सम्झनाको थिल्थिलोमा किताबको मल्हम - Naya Online

सम्झनाको थिल्थिलोमा किताबको मल्हम

इन्द्र नारथुङे

सन् २००५/मान्छे जतिसुकै विद्वान किन नहोस् आफन्तसँगको विछोडमा विद्वता बेकम्मा हुन्छ/हुँदो रहेछ । विचारको तटबन्ध निर्माण गरेर पीडाहरूलाई रोक्न खोजे पनि भावनाको भेल उर्लिएर आएपछि त्यो क्षणमै बगरमा परिणत बन्छ/बन्दो रहेछ ।

सरस्वतीसँगको छ वर्षे जटिल तर अतृप्त सहयात्रालाई थाँती राख्दै मलेसिया आइपुगें । तर ज्यान मात्रै यहाँ, मन त उतै पो छोडेर आईएछ । मलाई त्यस्तो क्षणको सम्झना छैन–जुन क्षण उसलाई नसम्झेको होस् । कम्पनीको बाह्रघण्टे ड्युटी बिताउन मात्र होइन गाँस निल्नु र आँखा चिम्लनु पनि गाह्रो । निदाउनु अगाडि उसैको झल्को आँखामा, निदाएपछि सपनाभरि उनै । ओहो ! कसरी बिताउने दुई बर्ष ? म मलेसिया आइपुगेको पहिलो दिन नै बेस्मारी आत्तिएँ ।

हप्तामा एकपल्ट फोन गर्ने सर्त थियो । जति फोन गर्ने दिन नजिकिन्थ्यो उती मनमा रोमाञ्चकता थपिन्थ्यो । तर फोन गरी सिध्याएपछि, अर्को बेचइनीले बेस्मारी बाँध्थ्यो । हैन मलाई मात्रै यस्तो हो कि, अरुलाई पनि हुन्छ ? म अरुको अनुहार पढ्न खोज्थें । यस्तो लाग्थ्यो—सबैको अनुहारमा उसैगरी उदाशी पोखिएको छ, मेरोमा जस्तै ।

सान्त्वना खोज्ने सवालमा धेरै कुराहरू सोहोरिएर आउँदो रहेछ । मैले आफू बाल्यकाल हुँदाको क्षणहरूलाई सम्झिएँ । म सानो हुँदा तीन–चार पटक मेरो बुवा पनि परदेश जानु भएको याद छ । उसबेला मेघालय, असम, मिजोरम तिर जाने खुबै चलन थियो पूर्वि पहाडि जिल्लाहरूमा । कोइलाखात जाने भनिन्थ्यो । खासगरि दशैं तिहार मानेर केही महिनाको लागि कोइलाखात जानु हुन्थ्यो बुवाहरू । त्यो जमानामा फोन त कता हो कता हुलाकको पनि राम्रो सुविधा थिएन । घरबाट निस्किएर हिंडेपछि दुई–तीन महिनै बेखबर । बल्ल–तल्ल चिट्ठी आइपुग्थ्यो घरमा, परदेशीको । घरबाट परदेशीलाई पठाएको चिट्ठी पुग्ने बेलामा परदेशीको घर फिर्ने सुरसार भइसक्थ्यो । अहो ! सञ्चो बिसञ्चोको खबर पाउन पनि तीन÷चार महिना पर्खनु पर्ने । त्यो बेला परदेश लाग्ने बुवाको मन कस्तो हुन्थ्यो होला ? अनि घरमा आमाको मन नि ? यी र यस्ता कुराहरू सम्झँदा त सारा टेन्सनै साफ । हुन पनि हो सानो कुरो भन्नु पर्यो भने वा केही भइहाल्यो भने तु फोन गर्यो, बोल्यो । तर मन न हो, एकातिर सान्त्वनाको पर्खाल ठडिन्दै गर्छ अर्कोतिर वेदनाको पहाड भत्किदै गर्छ ।

