त्यो झरी र सहयोद्वाको रगत (पाँचथर मेहेलबोटे घटना) - Naya Online

त्यो झरी र सहयोद्वाको रगत (पाँचथर मेहेलबोटे घटना)

इक्साहाङ चेम्जोङ

२०६० भदौ ६ गते नेकपा (माओवादी) पाँचथर जिल्ला क्षेत्र नम्बर ५ को एरिया बैठक साविक नवमीडाँडा गाविस २ लाक्सिबुङको एउटा घरमा भयो । तत्कालीन एरिया इन्चार्ज कमरेड पर्वत हुनुहुन्थ्यो । म ACM साथै एरियाको जनमिलिसिया कमान्डर पनि भएकोले बैठकमा अनिवार्य उपस्थिति हुनुपथ्र्यो ।

त्यो बैठकमा, मुख्य विषय पार्टी केन्द्रबाट आएको निर्देशन “भदौ १०/११ गते आमहड्ताल सफल पार्ने” । त्यसको लागि भित्तामा नाराहरू लेख्ने र चोकबजारमा जानकारी गराउनुपर्ने भयो । इन्चार्जले काम बाँडफाँडसहित स्थान तोकिदिए । मैले मिलिसिया कमरेडहरूलाई खटाउनु पथ्र्यो ।

बैठक साँझको करिब ५ बजेतिर सकियो । त्यो रात त्यहीँ कतै बसेर भोलि आ–आफ्नो स्थानतिर काममा लाग्नुपर्ने भयो । मैले बेलुका मिलिसिया कमरेडहरूलाई व्रिफिङ दिएँ । साथमा नारा र रङ्ग किन्ने पैसासहित उहाँहरूलाई पनि स्थान तोकिदिएँ । मेरो स्थान चाहिँ आङ्सराङ र फाक्तेप पर्यो ।

बिहान सबै कमरेडहरूसँग विदाईको जोसिलो हात मिलाएर हामी आ–आफ्नो कार्यक्षेत्रतिर लाग्यौं । मेरो साथमा एक जना नयाँ कमरेड हुनुहुन्थ्यो ।

लाक्सिबुङ ओह्रालोमा भदौरे झरिले लत्रिएका खरहरूले शिर निहुराएर हाम्रो क्रान्तिकारी गोडाहरूलाई छोएर नमन गरिरहेको जस्तो हुन्थ्यो । पाखाभरी झुमिरहेका ती खर छिट्टै छिप्पिएर कुनै सर्वहाराको चुहिदै गरेको घरमाथी छानो भएर बस्न आतुर देखिन्थे । बिहानीको सिरसिरे हावाले सल्लाको बोटहरूले उराठलाग्दो बिरही सुस्केरा सुस्काईरहेका थिए ।

निबु खोला बैंसको उन्मादले मातेको जस्तो वरपरका झारजंगल सोहोरेर खुशीले छाँगा–छाँगामा उफ्रिदै थियो । कैंयो क्रान्तिका हुँकार छोडे झैं लाग्ने तै निबु खोलाको पानीले अनुहार पखालेर बाँसको कच्चा फड्के तरेर आङ्सराङ टेक्यौं । तत्कालको लागि त्यो अविरल बगिरहने निबु खोला जस्तै, मस्तिष्कमा अथकिय क्रान्तिकारी उर्जाहरू भरेर आङ्सराङको उकालोलाई शनैःशनैः नाप्न थाल्यौं ।

उकालो लाग्दै गर्दा युवायुवतीहरू पनि हतार घाँस काट्न निबु खोलाको जंघारलाई ताकेर झर्दै गरेको भेट्न थाल्यौं । उहाँहरूसँग छोटो कुराकानी गर्थे म । मतलब उहाँहरूको घरगाउँतिर दुष्मनको स्थिति कस्तो छ भनेर सोध्थे । त्यस्तो केही छनक नपाएको बताएपछि हामी खुशी हुँदै पाईला चाल्थ्यौं । मेरो साथी नयाँ भएकोले उहाँलाई निकै डर भएजस्तो देख्थेँ ।

म उसलाई ढाडस् दिन्थे । उकालो बाटो काट्नको लागि भए नि उहाँलाई कम्युनिस्ट क्रान्ति र च्वेःगेभाराको बलिदानीप्रति जानेसम्मको बिचार सुनाउथे । २०५२ साल फाल्गुन १ गतेदेखि यताको माओवादी जनयुद्ध किन र के को लागि भन्ने कुराहरू बताउदै उहाँको मनको त्रासहरू भगाउन चाहन्थे म ।

