क्यासियर काम गर्दा - Naya Online

क्यासियर काम गर्दा

विरही काइँला

मेक्सिकोको माया सभ्यताको अवशेषहरू अवलोकन गरी अमेरिका फर्केपछि पहिलेको काममा ज्वाइन गरिनँ । अन्य ठाउँमा काम गर्ने सोच बनाएँ । काम गर्ने आँट र जाँगर भए अमेरिकामा काम पाउन गाह्रो छैन । यहाँ बेरोजगार भनेको अल्छे मान्छे मात्र हो । पाखुरी चलाउने अर्थात शारीरिक परिश्रम गर्नेका लागि त अमेरिकामा चारैतिर कामैकाम छ । पाखुरी चलाउनुकै लागि कृषि कामदारको रूपमा सूचीकृत विश्वका ८४ भन्दा बढी देशका नागरिकहरूले अमेरिकामा अस्थायी भिसा पाउँदा रहेछन् । कृषि कामदारबाहेक अस्थायी कामदार एचटुबी अन्तर्गत वर्षेनी विदेशीहरू अमेरिकामा प्रवेश गर्दा रहेछन् ।

यसरी सबै श्रेणीका कामदारहरूका लागि रोजगारमा आधारित १ लाख ५० हजार ग्रीनकार्ड वार्षिक कोटामध्ये पहिलो श्रेणी ईबी वान हो । त्यस्तै दोस्रो श्रेणीमा एडभान्स डिग्री भएका पेशाकर्मी अनि तेस्रो श्रेणीमा दक्ष कामदार पर्दछन् । यसबाहेक अन्य ग्रीनकार्डको वार्षिक कोटा ६ लाख ७५ हजार रहेको छ । ग्रीनकार्ड भनेको अमेरिकामा स्थायी बसोबासका लागि दिइने अनुमति–पत्र हो । ग्रीनकार्डका झण्डै ४ सय प्रकारका श्रेणीहरू छन् । ब्यक्तिले कुन प्रकारको ग्रीनकार्ड प्राप्त गरेको हो, उसको ग्रीनकार्डमा नै उल्लेख पाइन्छ । अमेरिकामा धेरै मानिसहरूले काम गर्ने ठाउँ भनेको कल–कारखाना, ग्यासस्टेशन, सेवेन–इलेवेन, होटल, रेस्टुरेन्ट, ग्रोसरी स्टोर आदि हुन् ।

(स्टोर)
सेवेन–इलेवेन कै कुरा गरौं । सन् १९२७ मा स्थापना भएको सेवेन–इलेवेन विश्वका १७ वटा देशहरूमा ७१,१०० स्टोरहरू सञ्चालन भइरहेका छन् । संयुक्त राज्य अमेरिकामा मात्र सेवेन–इलेवेनका ९,३६५ (जुन २०२१) स्टोरहरू छन् । शुरुमा यसको नाम ‘टोटेम स्टोर’ राखिएको थियो । यो स्टोर विहान ७ बजे खोलिन्थ्यो अनि रातको ११ बजे बन्द गरिन्थ्यो । सन् १९४६ मा कम्पनीले यसको नाम बद्लेर सेवेन–इलेवेन राख्यो । पछिबाट यो स्टोर चौबिसै घण्टा खुला राखिन थालियो । यो जापानी कम्पनी हो । यसको मुख्यालय अमेरिकाको टेक्सस राज्यको डलास सहरमा छ ।

सेवेन–इलेवेनका स्टोरहरू शर्तमा किनबेच गरिन्छ । यो स्टोरहरू धेरै भारतीय, पाकिस्तानी र बंगलादेशीहरूले चलाउछन् । हाल नेपालीहरूको पनि सेवेन–इलेवेनका स्टोरहरू छन् । यिनीहरू सस्तो कामदार नियुक्त गरेर स्टोरबाट मुनाफा कमाउन सफल बनेका छन् ।

