गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे - Naya Online

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन् । त्यसको जस उनै आङ्देम्बे हुन् । मोफसलमा रहेर लामो समय सिर्जनामा साधना गरे । त्यासो त उनलाई काठमाडौ र मेचीपारिका कवि लेखक तथा कलाकारहरूको सेतु समेत मान्ने गरिन्थ्यो । आजको पुर्वान्चलको गजल लेखन त्यतिकै यहाँसम्म आइपुगेको हैन । उनै आङ्देम्बेहरूको त्याग र योगदानले आज पुर्वान्चलमा नि गजल लहरिएको हो । आङ्देम्बेले गजलमा मात्र नभई रुवाई समेत स्थापित गर्न उत्तिकै भुमिका निर्वाह गरेका छन् । उनको ‘आजभोलि’ गजल संग्रह, ‘ग्याँसच्याम्बरभित्र बुद्ध’ रुवाइ संग्रह, प्रकाश आङ्देम्बेका रुवाईयात संग्रह प्रकाशित छन् । सिर्जनालाई सिमांकन गर्नुहुन्न भन्ने मान्यता राख्ने आङ्देम्बे यो समयका नयाँ पुस्ताको ढुकढुकी हुन् । नेपाली गजलमा युवाहरूको आकर्षण हुनुमा उनको योगदान पनि उत्तिकै छ । पछिल्लो समयमा गजलमा विभिन्न मतमतान्तर छ । गजललाई सबैको प्रिय कसरी बनाउने भन्ने विषयमा वहस चलिरहेको बेलामा मोति जयन्तीको अवसरमा उनै प्रकाश आङ्देम्बेको धारणा सहितको नालिबेली यो हप्ताको ‘नयाँ अनलाइन’को शनिबारे परिशिष्टाङ्क ‘नयाँ साहित्य’मा ।

हिजोआजको दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
पारिवारिक सिलसिला, केही प्रोजेक्टको तयारी र केही सृजनात्मक कोर्ष अध्यनका लागि तत्काल म नर्बेमा छु । यहाँका स्थानीय सृजनशिल संघसंस्था, बुद्धीजीवि आदिसँग चिनजान गर्ने क्रम चलिरहेको छ । यहाँको समाजविज्ञान, मनोविज्ञान, राजनैतिक सँस्कृति, कला, साहित्य, भाषाप्रतिको लगाव अध्ययन गर्ने क्रम चलिरहेको छ । संयोग भनौं अहिले म विश्वप्रसिद्ध महान नाटककार हेनरिक इब्सेन जन्मेको सहरमा छु । आफु रंगमंचको विधार्थी भएको नाताले यो संयोग निक्कै सुखद छ मेरा लागि । यहाँको नगरपालिका र थिएटरबाट पनि स्वागत निम्तो दिएका छन् । सायद चाडै उनीहरूको निम्तो मान्न पुग्नेछु । नजिक भएर केही सिक्ने मौका पाउनेछु । जसलाई आफ्नो जाति, भाषा, देशकाका निम्ती अनुभव सेयर गर्न पाउने मिठो लोभमा छु ।

तपाईंहरू जस्ता सिर्जनशील कवि कलाकारलाई यो महामारीले के कस्तो असर पुर्याएको छ ?
सिङगो जगत यो महामारीको चपेटामा परेको छ । त्यसमा कोही पनि अछुतो रहेको छैनौँ । सारा मानव सभ्यता नै त्राहिमाम बाँचेको यो घडीमा संवेदना पनि विवश भएर बित्दोरहेछ । सुरुमा त केही गर्ने/सोच्ने, उर्जा र चिन्तन नै रहेन । दिनौँ चिनेका आफन्तहरूलाई भेटन नपाई हार्दिक श्रद्धान्जली दिनुको पिडा अकल्पनीय छ ।