निकै उकालो हिडेपछि मकैबारीमा पुग्यौं । मकैबारीको बाटो भेडेटारको घुम्तीहरू जस्तै बारीको डिलडिलबाट मान्छे हिड्ने बनाइएको हुन्छ । नजिकैबाट घुमाईएको बाटोमा मकैले गर्दा माथिल्लो घुम्तीको र तल्लो घुम्तीको वस्तु देख्न सकिँदैन । तर आवाज भने प्रष्टै सुनिन्छ । हामी उक्लिदै गरेको डिलदेखि अन्दाजी ४/५ डिलमाथी हुनुपर्छ । दुई तीन जना मान्छेहरू छिटो चालमा हामीतिर आउदै गरेको पदचाप सुन्यौं ।

मैले कान चनाखो पारेर सुने । सेनाहरूले लगाएको बुटको आवाजजस्तै लाग्यो । हातमा एके ४७ बोकेर झर्दै गरेको सेनाहरूको गस्ती बिजुली चम्के झैं मनसपटलमा चम्कियो । मुटु चिसो भयो । मैले हतार साथीलाई बारीको डिलमा छेलिन लगाएँ । उ निकै आत्तिएको भाव उस्को अनुहारबाट बुझेँ । हामी हाम्रो देब्रेतिरको बारीभित्र निहुरिएर लुक्दै भित्ताभित्ता छेलिन्दै भाग्यौं । साथी आतिएकोले मकैको बोट सबै हल्लाउँदै भाग्यो । अब साथीले गर्दा यहीँ गोलीले छेडिने भयोजस्तो लाग्यो मलाई ।

अलिक पर छेलिने ठाउँमा पुगेर मैले घोप्टो सुतेर टाउको उठाएर बाटोतिर चिहाएँ । चिहाउदै गर्दा झोलाबाट सकेट बम निकालेर दाइने हातमा राखिसकेको थिएँ । आक्रमण नगर्ने यदि उनीहरूले गरे, आत्मरक्षाको लागि प्रतिकार गर्ने भनेर आँट बलियो बनाएँ । पदचाप अघि हामी छिरेको बारीको डिलमा पुगेको चाल पाएँ । बिस्तारै टाउको उठाएर हेरें । पछाडी ब्याग भिरेका, गम्बुट लगाएका दुईजना अधबैंसे मान्छेहरू गफ गर्दै ओह्रालो झर्दै थिए । हातमा केही हतियार थिएन ।

मैले अलिक साहस बटुलेर छातीदेखि माथी सबै टाउको उठाएर हेरे मकैको बोटहरूले छेलिन्दै देखिन्दै गरेता पनि अनुहार लिम्बुहरूको जस्तो ठम्याएँ । उनिहरूको गफमा लिम्बू भाषा नै बोलेको सुने अनि ढुक्क भएर बिस्तारै उठें । लुगामा लागेको माटो टकटकाएँ । साथीलाई खोजे देखिनँ । ती बटुवाहरू निकै तल पुगिसके पछि मैले साथीलाई बोलाएँ । साथीले चाल दिएन । मैले निकैचोटि बोलाएँ पनि नआए पछि म अलिक डाँडा जस्तोमा निस्केर निकै ठूलो आवाजले बोलाएँ । तर पार लागेन ।

साथी अब हरायो भन्ने लाग्यो । वारिपारी आँखा डुलाएँ देखिनँ । अब के गर्ने कसो गर्ने भन्ने सोचमा थिएँ । त्यहिँबेला पल्लो पाखाबाट ‘हौ’ भन्ने आवाज आयो । आवाज आएतिर आँखा हुत्याउदा तै साथी रुखमा छेलिएर मलाई हेर्दैरहेछ । मैले हातको इशाराले बोलाएँ ।

हावाको तालमा भागेको कुरा गरेर हामी दुईजना हाँस्दै केहि गाउँ छिचोले पछि करिब एक किलोमीटर उकालो हिडेर हामी कमरेड अविन्द्र आङ्देम्बेको घरमा पुग्यौं । आङ्सराङको लागि हाम्रो पुग्ने मिशन त्यहीँ थियो । अविन्द्रजी घरमै रहेछन् । उहाँ पार्टीको लागि पूर्णकालिन नभए पनि गाउँ जनसरकार समितिमा बसेर क्रियाशिल हुनुहुन्थ्यो । पार्टीको निर्देशन अनुसार सबै काम गर्नुहुन्थ्यो ।

