उदय पूर्वेली चोङ्बाङ्क्याक
गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार सेवा समाजका केन्द्रीय प्रतिनिधिहरूको सामूहिक भेलाद्वारा साझा लिपि “किरात सिरिजङ्गा लिपि” को अवधारणा अनुरूपको प्रसँग उठान गरेदेखि नै विवाद सतहमा देखा परिरहेको अवगत हुँदाहुँदै पछिल्लो समय भदौ १९ गते शनिबारको दिन काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा “किरात सिरिजङ्गा लिपि लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको SALPA Online मा समाचार सम्प्रेषण गरिएको छ । त्यहाँ उपस्थित खाम्बातिमका अध्यक्षले नै प्रदेश १ को चाम्लिङ बाहुल्यता भएका ठाउँहरूमा आफ्नो संस्थाको तर्फबाट “किरात सिरिजङ्गा लिपि” लेखन तथा प्रशिक्षण अभियान सुरुवात गर्ने भनिएको छ ।
जहाँ देवनागरी व्यञ्जन वर्णका “ञ, ण, ष, श, क्ष, त्र, ज्ञ” ७ वर्ण बाहेक हुबहु २९ वटा वर्णहरूलाई पछ्याएको तस्बीरहरूमा स्पष्टसँग देख्न सकिन्छ । अझ २९ वटा फरकफरक भाषाहरूलाई समेट्नका लागि प्रारम्भिक अध्ययनअनुसार, व्यञ्जन र स्वर वर्ण गरी ५३ वटा वर्णहरूको आवश्यकता रहेको जिकिर समेत सुन्नमा आइरहेको छ । जुन अवधारणा अत्यन्तै अवैज्ञानिक र असहज देखिन्छ ।
लिपिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको त्यसले सम्बन्धित जाति वा समुदायको भाषिक ध्वनिलाई अनिवार्य तवरले प्रतिनिधित्व गर्नुपर्छ । दोस्रो सवाल सङ्ख्यात्मक रूपमा जति थोरै वर्णले भाषा लेखनलाई मूर्तरूप प्रदान गर्नसक्छ, उति नै प्रभावकारी र सहज हुन्छ । जस्तो कि, शून्य (०) देखि ९ सम्मका दसओटा अङ्कले अर्ब, खर्ब वा अनन्तसम्मका सङ्ख्या निर्धारण गर्न सकिन्छ । पूरै युनिभर्सल म्याथम्याटिक्सलाई प्रतिनिधित्व गर्नसक्छ ।
उदाहरणको लागि ११, १२, १३…. को लागि क्रमशः फरकफरक अङ्क आविष्कार गरेको भए एक हजारको लागि हजार, एक लाखको लागि लाख वटै सङ्ख्याहरूको आवश्यक पर्दथ्यो, जो अत्यन्तै भद्दा र अवैज्ञानिक ठहथ्र्यो । त्यसो हुनुको साटो पहिले हामीले प्रयोग गर्दै आएको पद्दतिमा अहिले पछिल्लो समयमा सङ्ख्या लेखनमा समेत Comma ( , ) को स्थान परिवर्तन भएको छ ।
जस्तै; एकलाख सतचालीस हजार पाँचसय सोह्र । पुरानो तरिकाले अङ्कमा लेख्दा; १,४७,५१६, अहिलेको प्रचलनमा; १४७,५१६ ( यहाँ एउटा कमा प्रयोगको झन्झट कम भयो)
“याक्थुङ सिरिजङ्गा लिपि” नामकरणका आधारहरू
बङ्गाली लेखक बाबू शरतचन्द्र दासका अनुसार, सिरिजङ्गा बौद्ध गुरु पद्मसम्भवको अवतारको रूपमा नवौँ शताब्दीमा देवांशी (मेरो अनुमानमा पछिबाट यै देवांशी शब्दलाई ‘तेआङ्सी’ भनेर फाल्गुनन्दको नामको अगाडि प्रयोग भएको हुनसक्छ)को रूपमा प्रकट भई लिम्बू लिपि आविष्कार गरेका हुन् भनेका छन् । तर याक्थुङ मुन्धुम अवतारको परम्परा बारेमा प्रायः मौन रहेको छ । कसैले रुपिहां सिरिजङ्गा प्रथम भएको दाबी गरेपनि कुनै भरपर्दो तथ्य र प्रमाणहरूले पुष्टि गरेको छैन । फेरि बौद्ध गुरुद्वारा दीक्षित र प्रशिक्षित चेला साम्बोटा लिपिबाट प्रभावित हुनुपर्थ्यो । जुन सिरिजङ्गा लिपिमा पटक्कै पाइँदैन । यसकारण, सिरिजङ्गा एउटैमात्र हुनुपर्छ ।