शुक्रबारको दिन थियो । घर नजिकैको चौबिसै घण्टा खुला हुने सेवेन–इलेवेनको स्टोरमा पुगेँ । स्टोरका मालिक सान मुदगिल भारतका पञ्जाब निवासी रहेछन् । उनी स्टोरमा नै थिए, भेट भयो । बातचित गरियो । सानको सेवेन–इलेवेनका ६ वटा स्टोरहरू रहेछ । सानले सोमबारदेखि अर्को स्टोरमा काममा आउनु भनी बोलाए ।

सोमबार विहान ९ बजे सेवेन–इलेवेनको स्टोरमा पुगें । यहाँ काठमाडौं थानकोटकी मन्दिरा श्रेष्ठ काम गर्दिरहिछिन् । एकछिन पछि सान आइपुगे अनि सम्झौता पत्रमा हस्ताक्षर गराइ फर्के । रोजगारदाताले कामदारसँग संयुक्त राज्य अमेरिकाको कानूनी दायराभित्र रहि रोजगारीको सम्झौता गरेको हुनुपर्दो रहेछ । सातामा पाँच दिन काम अनि दुई दिन विदाको कार्यसूचि बनियो । सातामा चालिस घण्टा भन्दा अधिक कामको लागि प्रतिघण्टा ज्यालाको डेढीसम्म ओभरटाइम ज्याला कामदारलाई रोजगारदाताले दिनुपर्ने हुनाले एक ठाउँमा सातामा चालिस घण्टा भन्दा बढी काम दिइँदैन रहेछ ।

कामदारले आफ्नो अधिकार उलंघन भएको ठान्छ भने सम्बन्धित विभागलाई फोन गरेर गुनासो पेश गर्न सक्दा रहेछन् । विभागले कामदारलाई गोपनीयताका साथ निशुःल्क सहयोग पुर्याउदो रहेछ । निष्पक्ष श्रम मानक ऐन (FLSA) अधिकारहरू मजदुरी एवंम कार्य–घण्टा सम्बन्धी एचडबल्युडीले संयुक्त राज्य अमेरिकाको सबै राज्यका कामदारहरूलाई मदत गर्दोरहेछ । कामदारहरूको अध्यागमनको स्थितिलाई कुनै भेदभाव गरिँदैन रहेछ ।

मैले सम्झौता अनुसार क्यासियर काम सुरू गरें । स्टोरभित्रका सा–साना कुराहरूमा सुक्ष्म अध्ययनसँगै ग्राहकको चाहना र आवश्यक्ता अनुसारको सामानहरूको पूर्ति र सहुलियततर्फ ध्यानदिनु पर्दोरहेछ । यो सानो रिटेल व्यवसाय भएको कामप्रति विशेष ध्यान केन्द्रित भइ ग्राहकसँग मित्रता गाँसेर उनीहरूलाई छिटो छरितो सेवा दिने काम जरूरी रहेछ । कफि, सलर्पिदेखि स्नयाक, थोरै तातो पिज्जा, चिकेन हाड डगदेखि विभिन्न पेय पदार्थहरू, उर्जादिने पेय पदार्थदेखि लिएर मनी अर्डर, पावरोटी, दुध, अण्डा, चिजदेखि तयारी मासुका परिकारहरू, बिस्कुट, चिप्स एवं सुर्तीजन्य वस्तुहरू, मुनाफा आकर्षित गर्ने सेवाहरू रहेछन् ।

स्टोरमा ग्राहकले किन्न चाहेको सामान स्क्यान गरेपछि देखापर्ने No ग्राहकलाई बताइ दिएपछि उसले डलर दिए कति हो अङ्कमा टाइप गरेर फाइनल्ली एण्ड पे बटम दबाइदिँदा क्यास लेखिएको देखापर्छ । त्यस बटमलाई दबाइदिए मुनिल्लो भागको क्यास बाकस खोलिन्छ र २०, १०, ५ र १–का डलर अनि ५०,सेन्ट (half dollar), २५ सेन्ट (quarter),१० सेन्ट (dime), ५ सेन्ट (nikel) र १ सेन्ट (penny)का सिक्का राखिएका बाकसमा ग्राहकबाट प्राप्त डलर, सेन्ट अङ्क अनुसार राखिदिनु पर्दछ । ग्राहकलाई रकम फर्काउनु छ भने यहीबाट रकम झिकेर दिनुपर्दो रहेछ ।