भेटपछि निकै लामो कुराकानी भयो । र, पार्टीको तत्कालीन काम कारबाही बारे बताएँ । त्यो बेला सम्ममा उहाँको बहिनीले बिहानको खाना बनाई दिनुभयो । हामी तिनजनाले सँगै खायौं । हामीलाई हतार थियो । मैले नारा र रङ्ग दिएर बिदा मागे । हामी फाक्तेपलाई गन्तव्य बनाएर लाग्यौं ।

भदौ ८/९ गते हामीले फाक्तेप र चिलिङ्देनमा भित्ता लेखन सकेर घुर्बिसे पञ्चमी पुग्यौं । त्यहाँ खतरापूर्ण हुने भएकोले मिलिसिया कमरेडहरूलाई भेला गरेर चारतिर सेन्ट्री राखेर लेख्ने सल्लाह थियो । झन्डै २ः३० बजे तिर भित्ता लेखन सकेर हामी एउटा पसलमा पालैपालो खाजा खान पस्यौं । खाई सकेका कमरेडहरूलाई सेल्टरतिर पठाएँ । अन्तिम खाने म लगायत २ जना साथीहरू थियौँ । थुक्पा अगाडी राखिसकेको थियो । चम्चा पकड्दै गर्दा दुईजना एसएलआर बोकेका जवानहरू देखा परे । मुटु भुक्क फुल्लियो । शरीर चिसो भयो । म भन्दा साथीहरू धेरै आत्तिन थाले । मैले बिस्तारै साथीहरूलाई तल्लोपट्टि लुक्न लाएँ । ब्यागहरू ठूलो भाडाभित्र लाएर छोप्यौं ।

म चाहिँ केही थाहा नभएजस्तो खाजा खान थाले । तर मुटुको धड्कन तेज भएको थियो । खाजाको स्वाद कस्तो थियो थाहा पाएको थिएन । हतियारधारीहरू एक–एक गर्दै निकै नजिक आईसक्यो म बेलाबेला चिहाउथे । अब यहीँ ठाउँमा सहिद हुने भइयो लाग्न थाल्यो । मैले राम्रो निहालेँ । केही चिनेका जस्ता देखा परे, महिला हतियारधारी पनि देखापर्न थाले । शाहीसेनामा त महिला हुदैनथ्यो । मन अलिक ढुक्क भएर बाहिर निस्केर क्रमशः आउदै गरेकाहरूलाई हेरेँ चिनेकाहरू नै रहेछन् ।

पहिला सँगै हिडेका साथीहरू ७ औं ब्रीगेड १९औं बटालियन बी कम्पनीका जनमुक्ति सेना साथीहरू रहेछन् । धेरै समयपछि भेट भएकोले भावविह्वल भएर हात मिलायौँ । उहाँहरू सेना फर्मेसनमा हिडेकोले आरामबिराम बाहेक अरु कुरा गर्न पाईएन । केही चिनेका महिला कमरेडहरू झनै विह्वल भए । नमरी बाँचे, दुस्मनले साँचे फेरि भेटौला भन्दै छुट्टियौं । साथीहरू कुन ठाउँ पुग्ने होलान् ? मलाई सोचमग्न बनायो । रातीको हाम्रो सेल्टर चिलिङ्देनको पल्लो छेउ कुनाको घरमा थियो । हामी पनि उतै लाग्यौं ।

१० गते बिहान । बजार बन्द भयो कि भएन यातायात चल्दै छ कि छैन भनेर पुरानो पञ्चमी र घुर्बिसे पन्चमी आयौं । बजार बन्द नै रहेछ । घुर्बिसे पन्चमी पुग्दा आज रातभर आङ्सराङतिर गोली पड्केको आवाज आएको सुनियो भनेर हामीलाई बताएँ । मनमा चिसो पस्यो । मैले साथीहरूलाई हतार फाक्तेप तिर झारें । आङ्सराङतिर आज राती ठुलै भिडन्त भएको कुरा बाटोभरी सुनियो । झनै मन त्रसित भयो । मेरो घर मास्तिर पुग्दा मेरो घरमा एकजना अज्ञात मान्छे अघि राती नै आएर सुतेको छ भन्ने कुरा सुन्यौं ।

मैले एकजना चलाख साथीलाई बुझ्न पठाएँ । केहीबेरमा हामी बसेको घरमै ल्याएर आयो । चिनेकै साथी रहेछ । तै साथीबाट बिस्तृत थाहा भो मेहेलबोटेमा शाही सेनासँग अचानक ठुलै भिडन्त भएछ । उसलाई गोली नलागे पनि भाग्दा जुत्ता हराएछ, खुट्टाहरूमा चोट लागेछ र केही सुरक्षीत घरमा लगेर राख्यौं । मैले मिलिसिया कमरेडहरूलाई सेल्टर बताएर चारतिर सेन्ट्री खटाएँ ।