हामीसँगै आएका स्याङ्जाका एक जना मगर भाइ थिए । उमेर पनि कलिलै, घर छोडेर कहिल्यै परदेश नलागेको । उत्ति दुःख पनि नखेपेको । ती भाइलाई एक दिन कुनामा रुदै गरेको भेटें । यसो कोट्याएर के भयो भनि सोधें । विचरा घर–गाउँको सम्झनाले बेस्मारी पिल्सिएका रहेछन् । रुँदै भने—दाइ म नेपाल जान्छु, गाडी चढेर जाने ठाउँ बताई दिनुस् न । हे आपत ! के भनेर सम्झाउनु उसलाई । मलेसियाबाट गाडी चढेर नेपाल जान खोज्नेलाई कुन बाटो देखाई दिनु ? जिस्काउँदै भने—आज घर सम्झेर रुने मान्छे, छ महिनापछि घरै बिर्सन्छ । हुन पनि हो, दिनहरू जति पुरानो बन्दै जान्छ, सम्झनाहरू उति नै पातलिन्दै जान्छ/जाँदो रहेछ ।

पिडालाई भुल्ने विकल्पहरू धेरै हुन्छन् । अक्सर विछोडको पिडामा अल्झिएकाहरू कि रक्सीको सहारा लिन्छन्, कि नयाँ सम्बन्धको खोजी गर्छन् । मसँग पनि दुवै विकल्प थियो । गाउँ–घरमा हुँदा रक्सीको गन्धै नमनपराउने मान्छे, पोखरा पुगेपछि भने पारखी भइसकेको थिएँ । रक्सीको झुम्म नशामा आफैलाई बिर्सिएको क्षणहरू स्मृतिपटमा थुप्रै थिए मसँग । अनि कथित सम्बन्धको रंगमञ्चमा अभिनय गर्न, खोजिगरे पात्रको के खाँचो मलेसियामा । पटकको तीस रिङ्गिट देखि ‘लिभिङ टुगेदर’, सहजै उपलब्ध हुन सक्थ्यो । तर किन हो पीडाहरूले मलाई कहिल्यै गलत बाटोमा अग्रसर हुन दिदैन, झन् राम्रो काम तिर पो प्रेरित गर्छ । मेरा पुराना दिनहरूलाई सम्झन्छु, जुन बेला घरमा बुवा–आमाको झगडा हुन्थ्यो त्यस्तो बेला कविता लेख्न खुब जाँगर चल्ने । अरुले गाली गर्दा केही गरेर देखाउँछु भन्ने सोच्ने । एस.एल. सी.मा फष्ट डिभिजनको नजिक नम्बर आएर पनि अंग्रेजी लाग्दा कम्पार्टलाई फेल गरेर एक्ज्याम्टेटबाट फष्र्ट डिभिजन पास गर्छु भन्ने होप । मलेसियामा पनि यस्तै भो, रक्सी र तरुनी होइन अबको साथी किताब भन्ने लाग्यो । अचम्म ! चार बर्षसम्म रक्सी मुखैमा पो लाईएनछ । ग्याष्ट्रिकले अति नै सताएपछि साथीहरूको सल्लाहमा एक दिन रक्सी खाइयो र तोडियो अघोषित प्रतिज्ञा तर यौनको मामलामा त कुमारै पो भएछु पाँच वर्ष बस्दा पनि ।

नेपालबाट आउँदा थुप्रै किताबहरू बोकेर आएको थिएँ, करिब १२ किलो । जसमा केही आध्यात्मिक र दर्शनहरू पनि थिए । सबैभन्दा पहिले, जयपृथ्वीवहादुर सिंहको मानववादलाई पढें, लाग्यो जीवनको केही अर्थ छ । प्रत्येक मान्छेको जन्ममा केही न केही अर्थ लुकेको छ । तर त्यो अर्थलाई खोज्न सक्नु पर्यो । राज खान्दानमा जन्मिएर राजसी सुविधा प्राप्त गरेका जयपृथ्वीवहादुर सिंह किन राजाको पदवी त्यागेर मानववादको वकालत गर्दै विश्व डुले ? जयपृथ्वीले खोजेको जीवनको अर्थले धेरै प्रभाव पार्यो मलाई । त्यसपछि फ्रायडको मनोविश्लेषण, खप्तड स्वामीको ‘विचार विज्ञान’, डा. स्वामी विकासानन्दको ‘विचार क्रान्ती’, डा.स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ ?, गोविन्द वर्तमानको ‘सोह्र साँझहरू’, कृष्ण धरावासीको ‘राधा’, तसलिमा नसरिनको ‘आइमाईको हकमा’, स्वेट मार्डनको ‘कसरी बन्ने करोडपति’, कर्ण शाक्यको ‘खोज’, टेकनाथ रिजालको ‘निर्वासन’, ओसोको ‘सम्भोगदेखि समाधितिर’, विपि कोइरालाको ‘आत्मकथा’, महात्मा गान्धीको ‘आत्मकथा’ लगायतका पुस्तकहरूको अध्ययनसँगै जीवनका केही रहस्यहरूलाई साक्षत्कार गर्न पाईयो । उता श्रम साप्ताहिकले कतैबाट साभार गरेर हरेक हप्ता प्रकाशित गर्ने विश्व कम्यूनिष्ट आन्दोलनका हस्तीहरूको जीवन चरित्रहरूको पनि नियमित अध्ययन गर्दै रहें । वास्तवमै किताब र पत्रपत्रिकाहरूले वेदनाका रागहरूलाई परिवर्तित गर्न सहयोग पुर्यायो र यस्तै बेला जन्मिए केही कविता, कथा र लेखहरू ।