ग्राहकबाट प्राप्त ५० र १०० –का डलर चाहिँ रकम सङ्ग्रह गर्ने मेसिनमा छिराउदा नकली डलर मेसिनभित्र नजादो रहेछ । ग्राहकले बैंकको कार्डबाट रकम भुक्तान गर्ने भएमा फाइनल्लीको बटम दबाउदा क्यासकै छेउमा देखापर्ने ‘पिन प्याड पेमेन्ट’ (pin pad payment) लेखिएको बटम दबाइ दिएमा ग्राहकले मेसिनमा जडान गरेको कार्डबाट सामानको मूल्य स्टोरको खातामा जम्मा हुँदोरहेछ । सामान स्क्यान भएन भने स्क्यान गरिने स्थानको छेउमा लेखिएको संख्याहरूलाई टाइप गर्दा मूल्य देखापर्दो रहेछ । कतिपय ग्राहकहरूले सामान किन्न अघि मूल्य सोध्ने गर्छन्, त्यसबेला plu–Inquiry को बटम बदाएर सामान स्क्यान गरेर मूल्य बताइदिनु सकिने रहेछ । मदिरा बेच्ने लाइसेन्स भएका स्टोरले मनी अर्डर वायर ट्रान्सफर सेवाहरू पनि गर्दछ ।

एक पल्टमा ५ सय डलरसम्मको मनी अर्डरको ड्राफ मात्र बनिने हुनाले १२ सय डलरको मनी अर्डरका लागि ५ सय डलरको २ वटा अनि २ सय डलरको लागि १ वटा गरेर जम्मा ३ वटा ड्राफ बनाउनु पर्दो रहेछ । अङ्कमा ५ सय डलर टाइप गरेपछि कम्प्युटरमा Mo With Fee लेखिएको बटम दबाइदिँदा शुल्कसहित रकम देखिँदो रहेछ । स्टोरमा लटरीको टिकट बिक्री गर्दा कति रकमको टिकट बिक्री भयो त्यतिनै अङ्कमा टाइप गरेर Lotto Sale को बटम दबाइदिनु पर्दो रहेछ ।

अङ्ग्रेजी जान्नेहरूका लागि क्यासियर काम गाह्रो रहेनछ । आठ घण्टाको समय मैले बिक्री गरेको टिकटबाट २३ मार्च २०१९ को पावर बल (Power Ball) लटरी ५० हजार अमेरिकी डलर परेछ । स्टोरमा बोर्ड झुन्ड्याइयो । यसभन्दा अघि यति ठूलो रकमको लटरी यो स्टोरमा परेको थिएन रहेछ ।

एकपल्ट स्टोरको रेजिस्टरमा एक्लै थिएँ । ग्राहकहरूको भीँड थियो । एकजना ग्राहकले वियरको बोतल मेरो अघिल्तिर राखिदियो । स्टोरमा २१ वर्ष मुनिका ग्राहकलाई मदिरा अनि १८ वर्ष मुनिका ग्राहकलाई सिग्रेट बेच्न निषेध छ । मैले वियरको बोतललाई स्क्यान गरेर ग्राहकलाई उनको परिचय–पत्र मागें । ग्राहकले परिचय–पत्रको ठाउँमा एउटा हरियो कार्ड मेरो हातमा थमाइ असल कार्य भन्दै बोतल त्यही छोडी राखेर स्टोरबाट बाहिरिए ।

त्यस ग्राहकको व्यवहार देखेर म छक्क परें । एकछिन् पछि मन्दिरा आइन । मैले सबै कुरा बताएँ । मन्दिराका भनाइ अनुसार स्टोरमा मदिरा र सिग्रेट किन्न आउने ग्राहकहरूको उमेर हेरिन्छ कि हेरिन्दैन, यसका लागि विभागका मानिसले छड्के जाँच गर्दा रहेछन् । मलाई वियरको बोतल थमाउने ग्राहक विभागका मानिस थिएछन् । उमेर नजाँची यस्ता वस्तु बिक्री गरेको भेटेमा रातो कार्ड दिदो रहेछ । हरियो कार्ड चाहिँ राम्रो रहेछ ।

