राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए - Naya Online

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू

नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा पुगीसकेका हुँदा रहेछन्, नजानिँदो पाराले । पञ्चायतकालमा जनतालाई राजनैतिक चेत दिलाउन आफ्नो घरको सम्पूर्ण कामहरू त्यागेर घुमन्ते शैलीमा गाउँ पसे । कांग्रेसभन्दा कम्युनिष्ट विचारका अलिक बढि कार्यकर्ताहरू पञ्चायतकालको हरेक दिनमा शिक्षक भएर पढाउने, नभए कुन घरमा बसेको हो ? त्यस घरमा काम सघाउने र रातभर गाउँघरको कुनै सुरक्षित सेल्टरमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने गरे । यसरी घुमन्ते पाराले आफ्नो घरको पुरै व्यवहार त्यागी सङ्गठन चलाउने व्यक्तिको अन्तमा अथवा अहिले आएर राजनीतिक पेशामा पुगेको थाहा पाएनन्, जनताहरूले ।

हिजो दलहरू बन्देज हुँदाताका कत्तिपय खाली खुट्टा र पुरानो लुगाहरू फाटेका हातैले सिलाएर लगाउने ति घुमन्ते नेताहरूको अहिले अदेखा–अदेखा सदरमुकाम, राजधानी, शहर, बजारहरूमा सिमेन्टेड घरहरू ठडिए । र महान नेता पनि बने । भुक्केचप्पले यात खालीखुट्टाहरूमा महँगो जुत्ताहरू छिरे । फाटेका हातैले सिलाएर टालेका लुगाहरूको स्थानमा महङ्गो (बुलेटप्रुफ) पोशाकहरू पहिरिए अनि मरन्च्याँसे अनुहारहरू खाइलाग्दो र गजधम्म शरीर बनाए । हिड्ने खुट्टाहरूमा परिवर्तन ल्याए र पजेरो प्राडोले । करोडौं सम्पत्तिहरू जोडाए । तराईहरूमा जग्गाहरू थपिए । बैंकमा करोडौं रकम बचत गराए । र, आलिशानले प्रफुल्ल भएर सुखद जीवनको सयर गरे र गर्दैछन् । यस्तै देखेर राजनीतिलाई पेशाको रुपमा लिने सिकारु लाखौं नवयुवाहरू पनि स्वप्निल यात्राहरूमा निस्कँदैछन्, जन्मँदैछन् र कुद्दैछन्, हाम्रै गाउँघर, शहरहरूमा । अब यो जमात कसले रोक्ने र देश विकासमा को लगाउने ? चुनौति आएको छ ।

विगतका सेल्टरहरूमा, कोठाहरूमा र गोष्ठिहरूमा सिकाएका दर्शन, सिद्धान्त र नीतिहरू विर्से, आर्थिक आमूल परिवर्तनले । अनि उनीहरूले सिकाएका समर्थकहरूको सन्तान (नवयुवा)हरूले पनि सिद्धान्तभन्दा पर रहेर नेताकै सिको गर्न यततत्र जन्मदैछन् र बढ्दैछन् झाँगिएर । सिद्धान्त, दर्शन र पार्टि नीति बारे मतलवै छैन । वशः सम्पत्ति भए पुग्छ । आफ्ना नेता शानसँग हिँडकोसँग मानसिक तुलना गर्न थाले र तेही नक्कल गर्दैछन् । के यो, देश उन्नतिको फापसिद्ध राजनीति हो त ? अवश्य होइन । अझै, हक र अधिकारको त कुरै छैन । जमातमा हल्ला गरेर, हल्लाकै भरमा र हल्लैहल्लाले नेता बन्न दौडधुप गर्दैछन्, चाराना–आठाना आम्दानी समेत सिध्याएर । खर्च भयो, सक्यो । भविष्यको जोहो छैन, टेङ्का खलाँस् । समग्र घरको काम छोडेर कुद्दैछन्, समय खलाँस् । नेताको कुरा सुनेर उसका लागि कुद्दैछन्, वौद्धिकता खलाँस् । जहाँ सिद्धान्त, दर्शन र नीतिपट्टि पुरै खोक्रो छ ‘बाहिर रिटिङ् फिटिङ्, भित्र जुम्रा मिटिङ्’ ।

