अभिमत: नेपाली गजल विधामा देखिएका पाँच समस्याहरू - Naya Online

अभिमत: नेपाली गजल विधामा देखिएका पाँच समस्याहरू

एकु घिमिरे

विषय प्रवेशः
गजल भारतको कलकत्ता पढ्न गएका मोतीराम भट्टमार्फत नेपाल भित्रिएको देखिन्छ । शर्मा (२०३९) का अनुसार नेपाली साहित्यलाई पाँच युगमा वर्गीकरण गरिएको छ । ती हुन् क) भानुभक्त पूर्व युग ख) भानुभक्त युग ग) मोतीराम युग घ) क्रान्ति पूर्व युग ङ) क्रान्ति उत्तर युग (पृ. ६) । उल्लिखित मोतिराम युग वि.सं. १९४० बाट सुरु भई वि.सं. १९७६ सम्मको मानिएको पनि शर्माले उल्लेख गरेका छन् । यो युग जहानियाँ राणाहरूले एकतन्त्री शासन गरिहेको समयभित्र पर्दछ । राणाहरूको शिक्षाबाट आम जनसमुदायलाई बन्चित गरी आफ्नो अप्रजातान्त्रिक शासन टिकाइराख्ने रणनीति, अर्कातिर मोतीराम भट्टको नेपाली साहित्यको प्रसार प्रचार गरी जनसमुदायलाई सुसुचित गराउने उद्देश्य । यस्तो विषम परिस्थितीमा पनि मोतीराम भट्टले नेपाली साहित्यका लागि धेरै काम गरे । उनले नेपाली साहित्यमा आलोचनाको प्रारम्भ गरे । भानुभक्तलाई प्रकाशमा ल्याउने, साहित्यिक मण्डली खडा गर्ने, पुस्तक पुस्तिकाहरूको प्रकाशन गर्ने, समस्यापूर्ति अभियान चलाई लेखकहरूका बीचमा प्रशिक्षण चलाउने आदि मोतीरामले गरेका साहित्यिक कर्महरू हुन् । मोतीका यिनै पवित्र साहित्यक कार्यमध्ये नेपाली गजल लेखनको सुरुवात पनि एक हो । मोतीरामले हिन्दी र पर्सियाली भाषाबाट पे्ररित भई नेपाली कविताकै एक शैलीका रूपमा प्रचलनमा ल्याएको गजल हाल नेपाली साहित्यमम एक फरक विधाको रूपमा प्रख्यात भइसकेको छ ।

