कथा: अकम्पित अनुहार - Naya Online

कथा: अकम्पित अनुहार

बादलदेवी चाम्लिङ

“मोर्नु नसकेको ओगोति !”

“के भो दिदी ?” म सोध्छु ।

हामी दुबै खेतमा बेथुको साग टिप्दैछौँ ।
“अस्ति सुँगुर बेचेको पैसा राखेको थेँ, कतिखेर झिकेछ । थाहै पाइनँ । बजारभोरिको दोकानमा रक्सी खा’को पैसा तिरेछ । हिजो बेल्का पो थाहा पाएँ । सोधेको, बोल्दैन । उसको गाजीमा हेरेको त दुई सय चालिस रूप्याँ मातै पो र’छ । अरू सप्पै सकेछ । म त काँ जाउँ काँ जाउँ बनाउँछ यसले ।”

पुलुक्क हेरेँ । आँखाभरि रसाएका आँसुलाई आँखाभित्रै लुकाइन् । घुँक घुँक हिक्का उठेर घाँटी सम्म आएको थियो । हिक्कालाई बाहिर आउन नदिइकन नै घुटुक्क निलिदिइन् ।

उनको अनुहारमा नहेरेजस्तो गरि म उता फर्किएँ ।

“सात हजार असीमा बेचेको । चारो राम्रो नखाने, बढेन । अनि बेचिदेको । अव एउटा छ खोरमा । त्यो भन्दा पछि ल्याको, सानै छ ।” मनको कुरा कसलाई सुनाउनु भ’को छ सायद । फेरि आफै बोलिन् ।

वल्लोघर पल्लोघरको भान्साबाट निस्किएको जुठो कुरो भेला गर्दै खुवाएर आठ÷नौ महिना पालेपछि बेचेको सुँगुरको पैसा श्रीमान्ले सकेकोमा यिनको मन अमिलो भएको छ ।

उनलाई हेर्दा लाग्छ, रातमा आउने अध्याँरो दिनमा नै आएर उनको आँखा भरि बसेको छ । दुई आँखा अँध्यारो बोकेर बेथुको साग पुरूक्क उखेल्दै, चिमोटेर जरा फाल्दै गर्दैछिन् ।

म पनि उनको छेउमा उनी जसरी नै छु । बेथुको साग टिप्दै गरेको यो खेत छिमेकको हो । खेतमा मकै एकोहोरो उप्केरा लगाउने बेला हुन लागेको छ । मकै गोड्दा यी सागहरू पुरिन्छन् । खेतको धनीले मन पर्नेले साग आफै टिप्दै लगेर खानु भनेकाले वरिपरिका हामी यहाँ आएर आफै बेथुको साग टिप्दै लग्दैछौँ । वस्तुको मल पाएको बेथुको साग खानलाई मिठो छ ।

“ई बैनी । मलाई त पुग्यो ।” आफुलाई टिपेको साग देब्रे हातमा राख्दै दाहिने हातभरिको साग मलाई दिदैछिन् । उनलाई छाक पुगिसकेछ । उनको मुठीको साग थपक्कै लिएँ । उनको हत्केलाको न्यानो सागमा सरेछ । जरा छिनालेको साग न्यानै छ ।

“मलाई पनि पुग्यो अब । जाउँ दिदी ।”

हामी खेतबाट निस्कियौँ । उनको घर नजिकै छ । उनी घरतिर लागिन् । म केहि वर आउनु पर्छ । यो ठाउँमा आएको दस/बाह्र वर्ष भो । कुन्नि किन हो, पहिल्यैबाट म उनलाई नियाल्दो रहेछु । चासो दिएर त खोजेकी हैन, तर उनी आफै मेरो आँखामा परेकी हुन् ।