विछोडका पीडाहरूमा विस्तारै खाटा बस्दै गए पनि, सम्झनाका पलहरू बिस्तारै ओझेलिन्दै गए पनि सम्बन्धका पर्खालहरू हल्लिन थाली सकेका थिए । लाग्थ्यो त्यो पर्खाल कुनै पनि विन्दुमा पुगेर ढल्ने छ । यस्ता चिन्तनले मात्रै पनि मुटु हल्लाउँथ्यो, पाईला गलाउँथ्यो, शिर रिङ्ग्याउँथ्यो । भाग्य र सपनामा फिटिक्कै विश्वास नगर्ने मान्छे म—सपनाले बारम्बार सम्बन्धको अन्त्य निश्चित छ भन्दै थियो । बचपनदेखिको चिन्जान, अनायासै गाँसिएको प्रेम सम्बन्ध, जटिल मोडमा पुगेर गरिएको अन्तरजातीय विवाह, विभिन्न आरोह–अवरोहहरू पार गर्दै सँगै विताएको महत्वपूर्ण छ वर्ष र परदेशिएपछि थपिएको पीडाको बीच सातौं महिनामा सम्बन्ध अन्त्यको घोषणाले मृत्यु चिन्तनसम्म पुर्याउँदा वास्तवमै किताब नै मल्हम बन्यो मेरो लागि ।

र, फेरि दोश्रो पटक मलेसिया आइपुगेको बेलाको अनुभूति हो यो। अघिल्लो अनुभवले यस पटकको परदेश यात्रा पक्कै सहज थियो । तर पहिलो पटक विछोडको पीडा झेली रहेको आमा–छोरीलाई मलाई जस्तो सहज नहुने अवस्था थियो । त्यही भएर फोन गर्दा सधैं किताब पढ्न सल्लाह दिन्छु कवितालाई । भन्छु—छोरीलाई चित्रहरू भएको किताब देखाईदेऊ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

अभिमत: नेपाली गजल विधामा देखिएका पाँच समस्याहरू

एकु घिमिरे विषय प्रवेशः गजल भारतको कलकत्ता पढ्न गएका मोतीराम भट्टमार्फत नेपाल भित्रिएको देखिन्छ...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

सम्झनाको थिल्थिलोमा किताबको मल्हम

इन्द्र नारथुङे सन् २००५/मान्छे जतिसुकै विद्वान किन नहोस् आफन्तसँगको विछोडमा विद्वता बेकम्मा हुन्छ/हुँदो रहेछ...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...

माछा खोज्ने मलेहरू, भात खोज्ने गोर्खालीहरू, गोर्खा भूपूहरूको समस्या

निनाम कुलुङ ‘मंगले’ माथिको शीर्षकमा राखिएको पहिलो शब्दहरू, क्रमशः ‘माछा खोज्ने मलेहरू, भात खोज्ने...

त्यो झरी र सहयोद्वाको रगत (पाँचथर मेहेलबोटे घटना)

इक्साहाङ चेम्जोङ २०६० भदौ ६ गते नेकपा (माओवादी) पाँचथर जिल्ला क्षेत्र नम्बर ५ को...