिहासिक युगमा फड्को मारेको थियो । चेम्जोङ “किरात इतिहास“ सन् १०४८ अनुसार, दस लिम्बू सरदारहरू आठ राजाहरूसँगको सहमतिमा फेदापमा बसोबास गर्न सुरु गरे । समयक्रमसँगै उनीहरूको सन्तान फैलिदै गयो । पछिबाट उनीहरूले आफूलाई नयाँ जाति “याक्थुङ“ वंश भन्न थाले । थाम्लासो पापो सन्तानहरू पनि सरदारका वंश नै थिए । उता फेदेन यकमा बस्ने इङसो पापोहाङ निकै प्रतापी थिए ।

समयक्रमसँगै आठ राजाहरूसँग उनीहरूको द्वन्द्व बढ्दै गयो । आठ राजाहरूको दमन बढेपछि दस सरदार याक्थुङबाहरू फेदेन यकमा चुम्लुङ बसे । उनीहरूले आठ राजाहरू विरुद्ध युद्ध गर्ने निष्कर्ष निकाले । उनीहरूले युद्धको मोर्चामा जानुपूर्व फेदेन यकमा सुम्हेत्लुङ (तीनवटा रातो ढुङ्गा) गाडेर त्यसको साथसाथमा तीनवटा आँपको बिरुवा रोपी त्यसलाई भाकेर लडाइँमा होमिने प्रतिज्ञा गरे ।
युद्धमा आठ राजाहरूको हार भयो । उनीहरू तमर नदी तरेर पूर्वतर्फ गई त्यहाँका भूभागहरूमा बसोबास गर्नथाले । कालान्तरमा त्यस क्षेत्रलाई आठराई नामले चिनियो र हालसम्म पनि यो नाम पूर्णरूपमा अस्तित्वमै रहेको छ । फरक यतिमात्र हो कि, ‘राय’ शब्द ‘राई’ मा अपभ्रंस भएको छ ।

यता दस लिम्बू सरदारहरूले आफूले युद्ध जितेको उत्सव मनाउनुका साथै उक्त भूभागलाई ‘लिम्बूवान’ नामकरण गरे । इमानसिं चेम्जोङद्वारा लिखित “विजयपुरको संक्षिप्त इतिहास १९७४”मा लेखेअनुसार, बिक्रम सम्वत् १४२१ मा मोरोङका लिम्बूवान राजा पुङलाइङहाङलाई ब्राह्मण पण्डितद्वारा पहिलोपटक अमर राय नाम राखिदिए भनेअनुसार यो समय करिब बिक्रम सम्वत् १३०० तिरको हुनुपर्छ भन्ने मेरो अनुमान हो । यसबारेमा अरुले भनेका वा लेखेका छन् ?त्यसबारेमा मलाई खासै जानकारी छैन ।

यो घटनाक्रम पछि एउटा नयाँ ऐतिहासिक युगको प्रारम्भ भयो । लिम्बूवान भूमिलाई १० प्रान्तमा विभाजन गरियो । विधिसम्मत ढङ्गबाट राज्य सञ्चालन गर्न नीतिनियमको खाँचो महसुस भएकाले ४४ बुँदे राजनैतिक थिति (संबिधान), ६ बुँदे धार्मिक नीति, १० बुँदे कृषि ऐन र ४ बुँदे सामाजिक थिति निर्माण गरी कार्यान्वयन र प्रचलनमा ल्याउने कार्य भयो । त्यसले लिम्बूवानलाई एक स्वाधीन र स्वतन्त्र राष्ट्रको हैसियत प्रदान गरेको थियो । १७ थुम भनेको योभन्दा धेरैपछि बि. सं १८३१÷३२ को अन्तिम गोरखा– लिम्बूवान युद्ध पछिको सम्झौता सम्पन्न भइसकेपछिको अमाल सङ्कलन गर्ने कार्यालय वा पायकपर्ने केन्द्रको अनुकूलताका आधारमा निर्माण गरिएको शोषणको संरचना हो ।