वरपर कसैको घरमा सुत्केरी छन् भने सुत्केरी स्याहार्छिन् । होटलमा भाँडा माझ्न, झाडु लगाउन पनि पुग्छिन् । यी कुनै काम हातमा नहुँदा बाटो छेउमा दाउराको चुल्हो बाल्छिन् र प्याजी, आलु–चप पकाउँदै बेच्न बस्छिन् ।

म यहाँ नजिकैको विद्यालयमा पढाउने काम गर्छु । अहिले बर्ष दिन जति भो, यिनी पनि उहि विद्यालयको क्यान्टिनमा भाँडा माझ्ने काम गर्दै आएकी छिन् ।

बिहानको कक्षा लिन सखारै छ वजे विद्यालय पुग्नु पर्छ । तीन तलामाथिबाट तल ग्राउण्डमा हेर्दा उनी कमिलाझैँ ओहोरदोहोर गरिरहेकी हुन्छिन् । उनको मिहिनेत पनि कमिलाको जस्तै छ । हेर्छु, न धेरै हतारोमा हुन्छिन्, न निरास अनुहारमा हुन्छिन् । सदैव सदावहार चाल छ ।

म कक्षातिर भुलिन्छु । कक्षा पिच्छे फरक फरक शब्दहरूलाई फरक फरक शैलीमा नचाउँदै हिँड्छु । ती शब्दहरूसँग विद्यार्थीहरू उसरी नै झुमिन्छन् । टिङटिङ घण्टी लाग्छ । घण्टीले जता जा भन्छ, म उतै लम्किन्छु । बिहानको मेरो कक्षा सकिन्छ । घरतिर लाग्छु । केहिछिन पैदल हिँडेपछि घर आइपुग्छु । किचनमा केहि काम बाँकी नै हुन्छ । खाना चाहिँ बिहानै राइस कुकुरमा बसालेर हिँडेकी हुन्छु । पाकेपछि आफै बिजुली अटोकट हुन्छ । हतार गर्दै दाल झानेर तर्कारी पकाउन लाग्छु । तर्कारी एकैछिनमा पाक्छ । त्यसपछि उहाँको लागि खाना हटकेसमा राखिदिएर हामी आमा, छोरी र बाबु खाना खान्छौँ । छोरी कलेज हिँडिछन् । म बाबुलाई लिएर विद्यालयतिर लाग्छु ।

दिनको कक्षा सुरू हुन्छ ।

न ज्यादा गर्मी, न ज्यादा जाडो छ । मौसमले कक्षा लिन बडो मज्जाले साथ दिइरहेको छ । घण्टीपिच्छे कक्षा फेरिन्छ । समय बितेको थाहा नै हुन्न ।

टिङ् टिङ् टिङ् टिङ् टिङ्… टिफिन समय भयो । कक्षाबाट निस्किएँ ।

प्यासेजभरि अटिनअटिकन भएर विद्यार्थीहरू ग्राउण्डतिर दगुर्दैछन् । म पनि बाबुलाई खाजा सम्झदै ब्यागबाट थर्मस झिकेर क्यान्टिनतिर लम्किएँ । क्यान्टिनमा भिड रहेछ । एकछिन बाहिरै रोकिएँ । केटाकेटीहरू खाजा खाँदैछन् । खाइसक्नेले जुठो प्लेट, बटुकाहरू कलनेर थुपार्दै छन् । भित्र काम गर्दै गरेकी दिदी बाहिर निस्किन् र धन्दा गर्नको लागि थपक्क कलछेउमा बसिन् । मस्कौटा साबुनमा चोब्दै ती जुठा थालबटुकाहरू मस्काउँदै पखाल्न थालिन् । बजारमा पाईने मरमसला प्रयोग गरेर बनाइएको खानेकुराहरू जस्तो चाउमिन, मोमो, थुम्पाहरूमा भएको चिप्लो पिरो टाँस्सिएर रातै, पँहेलै पोतिएका थाल, प्लेटहरू पानीको थोपा नै अड्न नसक्ने गरि सफा गरिन् । अरू बेला पनि देखिन्छ । डढेको भाँडा, चिया पकाउने कित्ली टलक्कै टल्काउँछिन् । यिनी विद्यालय–क्यान्टिनको सरसफाईको पर्याय हुन्, मनमनै सोचेँ ।