नेपाली गजल लेखनलाई विभिन्न विद्वानहरूले विभिन्न तर्कका आधारमा काल विभाजन गरेका छन् । डा. घनश्याम न्यौपानेका अनुसार वि.सं २०३४ देखि वि सं. २०४० सम्मको प्रारम्भिक चरण, वि.सं. २०३५ देखि वि.सं. २०४१ सम्मको पुनर्जागरण चरण, वि.सं. २०४२ देखि वि.सं. २०५० सम्मको गतिशिल चरण र वि.सं. २०५१ देखि हालसम्म विकाशशिल चरण । तर गजलकार शिव प्रणतले प्रथम चरण वा प्रारम्भिक काल भनेर वि. सं. १९४० देखि वि.सं. २००२ सम्मलाई, द्वितीय चरण वा बिलुप्त काल भनेर वि. सं. २००३ देखि वि.सं. २०३५ सम्मलाई, तृतीय चरण वा पुनर्जागरण काल भनेर वि. सं. २०३६ देखि वि.सं. २०५० सम्मलाई र चतुर्थ चरण वा उर्वरक काल भनेर वि.सं. २०५१ देखि आजसम्मलाई बताएका छन् । प्रस्तुत लेखमा उल्लेखित दुवै विद्वानहरूले प्रस्तुत गरेको वि.संं २०५१ देखि हालसम्मको नेपाली गजल लेखनमा देखा परेका केही समस्याहरूका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१. विधागत समस्या
पचासको दशक प्रारम्भसँगै नेपाली गजल लेखन कार्यमा अर्थपूर्ण वृृद्धि भयो । यसको कारण के हो भन्ने लेखको अर्को विषय बन्छ तर धेरैले अनेक विषयका गजलहरू लेख्न थाले । धेरैजसो प्रेम अनि अलिक कम जीवनका विषयमा लेखिएका गजलहरू मात्र भएको त्यो समयसम्म गजललाई कसैले कविताको अनि कसैले गीतको उपविधाका रूपमा चर्चा गर्दै आएका थिए । अब गीतको उपविधा भन्ने र कविताको उपविधा भन्नेहरूका बीचमा रस्साकस्सी चलिरहेका बेला कतै गजलमा दोहोरी लेखिन थाले, कतै खण्डकाव्य लेखिए, कतै बाल गजल लेखिए । त्यो बेला हवाइ पत्रिकाहरू छापेर गाउँ गाउँका मानिसहरूलाई हुलाक मार्फत वार्षिक ग्राहक बनाई वितरण गर्ने लहर चलेको थियो । हृदयभरि सिर्जनशील धुन तरङ्गित भइरहेका युवाहरूले छोटो, लययुक्त अनि विविधतापूर्ण सेरहरू भएको गजल हवाइ पत्रिकाहरूमा पढ्न पाएपछि जानी नजानी लेखेर पठाउन थाले । सम्पादकहरूमध्ये कतिले परिमार्जन गरेर अनि कतिले जस्ताको तस्तै ती रचनाहरूलाई गजल भनेर छापिदिए । गजलजस्तो भए पनि आफ्नो रचना प्रकाशित भएपछि सर्जकले त्यस विषयमा खोजी गर्न थाले । अध्ययन गर्न थाले अनि अझ खारिएका गजल लेख्ने लहर अनि रहर बढेर गयो । समालोचकहरू गीत वा कविताको उपविधाको भनेर बाझिरहेका बेला नेपाली गजल देशभरि फैलिएर अनेक नेपालेली भाषामा लेखिन थाल्यो, सङ्गीत भरेर सुनिन थाल्यो, सङ्ग्रह बनेर उनिन र प्रकाशित हुन थाल्यो । गजलकारहरूका सङ्गठन बन्न थाले । अन्तर सङ्गठनको एकता अनि संयुक्त कार्यक्रमहरू गर्न थालिए । पचासको उत्तरार्धमा खुल्न थालेर साठीको दशकको पूर्वार्धमा भक्कुमार फैलिएका एफ.एम. रेडियोहरूले नेपाली गजललाई हरेक घर घरमा फैलाइदिए । अब पढ्न नजान्नेले पनि गजल सुन्न थाल्यो । पढ्न नपाउनेले पनि गजलका बारेमा जान्यो । ती एफ. एम. रेडियोका साहित्यिक कार्यक्रमहरूमा असी प्रतिशत भन्दा धेरै गजलहरू मात्र आउन थाले । नेपाली साहित्य गजलमय बन्यो । दाहाल यज्ञनिधीले सुमधुर स्वरमा छन्दको कविताबाट सुरु गर्ने रेडियो नेपालको साहित्यिक कार्यक्रमको सिको गर्दै एफ.एम.का साहित्यिक कार्यक्रम सञ्चालकहरूले गजलको अंशबाट साहित्यिक कार्यक्रम सुरु गर्न थाले । स्टेजको कार्यक्रम सञ्चालक पनि गजलका सेरहरू बीच बीचमा मिसाउँदै मात्रै अघि बढ्न सक्ने भयो । अब गजल नभएको साहित्यिक कार्यक्रम हुन छाड्यो । गजल नभएका साहित्यिक पत्र पत्रिका देखिन छाडे । साप्ताहिक र दैनिक पत्रिकाले समेत आफ्ना साहित्यिक कोलममा गजल छाप्न थाले । अब नेपाली गजल साहित्यको चटनी भएको थियो । समालोचकहरूले पत्तै नपाइ यो एक फरक विधाको रूपमा स्थापित भइसकेको थियो । निक्कै समयसम्म शास्त्रीय धारणा रटेकाहरूले गजललाई विधा भन्न सकेनन् तर यतिबेला यो लोकबाट नै विधाको रूपमा अनुमोदित भइसकेको छ । यसलाई विधागत स्वीकृति नदिने विद्वानहरूले गजल फरक विधा हो भन्ने शास्त्रीय प्रमाण नभएको तर्क दिने गरेका छन् । तर सापकोटा (२०२१) ले नैषधलाई उद्धृत गर्दै लेखेका छन् :