मानिसहरूको जीवन नै टुंगो नभएको बेला सृजनात्मकता पनि फिक्का महसुस हुँदोरहेछ । तै पनि बाँच्नेले आफ्नो जिम्मेवारी, व्यबहार त निभाउनै पर्ने रहेछ । व्यवसायिक हिसाबले चलचित्र निर्माण, केही सृजनशिल व्यवसायमा काम गर्ने तयारी थियो तर ती सबै अहिलेलाई रोक्किएको छ । ‘म एउटा विहान हिडिंरहेछु’ कविता सङग्रह प्रकाशन गरेको छु । लकडाउनले चर्चा परिचर्चा हुन पाएन ।

जीवन नै हताहत भएको बेला, मैले मेरो कविता पढिदिनुस भन्ने नैतिक साहस गरिन । गम्भीर भएर सोंच्दा यो कोरोना पनि पुँजीवादी व्यवस्थाको नयाँ व्यपार जस्तो महसुस हुन्छ । व्यापार, पैसा, शक्तीको अगाडि मानवीय मुल्य र मान्यता केही रहेनछ भन्ने आभास लागिरहेको छ । भित्र कतै दुःखीरहेको छ । फेरि पनि हामी कला, साहित्यका सर्जकहरू मानवीय मुल्य, मान्यतालाई केन्द्रमा राखेर सोच्छौं, सोचिरहन्छौं ।

सिर्जनाको कुरा गर्दा हामी अहिले मोति जयन्ती मनाउँदैछौँ । पुर्वान्चलमा यहाँहरूले गजलको ब्याड राख्दै गर्दाको दिनहरू सम्झनुस न ?
म आफुले जानी नजानी पचास सालपछि गजलमा बामे सर्न थालेको हुँ । त्यो समय प्रशस्त स्रोत साधन थिएन । अहिले जस्तो नेट इन्टरनेटको पहुच थिएन । विसौं किलोमिटर सम्म साइकिलमा दुई जना चढेर पनि कार्यक्रमहरूमा धाइयो । कतिपय गोष्ठीमा दिनभर लाएर, भोकै पुगियो तर अन्तमा सृजना सुनाउन पाइदैन थियों । त्यस समय गाह्रो थियो भोग्न तर अहिले सम्झदाँ त्यो उर्जा, भोगाईको असाध्यै माया लागेर आउँछ ।

केही अग्रजहरूले गजल भनेको र प्रकाशन गरेको देखेको आधारमा गजलप्रति मोह जागेको थियो । मलाई गजलको लय, सम्प्रेषणीयता, भावना अभिव्यक्तको शैलीले थाहा नपाई मोहित तुल्यायो । स्थानीय गोष्ठीहरू, सानातिना कोठे भेटहरूमा हामीले गजललाई सुन्ने सुनाउने माध्यम बनायौं । साहित्यका अन्य विधामा कलम चलाउनुहुने अग्रजहरूले तात्कालिक समयमा गजललाई कार्यक्रमहरूमा उपेक्षा गरेको पाइयो । त्यसपछि हामीले गजलको कार्यक्रम, कार्यशालाहरू यति धेरै आयोजना गर्यौ कि अन्तत त्यसको प्रभावले गजल र गजलकारहरूले सबै स्थानीय गोष्ठीहरूमा स्थान पाउन थाल्यो । स्थानीय हवाई, पुस्तिका, साहित्यिक भित्ते पत्रिकाहरूमा समेत गजल विशेषाङक प्रकाशन गर्न थाल्यो । पुर्वाञ्चल गजल मंच स्थापना भएपछि यसले देशव्यापी अभियान नै चलायो । हाम्रै सम्पादनमा ‘पुर्वाञ्चलका समसामयिक गजलहरू’ दमक साहित्य प्रतिष्ठानको नामबाट पनि प्रकाशन भयो ।