(स्टोरमा ग्राहकसँग)
स्टोरमा सिगरेट किन्न आउने ग्राहकहरूमा पुरूष–स्त्री बराबर छन् । एकपल्ट मन्दिरासँग जुलको स्टार्टर किट किनेर गएका खैरे ग्राहक एकछिन् पछि सामान फर्काउन आइपुगे । किट खोलेको हुनाले मन्दिराले लिन मानिनन् । ग्राहकले मदिरा पिएका रहेछन्, स्टोरमा हल्ला गर्न थाले ।

हामीले बोल्ने अङ्ग्रेजी र अमेरिकन अङ्ग्रेजीमा हिज्जे, वाक्यसंरचना र व्याकरणमा समेत फरक छ । त्यसमा पनि अमेरिकनहरू छिटो बोल्ने हुँदा मातेर जिभ्रो लटपटिएका खैरे बोलेको न मन्दिराले बुझिन् न मैले । हामीले आवाज सुन्यौं तर कुरो बुझेनौं । स्टोरमा आएका अर्का खैरे ग्राहकले मातेकालाई सम्झाउदै बाहिर लगे ।

जुनसुकै ठाउँका मानिस किन नहोस्, मातेपछि हल्ला गर्ने स्वभाव भने एकैखाले हुँदो रहेछ । अमेरिकामा मद्यपान बढी मात्रामा सेवन गरिन्छ । तर मद्यपान गरेर गाडी गुडाउनु चाहिँ पाइन्दैन भन्ने थाहा हुदाहुदै पनि मद्यपान गरेकाहरूले कानुन मिचेर गाडी गुडाउदै स्टोरमा आउदा रहेछन् ।

सान र म रेजिस्टारमा थियौं । एकजना ग्राहकले सानका अघिल्तिर कफीका साना कप राखिदिए सानले– ‘वान डलर फिप्टीएट सेन्ट प्लीज’ भने । कफीको कप त्यहीं छोडी राखेर गाडीमा पर्स लिन गएका ग्राहक फर्केर आएन । ग्राहकले कफी पिइवरी खाली कप छोडेर गएको रहेछ ।

यस्ता सामान्य घटना दिनहुँ घट्छ । कतिले कफी, केक खाई आधा पैसा तिरेर जान्छन् । कति पैसा छैन भनेर फुत्कन्छन् । कति सामानहरू गोजी, ब्यागमा हालेर पैसा नतिरी चुपचाप बाहिरिन्छन् । तिनीहरूसित पैसा असुल्न खोज्दा कहिले काहिँ अप्रिय घटना पनि घट्छ । स्टोरमा आउने एक दुई जना ग्राहक यस्ता हुन्छन्, अरु राम्रा छन् । तिनीहरूले किनमेल गर्दा फर्किएको खुदुरा पैसा स्टोरमा राखिएको च्यारेटीको कन्तुरमा लगाउछन् ।

स्टोरमा घटिरहने सानातिना घटनाहरू सबै सम्झना पनि रहन्न । तर खालिद हसनमाथि घटेको एउटा घटना भने बिर्सिन सकिएन । त्यसदिन खालिद हसन र म स्टोरमा थियौं । स्टोरमा आउने ग्राहकहरूलाई ‘हाय हाउ आर यु ?’ ‘थेङक्यु…’ आदि भन्नै पर्छ । खालिदले एउटी स्त्री ग्राहकलाई पुरूष ठानेर ‘थेङक्यु सर’ भनेछन् । ती स्त्रीले मलाई लिङ्ग परिवर्तन गरेर सम्बोधन गरियो भनेर पुलिसलाई फोन गरिन् र स्टोरमा पुलिस आइपुगे ।

खालिदले पुलिसको अगाडि ती महिलासँग माफी मागेर जेल जानबाट जोगिए । यहाँका स्त्री–पुरूषले एकै प्रकारका पहिरन लगाउने छोटा केश राख्ने अनि कतिपय गोरा स्त्रीका सा–साना स्तन नदेखिने कारणले गर्दा उनीहरूमा कुन स्त्री, कुन पुरूष हुन् ? चौबिस वर्ष सेवेन–इलेवेनमा काम गरेका अनुभवी खालिदले पनि त्यसदिन छुट्याउन सकेन ।

अमेरिकीहरू सुँगुर अनि गोरूको मासु अधिक मात्रामा खाने गर्छन् । चिप्चमा गोरूको मासु प्रयोग हुनु साधारण कुरा रहेछ । स्टोरमा पनि हाडडाग, पिज्जा बिक्री गरिन्छ । स्पाइसी बाइट, क्वाटर पाउण्ड आदिलाई पाउरोटीभित्र हालेर खाइन्छ । अमेरिकीहरूले एकदिन खाएको पिज्जा जमिनमा फिजाउनु प¥यो भने १८ एकर जमिन ढाकिन्छ भनिन्छ ।

(राजेश सचदेवसँग)
मालिकले कामदारको परिणाम प्राप्त गर्न नसकिने देखेमा भोलिदेखि काममा नआउनु भन्दो रहेछ । २९ जुन २०१९ कोदिन पाकिस्तानकी नुरिनलाई पनि यसै भनियो । भोलिपल्टदेखि नुरिन काममा आउन छोडि । खालिदले नुरिनको पक्ष लिएपनि बोल्न सकेन । म भन्दा एक महिनापछि जागिरमा लागेकी नुरिन कामबाट निकालिए । यहाँ एक ठाउँको जागिरको मात्र भरोसा गर्नु हुदैन रहेछ । कामदारहरू अन्य स्टोरहरूमा पनि काम गर्दा रहेछन् । मानिसहरू जागिरको आशा गरेपनि भर चाहिँ नपर्दा रहेछन् । मेरो लागि राजेश सचदेवले अर्को स्टोरमा जागिरको बन्दोवस्त गरिदिए । तर मैले काममा ज्वाइन गरिनँ ।

उमेरले ६० वर्ष टेक्न लागेका राजेश सचदेव दुईवटा स्टोरमा काम गरेर सातदिनमा १४ सय डलर कमाउछन् । एकजना अदक्ष कामदारको साताको आय १४ सय डलर भनेको अमेरिकामा नराम्रो कमाइ मानिन्दैन । शारीरिक वा बौद्धिक श्रम गर्नैपर्छ । श्रम नगरी सपना मात्र बोकेर हिड्दा सुःख पाइने ठाउँ संसारमा कतै भेटिन्न । सबैलाई जाँगरिलो बनाउने अमेरिकाले यहाँ कसैलाई पनि बसेर खान दिदैन । बसेर खान खोजेमा ‘होमलेस’ भइन्छ र सडकका पेटीमा भौंतारिनु पर्छ । छातीमा ‘होमलेस’ लेखिएको पोष्टर झुण्ड्याएर आफ्नो परिचय दिनुपर्छ ।

दिसम्बर २०१९ मा पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)–लाई ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनले महामारीको रूपमा देखायो । कोरोना महामारी अमेरिकाको ५० वटै राज्यमा फैलिएपछि कोभिड–१९को त्रास सबैतिर छ । संकटकाल घोषणा गरिएको छ । विद्यालयहरू बन्द छन् । सधै रमझममा रमाउनेहरू एक अर्कालाई अङ्कमाल गर्न डराइरहेका छन् । मानिसहरू खाद्य सरसमान जोगाडमा लागेका छन् ।

स्टोरमा ग्राहकको चाप बढेको छ । ढोकामा जडान गरिएको स्टील ह्यान्डल तानेर भित्र छिरेका ग्राहकहरूले आफूलाई चाहिएका सामान टेबलमा थुपारेपछि कोबाट को जोगिने अवस्था सृजना हुनेगर्छ । कोरोना भाइरस(कोभिड–१९)–बाट जोगिनलाई पिनप्याडको प्रयोग, क्रेडिट, डेबिट वा नोटभन्दा सुरक्षित मानिन्छ । तर कतिपय कार्डमा भने यो सुविधा उपलव्ध हुदैन । ग्राहकले दिएको नोट वा सिक्का समाएर रहल रकम ग्राहकको हातमा थमाइदिँदा अप्नाउनु पर्ने सामाजिक दुरीको सावधानी त्यति सजिलो छैन । नोट वा सिक्काबाट कोभिड–१९ नसरे पनि यसको प्रयोगपछि मुख, नाक र आँखा छुनु हुँदैन भन्ने निर्देशन डब्ल्युएचओको छ ।

कोरोना भाइरस(कोभिड–१९) खास गरी व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने संक्रामक रोग हो । हावाबाट सजिलै सर्ने रोग हो । सामान्यतया संक्रमित व्यक्ति खोक्दा वा हाच्छिउँ गर्दा उत्पादित श्वास प्रवाहको माध्यमबाट अनि यो भाइरस ३ घन्टा सम्म बाँच्न सक्छ । एक एमआइटी अनुसन्धानकर्ता भन्छ–‘कोरोना भाइरस(कोभिड–१९) बोकेको रालका थोपाहरू २७ फिट सम्म यात्रा गर्न सक्छ ।’ न्यु इंगल्याण्ड अफ मेडिसिनमा गरिएको एउटा अध्ययन अनुसार कोरोना भाइरस(कोभिस–१९) तामामा ४ घण्टा, कार्डबोर्डमा २४ घण्टा सम्म र स्टेनलेस स्टील र प्लास्टिकका वस्तुहरूमा २ देखि ३ दिन सम्म बाँच्न सक्छ । केही सतहहरूमा ३ दिनदेखि सम्म रहन सक्छ ।

स्टोरमा ग्राहकहरूले छुने चीजहरू किनमेल कार्डहरू,फ्रिजर ढोका ह्यान्डलहरू, गत्ता बाकसहरू र प्लस्टिक प्याकेजिङहरू पूर्ण रूपमा स्यानिट हुन वा होइनन् थाहा छैन । स्टोरलाई पूर्ण कीटाणुरहित गर्नका लागि आफ्नै सेनिटाइजिङ वाइपहरू नभए पनि स्टोरका सबै सतहहरू बराबर गहन सफाइ गरिन्छ । कुनै वस्तु छोएपछि साबुन पानीले हात धुने र हातमा पञ्जा लगाएर कोभिड–१९–का कीटाणुहरूबाट जोगिने उपायहरू अपनाउन थालिएको छ ।

कोरोना भाइरस(कोभिड–१९) विरूद्ध आफू र अरूलाई बचाउने सबैभन्दा प्रभावकरी उपाय भनेको साबुन पानीले कम्तिमा २० सेकेन्ड हात धुनुपर्ने, पानीको सुविधा नभए सेनिटाइजर प्रयोग गर्नुपर्ने, खोक्दा वा हाच्छिउँ गर्दा टिस्यू पेपर प्रयोग गर्नुपर्ने, टिस्यू पेपर छैनभने कुहिनोले मुख छोप्नुपर्ने, अनुहार छुन नहुने, माक्स लगाउनु पर्ने, सकभर घरमा नै बस्नुपर्ने र सामाजिक दूरी बनाउदा ६ फिट व्यक्तिगत खाली स्थान राख्नु पर्ने रहेछ ।

सीडीसीको निर्देशन अनुसार एक ठाउँमा १० जना भन्दा बढी मानिसहरू भेला नहुन आग्रहसँगै वासिङटन डीसीका रेष्टुरेन्टहरू १८ मार्च २०२० देखि अर्को सूचना नभएसम्म बन्द गरियो । विश्वको धनी र शक्तिशाली देश अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना भाइरस(कोभिड–१९) संक्रमित हुने देश बनेपछि राज्यहरूले ‘स्टे–एट–होम’ आदेश लागु गरे । आदेश पालन नगर्नेहरूलाई कैद र जरिवाना समेत तोकियो ।

यस अवधिमा बन्द हुने र खुला रहने दोकानपाटको सूची प्रकाशित भयो । मैले काम गर्ने स्टोर बन्द नहुने सूचीमा परेछ । मैले आफ्नो स्वास्थ्यको ख्याल गर्दै २० मार्च २०२० देखि क्यासियर कामबाट बिदा लिएँ ।
अमेरिका ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...