‘भंक्तुं प्रभु व्र्याकरस्य दर्पम्
पदप्रयोगाध्वनि लोक एषः
शशो यदस्यास्ति शशी ततोऽयम्
एवं मृगोऽस्यास्ति मृगोति नोक्तः ।’

अर्थात् लोक पद प्रयोगको हानोपादान विषयमा व्याकरणको दर्प चूर्ण गर्न समर्थ छ । चन्द्रमामा शश (खरायो) पनि छ र मृग पनि छ , तर उन्लाई शशी सबै भन्दछन्, मृगी कोही भन्दैनन् (पृ. ३) । यसको तात्पर्य शास्त्र पनि लोक व्यवहारसँग शास्त्र हार्छ । नेपाली गजलले फरक विधाको स्वीकृति पनि लोकबाट नै पाएको हो । लोकभन्दा ठूलो र शक्तिशाली शास्त्र छैन । लोकले नै गजललाई विधाका रूपमा स्वीकार गरिसकेकाले अब यसका बारेमा थप चर्चाको आवश्यक्ता छैन ।

२. सतही विधाका रूपमा हेर्ने समस्या
पचास र साठीको दशकमा गजल नयाँ सर्जकका लागि नेपाली साहित्यभित्र छिर्ने ढोका बन्यो । गजलबाट लेखन यात्रा सुरु गरेका अहिलेका थुप्रै स्थापित स्रष्टाहरूले गजललाई सतही विधाका रूपमा व्याख्या गर्न थाले । उनीहरूले ‘खोला तरे, लौरो बिर्सिए’ भन्ने उखानलाई पछ्याए । कतिपय स्रष्टाहरूले त आफ्नो कविता कृति प्रकाशित गरिसकेपछि अरूले सतही भन्छन् भन्ने डरले त्यो भन्दा अघि प्रकाशित गजल सङ्ग्रहको कुरै गर्न छाडे । कतिले चाहिँ कविका रूपमा आफ्नो नाम नै पनि फेरे । कति कविहरूले गजल सतही भएको भन्दै बहिष्कार सम्म गरे । यो समस्या उव्जनुका कारण धेरै छन् । सुरू नै यसै विधाबाट गर्ने भएपछि ती सतही हुनु अनौठो हैन । यो विधाको इतिहास पनि लामो नभएकाले परिष्किृत हुने क्रममा नै यो आलोचना भएको हो । अर्को अन्य विधाको भन्दा गजलको धेरै चर्चा परिचर्चा भएपछि यो विधाको रिस गर्नेहरूले गजललाई सतही विधा भनेर त्यसप्रतिको आकर्षण घटाउन खोजेका हुनसक्छन् । यसै प्रसङ्गमा एकजना समालोचकले गजललाई बनमारो झारसम्म भन्न भ्याए । पछि विश्लेषण गर्दा उनले गजलका बारेमा भएको चर्चाभित्र आफू पनि छिर्नलाई नौलो बाटो रोजेका रहेछन् ।

नेपाली गजल सतही विधाका रूपमा विकसित भयो भन्ने आक्षेपले गजलकारहरूलाई परिष्किृत गजल लेखनको बाटोमा अग्रसर गरायो । साठीको दशकपछि नेपाली गजल परिष्किृत गर्नका निम्ति अनेक भेला, छलफल, कार्यपत्र लेखन, प्रशिक्षण कार्यक्रम आदि भए । गजलमा नौला नौला प्रयोगहरू भए । यी सबैको प्रतिफल स्वरूप यतिबेलाका नेपाली गजलहरू अत्यन्तै शक्तिशाली भएर आएका छन् । नेपाली गजलका विषयमा आजसम्म अनेक प्रकारका औपचारिक र अनौपचारिक अध्ययनहरू भइसकेका अनि भइरहेका छन् । अन्य विधामा जस्तै नेपाली गजलमा काव्यिकताका लागि चाहिने विम्ब, अलङ्कार, लय, गति, यति आदि प्रशस्त मात्रामा प्रयोग भएका ती अध्ययनहरूका निष्कर्ष आएका छन् ।

