‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का - Naya Online

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका खड्काको कविता र नाटकमा छुट्टै प्रभाव छ । गीत संगीततिर नि उत्तिकै दख्खल राख्छन् । ‘थिएटर र आँखाहरू’ नाटक संग्रह (२०७०), ‘हिउँले आगो पगालेर’ कविता सङ्ग्रह (२०७१) र अन्य पत्रपत्रिकाहरूमा नि प्रशस्तै रचनाहरू प्रकाशित भएका छन् । उनी वैदेशिक रोजागरीको सिलसिलामा पछिल्लो समय सन् २००८ देखि सेसेल्समा रहदै आएका छन् । सेसेल्समा रहँदै गर्दा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेश च्याप्टरको स्थापना गरेर परदेशमा रहे पनि नेपाली भाषा र साहित्यको सेवामा निरन्तर समर्पित छन् । जसको नेतृत्व उनैले गरिरहेका छन् । यस अघि मलेसियामा रहँदा पनि उनले नेपाली भाषा र साहित्यको निम्ति उत्तिकै योगदान दिएका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज मलेसिया च्याप्टरको स्थापना गर्न पनि उनी लगायत उनको टिमको महत्वपूर्ण भूमिका रहेको थियो । आजको मलेसियामा सिर्जनशील गतिविधिले उचाई लिँदै गर्दा उनै खड्काहरूले लागाइराखेको मलजल हो भन्न सकिन्छ । परदेशमा रहेर सिर्जनशील गतिविध गर्नको कठिनाईहरू के–कस्तो छ ? अन्तराष्ट्रिय नेपाली साहित्य समाज, अफ्रिका च्याप्टर के गर्दैछ ? लगायतका विषयमा साहित्यकार एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाज, अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्कासँगको बेलीबिस्तार आजको नयाँअनलाईनको साप्ताहिक परिशिष्टाङ्क ‘नयाँसाहित्य’मा ।

परदेशी जीवनको हालसालको दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
परदेशिनुको मुख्य कारण नै आभाव, आवश्यकता र बाध्यता भएकोले सँगै जोडिएर आएको परदेशी जागिर नै गरेर अधिकांश दिनचर्या बित्छन् । यसका अलावा अध्ययन, अनुसन्धान र साधना पनि निरन्तर चलिरहेका छन् ।

तपाईंहरू जस्ता संस्थागत रूपमा साहित्य र सिर्जनालाई फुलाउने र फलाउने अगुवाहरूलाई यो महामारीले के कस्तो असर पुर्याएको छ ?
खासै भन्नुपर्दा त्यत्ति ठुलो तात्विक भिन्नता र असर छैन । जमाना डिजिटल भइसक्यो । हिजो परदेशीले लेखेको पत्र घरदेशीले पाउन ६ महिना वर्षदिन लाग्थ्यो । आज स्पर्शबाहेक सबै कुराहरू प्रत्यक्ष हुन्छन् । लेखाइ, बोलाइ र हेराई तत्काल हुन्छन् अनि विषय, विचार तथा भावहरू स्पष्ट हुन्छन् । त्यसै पनि परदेशमा रहेर संस्थागत काम गर्दा भौतिकभन्दा डिजिटल सहभागिता नै प्रभावकारी हुनेगर्छ । भर्च्युअल माध्यमबाट सबै कुरा सम्पादन गर्न सकिने भएकोले यो कोभिडको माहामारीमा पनि संस्थाहरू भर्च्युअल नै चलिरहेका छन् ।

परदेशमा भएर नि सिर्जना कर्म गतिविधिमा उत्तिकै सकृय हुनुहुन्छ, समयको चाँजोपाँजो कसरी मिलाउनुहुन्छ ?
जहाँ इच्छा त्यहाँ उपाय । मन भए यो संसारमा कुनै कुरा असम्भव छैनन् । प्रत्येक दिन समयको ठुलो हिस्सा काम गरेर बिताउनुपर्ने भएकोले पूर्णकालीन सिर्जना भने गर्न पाइएको छैन । बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जना कर्ममा लगाउनुपर्ने बाध्यता छ । यद्यपी, मनले चाहेको कर्म गर्न मन नै लालायित भएपछी समयको साँघुरो किल्लाभित्र पनि सम्भावनाको फूल फुल्दोरहेछ । रोजगारीको निर्धारित दैनिक समयबाट बचेको समय फजुल खेर जानै दिन्न म । सकेसम्म अध्ययन, अनुसन्धान, साधना र सिर्जनामा लगाईहाल्छु । तसर्थ यी सब सम्भव भईरहेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरको अध्यक्ष हुँदै गर्दा के कस्ता चुनौतीहरू छन् ?
चुनौतीहरू प्रसस्तै छन् । ठुलो चुनौती त श्रष्टा अभाव नै हो । म कार्यरत मुलुक ‘सेसेल्स’ पूर्वी अफ्रिकामा पर्दछ । नेपालीको जनसंख्या अत्यन्तै न्यून भएकोले सर्जकहरूको उपस्थिति झन् नगन्य हुने नै भयो । तसर्थ अनेसासको सेसेल्स च्याप्टर गठन गर्न सक्ने सम्भव नै थिएन । न त अफ्रिका महादेशका अन्य कुनै देशमा यो सम्भावना थियो । अनेसास स्थापनाको तीसौं वर्ष लामो गौरवमय इतिहास छ । यो बिचमा थुप्रै देश तथा प्रदेश च्याप्टर गठन भए । तर अफ्रिका महादेश च्याप्टर शून्य थियो । मुख्य कारण यो महादेशमा नेपाली जनसंख्या न्यून हुनु नै हो । छलफल, प्रयास र कसरत पहिला पनि भएका हुन् ।

अमेरिकाबाट पदम विश्वकर्मा र गोबर्द्धन पूजाहरू मलाई झकझकाई रहनुहुन्थ्यो । एता नाइजेरियाबाट हिक्मत थापाको ताकेता निरन्तर थियो । केन्द्रमा प्रकाश पौडेल माइला नेतृत्वको कार्यसमिति आएपश्चात् हाम्रो प्रयासले झन् तिब्रता पायो । अनेसासको बिउ अफ्रिकामा रोप्ने सपनाले सकार रूप लियो । शुरुमा सेसेल्स च्याप्टर गठन गर्ने कुरा थियो ।

तर सेसेल्स मात्र होइन पुरै अफ्रिका महादेशका कुनै पनि देशमा यो सम्भव नदेखिएपछि देश होइन महादेश च्याप्टर गठन गर्न पुगियो जो अनेसासको इतिहासमा महादेश च्याप्टर यो नै पहिलो र सायद अन्तिम पनि हो । अब च्याप्टर त ठुलो भयो तर सर्जक कम भएकोले सोचेजस्तो साहित्यिक गतिविधिलाई घनिभूत पार्न सकिएको छैन । अधिकांश ठाउँमा आफैं पुग्नुपर्ने र प्रायः काम पनि आफैं गर्नुपर्ने अभावग्रस्त बाध्यता छ यद्यपि, कार्यसमितिमा रहेका साथीहरू सक्रिय र उत्साही भएकोले चुनौतीका बाबजुद पनि ठोस काम गर्न सकिएको छ भनौ ।

सो समाजले हाल सम्म नेपाली भाषा र साहित्यको निम्ति के कस्ता कामहरू सम्पन्न गर्यो ? र अरु के के गर्ने योजना छ ?
अनेसास अफ्रिका च्याप्टरको स्थापना २०२० सेप्टेम्बरको दोश्रो सातामा भएदेखि हामीले पहिलो काम नै अफ्रिकामा नेपाली साहित्य र श्रष्टाको खोज, पहिचान र उजागर गर्ने प्रयत्न गर्यौं । फलस्वरूप अफ्रिका महादेशका बिभिन्न मुलुक भ्रमण गरेर नेपालीमा कृति लेखिसकेका श्रष्टाहरू महेशविक्रम शाह, जिवा लामिछाने र रश्मिशेखर सुबेदीलाई बोलाएर भर्च्युअल्ली अन्तरक्रिया गर्यौं । जुन कार्यक्रममा नेपाली साहित्यका अन्य विशिष्ट श्रष्टाहरूको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रम हामीले च्याप्टर स्थापनाको दोश्रो हप्तामै सम्भव बनायौं । अर्को कामः २०२१ को अप्रिलमा गर्यौँ । कङ्गो र इथियोपियाको सेरोफेरोका श्रष्टा जो अहिले अमेरिकामा बसोबास गर्नुहुन्छ उहाँलाई खोजेर अर्को अन्तरक्रिया गरियो । बाँकी योजनाहरू धेरै छन् । निकटतम योजना चाहिं च्याप्टरको तर्फबाट एउटा साहित्यिक पत्रिका प्रकाशन गर्ने रहेको छ । यसको रचना सङ्कल हुने क्रम जारी छ । छिट्टै हाम्रो प्रकाशन बजारमा आउँनेछ ।

अन्य देशको तुलनामा गणीतिय हिसाबले त्यहाँ नेपाली र नेपालीभाषीहरू कम होला । त्यस्तोमा आफुले चाहे जति काम गर्न अलि सहज नहोला हगि ?
मैले माथि पनि धरै कुरा मेन्सन गरिसकें नि ! सायद यो प्रश्नको धेरै जवाफ पूर्वोत्तरबाट पाउनु नै भयो होला । थोरै नेपाली भाषी भएको देशमा पर्दछ सेसेल्स । झन् भाषा, साहित्यको सन्दर्भमा चासो राख्ने त एउटा हातको औंलामा पनि पुग्दैनन् । त्यहि भएर त हामीले देश होइन, महादेश च्याप्टर गठन गर्नुपरेको !

प्रसङ्ग बदलौ, अहिले मौका मिल्दा कुन किताब पढ्दै हुनुहुन्छ ?
नेपालबाट ल्याएका तीन दर्जन किताबहरू पढ्न बाँकी छन् । समयाभावले पढ्न भ्याएको छैन । यतिबेला चाहिं डा. प्रतिभा रायको द्रौपदी पढ्दैछु । नयाँ किताब पढ्नुभन्दा पनि मलाई असाध्यै मन परेका केहि पुराना किताब दोहोर्याउँदैछुः वीपीको सुम्निमा, नेल्सन मण्डेलाको Long Walk to Freedom, अर्नेस्ट हेमिङ्वेको The Old Man and The Sea.

के लेखन लेख्दै हुनुहुन्छ ?
कविता, गीत, गजल, नियात्रा । एउटा नाटकको प्लटिङ् पनि ।

अब यहाँको नयाँ कृति कहिले र कुन पढ्न पाइएला ?
अहिल्यै भन्न सक्दिन । तर, अबको प्रकाशन सायद नियात्रा होला ।

तपाईंको आफ्नो भावी योजनाहरू चै के छ ?
म योजना बनाएर कुनै काम गर्दिन । रुटिनमा होमवर्कहरू धेरै छन् । क्रमशः तिनीहरूलाई सम्पादन गर्दै जानुछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...