हुनु त, केही बौद्धिक युवाहरूले पुरानै दस्ता, सिद्धान्त, दर्शन र नीतिहरू लिएर हरेक बहस गर्छन्, जनताकालागि । समयले धेरै भिजेर खिया लागेको थाहै छैन, सत्ता हँकाइमा । खिया लाग्दा सान लगाउनुपर्छ भन्ने पनि हेक्का छैन, नयाँपुस्ताहरूले । तथापी फलोवर बन्छन् । फलोवर पनि कुनै सांसद, नेता, मन्त्री या त कुनै धनाढ्यको अनुहार र चालढाललाई सिको गर्छन् । यस्तो नक्कल या सिको सिद्धान्त पनि हैन । आर्थिक रुपान्तरणको नीति पनि होइन । भएको झिरिमिटीहरू खर्च गरेर अनुत्पादनमा स्वाहा गर्छन् । रोजगार र आम्दानी छैन । हाटहुट ढाँटढुँट पाराले जीवन थेग्दैन, राजनीतिमा । जीवन थेग्नु भविष्यको इन्सान हो, समुदायमा । यही भविष्य बनाउने नीति बारे दलहरू पुरै अन्योल छन्, अहिलेसम्म । अन्योल रहेका दलहरूको उपल्लो चालढाल देखेर नक्कले, हाटहुटे, ढाँटढुँटे वा सिको राजनीतिक फलोवरबाट देश बन्छ त ? बन्दैन । आफ्नो हक र अधिकार प्राप्त हुन्छ त ? हुँदैन ।

नेपाली कांग्रेसले प्रजातन्त्रको पुनर्वहालीदेखि गणतन्त्रसम्म धेरैपटक देशको सत्ता सम्हाले । खै त, लोकतान्त्रिक समाजवादको नीतिहरू जनताले पाएको ? ‘आकाशको फल आँखा तरी मर’ उक्खान सावित । कम्युनिष्टहरूले पनि प्रजातन्त्र पुनर्वहालीदेखि गणतन्त्रसम्म धेरैपटक देशको सत्ता चलाए । खै त, गरिव जनताको जनजिविकाका लागि जनताको वहुदलिय जनवाद र वैज्ञानिक समाजवादको नीति अनुसार जनताले पाएको ? ‘मनको लड्डु घिउसँग खा’ मात्तै भो । यस्तो उखाने सावितीका दलहरूबाट जनताको हक र अधिकारहरू देखिएन र अब कहिले छैन ।

यत्रो सत्ता चलाएर पनि जनताको हक र अधिकारका लागि कुनै काम गर्न नसक्ने दलहरूले जनताका लागि के के गरे भन्ने कुरा वर्तमान एकपुस्ता पुग्दै गरेका र नाघ्दै गरेका युवाहरूले अध्ययन गरेका छैनन् । अध्ययन गर्नैपर्छ चेतनाका हिसाबले । सिको गरेर हिड्नु हरेक व्यवहारमा खर्चिलो पारा हुन् । जसमा लाखौं युवाहरू हिडिरहेछन् । यस्तो खर्चिलो कार्यमा नवयुवाहरूलाई छेक्नु पर्दछ । र, सहिमार्गमा लगाउनु पर्दछ । चुनौति पनि छ ।