बाबु आइपुग्यो । उसलाई डोर्याउँदैक्यान्टिनभित्र पसेँ ।

“के खान्छ बाबुले ?” सफा गरेको थाल, बटुका हातभरि बोकेर दिदी छेउमा आइन् र सोधिन् । अरू बेला पनि म क्यान्टिनमा गएँ भने मेरो छेउ आउँछिन् ।

“चिकेन मःम ।”

मैले बोलिनसक्दै बिल काउण्टरहुँदै भित्र पसिन् र एक प्लेट मःम ल्याएर बाबुको अघि राखिदिइन् थर्मसको मनतातो पानी थर्मसकै बिर्कोमा सारेर बाबु छेउमा राखिदिएँ । बाबु कपाकप मःम खान थाल्यो । उसलाई मन पर्ने खाजा मःम नै हो । अन्य दिनमा टिफिन खाजा घरबाट नै बनाएर ल्याइदिन्छु । हप्ताको दुइपटक बाबुले क्यान्टिनको मःम खानु, यो तालिकामा नै पर्दछ ।

दिदी टेबलभरि छरिएका जुठो थालबटुकाहरू टिप्दै बाटामा भेला गर्न थालिन् । विद्यार्थीको भिड पातलिदै गयो । सिक्सिकाउदो टेबलहरू कपडाले पुछेर ओभानो बनाइन् । पौरखी मान्छेको पौरख नै शरीरको लागि पोषण हुन्छ कि क्याहो कुन्नि । साठी वर्ष वरिपरिको यो उमेरमा जता गयो उतै उर्जाको किरण छर्दै हिँड्छिन् ।

टिङ टिङ टिङ टिङ…….. घण्टी लाग्यो । टिफिन समय सकियो ।

बाबुलाई कक्षामा पु¥याएर म पनि आफ्नो कक्षातिर लागेँ । समय सरररर हिँडिरहन्छ । घण्टीले भन्यो, विद्यालय छुट्ने समय आइपुग्यो । विद्यार्थीहरू कक्षाकोठाबाट निस्किएर आ–आफ्नो घर पायकको रूटतिर जाने विद्यालयको बसतिर लम्कँदै छन् । बस चालकहरूले बाहिरबाट हर्न बजाइरहेका छन् ।

टिफिनमा बाबुले खाजा खाएको पैसा तिर्न बाँकी छ । त्यसैले म क्यान्टिनतिर लम्कँदैछु । दिदी ढोकाबाट भित्र चिहाउदै भन्दैछिन्, “चारो लान्छु है बैनी ?”

“हँ ?” भित्रबाट अलि झर्कँदो आवाज आयो ।

“चारो लान्छु (एकछिन रोकिएर)………थोरै ।” जवाफ दिइन् ।

“तिमीलाई चारो पनि सधैँ लानु पर्छ । आधा बाल्टी मात्र लानु ।”

“हुन्छ ।” छोटो उत्तर दिदै पछाडि फर्किन् र बाहिर कलनेर पुगेर ड्रमबाट बटुकाले जुठो कुरो उघाउँदै आफ्नो बाल्टीमा लगाइन् । बाल्टी उठाउँदै, “आज पनि बेथु साग टिप्नु आउनुहुन्छ बैनी ?” मतिर हेर्दै सोध्छिन् ।

“आउँछु ।”