अठारौँ शताब्दीका सिरिजङ्गाको जन्म हालको ताप्लेजुङ जिल्लाको याङरूप थुमको तेल्लोक भन्ने ठाउँमा मङ्सिर पूर्णिमाको दिन भएको थियोे । उनी गलिजङ्गाका नाति थिए । उनलाई याक्थुङ लिम्बू भाषा पढाएको र सिरिजङ्गा लिपिमा लेखेको अभियोगमा सिक्किमको मार्ताममा आफ्ना चेलाहरूलाई पढाइरहेको मौकामा पेमियोन्चि (दरबारिया) गुम्बाका लामाहरूले समातेर मौवाको रुखमा बाँधी विषालु धनुकाँणले हानेर उनको मुखमा विष्ठा कोचेर हत्या गरी रेसीखोलामा फालेका थिए ।
अब यहाँ उनको खाहुन ( उपदेश) को एक अंश हेरौँ ।
सिरिजङ्गाले मर्नुअघि आफ्ना चेलाहरूलाई भनेका थिए– “इघोक युङमा केःबा आम्मेत्लो । केःबा पोङमा स्येःबा आम्मेत्लो । केःबा पोङमाआङ हिङमानुले कुइकेफेम्बा पोङमाआङ सिःमा नुःरो । याक्थुङ साप्ला हुरुङ को रो एन मेसेराङ साङ ताःआरो।”
अर्थात्, नबोली बस्दा लाटो भन्छन् है । लाटो हुनु मरेतुल्य भन्छन् है । लाटो भई बाँच्नुभन्दा साहसी भएर मर्नु जाती । लिम्बू विद्या सिकाउँदा म आज मारिए पनि फेरि आउनेछु ।
यहाँबाट के प्रष्ट हुन्छ भने, याक्थुङ लिपि र भाषाका सर्जक एवम् शहीद सिरिजङ्गालाई आफूले याक्थुङ भाषा पढाएको र लिपि लेख्न सिकाएको कारणले कुनैदिन मार्छन् भन्ने राम्रोसँग हेक्का वा पहिचान भइसकेको बुझिन्छ ।
अब अर्को उनको खाहुन (उपदेश) को पंक्ति पनि अध्ययन गरौँ । “वाले खुम्मा वा खोँगी । फाक्ले खुम्मा फाक खोँगी । सिरिजङ्गा याक्थुङ साप्ला केजोक्पा मेम्बात्लो हाङले आम्सेत्लो ।”
खस नेपाली भाषामा यसको अर्थ हुन्छ; कुखुरालाई नियन्त्रण गर्ने कुखुराकै खोँगी चाहिन्छ । सुँगुरलाई काबुमा राख्न सुँगुरकै खोरको आवश्यकता पर्छ । सिरिजङ्गा याक्थुङ कागज बनाउने नभन्नू । राजाले हामीलाई मार्छ है । मेसेत्नारो, केम्सेरिरो जस्ता शब्द प्रयोग नगरी ‘आम्सेत्लो’ शब्दको प्रयोग भएकोले “राजाले हामी सबैलाई मार्छन् है” भनेका हुन् ।
यहाँ उनले ‘सिरिजङ्गा’ को स्पष्टरूपमा प्रयोग गरेका छन् । यी वाक्यांशहरूलाई इतिहासकार इमानसिं चेम्जोङले सङ्कलन गरेका हुन् । सन् १९५५ मा प्रोफेसर Richard Keith Sprigg ले Brian Houghton Hodgson पाण्डुलिपिमा पाइएका केही लिम्बू स्रोत–सामग्री नेपाल भित्र्याएपछि चेम्जोङले सिरिजङ्गाबारे अध्ययन गर्ने मौका पाएका थिए ।
उक्त पाण्डुलिपिमा फेला परेका सिरिजङ्गा लेखोट समेटेर उनले सन् १९६१ मा “किरात मुन्धुम खाहुन” भनेर प्रकाशन गरेपछि सिरिजङ्गाबारे व्यापक चासो र चर्चा सुरु भएको थियो । यसको श्रेय इमानसिं चेम्जोङलाई नै जान्छ । तर एकातर्फ याक्थुङ लिम्बू जातिलाई लिखित दस्तावेजमा किरातीकरण गर्ने युगको थालनी पनि यहीँबाट प्रारम्भ भएको पाइन्छ ।