वर्तमान सचेत युवाहरूले आफ्नो भविष्यका लागि हक र अधिकार खोज्न, माग्न, लड्न र भिड्न सकेनन् र चुक्यो भने बाजेले लडेको प्रजातन्त्र र जनवादले भविष्य उज्ज्वलतिर लानसक्ने देखिएन, नेपालमा । अधिकार र हकको कुरामा नेताहरू मात्र सुरक्षित भए । जनता र लाखौं युवाहरू भएनन् । देश नेतामूखी अथवा नेतातन्त्रतिर धकेलिए, लोकतन्त्र र गणतन्त्रको नाउँमा । यसको सिको गरिरहेछन् युवाहरू पनि । किनकि योजनाको उपभोक्तामा बसेर कागज मिलाई आफ्नो दुनो सोझ्याउँदैमा नेता बनिँदैन । भ्रष्टचार हुन् । भ्रष्टचार, जनताको पसिनाका कर आफ्नो हुँदो मिलाएर खानु हो । र यो आफ्नो भविष्यको हक र अधिकार पनि होइन । बुझ्ने, जान्ने र बोल्न सक्ने युवाहरूले हक अधिकारका लागि आफ्ना दलहरूमा प्रस्ताव राख्नैपर्छ, अब । नत्रता सुन्दर भविष्यहरू र देश बनाउने जनशक्तिहरू अन्त हुन्छन् । तिनदशक अघि देखिनै युवाहरूको भविष्यबारे अन्योलग्रस्त मात्र होइन केही माखो समेत मारेका छैनन् र लाखौं युवाहरू वेरोजगारी बनाएका छन् । कुरा राख्दा सुनुवाई हुन सकेन भने तेहाँ बसीरहन पनि उचित हुँदैन । बस्नु भनेको उनीहरूको दलाहा प्रवृत्तिको स्वीकारोक्ति हो, अवचेतनाले । वन्धनमुक्त हुनैपर्छ । पहिले–पहिले प्रजातन्त्र अथवा लोकतन्त्र भएपछि जनताको सबै हक र अधिकार प्राप्त हुन्छ भन्ने ठुलो आशा थियो । त्यो पनि भएन । जनवादी सरकारले पनि हक र अधिकार दिन्छ होला भन्ने जनतामा अत्यधिक आशा थियो । त्यहाँबाट पनि भएन । र आशाका दियोहरू सबै निभ्दै–निभ्दै गए ।

हक र अधिकारबारे प्रतिनिधिमुलक तर्क थोरै राखौं । हामी अंग्रेजीभाषालाई योग्यताको भाषा बनाउन चाहान्छौं । विद्यालय, कार्यालय, हरेक व्यापारहरूमा र बोलचालमा अंग्रेजी बोल्न चाहान्छौं । के अंग्रेजी हाम्रो भाषा हो त ? होइन । यो त बेलायती (अंग्रेज)हरूले बोल्ने उनीहरूको मातृभाषा हो । के अंग्रेजी भाषा बोल्दा र लेख्दा हामी बेलायती अथवा अंग्रेज हुन्छौं त ? हुँदैनौं । आखिर अन्तमा नेपाली नै हौं । नेपालीमा पनि कुनै याक्थुङ्बा, खसआर्य, मैथिली, कि नेवार, तामाङ्, कि त मगर, राई, गुरुङ भाषाका आदि–आदी । तर अंग्रेजीलाई योग्यताको भाषा बनाए, नेपालमा । यो भाषिक अधिकार थिएन तर बनाए । अंग्रेजको भाषिक उपनिवेश थियो र भयो । अंग्रेजले भाषिक उपनिवेश विश्वभरी चलाएझैं नेताहरूले पनि भ्रष्टउपनिवेश कार्यकर्ताहरूमा छिराए र भयो । भ्रष्टउपनिवेश अधिकार होइन, भ्रष्टचार हो । तर नेपालभित्रका वहुल–राष्ट्रिय भाषा र लिपिहरूलाई संवैधानिकता पाउनु र योग्यताको भाषा बन्नु नै भाषिक हक र अधिकार हुनु हो तर दिएका छैनन् । यो नेतातन्त्रले लाद्दै ल्याएको दुखद परिवेश पनि हो ।