पछि पुर्वाञ्चलका हरेक जिल्लामा गजल मंचहरू र गजल विधाका उन्नयनका लागि संस्थाहरू निर्माण भए । केही सुस्ताए केही अझै पनि सक्रिय छन् । गजललाई स्थानीय जातजातिका भाषामा लेखन र कृति प्रकाशन भएको पनि पुर्वाञ्चलमै पहिलो हो । गजलमा विविध प्रयोग पनि पुर्वाञ्चलवाटै भएको थियो । गजलकाव्य, सवाल–जवाफ, शुत्र गजल, छोटो गजल, आदि । लिम्बू भाषामा, निशेष आङदेम्बे, प्रेमदिप थाम्सुहाङले कृति प्रकाशन गरेका छन् । अन्य भाषामा पनि प्रकाशन भएका होलान् । गजलमा आयातन, आञ्चलिकता, आफ्नो सुवास र अनुहार खोज्ने काम पनि पुर्वाञ्चलवाट भएको हो । यो सामुहिक अभ्यासमा थियो । यसमा सबै सृजनशील स्रष्टा, आलोचक, रेडियो, पत्रपत्रिका, पाठकको उत्तिकै योगदान थियो र छ ।

हामी मान्छे नामक जातको एउटा ठूलो रोग छ । कसैलाई सम्मान गर्दा भगवान बनाइ हाल्ने । कि त अपमान गरेर दानव बनाई हाल्ने । मोतिराम भट्ट लगायत अन्य स्रष्टाहरू प्रति पनि तेस्तै भएको छ । मलाई लाग्छ हामीले हरेक स्रष्टा र सृजनालाई सत्यको धरातलमा, आधारमा रहेर हेर्नुपर्छ । योगदानको कदर, सुन्दर सृजनाहरूको सम्मान, प्रवृतिहरूमाथि समिक्षा र समग्रतामाथि प्रश्न गरिनु पर्छ । मोतिराम भट्ट अब साझा विम्ब हुन् । उनलाई सबैको बनाउन अझै बाँकी छ । त्यो बाँकी काम गर्न गजलमा तँपाईहरूको जुन सक्रियता छ । त्यसको लागि साधुवाद ।

गजलमा विविध मत छ नि, यो मत मतान्तर किन ? विवाद र निषेध किन ? गजल कस्तो हुनुपर्ने ?
सृजनामा बिचार, भावनाको विविधता हुनु सुन्दर कुरा हो । विविधताले सृजनालाई गतिशिल बनाउने हो । तर यहाँ सृजनात्मक हितभन्दा पनि कसरी आफुलाई अरुभन्दा ठुलो देखाउन सकिन्छ । सिमित झुन्डको अगुवा बन्न सकिन्छ भन्ने व्यक्तिवादी रोगवाट ग्रसितहरूले अनावश्यक विवादमा ल्याएका हुन् । केही शास्त्रीयताको वकालत गर्नेहरूले बहर वाहेक अरु लयवाट सृजित सृजनालाई गजल नै मान्न तयार छैनन् र निशेधको तयारीमा छन् । अर्को तर्फ स्वतन्त्र लयको नाममा वकालत गर्ने केही झुन्डवालाले बहरका गजल र बहरमा लेख्नेहरूलाई पूरै निशेधको तयारीमा छन् । गजलमा यी दुवै अतिवाद गलत र हानिकारक छ ।

बहरमा लेख्ने साथीहरूले पनि अलिक लचिलो भएर सोच्न जरुरी छ । सतप्रतिशत सास्त्रीयता खोज्ने हो भने हामीले गजल लेख्नु भएन । नेपालीमा लेख्नु भएन । अझ नेपालमा बसेर लेख्नु भएन । अहिलेको समयमा लेख्नु भएन । जुन समय, भाषा, भूगोल, सँस्कृतिमा सृजना भयो तात्कालिक अवस्थामा पुग्नुपर्छ । इतिहासलाई सम्मान गर्दै सृजनालाई हामीले हाम्रो भूगोल, सँस्कृति, भाषा, लय र आञ्चलिकता दिन जरुरी छ । हाम्रो माटो सुहाउँदो, सँस्कृति सुहाउँदो पन दिन जरुरी छ । हाम्रो अनुहार दिन जरुरी छ । यो कुरा मनन गर्नुपर्छ । आफुलाई आधुनिक गजलको ठेकेदार सम्झने झुन्डले पनि बुझ्नुपर्छ कि स्वतन्त्रताको नाममा, प्रयोगको नाममा, वाहवाही–तालीको लोभमा तुक्का मिलाउनुलाई मात्र गजल भन्न सुहाउँदैन । जबसम्म गजल विधामा नेपाली माटोको वासना आउँदैन तवसम्म गजल हाम्रो बन्न सक्तैन । खासमा भन्नु पर्दा सृजनामा पण्डित्याँई र नेतागिरी दुवै घातक छन् ।

