गीत संगीतप्रतिको मेरो मोह, अनुभूति र यात्रा - Naya Online

गीत संगीतप्रतिको मेरो मोह, अनुभूति र यात्रा

मनकुमार लिम्बू

म सानै अर्थात १२/१३ बर्षको उमेर देखि नै गीत संगीतमा रुचि राख्ने खालको थिएँ। सम्भवत २०६० साल तिर हुनु पर्छ रु. ३५० पर्ने चाइनिज १० बेण्डको रेडियो किने पछि त झन रेडियो साथी नै भयो र रेडियो प्रेमी भइयो । अरुभन्दा पनि रेडियो नेपाल धनकुटाबाट बज्ने विभिन्न फर्माइस् कार्यक्रमको त नियमित श्रोता नै भइएको थियो ।

यसरी रेडियो नियमित सुन्दै गएपछि गीत संगीतप्रतिको मोह झन अधिक हुँदै गयो । उतिबेला रेडियो नेपाल धनकुटाको “संगम” कार्यक्रम धेरै श्रोताहरू माझ लोकप्रीय बनेको थियो । अझ गीत गाउन रुचि राख्नेहरूको निम्ति त एउटा ठूलो प्लेटफर्म झै लाग्थ्यो । मन भित्रको अधिक रहरले कुत्कुत्याएर म पनि दुई पटकसम्म संगममा गएँ र गीत गाएँ ।

अचानक बिविध कारणबस संगम कार्यक्रम प्रशारण बन्द भयो । त्यसपछि भने फर्माइस् लगायत अन्य कार्यक्रमहरू मै सिर्जनाहरू लेख्दै प्रेषण गरिन्थ्यो । त्यतिबेला हवाई साहित्यिक पत्रिकाहरूको पनि खुब बिगबिगी थियो । त्यही साहित्यिक पत्रिकाहरू पढेर अनि रेडियो सुनेर नै हो खुब लेख्न जाँगर चल्थ्यो ।

यसरी लेख्न सिक्ने क्रममा राम्रो भए पनि नभए पनि खुबै लेखिन्थ्यो । समय सँधै एकनास कहाँ रहन्छ र बिस्तारै समयले कोल्टे फेर्यो । यस्तो स्वर्णिम समय र अवसरलाई चटक्कै छोडेर विवसताको कुम्लो बोकेर २०६७ सालतिर मुग्लान भासिएँ । खाडी मुलुक कतार रहँदा बस्दा मैले भोगेका दुख पीडा अभावका अनुभुतीहरूलाई सिर्जनाका विभिन्न विधाहरूमा संगाल्ने कोसिस गरेँ र अन्तत ३१ महिनाको बसाईपछि आफ्नै जन्मभूमि नेपाल फर्किएँ ।

जब म नेपाल फर्किएँ, समय र परिस्थिती अलिक परिवर्तित भएको पाएँ । जुन समय रेडियो र हवाई पत्रिकाहरूको बिगबिगी सम्भवत हराई सकेकै थियो । प्रायः सबैका हात हातमा मोबाइल र सामाजिक सञ्जाल फेसबुकको भने उधुम बैँस नै चल्न सुरु हुँदै थियो । मैले पनि आफुले जानी नजानी कोरेका सिर्जनाहरू त्यही फेसबुकको भित्तामा छरपष्ट पोख्न थालेँ।यही क्रममा एकदिन ‘कर्मैले डोर्याई ल्यायो नि मलाई बिरानो ठाउँमा, के गर्दै छौ नि हे मेरी प्यारी त्यो सानो गाउँमा…. भन्ने गीत मेरो फेसबुक वालमा पोष्ट गरेँ ।

उक्त गीत पोष्ट गरेको भोलिपल्टै मलेसियाबाट मेरा प्रीय मित्र गीतकार केशर सुब्बा माङ्युङले मेसेन्जरमा कल गर्नुभयो र उक्त गीत रेकर्ड गर्ने सल्लाह दिनुभो तर मैले मेरो आर्थिक नाजुक अवस्थाको कारण नसक्ने कुरा गरेँ । केशर ज्युले तत्काल ल म आफैँ यो गीत रेकर्डिङको ब्यवस्था गर्छु भनेर वचन दिनुभो।सायद त्यो बेलाको खुशी म शब्दमा वर्णन गर्न सक्दिनँ ।

हाम्रो कुराकानी भएको केही दिनपछि उक्त गीत रेकर्डिङो निम्ति लाग्ने सम्पुर्ण खर्च निस्वार्थ रूपमा संखुवासभा जन्मथलो भएर हङकङमा कार्यरत साहित्यप्रेमी तथा समाजसेवी सरिता चाम्लिङले बेहोरी दिनु हुने कुरा आयो र केही महिनाको अन्तराल पश्चात् आदरणिय चर्चित गायक कुसल थलङ दाजुको सुमधुर आवाज, अनुज कुलुङको संगीत र साज सिँ दाजुको एरेन्जमा काठमाण्डौको संगम डिजिटल रेकर्डिङ स्टुडियोमा सफलतापुर्वक रेकर्डिङ सम्पन्न भयो ।