तर प्रकारान्तरले नेपाल एकीकरणको कार्यभार सम्पन्न भइसकेपछि, रणबहादुर शाहका पालामा लिम्बूवानमा एकात्मकवादी केन्द्रीकृत ब्राह्मण राज्यसत्ताले नीति र समरीति नामक अभियान चलायो । त्यस अभियानको मूल उद्देश्य र स्वार्थ भनेको लिम्बूवानका लिम्बू जातिलाई हिन्दुकरण गर्ने नै रहेको थियोे । डा. देवी दुलाल, “पाँचथरको इतिहास” र प्रो. डा. रमेश ढुङ्गेलका अनुसार, उक्त अभियानमा साथ नदिने लिम्बूहरूलाई सात रुपैयाँ कर लगाइने भयो, जसलाई उसबेलामा मेगजिन कर भनिन्थ्यो । आठराई,तमोर र याङवरक क्षेत्रका केही लिम्बूहरूले त्यस साँस्कृतिक आक्रमणको पक्षपोषण गर्दै धागो बाँधेका थिए । स्पष्टरुपमा बुझ्नुपर्दा जनै भिरेका थिए भन्ने बुझिन्छ । दिन बित्दैजाँदा, पान्थरमा यसको व्यापक विरोध भयो । त्यसपछि रणबहादुर शाहको कदमलाई साथ दिएका लिम्बूहरूले माफी मागेपछि त्यो अभियान असफल भएको थियो ।

गोरखा– लिम्बूवान सन्धि पश्चात् विगत घटेका राजनैतिक तथा ऐतिहासिक घटनाक्रमका आरोह–अवरोहका क्रमबद्ध शृङ्खलाहरू र वर्तमान अवस्थाका बारेमा अर्को पटकको स्तम्भमा समावेश गर्नेछु ।

यहाँ मैले के जोड्ने चेष्टा गरिरहेको छु भने, याक्थुङ लिम्बू समुदाय अहिलेसम्मको अवस्थामा आइपुग्नु अघि विभिन्न प्रकारका सङ्घर्ष, अभ्यास, अनुभव, विचार समूह, आस्था र प्रयासको मिश्रित प्रयोगबाट यो स्वरुप निर्माण भएको छ ।

यहाँ , राजा माबोहाङ,बाजदेवहाङ,आठ राजा वा दस लिम्बू सरदारहरू कोही पनि अलग र फरक होइनन् भन्ने मेरो बुझाइ रहेको छ । मुना मैदानदेखि पूर्वतर्फ बढ्नेक्रममा कोही पूर्व उत्तर लागे भने, कोही पूर्व दक्षिण तर्फ बढे होलान्? कोही अघि आए होलान् त कोही पछि? कसैले पहाडको बाटो रोजे त कसैले समतल गोरेटो? अन्ततोगत्वा ढिलोचाँडो अहिलेका सबै याक्थुङ लिम्बूहरूको लिम्बूवान भूमिमा साक्षात्कार भएको छ । यसको सबैभन्दा बलियो आधार र तथ्य के हो भने, हाम्रो भाषिक एकरुपता नै हो ।

राज्यले विभिन्न तवरले हाम्रा कमीकमजोरी र बौद्धिक त्रुटिमा टेकेर विगतमा हामीलाई फुटाएको नजिरहरू हाम्रैसामु छरपस्ट रहेकाछन् । राजनीतिको जरा इतिहास र इतिहासको फल राजनीतिलाई हामीले बुझ्न र गम्भीररुपमा मनन गर्न यथासक्दो प्रयास गर्नैपर्ने हुन्छ ।

हामी सबैलाई थाहा कि, राई,सुब्बा,नायब सुब्बा,देवान,विचारी,डिठ्ठा,नायब थरी,कारबारी,माथा, गौरुङ,तोहले,पाँचखपन,दसखपन,द्वारे,हुक्के,बैठके आदि सबै शाहकालीन पदवी हुन् । केही पदहरू अझैसम्म कायमै रहेकाछन् । कुनै एक जमानामा कसैले लिम्बूलाई सुब्बा साहेब भनेर सम्बोधन गर्दा गर्व महसुस गर्नुपर्थ्यो भने, अहिले त्यै शब्दले सम्बोधन गर्दा होच्याएको वा फुर्काएको अनुभूत हुन्छ । तर भारत देशको दार्जिलिङ,सिक्किम,सिलिगुडी,अछाम आदि स्थानमा हाम्रा याक्थुङ लिम्बू बन्धुहरूले त्यै “सुब्बा“ लाई स्वीकार गर्नैपर्ने बाध्यता सिर्जना भएको छ । नेपालमा राई र देवान बन्धुहरूको पनि समस्या अझैसम्म कायमै रहेको अवस्था छ । यसो हुनुको मुख्य कारण उहाँहरूले आफ्नो वास्तविक खम्बु पहिचानलाई आत्मसात गर्न नसक्नु नै हो भन्दा अत्युक्ति नहोला ।