३. भावगत समस्या
भाव भनेको विषयवस्तु हो । जुनसुकै विधामा अनिवार्य घटकका रूपमा भाव वा विषयवस्तु हुन्छ । गजलमा पनि यसको अनिवार्यता रहन्छ । प्रारम्भमा गजलको विषयवस्तुगत सन्दर्भ प्रेमपरक थियो । आजसम्म पनि हिन्दी र फारसी गजलहरू प्रेम र जीवनभन्दा पर गएका छैनन् । त्यसैले त्यहाँ गजल गाइयो भने गीतको उपविधा अनि पढियो अर्थात वाचन गरियो भने कविताको उपविधाका रूपमा मात्रै छन् । नेपाली गजलमा प्रेम र जीवनका भाव सँगसँगै विरह, पीडा, व्यथा, राजनीति, भ्रष्टाचार, विवेध, कुरिती, शुभकामना, श्रद्धाञ्जली, अभिनन्दन, स्थान वर्णन, भजन आदि विषयले पनि त्यत्तिकै प्राथमिकता पाउँदै आएको देखिन्छ । यही भावगत विविधतालाई अटाएकै कारण नेपाली गजल फरक विधा बन्न सफल भएको हो ।

डा. लेखप्रसाद निरौलाका अनुसार अब त जीवन जगतका यावत् विषयवस्तु पनि गजलका लागि उपयोगीसिद्ध बन्ने गरेका छन् । राजनीति, दर्शन, प्रकृति, प्रेम, बिछोड, हर्ष बिस्मातलगायत जीवनका सबै खाले अनुभूतिहरूले गजललाई अभिव्यक्तिको माध्यम बनाएकै छन् । अतः भाव वा विषयका दृष्टिले गजलमा कुनै पनि विषयले निषेधित हुनुपर्ने अवस्था छैन । यतिचाहिँ के कुरा स्पष्ट हो भने गजलको प्रकृति र स्वरूप निकै हदसम्म गीत, मुक्तक एवम् लघुकविताकै नजिक रहेकाले विषयवस्तुको आयतनमा निश्चय पनि सङ्क्क्षिप्तता वा सूत्रात्मकताको अपेक्षा गरिन्छ नै । कतै कतै च्वास्स अनूभूति गराउनासाथ गजलको विषय स्वतः समाप्त हुनु अपेक्षित छ ।

त्यसैले भावगत दृष्टिले अब नेपाली गजललाई गाजल मात्र नठानेर मादल ठान्दा उपयुक्त हुन्छ । मादल हामी नेपालीको मौलिक तालबाजा हो जुन संसारका जुनसुकै लयका धूनमा पनि ताल दिन सक्छ । तालबाजा त अरू पनि छन् तर मादल मौलिक छ । यो मादल जस्तै लोकप्रीय पनि भएको छ ।

४. शैलीगत समस्या
पचास र साठीको दशकमा एकजुट भएर गजल विधालाई फलाउन फुलाउन लागेका गजलकारहरू सत्तरीका दशकमा आएपछि शैलीगत कुरालाई लिएर एक आपसमै द्वन्द गर्न थालेका छन् । कोही गेय विधा भएकाले गजलमा मात्रा मिलेका हरफहरू हुनुपर्छ भन्ने छन् भने कोही शास्त्रीय बहरमा लेखिएका मात्र गजल हुन्छन् भन्नेहरू छन् । कसैले व्यक्तिवादलाई स्थान दिएका छन् त कसैले क्षेत्रियतामा अल्झेर द्वन्दमा भाग लिइरहेका छन् । यो कारणले सिकारुहरू अलमलमा परेका अनि नव सर्जकहरू गजलको माध्यमबाट साहित्य क्षेत्रमा प्रवेश गर्ने क्रममा गिरावट आएको देखिन्छ । जो शुद्ध गजल पाठक र श्रोता थिए तिनीहरूलाई पनि सर्जकहरूको यो द्वन्दले विकर्षण गरेको छ ।