“म पनि आउँछु ।” यति भन्दै हिडिन् ।

खाजाको पैसा तिरेर म पनि फर्किएँ ।

क्यान्टिनमा चारो प्रशस्तै हुन्छ । तर उनले धेरै पाउँदिनन् । किनभने क्यान्टिनमा जम्मा भएको जुठो कुरो पनि बिव्रmी हुन्छ । उनले भने सित्तैमा माग्ने हो । यो विद्यालयमा दिनभर रहने शिक्षक शिक्षिकाहरू धेरै छन् । प्रत्येक दिन क्यान्टिनमा अभिभावकहरू पनि उत्तिनै आउँछन् । उनीहरू कसैलाई पनि यो जुठो कुरोको केहि मतलब हुन्न । तर यिनको लागि आधा बाल्टी जुठो कुरो धेरै हो । पकाएको माने झारसँग मिसाएपछि घरको सुँगुरको बेलुकीको छाक टर्छ ।

यिनकै झझल्कोमा हराउँदै घर आइपुगेको थाहै पाइनँ । कपडा फेरेँ । त्यसपछि नानीहरूलाई खाजा बनाइदिएर उहि बारीमा बेथु साग टिप्न भनेर हिडेँ । ढिला भए फेरि साँझ परिहाल्छ ।
बारी पसेँ । उनी पनि आईपुगिन् । मकैका बिरूवा जोगाउँदै साग टिप्न थाल्यौँ ।

“दाजु के गर्दैछन् दिदी ?”

“के गर्छ र । खायो, बस्यो, डुल्यो । दिनै रक्सी नखाइकन हुँदैन । बिहानदेखि गल्लीमा डुल्छ । भोक लागेपछि घर आउँछ । भात पकाएर राखिदिनु पर्छ ।”

मलाई भेटेपछि मनको कुरा फरररर फुकाउँछिन् । मसँग अलि सहज ठान्छिन् ।

“रक्सी धेरै खाने मान्छेले त भातको त्यति वास्ता गर्दैनन् अरे भनेको सुनेकी थिएँ, दाजुलाई भात नै चाहिँदो र’छ ?” जिज्ञासा राखे जस्तो गर्छु ।

“अँ, भात त कति धेरै चाहिन्छ उसलाई । बिहान खान्छ । त्यसपछि डुल्न निस्कन्छ । भोक लागेपछि आउँछ । दिनमा पनि भात चाहिन्छ । राती खाएर सुत्छ । कहिलेकाहिँ त आधा रातमा उठेर भाँडा खुर्कन थाल्छ । रहलपहल भात बटुलेर अचारसँग खान थाल्छ । अचार छैन भने नुन खोर्सानी भएपनि हुन्छ । चामल त कति छिटो सक्छ सक्छ ।”

“ए । खाना रूचेर पो होला, दह्रो देखिन्छन् दाजु ।” दिदीको कुरामा कुरा थपेझैँ गर्छु । हुन पनि सत्य हो । तिनको ज्यान मोटो घाटो नै छ । यिनीसँग यति धेरै गफ भइसक्यो । तर यिनको श्रीमान्सँग एकै पटक पनि बोलेकी छैन म । भनौँ, आजसम्म बोल्ने काम नै परेको छैन । तिनी बाटोमा टोलाउँदै हिँडेको धेरै पटक देखेकी छु । बाटोको छेउ लागेर बाटोमा हिँड्ने मान्छे, साईकल, बाईक, चार पाङ्ग्रे गाडीहरूलाई एकोहोरो हेरिरहेका हन्छन् । अचम्म चाहिँ न कसैले उनलाई बोलाउँछ । न तिनले कसैलाई बोलाउँछन् । शून्य दिमागमा भएझैँ, एक्लै टोलाउँदै हिँडिरहेका हुन्छन् । दिदीको कुराले अनुमान लगाउँदै छु कि उनको यो हबिगत कसरी भयो ।

“दिनै पन्ध्र रूप्याँ दिनुपर्छ ।” केहिछिन रोकिएर दिदी दिक्क लागेको भावमा बोलिन् ।

“पन्ध्र रूप्याँ किन ?” फेरि सोध्छु ।

“रक्सी खान ।”

“नदिँदा हुन्न ?”

“दिएन भने त ढुङ्गामुढा गर्न थाल्छ । त्यसबेला बहुलाउँछ पो त । राक्षस ! मलाई त धुरूक्कै रूवाएको छ नि ।”

“हँ !” म झस्कन्छु ।

“पहिला त रम, बियर खान्थ्यो । रम, बियरसँग मासु चाहिन्थ्यो । अहिले त काँ पाउँछ त्यल्ले रम, बियर । लोकल रक्सी खान्छ पन्ध्र रूप्याँको । एक ट्वाक ।”

“रक्सी छाड्न सकेनन् है दाजुले ?”

“काँ छाड्छ । पाए त बिहान, दिउँसो, बेलुकी नै खान खोज्छ नि । मैले कसरी पु¥याउनु । दिनमा एकचोटी खावोस् भनेर भइनभइकन पन्ध्र रूप्याँ चाइ दिन्छु ।”

“कहिलेकाहीँ त नदिनु ?” फेरि पनि रक्सी खाने पैसा दिन कम गर्नु नि भन्न खोज्छु ।

“आमोई, दिएन भने त मर्न खोज्छ । आज पनि बिहानै रक्सी खाने पैसा दे’को । अघि म घर पुग्दा फेरि माग्दै थियो । नसुनेको जस्तो गरेर हिडेँ । जतिखेर नि भन्नु बित्तिकै मैले काँबाट पैसा ल्याएर दिनु त्यल्लाई । कति दुख दिनु सकेको, राक्षस !”

साग टिप्दैछौँ । साग टिप्नु त देख्नुमा मात्र हो । त्यो भन्दा बढि दुखम्सुखम् गफमा छौँ ।

“यो लाईन उ माथि रोडबाट तलसम्मको सबै खेतहरू पहिले हाम्रो थ्यो नि । त्यो स्कुल भ’को जग्गा पनि हाम्रै बुरो (बुढो, अगाडिको दाँतले भर दिदैन, त्यसैले कुनै शब्द स्पष्ट उच्चारण गर्न सक्दिनन्) को थियो । हामी बसेको घरको सिधै उँधो तलैसम्म हाम्रै थियो । अहिले त आफ्नो जग्गा पनि क–कस्को भयो । म त मान्छेहरू नै चिन्दिनँ ।”

“हँ !” मेरा कानमा बज्र परेझैँ भो ।

दिदीे यत्तिकैमा रोकिइन् । म पनि आफैँ बोल्नै सकिनँ । नातागत जस्तै भएँ ।

“हैन, किन म यति कमजोर भएँ ?” सेन्स नर्भले दिमागमा गएर सोध्यो । उत्तर आयो, “दिदीको कुराले ।” जोे अहिले एक छाक तर्कारी भनेर टिप्दै गरेको बेथुको साग उम्रिएको खेतका गह्राहरू पनि पहिले उनकै थियो ।

“आज छक्क पार्नु भो दिदी !”

“अहिले बसेको जग्गा त जेठाजुले देको । दस धुर छ । यसले त सबै सकेको हो ।” फेरि बोलिन् ।

मलाई पुग्यो । यो भन्दा अघि अरू यिनले केहि नबोल्नु नि जस्तो लाग्न थालिसक्यो ।

भयङ्कर फरक धरातलमा आइपुग्यौँ हामी । पहिले बिघौँ बिघा जमिन भएको जमिन्दारको अघिल्तिर उभिएकी छु म । मेरो अघि ओत लाग्नसम्म आफ्नै नामको जमिनको टुव्रmा नभएको एक सुकुम्बासी छन् । दिदीको घर यहिँ नजिकै बाटोको दक्षिणतिर पर्छ । ठुला ठुला आधुनिक पक्की भवनहरूको चेपबाट अँध्यारो छिँडी हुँदै करिब दुई मिनेट हिँडेपछि पुगिन्छ । म एक÷दुई पटक पुगेकी छु । बाँसको बेराले बनेको एककोठे घर, छानो खरले छाएको छ । भात, तिहुन पकाउन दाउराको चुल्हो छ । ढोकाको दलिनमा छ्याप्पै कालो ध्वाँसो बसेको छ ।

“समय चव्रmको खेल ।” मनसँग बोल्छु ।

“खप्परमा नभएपछि के गर्नु । असती बुरोले सबै सकेको हो ।” दिदीको मुखबाट फुत्त निस्कियो ।

“हैन, यति धेरै जग्गा कसरी सकियो ?” सोध्छु ।

“पहिला ऊ सुर्जे (सुर्य) पाटीको मान्छे हो । साथीभाइ धेरै थ्यो । पुरानो टोलको तीथ (तीर्थ) गुरूङ अहिले मन्त्री भ’को छ अरे नि, त्यो पैले बुरोको साथी हो । कमल राई, सूजे (सुर्जे) गुरूङ ती सबै सूर्जेको नेता हो । तिनेरूलाई होटलमा रक्सी, मासु त हाम्रो बुरोले कति ख्वायो कति ख्वायो । होटलमा तिर्नै पैसा धेरै भएपछि जग्गा मोल्दै होटल मालिकलाई बुझायो । कति त होटलमा नखाएको पैसा पनि खाएको भनेर तिरायो । अरू जग्गा सस्तोमा खै क–कल्लाई द्यो क–कल्लाई द्यो ।”

“अनि दिदीले नरोकेको दाजुलाई ?” सागको पत्तामा बसेको धुलो टक्टक्याउँदै सोध्छु ।

“ए, त्यसबेला बल बैँस थ्यो । भनेको टेर्दैनथ्यो । उल्टै मलाई कुट्थ्यो । छोराहरू सानो थ्यो । के गर्नु र । अहिले ठीक्क परेको छ यल्लाई ।”

मेरा हातहरू साग च्यापेर रोकिए । साग त कहाँ हुनु, बढि त झारहरू पो टिपेछु । दिदीको कुराले म बिचलित भइसकेकी छु । उनलाई हेरेँ । उनको हात मेरो जस्तो लुलिएको छैन । दह्रा देखिन्छन् । ठुलो चौडा निधारभरि झरेका केशलाई हातका औँलाहरूले सम्हाल्दै कानमा सिउरिदै साग टिपीरहेकी छिन् ।

“सबै सम्पत्ती सकेकोले होला, छोराहरूले अ‍ैले एक पैसा पनि दिदैन । सबै मैले हेर्नु पर्छ ।”

“दशैँमा ?”

“अहँ । ब्वारीहरूले पनि एक छाक भात नि दिदैन ।”

“हँ ?”

“मेरो बुरो नै उस्तो हो के बैनी । त्यत्रो जग्गा थ्यो, छोराहरूलाई एक धुर पनि राखिदेन यल्ले । पिसाद !”

“छोराहरू के गर्छन् ?”

“साहुको गाडी चलाउँछ । लु, मलाई त यति भए पुग्छ ।”

“हँ ?”

“साग भनेको । यो तपाईँ लानु ।” देब्रे हातले केहि आफ्नो काखतिर राख्दै दाहिने हातले दह्रो एक मुठ्ठी साग मलाई दिइन् ।

मैले त अघि नै साग टिप्न भुलेको हो । उनले टिपेर दिएको साग मिसाएँ । अहिले बेलुकी पकाउन पुग्ने भो ।

“लौ, जाउँ दिदी ।”

“हुन्छ ।”
जुरूक्क उठेर पेटानी टक्टक्याइन् ।

कहाली लाग्ने बिगत, बिगतले ध्वस्त बनाएको बर्तमान ओढेर ठमठम मेरो अघि लाग्यो एउटा अकम्पित अनुहार ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...