मेरो पहिलो गीत रेकर्डिङ भएको केही महिनापछि मेरो गाउँकै काका बुद्धिसागर खजुम र गायक समीर सिंगकले मेरो दोस्रो गीत रेकर्डिङ गरि दिने कुरा गर्नु भयो र केही समयपछि उहाँहरूकै सम्पुर्ण ब्यवस्थापनमा ‘जून टिप्न सक्दिनँ म दिउँला मनको तारा, माया मात्रै किन माग्छौ दिउँला जीवन सारा… ।’ भन्ने बोलको गीत रेकर्डिङ सम्पन्न भयो ।

उक्त गीत रेकर्डिङ भएको केही समयको अन्तरालपश्चात् गायिका हेमु स्मृति चोङ्बाङले पनि आफ्नो सुमधुर स्वरमा फिमेल भर्सनमा आफै रेकर्ड गर्नुभयो । त्यसपछी झन खुशी थपियो र गीत संगीतप्रति अझै मन हौसिएर आयो तर पनि खर्च गरेर गीत रेकर्डिङ गर्न सक्ने मेरो औकात भने थिएन ।

मनमा गीत संगीतप्रति केही गर्छु भन्ने मोह र चाह भए पनि आफुले खर्च गर्न नसक्ने अवस्था भएपछि रहर र सपनाहरू मन भित्रभित्रै साँचेर बसेको थिएँ । एकदिन अचानक काठमाण्डौबाट बुद्धिसागर काकाले फोन गर्नुभयो र अब गीति एल्बम नै बनाऔँ त्यसको निम्ति गायक नवीन राई दाजुसहित वरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राईसँग उहाँहरूको सर सल्ल्लाह भइरहेको अत्यन्तै खुशीको कुरा सुनाउनु भो ।

त्यसको केही दिनपछि नवीन राई दाजुले पनि फोन गर्नुभयो र मलाई गीत एल्बमको निम्ति आफ्नोतर्फबाट भरपुर सहयोग गर्ने वचन दिनुभयो । बुद्धिसागर काका र नवीन दाजुको आग्रहबमोजिम मैले गीतहरू पठाई दिएँ र उहाँहरू रेकर्डिङ र ब्यवस्थापनमा लाग्ने खर्चको जोहमा जुट्न थाल्नुभो ।

यसरी एल्बम निर्माणको निम्ति अत्यन्तै सहयोगी भावना र विशाल हृदयले भरिपुर्ण व्यक्तित्वहरूको हामीलाई साथ मिल्यो । उहाँहरू सरिता चाम्लिङ (हङ्कङ), काजिमान कुरुम्भङ खजुम (युके), निलु पन्धाक (हङ्कङ), लीला खजुम (इटहरी), जुरेन्द्र खजुम (युके), जिबि खजुम (मोरङ), रोशन याक्थुङ्बा (मलेसिया), औसन खजुम (मलेसिया), बिनिता लिम्बू (मलेसिया), राज खजुम (दमक), एकेन्द्र उदास (कुवेत), भिमसागर खजुम (कतार), मणिराज खजुम (कतार), फिपराज खजुम (साउदी), मौसमी नेम्बाङ (लण्डन), स्मृती राई (इजरायल), भक्त खजुम (कुवेत), चन्द्रफेदाप लिम्बू (मलेसिया), रन्जित राई (साउदी), राजेन्द्र लिम्बू (दुबई), अशोक पाहिम (युके), हेमन्त आङ्ला (धनकुटा), देवकला राई (धरान) र केशर माङ्युङ (पाँचथर) हुनु हुन्छ ।

यसरी सहयोगी व्यक्तित्वहरूको अमुल्य साथ सहयोग बुद्धिसागर काकाको ब्यवस्थापकीय जिम्मेवारीसँगै साथी भाइहरूको हौसला अनि उत्साहले एल्बम निर्माण सम्पन्न गरियो र काठमाण्डौ साधना कला केन्द्रको हलमा २०७४ साल श्रावण १० गते गीत संगीत र साहित्यमा लागिपरेका केही अग्रज तथा समकालीन मित्रहरूको जमघटमा बिमोचन कार्यक्रम सम्पन्न भयो ।

मेरो गीति एल्बम बिमोचन भएको केही दिनपछि कृष्णभक्त राई दाजु र म गीति एल्बम प्रमोट गर्नको निम्ति काठमाण्डौँभित्र रहेका रेडियो नेपालदेखि लिएर प्रायः नाम चलेका एफएम रेडियो स्टेशनहरूतिर दौडधुप गर्न लाग्यौँ । यसै क्रममा हामी एउटा नामी एफएममा पुग्यौँ र हामीले हाम्रो गीति एल्बम दर्ता गर्यौँ ।

कुराकानीकै क्रममा हामीसँग कुरा गर्ने एफ एमको कर्मचारीले १०,००० (अक्षरेपी दस हजार) रूपैँया दिएमा एल्बममा भएको कुनै एउटा गीत दिनको २ देखि ३ पटक महिनाभरी बजाइदिएर गीत हिट बनाइदिने प्रलोभन देखाउनु भयो । कृष्ण दाइ र म एकछिन हेराहेर गर्यौँ । हुन त कृष्ण दाइले यस्तो प्रवृति धेरै झेलिसक्नु भएको थ्यो क्यारे ! तर मेरो निम्ति भने पहिलो अनुभव थियो ।

म एकछिन सोचमग्न भएँ तर अन्ततः मैले त्यसरी सस्तो लोकप्रीयताको निम्ति पैसा खर्च नगर्नेँ भनेर उक्त प्रस्ताव स्विकार गरिनँ । हुन त म सँग त्यसरी खर्च गर्ने पैसा पनि कहाँ थ्यो र !

यसरी विभिन्न रेडियो एफएमहरू घुम्दै हिड्ने क्रममा कृष्ण दाई र म एकदिन अर्को एउटा एफएम रेडियो स्टेशनमा पुग्यौँ । स्टेसन मेनेजर भनेर उहाँले आफ्नो परिचय दिनुभयो हामीले उहाँको अगाडि टेबलमा गीति एल्बम राख्यौँ र रेडियोमा दर्ताको निम्ति आएको जानकारी गर्यौँ । उहाँले हाम्रो गीतिएल्बम ओल्टाई पल्टाई सरर हेर्नू भयो र सोध्नु थाल्नुभयो – तपाइहरूको नाम के के हो ? को गीतकार हो ? को संगीतकार हो ? यस्तै हामीसँग सम्बन्धित केही प्रश्नहरू सोध्नु भो हामीले पनि झर्को नमानी उत्तर दियौँ ।

जब हामी त्यो एफएम परिसरबाट बाहिर आएपछि कृष्ण दाइलाई सोधेँ, होइन कृष्ण दाइ त्यो मान्छेले हाम्रो गीति एल्बम नि हेर्यो एल्बम हेरिसके पछि त उस्ले हामीलाई सोधेको प्रश्नहरूको उत्तर त त्यहाँ छर्लङ्गै जो कसैले बुझ्ने गरि लेखिएको छ, कस्तो खालको रेडियोकर्मी मान्छे हो ? कृष्ण दाइले भन्नुभयो कि तेस्तो मान्छेहरू प्रायः धेरै रेडियोमा भेटिने गरेको जानकारी गर्नुभयो । कारण आफन्त नातेदारमार्फत केही अनुभव र दक्षताबिना त्यस्ता मान्छेहरू नियुक्ती गरिएको हुँदो रहेछ ।

यस्तै विभिन्न रेडियो एफएमहरू डुल्दै हामी बिएफबियस (BSBF) गोर्खा रेडियो स्टेसन पुग्यौँ । आहा ! त्यहाँ पुग्दा यस्तो सत्कार पायौँ कि जुन कुराको वर्णन गरि साध्य नै छैन । पुग्ने बित्तिकै स्टाफ प्रीति राई बहिनी र आदरणिय चर्चित गीतकार एवम आरजे तुलसी बस्नेत दाजुसँगै बसेर एकछिन मीठो कफी संवाद गर्यौँ । कफी संवादपछि तुलसी बस्नेत दाजुले हामीलाई एउटा १५ मिनेटको लाइभ कार्यक्रममा प्रतछ्य जोडेर कृष्ण दाइ बुद्धिसागर काका र मलाई आफ्नो र गीति एल्बमको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो साथै एल्बमका गीतहरू नि बजाएर श्रोताहरूलाई नयाँ गीत सुनाउने मौका प्रदान गर्नुभयो ।

कार्यक्रम सकिएपछि स्टेसन मेनेजर बिनोदध्वज खड्का दाजुसँग नि संवाद गर्न पाइयो । बिनोद दाजुले नयाँ पुस्ता देखि अग्रज सबै श्रस्टाहरूलाई उहाँहरूको तर्फबाट हुनसक्ने सहयोग सबैलाई बराबर हुने कुरा भन्नुभो र फेरि पनि सिर्जनाहरू लिएर आउनु सिर्जना यात्रामा सँधै अगाडि बढिरहनु भनेर शुभकामना दिनुभो । अन्तमा हामीले सम्झना स्वरूप तस्बिर कैद गरेर छुट्टियौँ ।

गीति एल्बम सार्वजनिक गरि सकेपछि तत्काल नियमित रूपमा गीतहरू रेकर्डिङ गर्न नसके पनि गायक गायिका सँगै केही साथिहरूले छिटफुट मेरा गीतहरू रेकर्डिङ गरिदिनु भएर मलाई सहयोग गर्दै नजानिदो पाराले गीत संगीतको यात्रामा मलाई दौडाई रहनुभएको छ । गीति एल्बमबाहेक अहिलेसम्म जम्मा मेरा ८ वटा गीतहरू रेकर्डिङ भइसकेका छन् । यी गीतहरूसँग जोडिएर सहयोग गर्नु हुने गायक गायिका लगायत सबै साथीहरू प्रति एकमुष्ट धन्यवाद दिन चाहान्छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...