गजल साहित्यको गेय विधा भएकाले अवश्य पनि यो लयात्मक हुन जरूरी छ । काफिया र रदिफ मिलाउँदैमा यो लयात्मक भइहाल्छ भन्ने पनि हुँदैन । सर्जकहरू ब्रह्मा हुन् जसको काम सृष्टि गरिरहनु हो । सृष्टि भएकाहरूको आयु प्रकृतिले दिन्छ । साहित्य सिर्जनका लागि लोकजीवन नै प्रकृति हो । लोक जीवनले रूचाएका गजलहरूको आयु धेरै हुने भएकाले गजलकारहरूले गजल लेखन छाडेर शैलीका विषयमा द्वन्द्व गर्नु नेपाली राजनीतिको सिकोमात्र हो ।

नेपाली लोकजीवन अनेक लोकलयले भरिएको छ । यिनै लोकलयलाई टिपेर गजल लेखियो भने वास्तवमा त्यो नेपाली गजल हुनेछ अनि त्यसले गेयात्मकता पनि साथै लिएर आउँछ । कसैले छन्द र बहरमा गजल लेखे भने त्यो पनि उनीहरूको शैलीगत क्षमता हो । कुनैबेला नेपाली कवितामा पनि छन्द, गद्य र लोकलयका शैली प्रयोग विषयलाई लिएर द्वन्द भएको थियो । देवकोटाले यसैलाई चिर्न झ्याउरे छन्दको मुनामदन लेखे । शास्त्रीय छन्दमा लेख्नेहरूले मुनामदनलाई खिसिट्यिुरी गर्दै थिए लोकले मुनामदनलाई अनुमोदन गरिहाल्यो । त्यसैले नेपाली गजल सर्जकहरूले पनि आफ्नो लेखन कार्यलाई निरन्तरता दिंदै एक आपसको शैलीगत मत मतान्तरलाई छाडी आफ्ना गजलको छिनोफानो गर्न लोकलाई समर्पण गर्नु बुद्धिमानी देखिन्छ ।

५. गुटगत समस्या
राजनीति शब्दलाई विग्रह गर्दा राज्यको नीति हुन्छ । त्यसैले राजनीतिबाट कुनैपनि साहित्य अछुतो रहन सक्दैन । नेपाल एकीकरण ताका वीर रसका रचना लेखिनु, राणाकालमा भक्ति र श्रृङ्गारले ठाउँ पाउनु, पञ्चायत कालमा जगरण अभियानका चेतनशील रचनाहरू लेखिनु आदि राजनीति र साहित्यको सम्बन्धलाई पुष्टि गर्ने प्रमाण हुन् । पहिला राजनीतिक असरले साहित्य सिर्जनालाई गति दिएको थियो । तर सत्तरीको उत्तरार्धमा आएर नेपाली गजल चाहिँ राजनीतिक गुटबन्धीको सिको गरेर पतनको बाटोमा लागेको देखिन्छ । नेपालका हरेक राजनीतिक दलहरूमा सैद्धान्तिक समूह नभएर व्यक्तिगत गुट उपगुटहरू छन् । यही गुटबन्धीका कारण देशका ठूला ठूला दलहरूको विभाजन हाम्रा आँखा अगाडि छन् । यही सिको गरेर व्यक्तिगत गुटबन्दी गर्दै केही नेपाली गजलकारहरू पनि नेपाली गजल विधाको इतिहासलाई नामेट पार्ने दिशामा अग्रसर देखिन्छन् ।

एकजना चर्चित अनि राम्रा गजल सर्जकले सामाजिक सञ्जालमा फलानो शैलीमा लेखिएका गजल र लेख्ने गजलकारलाई बहिष्कार गर्नुपर्छ भनेर स्टाटस लेखे । त्यो स्टाटसको पक्ष र विपक्षमा अन्य गजलकारहरू हप्तौंसम्म झगडा गरिरहे ! बहिष्कार गर्नुपर्ने कुनै सैद्धान्तिक कारण छैन, त्यो व्यक्तिगत कुरा हो । तर त्यसैको पक्ष –विपक्षमा लाग्नु चाहिँ राजनीतिक गुट र फुटको सिको गर्नुमात्रै हो । सर्जकले गुटबन्दी गरिरहन जरुरी छैन तर निरन्तर सिर्जना गर्न चाहिँ जरुरी छ । सर्जक त्यसै पनि स्वतन्त्रताको पक्षधर हो त्यसैले कसैलाई निशेध गर्न जरुरी छैन । वर्तमान विश्व विविधतालाई स्वीकार गरेर अघि बढिरहेको हुनाले सर्जकले पनि त्यसलाई अवलम्बन गर्न सक्नुपर्दछ । लेखकले लेखकलाई नै बहिष्कार अनि तिरस्कार गर्नुको अर्थ छैन । त्यो त लोकले गर्ने हो । कुनै सर्जकले बहिष्कार गर्नुपर्छ भनेको लेखकलाई लोकले अनुमोदन ग¥यो, लोकले मन पराइदियो भने के हुन्छ ?

मोतीराम भट्टले सुरु गरेको नेपाली गजलका धेरै पाठक र श्रोता छन् । लोकले गरेको यो मायालाई जीवित राख्न गजलकारहरूले मातीरामको सिको गर्न जरुरी देखिन्छ । मोतिरामले सिर्जना सुधारका लागि आलोचना, मण्डली मार्फत संगठन अनि समस्यापूर्ति मार्फत प्रशिक्षण गरेका थिए । हरेक गजलकारले सिर्जनालाई कर्म ठानी अन्य सर्जकलाई पनि सम्मान गर्न मोतिरामको समयले सिकाएको छ । उनका समयका अर्का कवि लक्ष्मीदत्त पन्तले मोतिरामका बारेमा लेखेको निम्न पद्याशं राख्दै अब नेपाली गजलकारहरूले पनि यसैगरी समकालीन सर्जकलाई सम्मान गर्न सिकून् भन्ने कामना गर्दछु ।

‘मोतीराम भनी कवि सुहृद हुन् यो मित्रको मण्डली
शोभा पाइरहन्छ चन्द्र जसरी राखेर तारावली ।’

सन्दर्भ सूचीः
१. शर्मा, तारानाथ (२०३९), नेपाली साहित्यको इतिहास, काठमाडौं ः संकल्प प्रकाशन
२. सापकोटा, महानन्द (२०३९), जनजिब्रो, विराटनगर
३. निरौला, लेखप्रसाद, ‘गजलको संरचनात्मक स्वरूप’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

अभिमत: नेपाली गजल विधामा देखिएका पाँच समस्याहरू

एकु घिमिरे विषय प्रवेशः गजल भारतको कलकत्ता पढ्न गएका मोतीराम भट्टमार्फत नेपाल भित्रिएको देखिन्छ...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

सम्झनाको थिल्थिलोमा किताबको मल्हम

इन्द्र नारथुङे सन् २००५/मान्छे जतिसुकै विद्वान किन नहोस् आफन्तसँगको विछोडमा विद्वता बेकम्मा हुन्छ/हुँदो रहेछ...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...

माछा खोज्ने मलेहरू, भात खोज्ने गोर्खालीहरू, गोर्खा भूपूहरूको समस्या

निनाम कुलुङ ‘मंगले’ माथिको शीर्षकमा राखिएको पहिलो शब्दहरू, क्रमशः ‘माछा खोज्ने मलेहरू, भात खोज्ने...

त्यो झरी र सहयोद्वाको रगत (पाँचथर मेहेलबोटे घटना)

इक्साहाङ चेम्जोङ २०६० भदौ ६ गते नेकपा (माओवादी) पाँचथर जिल्ला क्षेत्र नम्बर ५ को...