गजल विधा हो हैन भन्ने उस्तै फरक विचारहरू तातिरहेको छ ? गजललाई यस्तै विवादले नै सक्ने र‘छ हगि ?
यो प्रसंङ्ग चाहीँ अलिक बेग्लै भो । सृजनाको कुनै पनि शैली आफैमा विधा हो । विधा भनेर मान्दा केही फरक पर्दैन । गजलको सन्दर्भमा चाहीं जो गजल लेख्छन् लागि परेका छन् उनीहरू गजलको समग्रता चाहान्छन् । गजल विधा हो भनेर स्विकारेर लागिपरेका हौं । अपवाद वाहेक, जो गजल लेख्दैनन् । गजलको सम्पे्रषणीय लोकप्रियता मन पराउँदैनन् तीनिहरू चाहीँ गजललाई तथानाम गाली गर्न तयार छन् । गजल विधा, आयातित हो, आदि आरोप लगाउँछन् । ब्रह्माण्डमा पञ्चतत्व (घाम, पानी, आकास, धर्ती, हावा) त साझा छ भने बाँकी कुन बस्तु, अलग्गै हुनसक्ला ? कुण्ठाको आधारमा मौलिकताको प्रसंग उप्काउनु मानसिक रोग सिवाय केही होइन । सृजनशिल विधा त एउटा माध्यम मात्र हो । त्यसलाई कुन श्रष्टाले कसरी प्रयोग गर्न सक्छ भन्ने कुरा मुख्य हो ।

सृजनात्मक सामथ्र्य दिन सकिएन भने कुनै पनि विधाको मात्र अर्थ छैन । नेपाली गजलको सन्दर्भमा एउटा सत्य चाही के हो भने साहित्यको अन्य विधा जस्तो गजललाई प्राज्ञिक उचाईमा लान नसकिएकै हो । पण्डित्याँई, नेतागिरी, गुटतन्त्र, ताली, वाहवाही र आत्मरतीभन्दा माथि उठ्न सकेनौँ । कसैले गजलको बारेमा सानो ठूलो, फरक प्रतिक्रिया दियो कि हामीलाई मानसिक पक्षघात/हृदयघात भइहाल्छ । ती स्रष्टाहरू हाम्रो नजरमा गजलको बिरोधी भइजान्छन् ।

बुझ्नु पर्ने के हो भने ती स्रष्टाहरूले गजल विधा र गजलगोबाट निक्कै ठूलो अपेक्षा गरिरहेका छन् । उनीहरूको प्रतिक्रियालाई/प्रश्नलाई/व्यङ्यलाई हामीले सृजनशिलता मार्फत नै अनुत्तरित कहिले बनाउने ? सोच्न जरुरी छ । यथार्थमा जो गजललकार हुँ भन्छौं उनीहरू हल्का, फुल्का यात्रामा नै छौं । जो गजल लेख्दैनन् र विरोध/व्यङग्य गरिरहेका छन् । उनीहरू चाहीं गजलमा प्राज्ञिकता चाहिरहेका छन् ।