त्यसो त हामी याक्थुङ लिम्बूहरूलाई तत्कालीन धनकुटाका बडा हाकिम माधवशम्सेर राणाले “काङ्ग्रेस ब्राह्मणहरूको पार्टी हो“ भनेर उछाल्दा राम्रोसँग कुरै नबुझिकन बहकिएर “श्री ३ सरकारकी जय!“ भन्दै कुर्लिएका क्षणहरू कल्पना गर्दा हीनताबोध हुने खालका इतिहासमा गल्ती–कमजोरीहरू पनि हामीबाट नभएका होइनन् । मैले यो प्रसङ्ग किन उठान गरेको हो भने, कतै हामीले अझैसम्म त्यै अवस्थाको मनोविज्ञान र मानसिकता त पालिरहेका छैनौँ ? भन्ने जिज्ञासा जाहेर गरेको मात्र हो ।

एउटा समूहले महाभारतको युद्ध लडेको अद्भुत शक्ति किरात हौँ भनेर दाबी गरेको पाइन्छ । नेपालका ५÷१० जना एकात्मकवादी राज्यसत्ताका नाइकेहरूको खुट्टाको एउटा रौँसम्म उखेल्न नसकेको हरिबिजोग दृष्टान्तको कसले,कसरी र कुनरुपमा व्याखा गर्ने? कसैलाई शिव र पार्वतीको ईश्वरीय राज्य चाहिएको छ । केवल थरीथरीका नाम मात्रै उत्पादन हुने, तर कुनै ठोस तथ्य र प्रमाणका रुपमा पुरातात्त्विक वस्तु, कला,संस्कृति,कलाकृतिका अवशेष, प्राचीन भौतिक संरचनाका भग्नावशेष, शिलान्यास, उल्लेखनीय कार्यको ऐतिहासिक विवरण र दस्तावेज केही अत्तोपत्तो नभएको तत्कालीन नेपाल खाल्डोको किरात राजाको आफू सन्तान भएकोमा धेरैले गौरव गरेको बुझिन्छ ।

अर्काथरीलाई लागेको छ, मुन्धुमभन्दा पर अरु कुनै सत्य छैन । मुन्धुम अन्तिम सत्य हो । के उसोभए, लाजिरी लापोङमा तेम्बे, नाम्जिरी नाम्पोङमा तेम्बे, सिन्युक्तेन मुनाखाम तेम्बे, मेन्छ्याम्गेन नाम् याप्मी पोङमा तेम्बे भनेकै ताप्लेजुङको तमोरखोलामा अवस्थित तागेरा फुक्को नै हो त ?
मैले माथि उजागर गरेको इतिहासले मुनाफेन र सिन्युक धेरै टाढा बताउँछ । केही मुन्धुम सङ्कलन र लेखनकर्ताहरू यहीँ घेराबाट बाहिर निस्कनै चाहँदैनन् । कसैलाई लाग्छ, मैले सुनेको,जानेको,पढेको र बुझेको बाहेक अरु मुन्धुम नै होइन भन्ने पनि लागेको छैन भन्न सकिन्न ।

कोही–कोहीलाई लाग्छ, हामी सिर्फ याक्थुङ मात्र हौँ, त्योभन्दा बाहेक अरु केही पनि होइनौँ । एकाध व्यक्तिहरूलाई लाग्छ, अब मुन्धुमले अवगत गराएको बाटो पछ्याउँदै तिब्बत,चीन, युनान,दार्जिलिङ,सिक्किम,भुटान,बर्मा ( म्यानमार),अछाम,मंगोलिया र अफ्रिकासम्म एकतामा समेटिनुपर्छ । सुन्दा त बडो गज्जबको कुरो लाग्छ । तर उनीहरूलाई एउटा सानो समुदाय मिल्न नसकेर विभक्त भइरहेको यथार्थको कुनै हेक्का र बोध नै छैन ।

कसैलाई सिरिजङ्गाको नामै उच्चारण गर्न नपरे हुन्थ्यो भन्ने लागिरहेको भान हुन्छ । सकभर किरात मात्र भन्न पाएको खण्डमा लिम्बू पनि भन्न आवश्यक छैन भन्ने पनि लागेको होला? अनि कहिलेकाहीँ मलाई लाग्छ कि, कतै एक्काइसौँ शताब्दीका याक्थुङ लिम्बू आपुङ्गी हाङहरू हामी नै त होइनौँ ? मेरो भनाइ र बुझाइ के हो भने, हाम्रो याक्थुङ लिम्बू समुदाय विविध आयामहरूको संयोजनद्वारा निर्माण भएको जाति हो । हाम्रो थर निर्धारण हुने प्रक्रिया पनि धेरै छन् । जसमध्ये, चोक्फुङ थिम (भाइयाद भित्र्याउने) चलन पनि प्रचलित थियोे । सघेक काक्मा÷हाडफोरुवा अथवा रगत वा हाडनाता भित्रको अवैध सम्बन्धद्वारा पतित वा विग्रहको संज्ञाबाट पनि थर निर्धारण हुन्थ्यो । त्यस्तै पगरी ग्रहणबाट सुब्बा,राय पनि बनाइयो । मिङस्रा ग्रहण अर्थात् एकै बाबुका सन्तानले कालान्तरमा आफ्ना हाँगाका पुर्खालाई आदिपुरुष मानी नयाँ वंशका रुपमा स्थापित हुन्थे । जस्तो कि, मादेन,चङबाङ आदिबाट अरु थुप्रै उपथरहरू निर्माण गरिएको छ । भूमि ग्रहण वा बसोबास गरेको ठाउँको नामको आधारमा पनि थर निर्धारण भएका पाइन्छन् । जस्तै, तेम्बे,साँबा,नाल्बो,लिवाङ, साउदेन आदि । विलयन वा मेल्लुङ फुःमा (जसलाई सयमुन्द्री पनि भन्ने गरेको पाइन्छ) को आधारमा पनि थर बनेका छन् । सादाप्ला याङदाप्ला अथवा खसी,राँगा,सुँगुर र पैसा टक्य्राएर पनि थर तोक्ने चलन थियोे भनिन्छ । ससिङ लाप्मा मतलव धर्मपुत्रपुत्री गोद लिने प्रचलनसमेत रहेको कुरा सुन्न पाइन्छ ।

हामी कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति भएकाले वैवाहिक सम्बन्ध पनि यसै सेरोफेरोमा निहित छ । विशेषगरी राई वा खम्बुहरूसँग धेरै पहिलेदेखि नै  वैवाहिक, साँस्कृतिक तथा भौगोलिक सम्बन्ध स्थापित भइसकेको छ । पछिल्लो समयमा अरु जातिहरूसँगको वैवाहिक सम्बन्धले पनि गति लिईरहेको अवस्था छ ।

याक्थुङ लिम्बू समुदाय भनेको, यिनै यावत् संस्कार,संस्कृति,रीतिरिवाज र मूल्यमान्यताका विविधतायुक्त आयामहरू सम्मिलित शृङ्खलाबद्ध लामो अभ्यास र प्रक्रियाबाट निर्माण भएको जातिको अनुपम नमुना हो । यिनै यथार्थताहरूलाई आत्मसात गर्दै सन्तुलित तवरले गहन छलफल र बहसको माध्यम अपनाएर सचेत र सजगतापूर्वक गन्तव्यतर्फ पाइला चाल्नुमा नै हाम्रो सिङ्गो समुदायको सर्वोपरि हितको पक्षमा हुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जनगणनामा थर लेख्ने प्रचलन

निनाम कुलुङ ‘मंगले’ लामो समयदेखि (लगभग एकसय २० वर्ष अघिदेखि) नेपालमा पनि राष्ट्रियस्तरमा जनगणना...

‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’

रोना लिम्बू वर्देवा १५ वर्ष अघि मैले अन्तरजातीय विवाह गरेकी थिएँ । चाडवाडमा भेटघाटको...

शुद्ध हुनुपर्छ भरिएको घडा

आश्मा अर्याल आयो दशैँको बेला अरे । के आएकै हो त दशैँ? तिथि, मिति,...

दसैँसँग याक्थुङ जातिको के साइनो लाग्छ ?

प्राज्ञ अमर तुम्याहाङ चाड भनेको के हो ? चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो...

समसामयिक राजनीतिक रङ्गमञ्चमा प्रतिगामी र अग्रगामी आरोप–प्रत्यारोपको शल्यक्रिया

उदय ‘पूर्वेली’ चोङ्बाङक्याक अहिलेको सत्ताको केन्द्रलाई नियाल्दा लिबरल डेमोक्रेसी प्रकृतिको देखिन्छ । काँग्रेस र...

लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध

नन्द कन्दङवा किरात, याक्थुङ र लिम्बुको सम्बन्ध किरात भनेको आर्यहरूले इंगित गरेको एउटा ठुलो...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...

सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी

युवराज ठकुरी उन्यु र बुकी फुल्ने उत्तरी मोरङ केराबारी–२, सिंहदेवीमा रहेको पाखोबारी आज हराभरा...

“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?”

जीवन देवान गाउँले मेरो एकजना जिग्री थियो –दीलदुःखी जन्तरे । थियो ! सुनेर चिसो...

विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना

लक्ष्मण कटुवाल एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको...