याक्थुङ समुदायमा धर्मको बहस - Naya Online

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ

१. शुरूवात
याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि नेपाल, भारत, बर्मामा मुख्य बसोबास रहेको र विभिन्न कामको सिलसिलामा अहिले विश्वभर छरिएर रहेका छन् । जहाँ र जता रहे पनि मुख्य थातथलो भने नेपालको लिम्बुवान नै हो । यहीँको आदिम जाति भएकाले आफुलाई लुङ्बोबा सा (ढुङ्गाबाट जन्मिएको), खाम्बोङ्बा सा (माटोबाट जन्मिएको) भन्ने पनि गर्दछन् । गोर्खाका राजा पृथ्वीनारायण शाहले अतिक्रमण गर्नु पुर्व आफ्नै स्वाधिन, स्वतन्त्र याक्थुङ लाजे अर्थात राज्य थियो ।

१८३१ सालको लालमोहर सन्धिबाट लिम्बुवान सधैँको लागि नेपालमा गाभिएको हो । नेपालमा गाभिएता पनि स्वायत्तताको अधिकार भने तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवानलाई दिएको उक्त लालमोहरबाट स्पष्ट हुन्छ । पैसामा दस आना, सुभा, सुभाङ्गी र किपटको अधिकारसमेत पछिसम्म लिम्बुवानबासीले भोग्दै आएको पाईन्छ । तर राज्यले कपटपूर्ण तरिकाले याक्थुङहरूको भूमि, अधिकारलगायतका सम्पुर्ण कुराहरू अतिक्रमण गर्दै खोस्दै लगेको देखिन्छ । वि.सं. २०२१ सालको भूमिसुधार ऐन लागू भएपछि भने याक्थुङहरूको सबै अधिकार समाप्त भएको हो ।

याक्थुङहरूको आफ्नै भाषा छ । आफ्नै लिपि सिरिजङ्गा लिपि छ । साँस्कृतिक रूपमा पनि सम्पन्न जाती मानिन्छ । याःलाङ (धाननाच), केलाङ (च्याब्रुङ नाच) याक्थुङ जातिहरूको मुख्य नाच हो । सांस्कृतिक रूपले पालाम, हाक्पारे, ख्याली, तुवा गायन याक्थुङ समुदायमा अति महत्त्वपूर्ण मानिन्छ । याक्थुङहरूको आफ्नै इतिहास छ । सामाजिक विधानको रूपमा मुन्धुम जस्तो महान दर्शन छ । जनजीवनलाई सहज बनाउन याक्थुङ समुदायलाई परापुर्वकालदेखि मुन्धुमको दिशानिर्देशमा यहाँसम्म आइपुगेको मानिन्छ । मुन्धुममा जीवन र जगतको व्याख्या गरिएको पाईन्छ । यो विशेषगरि थुङ्साप अर्थात मौखिक वाचनको रूपमा फेदाङ्मा, साम्वा, येवा, येमाबाट एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको पाईन्छ ।

मुन्धुमको संरक्षक नै फेदाङ्मा, साम्वा, येवा, येमालाई मानिन्छ । पछिल्लो समय बिद्वानज्युहरूबाट खोज, अनुसन्धान र संकलन गरि मुन्धुमलाई लिखित रूपमा प्रकाशन गर्न थालिएको छ यो धेरै राम्रो काम हो । याक्थुङहरूको आफ्नै संस्कार, संस्कृति, अनुष्ठान र कर्मकाण्डहरू छन । बच्चा जन्मिनुभन्दा पहिले आमाको पेटमा हुदा खेरि साप्पोक चोमेन गरिन्छ, बच्चा जन्मेपछि छोरा भए चार दिनमा र छोरी भए तीन दिनमा याङ्दाङ फोङ्मा गरिन्छ । त्यसपछि उमेर पुग्दै गए पछि माङ्गेन्ना, फुङ्वाचाङ्मा गर्दै बुढेसकाल लागे पछि तङसिङ गरिन्छ । मृत्युपश्चात छोरा भए चार दिनमा र छोरी भए तिन दिनमा खाउमा अर्थात युम सा नाक्मा गरेर बिजोडी दिन वा महिना पारी अन्तिम फजे? गरिन्छ । यी कर्मकाण्ड, संस्कारहरू तुम्मेहाङको रोहवरमा फेदाङमा, साम्बा, येवा, येमाले गर्ने गर्छन् । भन्नुपर्दा याक्थुङ समुदायको मुन्धुम, संस्कार, संस्कृति संरक्षण गरेर अहिलेसम्म ल्याउने फेदाङ्मा, साम्वा, येवा र येमाहरू नै हुन् ।

याक्थुङ समुदायको सर्वोच्च निकाय भनेको तुम्याहाङ्हरू हुन । तुम्याहाङको फैसला नै अन्तिम हुन्छ । याक्थुङ समुदायमा तुम्याहाङ न्याय प्रणाली अझै सम्म रहिरहेको छ । याक्थुङ समुदायसँग आफ्नै भाषा, लिपि, भेषभुषा, संस्कार, संस्कृति र न्याय प्रणाली एउटा महान सभ्यतामा विकास भएका हुन् । याक्थुङ सभ्यता किरात सभ्यतामा विकास भएको हो भन्ने धेरै इतिहासकारहरूको भनाई छ । तर समाजशास्त्रीय हिसाबले हेर्दा किरात सभ्यता भन्दा अलग सभ्यताको रूपमा याक्थुङ सभ्यताको विकास भएको हो भन्न सकिन्छ । याक्थुङहरू किरात हुन त होइनन् भन्नेमा अहिले व्यापक बहस हुँदै आएको छ । यसको सवालमा यसै भन्न सकिने अवस्था छैन ।

धेरै इतिहासकारहरूको मतमा याक्थुङहरू किरात नै हुन भन्ने पाईन्छ तर ठोस प्रमाण भने कतै पाईदैन । त्यसो त आर्यहरूले प्राय सबै मंगोललाई एउटा उपेक्षित उपनाम दिएर किरात भनेका हुन । जस्तै हामीले क्षेत्री,बाहुनलाई पेनिवा ,काठा भनेको जस्तो मात्र हुन । नेपाल खाल्डोमा ३२ पुस्ता किरातहरूले शासन गरेका हुन भन्ने इतिहास पाईन्छ तर यस्को पनि कतै ठोस प्रमाण भने छैन । अहिले सम्म कुनै शिलालेख पाईएको छैन । पशुपतिमा रहेको किरातकालिन भनिएको मुर्तिमा ॐ लेखिएको छ ।

विरूपाक्षको मुर्तिले जनै भिरेको छ । त्यसो भए के किरातहरू हिन्दु थिए ? याक्थुङ, खम्बुहरूको पुर्खाले त्यहाँ शासन गरेको सत्य हो भने के हाम्रो पुर्खा हिन्दु थिए त ? किरातहरूले शासन गरेको इतिहासमा नै ठोस प्रमाण अहिलेसम्म जुटेको छैन । राज्य संचालनको लागि आधारभुत कुरा संयुक्त भाषा, लिपि, मुद्रा, परराष्ट्र, नीति नियम चाहिन्छ । त्यो काठमाडौं खाल्डोमा ३२ पुस्ता शासन गर्ने किरातहरूले कुन भाषा, लिपि, मुद्रा चलाएका थिए ? कसैसँग प्रमाण छ ?

किरातहरू लिच्छविसँग पराजित भएर पुर्वतिर लागे भन्ने इतिहास छ । त्यसो हो भने हाम्रो मुन्धुम मा त काहीं न काहीँ त काठमाडौ वरिपरिको व्याख्या भएको हुनु पर्ने तर कतै पाईदैन । यहीँ याक्थुङ लाजे अर्थात लिम्बुवान भित्रको मात्र व्याख्या भएको पाईन्छ । याक्थुङ समुदायमा किरातको प्रचलन लिम्बुवान गोर्खा राज्यमा गाभिएपछि मात्र आएको पाईन्छ । विशेषगरि ईमानसिं चेम्जोङले याक्थुङ मुन्धुमलाई खस नेपालीमा अनुवाद गर्दा किरात मुन्धुम बनाएको पाईन्छ । त्यसैगरि किरात याक्थुङ चुम्लुङले २०५८ सालको जनगणनामा याक्थुङहरूले धर्मको महलमा किरात लेखौं अभियान व्यापक रूपले चलाएको थियो । यसरी याक्थुङ समुदायमा किरातले ब्यापकता पाएको थियो । याक्थुङहरू किरात हुन होइनन् आगामी दिनमा इतिहासको पुनः खोज अनुसन्धान र समीक्षा हुँदै जाला त्यति बेला बहस गर्दै जाउला ।

पछिल्लो समय लिम्बू समुदायमा ढिलाई भए पनि धर्मको बहस सतहमा आएको छ । अहिले याक्थुङ समुदायमा मात्र नभएर अन्य समुदायमा पनि बहस भइरहेको छ । कतिपयले यसलाई विवाद भनेता पनि म चाहिँ बहस हो भन्ने गर्छु । बहस हुनु सकारात्मक कुरा हो, बहसले मात्र हामी निचोडमा पुग्न सक्छौं । यो धर्मको मात्र नभएर साँस्कृतिक पुनरजागरण को बहस पनि हो । धर्म केवल साधनको रूपमा मात्र आएको छ । अहिले हामीले बहस गर्न ढिलो गर्यौं भने अबको केही दशकमा लिम्बुत्व ध्वस्त भएर जानेछ । हामीसँग मौलिक, साँस्कृतिक धरोहर केही पनि रहने छैन । उहिले याक्थुङहरूसँग पनि आफ्नै मौलिक, सांस्कृतिक कुराहरू थिए भनेर इतिहासमा मात्र पढ्न पाईने स्थिति आउन सक्छ ।

विश्वका आदिवासीहरूले प्रायः धर्म मान्दैनन् । उनिहरू प्रकृतिपुजक हुन्छन । उनिहरूसँग परम्परागत रूपले मान्दै आएका आफ्नै मौलिक संस्कार, संस्कृति र कर्मकाण्डहरू छन । जसको धर्मको नाम किटान गरिएको हुदैन । तर समयको घटना क्रमले आफ्नो स्पेस वा उपस्थिति खोज्दै जाँदा धर्मको नाम पनि आवश्यक पर्दो रहेछ । धर्म साधनको रूपमा आउदो रहेछ । याक्थुङ समुदायसँग आदिमकालदेखि पुर्खाले मान्दै आएका आफ्नै परम्परागत मौलिक धर्म, संस्कार, संस्कृति र कर्मकाण्डहरू रहेता पनि पछिल्लो समय विभिन्न धर्म अवलम्बन गरिरहेका छन् । विशेषगरि याक्थुङहरूले मौलिक युमा साम्यो, किरात सत्यहाङ, क्रिश्चियन, सैव धर्म, बौद्ध, स्वार्गिक मार्ग र हिन्दु धर्म अवलम्बन गरिरहेको पाईन्छ । कतिपय आन्तरिक र बाह्य धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रम र लोभलालचले गर्दा आफ्नो मौलिक धर्म, संस्कार, संस्कृति हुदाहुँदै अन्य धर्ममा याक्थुङ जातिहरू प्रवेश गरिरहेका छन् । यो आलेखमा विशेषगरि याक्थुङ समुदायमा अहिले बहसको केन्द्र रहेको युमा साम्यो र किरात सत्तेहाङको बारेमा जानकारी गर्ने प्रयास गरेको छु । त्यसभन्दा पहिले धर्मको बारेमा छोटकरी चर्चा गर्ने प्रयास गरिएको छ ।

२. धर्म के हो ?
नेपाली भाषा बृहत् शब्दकोश अनुसार धर्म भनेको व्यक्ति वा वस्तुमा रहिरहने गुण’, ‘स्वर्ग वा ईश्वर प्राप्तिका लागि गरिने पुण्य कार्य,’ ‘असल आचरण’ र ‘कुनै महापुरुषको मत, सम्प्रदाय’ भनेको छ  । हामीले सामान्य बुझ्ने भाषामा सेवा गर्नु नै धर्म हो भनेर बुझ्दछौं । धर्म शब्दलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । अशक्त, असहाय, गरिब, दुःखीलाई सेवा गरेको बापतको गरिने धर्म र ईश्वरलाई पुकारेर वा धार्मिक नीति, नियमलाई पालना गरेर मानिएको धर्म । धर्म भन्ने बित्तिकै भौतिकवाद भन्दा पर अध्यात्मवाद वा आत्मवादलाई बुझ्नु पर्दछ । यहाँ इश्वरिय सत्ताको पूर्णरूपले उपस्थिति हुन्छ । विश्वमा धर्म कहिलेदेखि मान्दै आएको छ भनेर यकिन नभए पनि मानव सभ्यताको विकाससँगै विकास भएको पाईन्छ । धर्ममा निश्चित रूपले निर्माण गरिएका नीति नियम, संस्कार र कर्मकाण्ड हुन्छ । प्रायः कुनै युगपुरुषको मत वा दर्शनलाई आधार मानेर धर्महरूको विकास भएको पाईन्छ । धर्ममा ईश्वर सबै भन्दा सर्वोच्च हुन्छ ।

कार्ल माक्सले धर्म अफिम हो भनेका थिए । तर म चाहिँ धर्म माइन्ड किलर हो भन्ने गरेको छु । जबकी एक व्यक्ति धार्मिक नियम अनुसार धर्ममा प्रवेश गर्दा सबै भन्दा पहिले उस्को दिमागमा प्रहार गरिन्छ त्यस पछि उस्ले धर्म अन्तिम सत्य हो भन्न थाल्छ । धर्म एउटा सांस्कारिक अनुशासनको लागि अवलम्बन गरिन्छ तर अन्धभक्त हुनु भनेको आफुले आफैँलाई आत्मदाह गर्नु जस्तै हो । हरेक धर्म अनुसार जीवन र जगतलाई हेर्ने दृष्टिकोण फरक फरक हुन सक्छ । सबै धर्म अनुसार ईश्वर आआफ्नै हुन्छ । जस्तै क्रिश्चियनले येशुलाई ईश्वर मान्छ, हिन्दुले कृष्ण, शिवलाई मान्छ भने बौद्धले गौतम बुद्धलाई आफ्नो भगवानको रूपमा मान्छन् । प्रत्येक धर्म अनुसार धर्मशास्त्र पनि फरक फरक हुन्छ । धर्मको सार के हो ? भने मानव कल्याण हो । तर विश्वमा सबै धर्महरू आफ्नो दर्शन अनुसार चलेको कमै पाईन्छ । अहिलेसम्ममा धर्म कै कारण आतंकवाद देखि ठुलठुलो युद्धहरू भएका छन् ।

विश्वमा धर्म वा ईश्वरमा आस्था राख्ने जति छन् करिव त्यसकै हाराहारीमा नास्तिकहरू पनि रहेको पाईन्छ । पछिल्लो समय नेपालको सन्दर्भमा राजनैतिक घटनाक्रमले गर्दा धर्म अनिवार्यजस्तै भएको छ । विश्वमा करिव ९० को दशकदेखि यता म को हुँ ? म के हो ? भन्ने एक खालको पहिचानको खोजीको मुभमेन्ट चल्न थालेको छ । आफ्नो पहिचान खोज्दै जाँदा कहि न कहि संस्कृतिसँगै धर्म पनि जोडिँदो रहेछ । धर्मले संस्कृति पनि बोकेको हुदो रहेछ । अझै राज्यको हरेक क्षेत्रमा धर्मको महल राख्न थालिएको छ । त्यसमा आफ्नो आस्थाभन्दा अर्कै धर्म त लेख्न सकिएन । त्यसैले अनिश्वरवादीहरूले पनि आफ्नो चिनारीकै लागि धर्म अवलम्बन गर्नु पर्ने स्थिति आयो । यसले आदिवासीमा नछुने त कुरै भएन । त्यसै पनि आदिवासीहरूलाई शासक र राज्यसत्ताको आक्रमणबाट पिडित भएका हुन्छन् । यसै क्रममा याक्थुङ समुदायमा धर्मको बहस सतहमा आएको हो । याक्थुङ समुदाय धार्मिक अतिक्रमणबाट सबैभन्दा धेर पीडित भएका छन् । राज्यसत्ता, हिन्दु, क्रिश्चियन, सत्तेहाङलगायत अन्य धर्मले याक्थुङ समुदायमाथी धावा बोलिरहेका छन् । इतिहासलाई हेर्दा सबैभन्दा पहिले बौद्धिष्ट लामाहरूबाट अतिक्रमण सुरु भएको अहिले जसमुनी पन्थ सत्तेहाङ र क्रिश्चियनसम्म आइपुग्दा करिब याक्थुङ समुदायले आफ्नो मौलिक धार्मिक, सांस्कृतिक कुरा ६०% भन्दा बढी गुमाइसकेको अवस्था छ । यो कारणले पनि धार्मिक बहस जरुरत छ । याक्थुङ समुदायमा धर्मको बहस गर्दा फाल्गुनन्दलाई छुटाउन हुदैन । उहाँको बारेमा छोटकरीमा चर्चा गरौं ।

३. को हुन् फाल्गुनन्द ?
फल्गुनन्दको जन्म ईलामको चुक्चिनाम्बामा बुबा जगुनवाज लिङ्देन र आमा हंशमती बेघाको कोखबाट वि.सं. १९४२ कातिक २५ गतेका दिन भएको थियो ।

उहाँको न्वारानको नाम नरध्वज राखियो । अघि जन्मेका धेरै नानीहरू नबाँच्ने भएकाले शिशुको रक्षाका लागि फलामको चुरा लगाई दिँदा दीर्घायु हुन्छ भन्ने जनविश्वासअनुसार शिशुलाई फलामको चुरा लगाइदिएको थियो । सोही कारण नरध्वज अर्थात फाल्गुनन्दको बोलाउने नाम फलामसिं हुन गयो । उनको मृत्यु वि.सं. २००५ मा पान्थरको सिलौतीमा भएको थियो ।

फाल्गुनन्द वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना भए । फौजीमा हवल्दारसम्म भएको पाईन्छ । उनले १२ वर्ष फौजी जीवन बिताएका थिए । उहाँ गोर्खा फौजीमा रहदा बर्मामा रहेको बेला जोसमनी सन्तका गुरु ज्ञानदिलदासका चेला मधुनन्दसँग सतसंग अर्थत शब्दि गरि जोसमनीमतमा दिक्षित भएर गुरूपन्जा पाई फलामसिंबाट फाल्गुनन्द भई वि.सं. १९७५ मा नेपाल फर्किआएको थियो । विशेषत उनी हिन्दु धर्मको एउटा सम्प्रदाय जोसमुनी सन्तबाट प्रभावित भएको पाइन्छ ।

जोसमुनी सन्त हिन्दु धर्ममा रहेको विकृतिलाई सुधार गर्नको निम्ति एउटा सम्प्रदायको रूपमा स्थापित भएको हो । सुदुर पश्चिमका उपाध्याय बाहुन सन्त शशिधर (१८०४–१९०६) ले नेपालमा सुरु गरेका हुन् । पूर्वमा भने प्रेमदिलदासलाई पुर्वमा प्रचारको लागि खटाईएको थियो । लिम्बुवान पान्थर, नाङ्गिनका एक उपाध्याय बाहुन प्रेमदिलदासबाट जोसमनी मत ग्रहण गरि श्याम दिलदास बनेर प्रचार गरेका थिए । पुर्वमा लिम्बुभन्दा पहिले राईहरूले जोसमुनी सन्त ग्रहण गरेको पाईन्छ । लिम्बुवानमा फाल्गुनन्दको उदयपछि मात्र जोसमुनी सन्तले ब्यापकता पाएको पाईन्छ । जोसमुनी सन्त विशेषगरि हिन्दु धर्मको शाखामध्येको शैव पन्थ हुन् । मुख्य आराध्यदेव शिवलाई मान्छन् । फाल्गुनन्द भाते मुद्दामा परेपछि जसमुनी सन्त परम्पराबाट अलग भई सत्तेहाङमा÷तपस्वी पन्थ निर्माण गरेको पाईन्छ । (जोसमुनी स्मारिका २०५९ हेर्न सक्नुहुनेछ)

कुनैपनि धर्म गुरुले धर्म प्रचारको लागि समाज सुधारलाई मुख्य हतियार बनाएको पाईन्छ । हिन्दु धर्म गुरु, क्रिश्चियन लगायत सबैमा यो पाइन्छ । फाल्गुनन्दले पनि समाज सुधारलाई मुख्य हतियार बनाएको पाईन्छ । याक्थुङ समुदायमा ब्याप्त रहेको बिकृतिलाई सुधार गर्नको लागि उनले १९८८ सालमा याक्थुङ सुभाहरू जम्मा गरि निर्माण गरेको सत्य धर्म मुचुल्का पत्रलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ । आर्थिक र सामाजिक रूपमा याक्थुङ समुदायलाई त्यो मुचुल्काले केही सुधारको बाटोमा डोर्याएको अवश्य हो । त्यही मुचुल्काले गर्दा अहिले फाल्गुनन्दलाई याक्थुङ समुदायले सम्मान गरिरहेको छ । उनको योगदानको कदर गर्दै राज्यले २०६६ सालमा सोर्हौं राष्ट्रिय विभुतिको घोषणासमेत गरेको छ । उनले जुन बाटोबाट गरे पनि याक्थुङ समुदायको लागि राम्रै काम गरेको हो त्यसमा दुईमत छैन । उनको यो महान कामलाई याक्थुङ समुदायले कहिले बिर्सने छैन । यसो भनिरहदा उनले सबै काम राम्रो मात्र गरे भन्ने होइन । उनले गरेको वा स्थापित गरेको हिन्दुकृत कर्मकाण्डहरू चाहिँ समिक्षा गरेर परिमार्जन गरेर लान सके अझै राम्रो हुने थियो । त्यसो त ती बेला कुनै बाध्यतावस हिन्दुका कतिपय कुरा अंगालेको पनि हुन सक्छ । फाल्गुनन्द आफैँमा समाजसुधारक हुन । कतिपय स्थापित मान्यताको विरुद्ध कदम चाल्नु चानचुने कुरा होइन त्यसमा उनको साहसलाई मान्नै पर्छ । तर फाल्गुनन्दलाई धर्म गुरु, महागुरुभन्दा पनि दार्शनिक, समाज सुधारक भने सर्वमान्य र विवादरहित हुने थियो । यस्तो महान ब्याक्तीहरूलाई धर्मको हिरासतमा कैद गरेर राख्नु राम्रो होइन । धर्मले निश्चित सम्प्रदायलाई मात्र समेट्छ ।

४. किरात सत्यहाङ
किरात – सत्यहाङ फाल्गुनन्दको उदयपछि स्थापित धर्म वा एक सम्प्रदाय हो । यसलाई हाङसाम साम्यो अर्थात शैव (शिव) धर्म पनि भन्ने गरिन्छ । यसको धार्मिक केन्द्र ईलामको लारुम्बामा रहेको छ । यो धर्मको वर्तमान धार्मिक गुरु आत्मानन्द रहेका छन् । यो धर्ममा कुल लिम्बू जनसंख्याको करिव २५ प्रतिशतले ग्रहण गरिरहेका छन् । यो धर्मको संस्थापक फाल्गुनन्द नै हुन् । सत्यहाङ धर्ममा प्रवेश गर्नको लागि पुजारीद्वारा विशेष खालको मन्त्र कानमा जपि शब्दि गरिन्छ । त्यसलाई कानु फुक्वा पनि भन्ने गरिन्छ । शब्दि गरेपछि मात्र सत्यहाङ धर्ममा प्रवेश गरेको मानिन्छ । जोसमुनी सन्तबाट भाते मुद्दा पछि यो धर्म फाल्गुनन्दले स्थापना गरेका हुन् । सुरुमा यसलाई सत्यहाङ मात्र भनिएता पनि वि.सं. २०३६ सालमा पद्मसुन्दर लाओतिको पहलमा किरात धर्म तथा साहित्य उत्थान संघ दर्ता भएपछि किरात धर्म भन्न थालिएको हो । त्यतिबेला अध्यक्षमा आत्मानन्द लिङ्देन र महासचिवमा चन्द्रकुमार सेर्मा रहेका थिए । तत्कालीन समयमा त्यो संस्था लिम्बू जातिको उत्थानको लागि नभएर ३६ सालको जनमत संग्रहमा लिम्बुहरूको मत पन्चायतको पक्षमा झार्नको लागि पद्मसुन्दर लाओतिले त्यो संस्था दर्ता गरेको थियो । (पद्मसुन्दर लाओतिको आत्मावृतान्त पुस्तकमा हेर्न सक्नुहुन्छ)

विशेषतः सत्यहाङ धर्ममा याक्थुङ मौलिक संस्कार, संस्कृतिभन्दा फरक संस्कार, संस्कृति अवलम्बन गरेको पाईन्छ । चरु पोली होमहवन गर्ने, शंख फुक्ने, कमन्डलु बोक्ने, एकतारे, डम्बरु बजाउने, भजन गाउने, सेतो वस्त्र लगाउने र निधारमा खरानी लगाउने गर्छन् । अन्य कर्मकाण्डमा पनि याक्थुङ मौलिकता भन्दा बिलकुल फरक तरिकाले गर्छन् । त्यसो त जस्तो तरिकाले गरे पनि त्यो उहाँहरूको धार्मिक स्वतन्त्रता हो । तर यो नै लिम्बुहरूको मौलिकता हो भन्नूचाहि लिम्बुत्व माथिको अतिक्रमण हो । सत्यहाङ धर्मसँग आफ्नै खालको धर्मशास्त्र छ । त्यो शास्त्रलाई मुन्धुम भन्दै आए पनि त्यो मुन्धुम चाहि होइन । त्यहाँ लिम्बू भाषा र सिरिजंगा लिपि प्रयोग गरिएको छ । याक्थुङ मुन्धुमको केही कुरा र अन्यबाट ल्याएका केही कुराको हाईब्रीड गरि बनाईएको छ ।

तर सत्यहाङ धर्म लिम्बुत्वमाथी धावा बोले पनि याक्थुङ भाषाको विकासको लागि महत्वपूर्ण योगदान गरेको छ त्यसको सम्मान चाहिँ गर्नैपर्छ ।

 

५. युमा साम्यो
युमा साम्यो (धर्म) याक्थुङहरूको मौलिक, परम्परागत धर्म मानिन्छ । यो परापुर्वकालदेखि नै पुर्खाहरूले मान्दै आएको पाईन्छ । पहिले संस्थागत रूपमा नभए पनि याक्थुङ रिति, थिती, संस्कार, संस्कृति जे थियो त्यसैलाई नै युमा साम्यो भनिन्थ्यो । पछिल्लो समय मौलिक युमा साम्यो मान्ने याक्थुङहरू एकजुट हुनको लागि युमा साम्यो महासभा वैधानिक रूपले सरकारमा दर्ता गरेर अगाडि बढिरहेको छ । २०७४ सालमा दर्ता गरि हाल सम्ममा दुई वटा अन्तराष्ट्रिय सम्मेलन र प्रथम पेगिफाङ्साम विश्व सम्मेलन गरिसकेका छन् । जन्मदेखि मृत्युपर्यन्त जस्ले याक्थुङ संस्कार, संस्कृति अवलम्बन गर्छ उ नै युमाधर्मी मानिन्छ । यो याक्थुङ मौलिक धर्म ,संस्कृति लाई संरक्षण र विकासका लागि विशेषगरि तुतुतुम्याहाङ, प्राज्ञिक, बौद्धिक, प्राडा, मुन्धुमविद तथा युवाहरूले पहल गरिरहेका छन् ।