अधिकारहरूबाट विमुख रहेर सधैं सत्ता चलाउने दलहरूले एकपुस्ता पुग्दै गरेका लाखौं युवाहरूको भविष्य निर्माण गर्न कुनै दुरगामी योजना छैन । न युवा वेरोजगारका लागि ग्यारेण्टिका साथ रोजगार दिन सक्ने योजनै छ । युवाहरू हावा–हुण्डरीको रुपमा दलहरूले नेताहरूको झोले, नाराजुलुसे होहल्ला, क्षणकालका लागि मनोरञ्जन, केहीक्षणका लागि पोकेट खर्चभन्दा अन्य छैन । के यी कुराहरू अधिकार हुन् त ? युवाहरूको भविष्य हुन् त ? अवश्य होइनन् । भविष्य कसरी बनाउने भन्ने ति दलहरूसँग न नीति नै छ नत योजना नै । यस्तो लाखौं युवाहरूको भविष्य अन्धकार बनाउने दलका साँसद, नेता र धनाढ्यहरूको स्वप्निल चक्करमा पर्दैजानु, देश बनाउने सुखद पक्ष होइन । देशको उन्नतिको अलावा अधोगति र ‘गति न मति’ तिर धकेलिँदै जानु हो । तसर्थ वर्तमान दलहरूको खिलाफ ‘छन् गेडा सबै मेरा’ भन्ने सार्थक उक्तिमा छन्, पूँजीवादी शैली । प्रशस्त आम्दानी हुने धनी धनाढ्यले सक्दो खर्च गर्ने अनि गरिव नसक्नेले चुनावभरी भक्कु धनीको खाइदिने र मतदिने चलन बसेको छ । कालान्तरमा गएर कुनै चौधरी ग्रुप, गोल्छा आदि व्यवसायीहरू ल्याएर चुनावमा सहभागी गराउन बाध्यताको समय माग्दै गइरहेका छन् । सम्पत्तिले राजनीति गर्दैछन् । भएको सम्पत्ति रित्याएर जीवन रित्तो पार्दैछन् । अचानक चुनाव जितेमा तेही सम्पत्ति फर्काउन भ्रष्टचार गर्छन् । वर्तमान युवाहरूले यही सिक्दैछन् । राजनीति गर्दा र चुनावमा लड्दा भएको थोरै पैतृक सम्पत्ति पनि सिध्याउँदैछन् । महङ्गो चुनाव गराएर जनताको जीवनस्तर र युवाहरूको भविष्यप्रति तुषारापात मात्र होइन, अन्धकारतिर धकेल्दै लैजाँदै छन् ।

प्रष्टै भनुम्, लाखौंलाख घरखर्च गरी लिएको शिक्षालाई वर्तमानसम्मका सरकारहरूले अयोग्य बनाउँदै ल्याउनु, असामयिक रुपमा शिक्षा दानतिर धकेल्न लगाउनु, हरेक रोजगारहरूको ढोकाहरू बन्द गर्दै लैजानु, योग्यता र क्षमताको आधारले रोजगार दिने व्यवस्था गर्न नसक्नु तर ति लाखौं बेरोजगार युवाहरू चुनावमा आवश्यक हुनु र प्रयोग गर्नु भनेको विचार, मत र घतमा पटक्कै नमिल्ने अदेखा हुकुमी शासकहरू हुन् । यस्ता लाखौं युवाहरूको भविष्यका लागि कामै गर्न नसक्ने दलहरूमा बस्नु भनेको भविष्य सकिनु र सिध्याउनु हो । तसर्थ यिनीहरूको साथ त्याग्नु नै बेस हुन्छ । एकआवधिक चुनाव भनेको पाँचबर्र्ष हुन्छ । पाँचबर्र्ष पछि हुनु भनेको आयुमा पाँचबर्र्ष घट्नु हो र कमाई गर्नु पनि पाँचबर्र्ष स्थिर रहनु हो । अझै दशबर्र्ष, पन्ध्रबर्र्षसम्म पछि धकेल्नु भनेको तेत्तिनै हरेक कार्यमा पछाडी धकेलिँदै जानु हो । यसरी भविष्यको समय बर्बाद गराउने दलहरूलाई युवाहरूले माया गर्नु भनेको जीवनभर असामयिक बेरोजगारमा रही रहनु हो । मानौं ः अहिले गाउँ, शहर र बजारहरूमा बेरोजगार युवाहरू प्रशस्तै रहे जस्तै । जो अधिकार चाहिन्छ भन्नेहरू ‘छैनन् गेडा सबै टेडा’ भने झैं छन् । उनीहरूले सम्पत्ति खर्च गर्दैनन् । कुनै चौधरी ग्रुप, गोल्छा बोलाउँदैनन् । किनकी राजनीतिलाई पेशा बनाउन चाहँदैनन् । समाजसेवाको रुपमा काम गर्छन् । अन्धकार जनता र लाखौं युवाहरूको भविष्य बनाउने चेतना फैलाउँछन् । तर जनता र युवाहरू उनीहरू पक्षमा छैनन् र त ‘छैनन् गेडा सबै टेडा’ भने जस्तै ।

देशका लाखौं युवाहरूको रोजगार ग्यारेण्टि छैन, अहिलेसम्म । व्यवसायीकरण भएका छैनन्, यो समयसम्म । शैक्षिक सुविधाहरूबाट विमुख छन्, तिनदशकदेखि । घरमा आम्दानी छैन, गरिबीतिर । यसबारे सत्ता (प्रधानमन्त्री) चलाउने दलका सरकारले केही गर्नै सकेन । देखिएकै छ । लाखौं युवाहरूलाई अल्मलाउने र सुन्दर भविष्यलाई गुमराहमा राखेर वेराजगारीतिर लैजादैछन् । युवा जनशक्तिलाई टाइमपास गरेर देशलाई भ्रष्टमुखी र नेतातन्त्रमा फँसाउँदै लगेका छन् । के ति लाखौं युवाहरूलाई रोजगार चाहिँदैन ? सेवासुविधाहरू चाहिँदैन ? युवाहरूको हरेक घरमा आम्दानी चाहिँदैन ? चाहिँदैनन् भन्ने नेतातन्त्रवादीहरू अहिलेसम्मै छन्, हाम्रो अनुहार वरिपरि । युवाहरूको भविष्यसँग जोडाएर हक, हित र अधिकारका लागि बहसै गरेका छैनन् । र युवा वेरोजगारहरूको समस्या ह्वात्तै बढाएर चुनावहरूमा प्रयोग गर्छन् । र वेरोजगार युवाहरू वाध्यभएर विदेश जान्छन् । विदेश गएका युवाहरूको रगत पसिनाका श्रमलाई रेमिट्यान्समा ल्याएर नेताहरूले भरणपोषण गर्छन्, अदेखा जीवनचक्रमा ।

राजनीतिलाई पेशा र व्यवसाय बनाउने नेताहरू नै देशका उन्नति र प्रगतिका बाधक सावित छन् । राजनीतिलाई समाजको सेवाको रुपमा नहेरेर ‘गरीखाने भाँडो’ बनाएपछि वर्तमानसम्म नेपाललाई ‘गति न मति’ बनाए । नभए ओली, देउवा, दाहाल, खनाल, नेपाल, भट्टराई आदी पूर्व प्रधानमन्त्रीहरूको राजनैतिक शैसवकालदेखि अहिलेसम्मको सम्पत्ति अनुसन्धान युवाहरूले गर्नुपर्छ र अरुहरूको पनि । समाजसेवाभन्दा पर गएर राजनीतिलाई पेशा बनाएका नेताहरूको आर्थिक स्थिति कत्ति फरक छ ? उनीहरूको जनजिविकामा । आर्थिक फरकता आयो भने राजनीतिलाई पेशा बनाएर नै भ्ष्टआय हुनसक्छ । तसर्थ पेशागत राजनीति भ्रष्टचार हो । अन्य मुलुकहरूमा राजनीतिलाई समाजसेवा मान्छन् तर नेपालमा पेशाको रुपमा । जनतालाई अधिकारभन्दा नेतालाई राजनैतिक अधिकार दिएर नेताकै आमूल आर्थिक परिवर्तन गराएर जनताको कर, राजश्व र रेमिट्यान्स चुस्ने स्थान बनाएका छन् । राजनीतिलाई पेशा बनाउने वर्तमानसम्मका ‘मै ठूला’ भन्ने दलहरूको साथ जनता र लाखौं युवाहरूले नत्यागुञ्जेलसम्म समाजसेवाको विरुद्ध राजनैतिक पेशाबाट भ्रष्टचार गर्ने बाटो बनाएका छन् । यसका नमूनाहरू सबैको गाउँ, शहर वा टोलहरूका गाउँले नेतादेखी लिएर माथिल्लो तहका नेतासम्म हरेक योजनाका बजेटहरूमा प्रमाणित गरिदिएकै छन् । तसर्थ भ्रष्टचार र नेतातन्त्रको विरुद्धमा लाखौं युवाहरू जुर्मुराउनै पर्छ ।

अब, निर्धक्क मान्नुस् । राजनीतिलाई पेशा बनाएर हिड्ने दलहरूलाई ‘छन् गेडा सबै मेरा’ देखियो भने पुस्तौंसम्म हामी पछिपर्ने नै छौं, विगत तिनदशक देखिनै । यसका लागि लाखौं युवाहरूले मध्यमार्गी धारमात्र होइन, जसले आफ्नो हक, हित र अधिकारका लागि वहुलराष्ट्रिय आवाज बनाएर सुन्दर भविष्यका लागि उठाउँदै आउँछन् । यसबिर्षयमा नयाँ चासोका साथ बहसले हेर्नुपर्छ । फेरी यो मानेमा विश्वास नगर्नुस् कि अहिलेसम्म सत्ता (प्रधानमन्त्री) चलाउने दलहरूले पनि लाखौं युवाहरूको भविष्यका लागि व्यवस्थापन गर्ने नीतिहरू लेखेर आउन सक्छन्, अवश्य । तिनदशक अघिदेखि दलको नामबाट सत्ता (प्रधानमन्त्री) चलाउँदा लाखौं युवाहरूको भविष्यका लागि काम नगर्नेले छलकपटमा ल्याएको भन्ने दरिलो विश्वास युवाहरूले ठान्नैपर्छ । नभए फेरी नराम्ररी झुक्किएका हुन्छौं । तसर्थ लाखौं युवाहरूको हक, हित र अधिकारसँगै वहुलराष्ट्रवाद पक्षका दलहरूलाई सघाउनु र जनमत तयार गर्दै जानुपर्छ । जसले गरिब र युवाहरूको हक र अधिकारहरू स्पष्ट रुपमा बोलेर, लेखेर र घोषणापत्रमा उल्लेख गरेर तल्लो तहदेखि माथिल्लो तहसम्म एकै आवाज छ भने उनीहरू नै हुन् जनता, युवा र गरिवहरूको सेवक । जुन ‘छैनन् गेडा सबै टेडा’ भन्ने उक्खानलाई कठिन चुनौति जनताले दिने समय आउँछ ।

ख्याल रहोस्, अधिकारका लागि दल परिवर्तन गर्दा केही आपत्त पर्दैन । अहिलेसम्म अधिकारका लागि केही नगर्नेले तिनको दल त्याग्दैमा केही पनि गर्न सक्दैनन् । उनीहरूको मत घट्छ । तसर्थ हक, हित र अधिकारका लागि लड्ने दलहरूलाई छनौट गरी लाखौं युवाहरू र गरिव जनताको सुन्दर भविष्यका लागि सकुन्जेल लड्नुपर्छ, मत बढाएर । होहल्ला, हावा र लहै–लहैमा अनि बाजे–बुबाको दल भन्दै मानसिक अपाङ्ग नभई युगानुकुल परिवर्तनका वाहक बनेर निर्विकल्प जनता र राष्ट्रसेवक वा वहुल–राष्ट्रिय विचारका दलहरूमा समाहित हुनु नै वर्तमान युवाहरूको भविष्य सुन्दर मोडमा पुग्न सक्छ । र पुग्नुपर्छ भन्ने पनि अधिकार हो । हक र अधिकारका लागि वहुल–राष्ट्रियवादतिर युवाहरू धकेलिनै पर्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...