गजलको विवादले नव गजलकारहरू त निराश बनेर बाहिरिनेहरू पनि छन् नि ?
सृजना होस् या जीवन । भाग्नेहरूको होइन । निरन्तर लाग्ने र निरन्तर जाग्नेहरूको हो । एउटा उखान छ नि “कुकुर भुक्तै गर्छ, हात्ती हिंड्दै गर्छ” । समस्याबाट पाठ सिक्ने हो । सतर्क बाँच्ने हो । भाग्ने होइन । अलिक पहिला हामी चाहीं आत्मकेन्द्रित भएर, लहैलहैमा हिंड्यौं । त्यो समय प्रतिस्पर्धा पनि बाक्लो थिएन । अहिले सन्दर्भ स्रोत र प्रतिस्पर्धा अग्लो छ । निक्कै मिहिनेत, अध्ययन गरेर हिंड्नु होला । अन्य स्रष्टाहरूको प्रभाव पर्न सक्छ । त्यसलाई प्रेरणा बनाएर सृजनामा आफ्नोपन, शैली निर्माण गर्न जरुरी छ । हरेक व्यक्ति, स्रष्टाको लागि आफु हुनसक्ने स्पेस सुरक्षित छ ।

नव प्रवेशी गजलकारहरूलाई गजल लेखनमा आकर्षण गर्न के गर्नु पर्ला ?
सृजनाको क्षेत्र जग्गा प्लटिंग गरेर विज्ञापन गरे जस्तो होइन । यसको लागि ठ्याक्कै तरिका हुन्न ।
गहन अध्ययन्, चिन्तन, मनन र निरन्तर प्रयासवाट सृजिएका सृजना अलिक उत्कृष्ट होलान् । कसैले रहरै रहरमा पनि सृजन्छन् । त्यो पनि आफैमा राम्रो सुरुवात हो तर हामीले आफुलाई रहरमा मात्र सिमित गरियो भने त्यसले सृजनालाई उचाई दिदंैन । रहर, भावनालाई पनि हामीले माझ्नु, चम्काउनु पर्छ । यसको लागि चिन्तन, अध्यन, मनन र निरन्तरता नै मुख्य कुरा हो । राम्रो सृजना र स्रष्टाका हरेक सुन्दर कुराहरूले नव सर्जकलाई आकर्षण गर्छ नै । तसर्थ हामीले पनि राम्रा सृजना र सृजनात्मक सत्सङ पनि निरन्तर राखौं ।

तपाईँ निक्कै व्यस्त मान्छे, तपाईंको आफ्नो भावी योजनाहरू चै के छ ?
व्यस्त त हाम्रो गफै बढी जस्तो पनि लाग्छ । यद्यपी म चुपचाप बस्नभन्दा केही सृजनशिल गतिविधिमा आफुलाई पाउँदा बढी आनन्दित महसुस गर्छु । सायद कोरोना साम्य नभइन्जेल मेरो नयाँ चलचित्रको छायाँङकन हुन्न । किनभने मेरा निर्माता, प्राविधिक सबै युरोप, अमेरिका, भियतनाम आदि देशकाहरू छन् । उनीहरू छायाँकनमा नेपाल आउने सहजता हुनु प¥यो । साउण्ड, लाइट, सिनेम्याटोग्राफर र पोस्ट प्रोडक्सनको पुर्व सल्लाह गर्न केही समय जर्मनीमा रहन्छु । अहिले युरोपमा नै सृजनशिल र स्थानीय भाषिक सर्टटर्म कोर्सहरू पाएको छु । त्यो पनि अध्ययन गर्दैछु । केही कथा, कविता, लेखन र आफ्नै अघिका गजलहरू परिस्कार गर्दैछु । सायद विस्तारै गजल र कथाका किताब बजारमा आउला । धेरै समयपछि परिवारलाई पनि समय दिदैंछु ।

अन्तमा ?

युरोपियन देश नर्बेमा मौसम सम्बन्धी एउटा भनाई प्रख्यात रहेछ । “मौसम कहिले खराब हुँदैन । खराबी त तैँले लगाउने कपडामा हुन्छ ।” सार बुझ्नै भो होला । विधा आफैमा राम्रो र नराम्रो हुँदैन । हाम्रो सामथ्र्य, निरन्तर सृजनशिल योगदान, अध्यन, चिन्तन, मननमा भर पर्छ ।

प्रस्तुतिः प्रकाश दिप्साली

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...