याक्थुङ समुदायमा युमा नै सर्वैसर्वा माङ मानिन्छ । तागेरानिङ्वाफुको अर्को नाम युमा माङ हो । युमा माङ मानव आत्मामा प्रकट हुने भएकोले युमासाम थान्छिङ्मा भनिन्छ । थान्छिङ्मा गरेर हामीलाई जीवन, दर्शन सिकाए । अन्नपात ल्याइदिए । तानबाट लुगाफाटो बुन्न सिकाए । यसैकारणले याक्थुङहरूको मौलिक धर्म नै युमा साम्यो हो भन्ने दावी छ । युमा साम्योमा बलिप्रथा पहिले थिएन । कुनै मुन्धुममा युमालाई बलि चडाउनु पर्छ भनिएको पाईदैन । हिन्दुहरूको प्रभावपछि बलि लगाउन थालिएको पाइन्छ । अहिले आएर वलि प्रथालाई निषेध नै गरेर जाने भनिएको छ । युमा साम्योले आफ्नो मौलिक चिन्हको रूपमा मुन्धुम अनुसार सिलाम साक्मालाई मान्ने गर्छ । युमा साम्योको मुख्य ब्यक्ति नै फेदाङ्मा, साम्वा, येवा, येमालाई मानिन्छ । याक्थुङ समुदायको कर्मकाण्ड, संस्कार सबै फेदाङमा, साम्वा, येवा, येमाहरूले गर्ने गर्छन् । युमा साम्योले मुख्य दर्शन मुन्धुमलाई मान्ने गर्छन् । मुन्धुम याक्थुङ समुदायको लागि सामाजिक विधानको रूपमा मान्ने गरिन्छ । आदिमकालदेखि नै याक्थुङ समुदाय मुन्धुमबाट निर्देशित छ । मुन्धुममा जीवन र जगतको व्याख्या गरिएको छ । लिम्बू जातिको इतिहास समेत मुन्धुमबिना अपुरो हुन्छ ।

६. मैझारो कुरा
याक्थुङ समुदाय अहिले चारैतिरको अतिक्रमणको चपेटामा परेको छ । एकातिर विश्वव्यापिकरणले भाषिक, साँस्कृतिक कुराहरूमा प्रभाव जमाउदै लगेको छ भने शासकहरूबाट राजनैतिक, धार्मिक र सांस्कृतिक अतिक्रमणको सामना गर्नु परिरहेको छ । अब हामीले लिम्बुत्व कसरी बचाउने, हाम्रो मौलिक पहिचानलाई कसरी सुरक्षित गर्ने जस्ता कुरामा बहस गरेर जानू पर्छ । ढिलै भए पनि धार्मिक बहस सुरु भएको छ । यो बहसलाई कतिपयले विवादको रूपमा लिए पनि खासमा विवाद नभएर बहस हो । बहसले मात्र हामी निचोडमा पुग्ने छौं । हामी को हौं ? कस्तो कुरा अवलम्बन गरेर जाँदा हाम्रो मौलिक पहिचानको संरक्षण हुन्छ ? जस्ता कुराहरू अब हामीले बुझेर जानुपर्ने हुन्छ ।

लिम्बुहरूको दुःखसुखको कुरा गरिदिने साझा मञ्च अहिलेसम्म किरात याक्थुङ चुम्लुङलाई मान्दै आएका छौं । सबै लिम्बुहरूले आफ्नो साझाघरको रूपमा कियाचुलाई लिने गर्छन् । तर पछिल्लो समय कियाचुले अभिभावकत्वको भुमिका निर्वाह नगरेको जस्तो, आफ्नो जिम्मेवारीबाट टाढा रहेको जस्तो देखिन्छ । यस्तो हुँदै गयो भने आम लिम्बू समुदायबाट विश्वास गुम्दै जाने खतरा हुन्छ । यो कुरा चुम्लुङले बेलैमा सोचेमा उत्तम हुनेछ । लिम्बुहरूको धार्मिक, सांस्कृतिक कतिपय विवादहरूमा कियाचुले निर्णयात्मक भुमिका खेलिदिएमा अति उत्तम हुने थियो ।