भारतमा ब्रिटिश उपनिवेशकालमा नेपालका लागि ब्रिटिश रेजिडेन्ट भएर सन् १८२० देखि नियमित ४३ सम्म नेपालमा बसेका विद्वान Brian Houghton Hodgson ले सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा पूर्वी नेपाल र सिक्किमका लिम्बू गाउँ घुमेर लिम्बू जाति, सिरिजङ्गा र उनका चेलाहरूका लेखोट सङ्कलन गर्न सफल भएका थिए ।
उनले ताप्लेजुङको मैवाखोलाका जोभानसिं फागो, छथर ताङखुवाका गुनमान खजुम, हंसवीर लिम्बू,च्याङ्ग्रेसिं फेदाङमालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा र इतिहासबारे बताउन र लेख्न लगाएर अभिलेखिकरण गरेका थिए । यी स्रोत–सामग्री हड्ज्सन पाण्डुलिपिका रूपमा “इण्डिया अफिस लाइब्रेरी” लण्डनमा सुरक्षित रहेका छन् ।
हड्ज्सन पाण्डुलिपिको खण्ड ७३ र ८८ मा सिरिजङ्गा आफैँले बीस वर्ण भएका व्यञ्जन वर्णहरूको अभ्यास गरेको पाइन्छ । सबै पत्रहरू लिम्बू भाषा र लिपिमा लेखिएका छन् । खण्ड ८६ मा सिरिजङ्गाका मुन्धुम र खाहुन (उपदेश) हरू समावेश गरिएका छन् ।
हामीले बुझ्नैपर्ने महत्त्वपूर्ण कुरा के हो भने, भाषा फरक भइसकेपछि जुन भाषाको लागि तयार पारिएको लिपि हो, त्यसले अरु भाषाको ध्वनिलाई प्रतिनिधित्व गर्न नसक्नु स्वाभाविकै हो । जस्तो कि, तामाको भाँडो प्वाल परेको खण्डमा तामाकै धातु र अल्मुनियमको थाल प्वाल परेमा अल्मुनियमकै धातुले मात्रै टाल्न सकिन्छ । माटो वा गोबरले टालेर काम टर्दैन ।
कुरो स्पष्ट छ कि, सुरुवाती कालदेखि नै खासगरी ‘किरात’ले धर्मको प्रतिनिधित्व गर्दै आएको छ । त्यसकारण लिपिलाई धर्मको नाम नामकरण गरिएको नजिर दुनियाँमा कहीँ कतै पाइदैन । जस्तै, अहिलेसम्म क्रिस्चियन लिपि,हिन्दु लिपि,बौद्ध लिपि, मुस्लिम लिपि, शिख लिपि, ताओ लिपि, कन्फ्युसियस लिपि, जैन लिपि, शैव लिपि, बोन लिपि आदि छँदै छैनन् ।
तसर्थ, ‘किरात सिरिजङ्गा लिपि’ नामकरण अवैज्ञानिक र अव्यावहारिक पनि छ । फेरि यो लिपि अरु कुनै जातिले प्रयोग गर्नै हुन्न भन्न खोजिएको भने कदापि होइन । नेपालका समग्र आदिवासी जनजातिले प्रयोग गरेको खण्डमा झनै गर्वको विषय हो । तर कम्तीमा ‘सिरिजङ्गा लिपि’ भनेर सत्य र तथ्यलाई स्वीकार्न सक्नुपर्छ । किनभने, ‘सिरिजङ्गा लिपि’ कुनै मुन्धुम वा मिथकको आधारमा स्थापित गर्न खोजिएको नभएर यो इतिहास,तथ्य र प्रमाणका आधारमा भनिएको हो ।
खासमा स्वयम सिरिजङ्गा पनि याक्थुङ समुदायका याक्थुङबा हुन् । उनले लेखेका लेखोट तथा कागजातहरू समेत याक्थुङ पानमै लिपिवद्ध गरिएका छन् । फेरि ‘लिम्बू’ भनेको उपनाम (Exonym) वा राजनीतिक र प्रशासनिक पहिचान मात्र हो । खासमा ‘याक्थुङ’ चाहिँ भाषिक व्युत्पतिप्रधान (Endonym) वा याक्थुङ जातिसँग मेलखाने जातीय पहिचानको नाम हो । यसकारण यस लिपिलाई ‘याक्थुङ सिरिजङ्गा लिपि’ भनेर लेख्न–लेखाउन, चिन्न–चिनाउन, बुझ्न, बुझाउ न्यायोचित र विवेकशील कार्य ठहरिन्छ । अफिसियल रूपमा ‘सिरिजङ्गा लिपि’ भनेर प्रयोग गरेको खण्डमा सबैभन्दा उपयुुक्त हुन्छ र यसो भएमा कसैले चित्त दुखाउने वातावरण समेत सिर्जना हुँदैन । फेरि ‘किरात’ नाम र मुख्यत धर्म पनि हो । विशेषणको रूपमा ‘किराती’ सम्म लेख्ने उदारता पनि देखिएन । ‘सिरिजङ्गा किराती लिपि’ भनेर सिरिजङ्गाप्रति अलिकति भएपनि श्रद्धा जगाउने यत्न गरिएन ।
यतिखेर जुन किसिमको हर्कत र आडम्बरपूर्ण कदम चाल्न खोजिएको छ, यो जायज होइन । जहाँ ‘सिरिजङ्गा’ भन्दा ‘किरात’ शब्दलाई बढी प्राथमिकता दिएर अगाडि राखिएको छ । जसले याक्थुङ समुदाय र सिरिजङ्गा उपर घोर अन्याय र अपमान गरिएको ठहर्छ । यस्ता खाले गतिविधिले भाषा आयोगले पहिलो चरणमा लिम्बू र मैथिली भाषा प्रदेश १ को सरकारी कामकाजको भाषा हुने भनी सिफारिस गरेको प्रक्रियालाई समेत नकारात्मक प्रभाव पार्नसक्छ । किनकि, लिपि किरात र भाषा लिम्बू अथवा भाषा र लिपिको सम्बन्ध फरकफरक हुँदैन ।
हामीलाई थाहै छ कि, अहिले खस पर्वते नेपाली भाषा लेखनको लागि प्रयोग गरिने लिपि भारत देशको अफिसियल भाषा हिन्दी लेखनमा प्रयोग हुने ‘देवनागरी लिपि’ हो । जसलाई बैधानिक रूपमा हामी पनि ‘देवनागरी लिपि’ नै भन्छौँ । संयुक्त राष्ट्रसङ्घमा हाम्रो राष्ट्रिय लिपिको रूपमा नेवारी लिपि मध्येको ‘रञ्जना लिपि’ दर्ता भएको छ । ‘देवनागरी लिपि’ भारतले अगावै दर्ता गरिसकेको कारण त्यसको पेटेन्ट राइट नेपालले प्राप्त गर्न सकेन ।
यसबारेमा अझ स्पष्ट हुनका लागि भर्खरै मात्र मैले पूर्व कुलपति, कवि, प्राज्ञ एवम् याक्थुङ लिम्बू जातिका मुन्धुमविद, इतिहासकार, भाषा, लिपि तथा संस्कृतिका ज्ञाता तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ समक्ष राखेको मेरो जिज्ञासामा “कुनै पनि लिपि आवश्यकताका आधारमा जोकोहीले प्रयोग गर्न पाइने, भाषिक ध्वनिको उच्चारणको आवश्यकता अनुसारको लेख्यचिन्ह समेत थपघट गर्न पनि सकिने, तर वर्ण नै तलमाथि गरेर, लिपिको नामै परिवर्तन गरेर लिपि विरुद्ध राजनीति घुसाउनु चाहिँ पटक्कै सान्दर्भिक नहुने” बताउनुभयो ।
वास्तवमा हामी याक्थुङ जाति र तत्कालीन नेपाल खाल्डोमा शासन गरे भनिएका किरात शासक वा राजाहरूसँग कुनै वंशवृक्ष, साँस्कृतिक तथा पुरातात्त्विक वस्तु र मुन्धुमले कुनै सम्बन्ध राख्दैन । यहाँ यस विषयमा सबैकुरा उल्लेख गर्दा लेख अत्यन्तै लामो र पट्यारलाग्दो हुने भएकाले यसबारेमा योभन्दा धेरै लेख्न चाहिनँ ।
यस्ता प्रकारका कदमहरूको विरुद्ध युमा साम्यो महासभा मलेसिया,युमा साम्यो महासभाका अन्य प्रवास समितिहरू र चेन कमिटीको रूपमा स्थापना गरिएको अन्तर्राष्ट्रिय समन्वय समिति समेतले पहिल्यै प्रेस विज्ञप्ति पनि जारी गरिसकेको सर्वविदितै छ ।
यसबारेमा सजग र सचेत भई सम्पूर्ण याक्थुङ बुद्धिजीवी, अग्रज, इतिहासकार, लेखक, साहित्यकार, मुन्धुमविद, संस्कृतिविद, पेगिफाङ्साम, मेन्छ्यामा, थाङबेन्सा, पत्रकार, प्राज्ञिक समूह, कलाकार, व्यवसायी तथा विभिन्न पेसा र कर्ममा आवद्ध याक्थुङ जानकारहरू साथै सम्बन्धित सरोकारवालाहरू बिचमा व्यापक बहस, छलफललगायत तमाम याक्थुङजन्य संघसंस्थाहरूको ध्यानाकर्षण हुन अत्यन्तै जरुरी छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।