केहीक्षण मै एरिया इन्चार्ज पर्वतसँग पनि कोल्बुङमा भेट भयो । उहाँले पनि यहीँ घटना सुनेर फाक्तेप आउनु भएको रहेछ । तितरबितर भएर हाम्रो एरियामा भएका साथीहरूलाई सम्पर्कमा ल्याउने सल्लाह भयो । हामीले खोज्ने कामलाई तिब्रता दिन थाल्यौं । म तै भिडन्त भएको आङ्सराङतिर गएँ । इन्चार्ज ज्युले साथी लगेर जानू भनेता पनि यो बेला मलाई साथीहरूको विश्वास लागेन । नयाँ साथीहरू छिट्टै आतिने, नभए नि केही शंकास्पद गतिविधि गरेर दुस्मनले छिट्टै पहिचान गर्ने हुन सक्छ भनेर मैले झोला राखेर बाँसुरीमात्र बोकेर हिडे ।

आङ्सराङको ज्योती स्कुल पुगेपछी एउटा घरमा डोको र हसियाँ मागे । अनि काँधमा भिरेर अलिक परको खोल्सातिर बाँसुरी बजाउदै गएँ । ठ्याक्कै शाहीसेनाहरू १०० मिटर पल्लो पाखामा आएर बसेका रहेछन् । मैले बाँसुरी बजाइरहें उनिहरूले हेरिरहे । म घाँस काट्ने निहुँ पारेर ओह्रालो लागें । कोही साथीहरू खोल्सातिर घाईते भएका छन् कि भनेर खोल्सैखोल्सा झरें । निकै तल पुगेपछि शशी कमरेडको घरमा पुग्दा अबिन्द्रको श्रीमती र बहिनी रुँदै बसिरहेका थिए । मैले खाली डोको त्यहीँ राखें । मलाई देख्नेबितिकै सोध्न थाले अबिन्द्र र हामीसँगै छुटेदेखी घर नआएको बताए । तर त्यो बेला सम्ममा को को सहिद भए, कति जना भए केही थाहा भएको थिएन ।

त्यहाँ जनमुक्ति सेना र शाहीसेनाको मात्र भिडन्त भएकोले अविन्द्र नपरेको हुनसक्ने आश्वासन दिएर म फर्के । किनकि त्यहाँ धेरैबेर बस्दा मलाई खतरापूर्ण थियो । म दुस्मनको गतिविधि बुझेर पुनः फाक्तेप फर्किदै गर्दा जुङ्जिवा खोलामा एक जना कमरेड लुक्दैलुक्दै खोला तर्दै गरेको भेटे । मैले बोलाएर परिचय दिएँ । उहाँ एक्लै रातभर तै जङ्गलमा लुकेर बसेका रहेछन् । मैले सेल्टरमा लगेर गएँ । बेलुका सम्ममा कम्पनी सहकमाण्डर कमरेड संगीतसहित १८ जना जति बटुल्न सफल भयौं । केही कमरेडहरू गोली लागेर घाइते थिए । रातरात घुर्बिसे पन्चमीबाट मेडिकल चलाएर बस्ने डाक्टर ल्याएर उपचार शुरु गर्यौं ।

११ गते । बिहान शाहीसेनाहरू त्यहाँबाट फेदेन फर्किसकेको सुचना पाएर हामी भिडन्त भएको ठाउँ मेहेलबोटे पुग्यौं । त्यो ठाउँ पुरै स्तब्ध थियो । गाउँघरको मान्छेहरू त्रासले घरभित्रै थिए । गाईवस्तुहरू घाँस खान नपाएर कराइरहेका थिए । स्कुलको तल्लो छेउमा रगतका आलो भल देखिन्थ्यो । मैले शुरुमै देखेँ कमरेड अविन्द्रको क्षतविक्षत भएको लास । म हिरिक्क भएँ श्वास झन्डै रोकिएर झन्डै सम्हाल्न सकिनँ । वरपर तलतिर निकै लासहरू थिए । मुटु गाँठो पारेर सबै कमरेडहरूको लासलाई बटुलेर एकठाउँमा जम्मा गरेर अन्तिम श्रद्धाञ्जली दियौं । भदौरे झरी परिरहेको थियो । त्यो झरीसँगै कमरेड लोचन, कमरेड अविन्द्रलगायत १३ जनाको रगत बग्दै थियो । भदौ ११ गते यो घटना र त्यो रगतको भेल मेरो आँखामा झलझली आउने गर्दछ ।

मेहेलबोटे घटनाका सम्पुर्ण सहिद कमरेडहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...