कुनै पनि बहसले सकारात्मक बाटो लियो भने राम्रो हुनेछ । तर बहसमा कुतर्क हुँदै अबहसतिर गयो भने अवश्य विवादको सिर्जना हुनेछ । हामी सत्तेहाङ, युमा साम्यो जे भने पनि मिलेर जानुको विकल्प छैन । त्यसको लागि सहमतिको बाटोहरू खोज्नु नितान्त आवश्यकता छ । सहमतिमा मेरो कुरा मात्र अन्तिम सत्य हो भन्ने कुरा हुदैन दुवै पक्षले लिने, दिने गर्नुपर्छ । युमा साम्योमा भएको नकारात्मक कुरा र सत्यहाङमामा भएको नकारात्मक कुरालाई केलाउदै सहमति गर्दा राम्रो हुनेछ ।

विश्वमा अहिले म को हुँ ? मेरो पहिचान के हो? भन्ने एक खालको बहस नै चलिरहेको छ । यो समय आफुले आफैलाई खोज्ने, चिन्ने समय हो । कैयौं बर्षसम्म कट्टर कम्युनिष्ट शासनमा रमाएका रुसी जनताले अहिले आफ्नो प्राचिन मौलिक धर्म संस्कृतिको खोजी गर्दैछन् । चीनले अहिले पश्चिमा धार्मिक–साँस्कृतिक साम्राज्यबादी–आतंकवादीहरूको अखडा चर्च बम र डोजरले उडाइरहेको छ अनि आफ्नो मौलिक धर्म संस्कृतिको रक्षा गर्न बन्द गरिएका पुराना–पुराना गुम्बाहरूको ढोका खोल्दैछ । पहिले धर्म अनुयायीहरूले मात्र मान्ने गर्दथे भने अहिले आएर धर्म आफैँमा पहिचानसँग जोडिन पुगेको छ । त्यसैले अब आफ्नो पहिचानको लागि भए पनि मौलिक धर्म, संस्कार, संस्कृति मान्नुपर्ने बाध्यता आएको छ । यो कुरामा हामी सबैले ध्यान दिएमा यो उतर औपनिवेशिक समयमा पनि हामी सुरक्षीत रहने छौं ।

सन्दर्भ सामाग्री–

१. जसमुनी सन्त स्मारिका
२. किरात इतिहास –ईमानसिं चेम्जोङ
३. भाषा, संस्कृति र इतिहासका क्यान्सरहरू – तेजमान आङ्देम्बे
४. विभिन्न सामाजिक सन्जाल
५. विभिन्न अनलाईन पोर्टलहरू –

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जनगणनामा थर लेख्ने प्रचलन

निनाम कुलुङ ‘मंगले’ लामो समयदेखि (लगभग एकसय २० वर्ष अघिदेखि) नेपालमा पनि राष्ट्रियस्तरमा जनगणना...

‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’

रोना लिम्बू वर्देवा १५ वर्ष अघि मैले अन्तरजातीय विवाह गरेकी थिएँ । चाडवाडमा भेटघाटको...

शुद्ध हुनुपर्छ भरिएको घडा

आश्मा अर्याल आयो दशैँको बेला अरे । के आएकै हो त दशैँ? तिथि, मिति,...

दसैँसँग याक्थुङ जातिको के साइनो लाग्छ ?

प्राज्ञ अमर तुम्याहाङ चाड भनेको के हो ? चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो...

समसामयिक राजनीतिक रङ्गमञ्चमा प्रतिगामी र अग्रगामी आरोप–प्रत्यारोपको शल्यक्रिया

उदय ‘पूर्वेली’ चोङ्बाङक्याक अहिलेको सत्ताको केन्द्रलाई नियाल्दा लिबरल डेमोक्रेसी प्रकृतिको देखिन्छ । काँग्रेस र...

लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध

नन्द कन्दङवा किरात, याक्थुङ र लिम्बुको सम्बन्ध किरात भनेको आर्यहरूले इंगित गरेको एउटा ठुलो...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...

सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी

युवराज ठकुरी उन्यु र बुकी फुल्ने उत्तरी मोरङ केराबारी–२, सिंहदेवीमा रहेको पाखोबारी आज हराभरा...

“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?”

जीवन देवान गाउँले मेरो एकजना जिग्री थियो –दीलदुःखी जन्तरे । थियो ! सुनेर चिसो...

विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना

लक्ष्मण कटुवाल एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको...