यात्रा–साहित्यः चिनारी र परिचर्चा - Naya Online

यात्रा–साहित्यः चिनारी र परिचर्चा

दिलिप राई ‘सगर’

पृष्ठभूमि
मिर्मिरेमा घाम झुल्किन्छ, रोशनी छाउँछ उज्यालो । चिर्विराउँछन् चराचुरुङ्गी । उठ्दछन् पशुप्राणी । सनै–सनै मेलो लाग्दछन् आ–आफ्नो दिनचर्यामा । चल्दछ हावा, हल्लिन्छन् रूखपात । फुल्दछ फूल, छर्दछ वासना । झुम्मिन्छन् मौरी–पुतली । उड्दछ बादल, गर्जिन्छ सगर । वर्षिन्छ झरी–वर्षा । बग्छन् नदी–खोला र बगाउँछन् ढुङ्गा–माटो, पात–पतिङ्गर । बग्दै मिसिन्छन् समुन्द्रमा । छचल्किन्छ लहर, पौडिन्छन् माछा, डुङ्गा, किस्ती, जहाज । दगुर्छन् मोटरगाडी सडकमा । ओसार्छन् मान्छे मालसामान । जसै जन्मिन्छ मान्छे, हुर्किन्छ उसँगै चेतना र सोचाई पनि ।

वैज्ञानिकहरू भन्छन्—सूर्यलाई पृथ्वीले घुम्दछ र पृथ्वीलाई चन्द्रमाले । हाम्रो सौर्यमण्डल बाहिर रहेका तारा, नक्षत्र, ग्रहहरूले पनि आ–आफ्नो कक्षबाट आ–आफ्नो सूर्यलाई परिक्रमा गर्दछन् । ब्रह्माण्डभरि रहेका हरेक वस्तु, पदार्थ, जीव–प्राणी र तिनीहरूलाई देख्दा मनमा पर्ने प्रभाव वा आउने दृष्टिकोण पनि गतिशील छ । चलायमान छ । परिवर्तनशील छ । यायावरीय छ । यात्रारत छ ।

सामान्यतः यही गतिशील वस्तु, जीव–प्राणी र तिनको दिनचर्या, घटना, विचार, भावनाको स्थानान्तरण आदि विषयमा अध्ययन गरिने साहित्यलाई ‘यात्रा–साहित्य’ भनिन्छ । काव्य होस् या आख्यान, निबन्ध वा अन्य विधामा यात्रा साहित्य ढकमक फुल्ने–फल्ने गर्दछ र झ्याम्म झाँगिएको भेट्छौं । यात्रालाई डायरी, जर्नल, चिठ्ठी, नाटक, संस्मरण, उपन्यास आदि जुनसुकै विधामा पनि लेख्न सकिन्छ ।

हामी कति कुरा आँखाले देखिरहेका हुन्छौँ । तथापि त्यसमा के कति परिवर्तन भैरहेछ सोको यादै गर्दैनौं । आजको साइवर संसारमा आइपुग्न लाखौं अरबौं वर्षको समयदूरी पार भएको छ । सूर्यबाट छुटेर बनेको पृथ्वी विस्तारै सेलाएर वाफ, वादल, पानी, जीव, रूखपात आदि बन्दै जंगली–ढुंगे युग, कृषि युग, औद्योगिक युगमा प्रवेश भएर साइवर युगमा रमाईरहेछौं हामी । संसारमा कैयौं पुस्ता–पुस्तान्तर पश्चात विश्वको उन्नति र विकासको चरमसीमा देख्न र भोग्न पाएका छौं हामीले । यसको पछाडि हाम्रा पूर्वजको अतुलनीय संघर्ष र योगदान स्मरणीय छ ।

एकदिन न्युटन बगैचा डुल्न जाँदा रूखबाट सुन्तला भुइँमा खसेको देख्छ, उसले सोच्यो किन यो आकासतिर गएन ? पछि पृथ्वीको गुरुत्वाकर्षण छ भन्ने पत्तालाएर चाल सम्बन्धी सिद्धान्तको प्रतिपादन गरे । लोकप्रिय सञ्चारको साधन हो टेलिफोन । जसका आविस्कारक डा. ग्राहम बेल सन् १८४७ मार्च ३ मा जन्मेका थिए, स्कटल्याण्डको एडिनवर्गमा । लण्डन युनिभर्सिटीमा पढे । जर्मनको बुजवर्गबाट डिग्री सके । टि.बी. रोगले दाजुभाइ मरेपछि सन् १८७० मा परिवारै बसाइँ सरे, क्यानडा । जागिर खान पुगे बोस्टन । जहाँ लाटा–बहिरालाई बोल्न सिकाउने काम गरे । विहे पनि त्यहीँ गरे । सन् १८७६ मा श्रीमती र ‘वाटसन’ नामको साथीको मद्दतमा टेलिफोन आविस्कार गरे ।

यसको सफल प्रदर्शनपछि फ्रान्स सरकारले उनलाई ठूलो धनराशी सहितको ‘भोल्टा प्राइज’ले सम्मान ग¥यो । सन् १९२० मा उनी आफ्नो जन्मस्थल एडिनवर्ग फर्के । गाउँवासीको भव्य स्वागत सम्मान पाएपछि उनी क्यानडा फर्केर सन् १९२२ अगस्तमा संसारबाट विदा भए । यस्तै अर्का विख्यात वैज्ञानिक अल्वर्ट आइन्सटाइनले पनि अध्ययन, अध्यापन र अनुसन्धान गर्दै हिड्ने क्रममा जर्मनी, इटाली, स्वीटजरल्याण्ड र अमेरिका पुगेर ‘सापेक्षतावादको सिद्धान्त’ प्रतिपादनगरी संसार बदल्ने कार्य गरे । सन् २०११ अगस्त ५ मा एप्पल कम्प्युटरका फाउन्डर स्टेब जब्सको मृत्युपछि विश्वका मुर्धन्य विचारकहरूले मूल्यांकन गर्दै भनेका थिए—“संसार तीनवटा एप्पलले बदल्न सफल भएका हुन्—आदम, आइन्सटाइन र स्टेब जब्स” ।

यात्राको ऐतिहासिक प्रसंग
सामान्य परिवारमा सन् १४५१ मा जन्मेका क्रिष्टोफर कोलम्बस सानैदेखि बीरता र साहसी यात्राका कथा सुन्थे । ठूलो भएपछि सामुद्रिक यात्रामा जाने प्रस्ताव स्पेन सम्राटसामू राखे । उनको प्रस्तावलाई सम्राटले अस्वीकार गरे । सम्राटले अस्वीकार गरेपछि उनी पोर्चुगल गए । त्यहाँका राजा फर्डिनेन्टु र रानी इसावेलाको मद्दतमा निला, पिटा र शान्ता नामक तीन जहाज लिई १०,००० माइलको विशाल एट्लान्टिक महासागर पारगरी तीनपल्टमा सन् १५०२ मा अमेरिका पत्ता लगाए । यसको सट्टामा राज्यले उनलाई ठूलो सम्मान र जागिर दियो ।

यस्तै अर्का पोर्चुगली शाहसी सामुद्रिक यात्री भास्को डि गामाले पनि एट्लान्टिक महासागर, अफ्रिका, अरब हुँदै भारतको गोवा प्रान्त पत्ता लगाएका थिए सन् १४९७ मा । जसको सम्मानमा त्यहाँ एक सहरको नामै राखिएको छ ‘भास्को डि गामा सिटी’ । यो पनि मानव सभ्यता विकासको यात्रा हो ।

इशापूर्व ३६५ मा जन्मेका मेसेडोनिया देशका राजा सिकन्दर महान् विश्व विजयी यात्रामा निस्की युरोप र एसियाका थुप्रै देश जित्दै भारतमा केहीवर्ष राजगरी अरबको मरुभूमि पार गर्दै अफ्रिका पुगेर मरेका थिए, मदिरा सेवनले । मर्ने वेला उनले आफन्तजनलाई दुवै हात लासबाहिर राखीदिनु भनेका थिए ताकि, विश्वविजेता सिकन्दर जस्तो मान्छे पनि खाली हात गयो, रित्तै गयो भन्ने सन्देश जाओस् । त्यस्तै राजकुमार सिद्धार्थले रथमा बसेर बाहिर घुम्न जाँदा बाटोमा बुढो, रोगी र मरेको मान्छे देखेपछि संसारबाट दुःख कसरी हटाउने भन्ने चिन्ताले पिरोलिए । यसको खोजीमा उनी घर परिवार र दरवारै छाडेर निस्किए ।

हिंड्दै भारतको गया भन्ने ठाउँमा पिपलको बोटमुनि ध्यानमा बस्दा बुद्धत्व ज्ञान प्राप्त भयो र यो सन्देश बाँड्दै जाँदा ८० वर्षको उमेरमा कुशिनगर पुगी परलोक भए । आज उनले बाँडेको ज्ञान र नाममा बौद्ध धर्म, संस्कृति र दर्शन विशिष्ट रहँदै आएको छ, २६ सय वर्ष यता । यस्तै यसुक्रिष्ट, महम्मद, कन्फ्युसियस आदिको जीवनयात्रा होस् या हिन्दु, सिख, किरात आदिका आराध्य देवी देवताका अवतार गाथा । इशापूर्व ३ हजार तिरको मायासभ्यता होस् या २३ सयतिरको सिन्धुसभ्यता या प्रथम मानव विकासको ग्रिकसभ्यता । नेपालकै परिप्रेक्षमा पनि मञ्जुश्री, भृकुटी, अरनिकोको चीन बसाई होस् या सीता, बुद्ध आदिको भारत यात्रा ।

यस्तै गोपाल, महिषपाल, किरात, लिच्छवी होस् या पृथ्वी नारायण शाहले स–साना राज्य–रजौटालाई मिलाउँदै विशाल नेपाल बनाएको इतिहास । चाहे १०४ वर्षे जहानियाँ राणा शासन होस् या २००७ सालको प्रजातन्त्रको उदय । २०१७ को राजा महेन्द्रद्वारा दलहरूको प्रतिबन्धगरी पञ्चायतको घोषणा होस् या २०३७ को जनमत संग्रह । या २०४७ मा ३० वर्षे निरङ्कुस पञ्चायतको अन्त्य र बहुदलीय प्रजातन्त्रको उदय । २०५८ मा श्री ५ वीरेन्द्रको वंश नाश हुनेगरी भएको दरवार हत्याकाण्ड वा दश बर्षे जनयुद्घको पृष्ठभूमिमा सञ्चालित २०६२–६३ को १९ दिने जनआन्दोलन–२ । पहिलो संविधानसभापछि २५० बर्षे शाही राजतन्त्रको अन्त्य होस् वा दोश्रो संविधानसभाले हालै जारी गरेको संविधान, यी सबै राजनीतिक यात्राका उदाहरणहरू हुन् ।

नेपाली साहित्यिकवृत्तमा पनि धेरै मोडहरू आए–गएका छन् । झर्रोवाद, राल्फा, तेस्रो आयम, लीलालेखन, सिर्जनशील अराजकता, रङ्गवाद, उत्तरआधुनिक, चक्रव्यूह, संचेतना, डायस्पोरा, उत्तरावर्ती सोच, भयवाद, क्वान्टम साहित्य, नवचेतना ग्रह, युद्ध साहित्य, अमूर्तबोधी दर्शन, रेखा कविता, केस्रा लेखन आदिको उपस्थिति देखिए । यिनै सन्दर्भहरूलाई हृदयाङ्कन गरेर नेपाली साहित्य क्षेत्रमा यात्रा–साहित्यको महत्व र सान्दर्भिकताको खाँचो महशुुस गरी यो आलेख तयार गरिएको छ ।

यात्रा–साहित्यको परिभाषा
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका तात्कालिन उपकूलपति लैनसिं वाङ्देलको हस्ताक्षरमा प्रकाशित “नेपाली वृहत शब्दकोष – २०४०” को पृष्ठ नं. ११०८ मा “यात्रा” को शब्दार्थ यस्तो लेखिएको छः— (१) एक ठाउँबाट अर्काे ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने काम, भ्रमण, पर्यटन (२) धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने कार्य, तीर्थाटन (३) देव देवीको उत्सवमा गरिने मेला, जात्रा (४) परदेश जाने साइत, प्रस्थान । यसरी विभिन्न शब्दकोष अनुसार सामान्यतः यात्रा भन्नाले एक ठाउँबाट अर्काे ठाउँ जाने कार्य, हिंडडुल, घुमफिर, घुमघाम, सवार, सफर, विहार, विचरण आदि बुझिन्छ । अंग्रेजीमा Journey, Walk, Visit, Tracking, Tour, Wonder, Travel ………….! आदि । “साहित्य” भन्नाले यही यात्रा सम्बन्धी अध्ययन गरिने विषय हो जसमा मान्छेले वैयक्तिक या सामूहिक यात्रा गर्दा देखे, भेटे र भोगेको अनुभव र प्रसंगलाई लिपिबद्ध गरिएको हुन्छ ।

युगकवि सिद्धिचरण श्रेष्ठले २०२० सालमा प्रकाशित ‘स्पेनको सम्झना’ को भुमिका यात्रा साहित्यको बारेमा यस्तो लेखेका छन्—‘सौन्दर्य बोधको दृष्टिले उल्लासको भावनाले प्रेरित भएर यात्रा गर्नेको मुक्त अभिव्यक्तिलाई यात्रा साहित्य भनिन्छ ।’ हर्षनाथ भट्टराई÷माधव लम्सालद्वारा सम्पादित राष्ट्रिय नेपाली बहुभाषी शब्दकोश २०६३ मा यात्रा साहित्य सम्बन्धि यस्तो लेखिएको छ—‘मानव जातीको यात्राको वर्णन गरिएको साहित्य नै यात्रा साहित्य हो ।’ त्यसैगरी २०७० सालमा प्रकाशित र्मिमिरेमा दश पाईलामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्—‘यात्रा साहित्य भनेको त्यस्तो साहित्य हो जसले मानिस, घटना, दृश्य आदिको अभिलेखन प्रस्तुत गर्दछ ।’

उता २०५५ सालको फागुन अंकको मधुपर्कमा साहित्यकार भिष्म उप्रेती यात्रा साहित्यबारे लेख्छन्—‘सामान्य यात्रा गर्ने व्यक्ति, यात्रा गरिने ठाउँ र उक्त ठाउँको सामाजिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक र राजनैतिक जीवनको अभावमा यात्रा वृत्तान्त रचना गर्न सकिन्न । यी कुराहरूमा अझ चिन्तनशिलता समेत थपिएपछि यात्रा निबन्ध बन्दछ । यात्रा निबन्ध कुनै ठाउँको कोरा भौगोलिक वर्णन र प्रकृतिको सतही चित्रणमात्र होइन कुनै पनि यात्रा वृत्तलाई सफल यात्रा निबन्ध बन्नको लागि पर्याप्त सूचनाको प्रवाह, अनुभव र अनुभूतिहरूको निजात्मकताको पर्याप्त प्रस्तुति र बौद्धिक चिन्तनशीलताको समुचित अभिव्यक्ति हुनुपर्दछ ।’

यसैगरी नेपाली साहित्य कोषमा यात्रा साहित्यबारे यस्तो लेखिएको छ—‘यात्राकालमा देखिएका, भोगिएका र सुनिएका कुराको कलात्मक वर्णन र त्यसक्रममा उब्जिएका लेखकीय दृष्टिकोणलाई निजात्मक शैलीमा गरिने साहित्य अभिव्यक्ति नै यात्रा साहित्य हो । अन्य विदेशी साहित्यकार वा संस्थाहरूले पनि यात्रा साहित्यको बारेमा विभिन्न ठाउँमा प्रष्टपार्ने काम गरेका छन् । जसअन्र्तगत न्यू प्राक्टिकल स्ट्यान्डर्ड डिक्सनरीमा यात्रा साहित्यको बारेमा यसो भनिएको छ—‘खास गरेर चित्रात्मक तरिकाले स्पष्ट पार्दै यात्रा वा यात्राका बारेमा गरिएको अभिव्यक्ति वा वार्ता नै यात्रा निबन्ध हो ।’ यसैगरी द न्यू ओब्स्टर इन्साइक्लोपडिक डिक्सनरी अफ ल्याङ्ग्वेजमा लेखिएको छ—‘फिल्महरू र स्लाइटहरूले देखाउने दृष्यझैँ यात्राबारे गरिएको अभिव्यक्ति नै यात्रा संस्मरण हो जसमा एक वा एकभन्दा धेरै ठाउँहरूको वर्णन गरिएको हुन्छ ।’ प्रस्तुत यात्रा साहित्यको परिभाषाहरू नियाल्दा निम्न विशेषताहरू देखिन्छन् ।

१. निजि जीवनको अनुभव, अनुभूति र संवेग वर्णन
२. सामाजिक, आर्थिक, राजनीतिक आदिको टिपोट
३. साहित्य, कला र संस्कृतिको लेपन
४. विचार चिन्तन र दर्शनको संलग्नता
५. संस्मरणात्मक प्रसंग
६. सूचना, जानकारी र सन्देश प्रवाह
७. निबन्धको स्वतन्त्रता
८. आञ्चलिकता

विश्वको यात्रा–साहित्य
इसापूर्व ३ हजारतिरको अमेरिकाको माया सभ्यता था इ.पू. २३ सयतिरको सिन्धु सभ्यता आदि मानव विकास यात्रामा महत्वपूर्ण मोड मानिन्छ । सन् १२७० मा इटालीको भेनिसबासी मार्काेपोलोको भू–मध्य सागरको अलेकजेन्ड्रिया, अर्मेनिया, इरान हुँदै पामिर चीन भ्रमण । सन् १३७२ मा चीनका राजा क्वीन सि ह्वाङले उत्तरी भेगका शत्रुहरूबाट बच्न ६५०० कि.मि. लामो ग्रेटवालको निर्माण ।

सन् १५१९–१५२२ मा भ्यागलेनको सामुद्रिक यात्राबाट विश्व भ्रमण । सन् १७६८ मा लण्डन निवासी जेम्स कुकद्वारा प्रशान्त महासागर, जापान, अष्टे«लिया पत्ता लगाई उत्तरी ध्रुव जाने क्रममा हवाई टापुमा मृत्यु । सन् १९५३ मे २९ मा एड्मन हिलरी र तेन्जिङ शेर्पाद्वारा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण । सन् १९६९ जुलाई २१ मा एपोलो ११ नामक अन्तरिक्ष यानद्वारा निलआर्मस्ट्रङ, एल्ड्रिम र कोलिनको चन्द्र धरातलमा सफल भ्रमण ।

अठारौँ शताब्दी अघिनै पाश्चात्य लेखकहरूले मानव जातीको चन्द्रमामा यात्रा गरेको परिकल्पना लेखेका थिए आफ्ना कृतिहरूमा । धेरैपछि मात्र चन्द्र धरातलमा पुग्न सफल भए । सन् १५२० मा सिरियाका लेखक लुसियनले एक कथामा चन्द्रमाको यात्रा उल्लेख गरेका थिए । यस्ता चन्द्र यात्राको परिकल्पना गरेका कृति फ्रान्सेली लेखक जुट्स भर्नको “फर्म अर्थ टु दि मुन” (१८६५) र हबर्ट जर्ज वेल्सको “दि फष्ट मेन इन दि मुन” (१९०१) बहुचर्चित मानिन्छ ।

यस्ता अन्तरिक्ष यात्रा सम्बन्धी थुप्रै कृति लेखिए, जसलाई साइन्स फिक्सन भनियो । जेके रोलिङ यो २१औँ शताब्दीकै विख्यात लेखिका हुन् जसले ह्यारि पोटर जस्ता रोमाञ्चकारी कृति लेखी चलचित्र बनेर करोडौँ कमाए । पाश्चात्य साहित्यमा मध्ययुगसम्मको लेखन अत्यन्त अष्पष्ट, अधुरो र विधाको सीमा नछुट्टिएको थियो ।

१७ औँ शताब्दीबाट फ्रान्सिस् वेकम, जेम्स वस्वेल, दिदेरो, रोवर्ट व्वाइल, सर्भान्टिस, जोन डन, युग्लिड, कपर्निकस्, डेनियल डेफो, टमस हव्स, डेभिड ह्युम, जोन लक, जोन मिल, अलेक्जेन्डर पोप, ज्याँ ज्याक रुसो, जोनाथन स्वीट, भोल्टेयर आदि लेखक–चिन्तकहरूले विश्वलाई आधुनिकतातिर मोडे । उनीहरूको लेखनमा विस्तृत रूपले रसायन, खगोल, ज्योतिष, साहित्य, प्राकृति, इतिहास, गणित, औषधिविज्ञान, दर्शन र यात्रा–साहित्य जस्ता विधाहरू कोर्न थाले ।

त्योबेला टाढा–टाढाका अज्ञात प्रदेशतिर घुम्न जाने, अन्वेषणमा निस्कने, विश्व विजयको सपना देख्ने समय थियो । अंग्रेजी साहित्य विशेष त सामुद्रिक यात्राको साहसिक तथा दुःखद कथाले भरिएका हुन्थे । कोलम्बस र भास्को डि गामाका यात्रा यस्तै अर्थका थिए । द सि फेअरर, द वान्डरर जस्ता गाथाले त्यो प्रमाणित गर्दछ । यसपछि धर्म युद्धका, विजयका र अनेकौँ तीर्थ यात्राका कथा आउन थाले भने प्राकृति, इतिहास र दार्शनिक बिचारतिर ढल्केका पाठकले पत्याउने खालका हुन थाले । यस्ता लेखन तथ्यपरक प्रतिवेदन, प्रमाणिक आख्यान, वर्णन र इतिहासका रूपमा आए ।

अंग्रेजी साहित्यकार आदिकवि विलियम चौसरले ‘क्यान्टरवरी टेल्स्’ मा अनेक प्रकारका कथा, यात्रा वर्णन कवितामा लेखेका छन् । काल्पनिक यात्रालाई नै यात्रा–साहित्यको एउटा शाखा मानिन्छ । यस्ता पूरा कथात्मक यात्राका वर्णन हुन् । जस्तैः होमरको ‘ओडिसि’, दाँतेको ‘डिभाइन कमेडी’, जोनाथन स्वीटको ‘गुलिभर्स ट्राभल्स’, भोल्टेयरको ‘क्यान्डिडा’ आदि ।

प्रा.डा. गोविन्दराज भट्टराई आफ्नो पछिल्लो कृति ‘मिर्मिरेमा दश पाइला’मा लेख्छन्—‘अंग्रेजी साहित्यमा निबन्धलाई निश्चित आकार दिने प्रथम व्यक्ति सत्रौँ शताब्दीका फ्रेन्च लेखक मोते हुन् ।’ यसलाई हेर्ने हो भने निबन्ध उदाएको ४०० वर्ष मात्र भयो भने यात्रा–साहित्यको इतिहास त हजारौँ वर्षको छ । यसलाई जोड दिँदै उहाँ लेख्नुहुन्छ “यात्रा–साहित्यको उत्खनन् भन्नु नै मानव सभ्यताको पुनःस्मरण हो ।”

महान साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित “मार्चेन्ट अफ भेनिस” यात्रा साहित्यका लागि एक बेजोड कृति हो । उनैको अर्काे कृति “एज यु लाईक इट” को पात्र ज्याकले बोलेको संवादात्मक कविता “अल दि वल्र्ड इज अ स्टेज” मा मानवजीवनको सात भूमिकाबारे उल्लेख छ । विश्व युद्धपछि उदाएका अर्का शक्तिशाली आख्यानकार अर्नेष्ट हेमिङवेको पुलिटजर प्राइज (१९५३) र नोवेल प्राइज (१९५४) प्राप्त अमर कृति “दि ओल्ड मेन एण्ड दि सि” ले यात्रा साहित्यमा जवर्जस्त उपस्थिति दियो ।

जसमा सर्जकले दोस्रो विश्वयुद्धमा जाँदा भोगेको अफ्रिकनी युद्ध बारम्बार सम्झेको प्रसंग उठाएको छ । एसिया युरोपका धेरै राष्ट्र घुमेका नोवेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरको कृति “गिताञ्जली” पनि पठनीय छ । खोज अनुसन्धान गर्दै जाने हो भने यस्ता असंख्य यात्रा सर्जक र कृति पाइन्छ यो विश्वमा ।

स्कटलेन्डमा एक जहाजी थिए मिल्कर्क । उनी एकपल्ट समुद्र यात्रामा जाँदा तुफान चलेर जहाज क्षतिग्रस्त भयो । उनी बलैले एक सानो टापुमा पुगी ज्यान जोगाउन सफल भए जो चारवर्ष पछि मात्र उम्केर घर आए । पछि उनी वेलायत गए । उनको विपत्तिको घटना विवरण सुनेर लेखक ड्यानियल डेफोले “रविन्सन क्रुसो” लेखे जो पछि विश्व चर्चित बन्यो ।

अंग्रेजी साहित्यमा रोमान्टिक इराका कवि स्रष्टा वड्सवर्थ, सेल्ली, किट्स, वाइरन, कलोरिजका सिर्जनाहरूले त्यो बेलाको समय, स्थानीयता, प्रकृति र जनजीवनलाई जीवन्त र वेजोडका साथ प्रस्तुत गरेका छन् । वड्सवर्थको “लुसी”, किट्सको “ओड टु अ ग्रेसियन अर्न”, सेलीको “एडोनिस” र “ओड टु द वेष्ट विन्ड” र कलोरिजको “कुव्ला खाँ”, “लिरिकल ब्यालड” आदि चर्चित मानिन्छ । फुटकर सिर्जनाहरूमा २०औँ शताब्दीका चर्चित कवि टेडहजको “दि ज्यागर”, थोमस हार्डिको “दि फाइभ स्टुडेन्ट्स”, फिलिप लार्किनको “चर्च गोइङ”, डब्लु एच अवडेनको “दि अन्नन सिटिजन”, थोमस ग्रेको “इलेजी रिटन इन अ कन्ट्री चर्चयार्ड” आदि यात्रा साहित्यका रूपमा पढ्न पाइन्छ ।

नेपालको यात्रा–साहित्य
नेपाली साहित्य इतिहासमा पनि यात्रा साहित्यको लेखन प्रारम्भदेखिको हो । राजा रजौटाको दरवारी घेराबाट गरेको लडाइँ यात्रा र धर्म गुरु, भिक्षु आदिबाट भएको यात्रामा जो जतिले सो समयको सदुपयोग गर्दै कलम चलाए त्यसले नै नेपाली यात्रा साहित्यको भनुँ समस्त नेपाली साहित्यकै प्रारम्भिक रूपरेखा कोरेको देखिन्छ । साहित्यलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले राजनीतिक प्रणालीमा आएको परिवर्तनलाई आधार मानेर नेपाली यात्रा साहित्यको विकासक्रमलाई तीन भागमा बाँडेर हेर्न सकिन्छ ।

१. वि.सं. २००७ सालभन्दा अघिको यात्रा–साहित्य
२. वि.सं. २००७ सालदेखि २०४७ सम्मको यात्रा–साहित्य
३. वि.सं. २०४७ सालदेखि यताको यात्रा–साहित्य

१. वि.सं. २००७ सालभन्दा अघिको यात्रा–साहित्य
यो समय नेपाली समाज धर्मले निर्देशित थियो । जहानिया राणा शासनको तिव्र दमन थियो । जसले गर्दा जनतामा वितृष्णा र घोर निराशा हुर्कदै थियो । कति ठाउँ र अवस्थामा यो निराशा विद्रोहमा बदलिए त्यसलाई क्रुरतापूर्वक दवाइए राज्यबाट ।

अन्ततः मान्छेले मुक्ति र सुखका अन्य विकल्पहरूका अभावले धर्मकर्ममै बढी लाग्नु पथ्र्याे र यो जन्ममा दुःख भुल्न र भाग्य सपार्न दान, धर्म, तीर्थाटनलाई महत्व दिन थाले । त्यसरी धर्म कमाउन जाने तीर्थयात्रीहरू मध्ये केही सुसंस्कृत प्रतिभावान र जाँगरिला व्यक्तिले यात्रामा भोगेका सन्दर्भ घटनालाई समेटेर यात्रा वर्णन लेखी यात्रा साहित्य कृतिका विकासमा योगदान दिए । यस्ता तीर्थयात्रालाई लेख्ने सर्जकहरूमा हरिनाथ प्याकुरेलको ‘तीर्थ जाँदाको वृत्तान्त’ (१९७४), श्री रत्न शर्माको ‘बद्री केदार पथ प्रदर्शनी’(१९८०), राममणि आदिको ‘मेरो पैदल काँशी यात्रा’ (१९८०), अनामको ‘बराह क्षेत्रको यात्रा’ आदि हुन् ।

विदेश यात्राको कृति कमलमणि दिक्षीतद्वारा सम्पादित ‘जंग बहादुरको वेलाइत यात्रा’ (१९१० मा लेखी १९१४मा प्रकाशित) र चन्द्र शमशेरको वेलायत भ्रमणबारे डिल्ली शमशेरको ‘श्री युरोप यात्रा’ (१९६७) र चिरञ्जिवी शर्माको ‘युरोप यात्रा’ (१९६६) र दोस्रो विश्वयुद्ध ताका वर्मामा पाएको दुःख वर्णन रणसुर लिम्बूको ‘वर्माको सम्झना’ (१९९६ मा लेखी २०१४ मा प्रकाशित) ले नेपाली यात्रा–साहित्य विकासमा टेवा पुर्याएको छ ।

यस्तै आदिकवि भानुभक्त आचार्यद्वारा लिखित ‘कान्तिपुरी नगरी’ राम्रो यात्रा सिर्जना हो । जसमा उनले बनारसबाट पढाई सकी आउँदा देखेको त्यो बेलाको काठमाण्डौको परिवेश जीवन्त चित्रण छ ।

२. वि.सं. २००७ सालदेखि २०४७ सम्मको यात्रा–साहित्य
विशेष पहिलो विश्वयुद्धसँगै नेपाली विदेशिने क्रम बढ्यो गोर्खाली सेनाको रूपमा । गोठाला, खेताला र हाट जाँदै गरेका लाठे पक्रेर युद्धमा लगिन्थे रे भन्छन् बुढापाका । १०४ वर्षे राणा शासनको अन्त्यसँगै प्रजातन्त्र आयो २००७ सालमा । नेपाली जन, मन र पनमा आमूल परिवर्तनको लहर छायो । यसैबेला नेपाली—भारत, भुटान, वर्मा, थाइलेन्ड, मलाया, सिङ्गापुर हुँदै हङकङ, वेलायत, रुस, कोसोभो, इटालीतिर पुगे भने कोही देश फर्कन लागे । यही गौरवशाली समयको सम्बोधन गर्दै कवि भुपि शेरचनले यस्ता कालजयी गीत लेखेः

यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ । – शेरचन, (२०२१)

मुलुकमा शासक वर्गबाट मात्र देश–देशावरको राजकीय भ्रमण हुने परम्परा तोडिँदै कुटनीति, व्यापार, तीर्थयात्रा, भ्रमण, औषधोपचार, अध्ययन, अध्यापन, आदि विभिन्न प्रयोजनको लागि जनस्तरबाट समेत स्वतन्त्र रूपमा पनि यात्रा हुन थाले । विदेशको यात्राको पुरानो परम्परा नरही प्रशासनिक, रोजगारी, अध्ययन, अनुसन्धानार्थ विकास निर्माणका क्रियाकलापका साथै स्वतन्त्र रूपमा पनि स्वदेश भ्रमणको परम्परा बस्यो । त्यो समय यात्रा सम्बन्धी आधुनिक ढंगले लेखिएका पुस्तक निकै अभाव थियो । पत्रपत्रिकामा भने बारम्बार यस्ता रचना छापिन्थे ।

कलाकार एवं साहित्यकार लैनसिंह वाङदेलद्वारा आफ्ना प्रिय मित्र राजा श्री ५ महेन्द्रलाई समर्पण गर्दै छापेको संस्मरण ग्रन्थ ‘स्पेनको सम्झना’ (२०२०) पहिलो आधुनिक ढंगले छापेको कृति हो । जसलाई नेपालको पुरानो प्रकाशन ‘रत्न पुस्तक भण्डार’ ले रोयल नेपाल एकेडेमीको मातहतमा बजारमा ल्याएका थिए ।

यस्तै विदेश यात्राका विविध अनुभव र अनुभूति समेटी आफ्ना निजात्मकतामा ढालेर कतै वर्णनात्मक एवं कतै विवेचनात्मक बनाई रोचक ढंगले लिखित पुस्तक र श्रष्टाहरूमा लैनसिंह वाङदेलकै ‘युरोपको चिठी’ (२०१४), डा. तारानाथ शर्माको ‘वेलायततिर बरालिदा’ (२०२६), ‘पाताल प्रवास’ (२०४१), मञ्जुलको ‘सम्झनाको पाइलाहरू’ (२०४४), रमेश विकलको ‘सात सूर्य एक फन्को’ (२०३४), प्रा.डा.गोविन्दराज भट्टराईको ‘मुगलान’ (२०३१), घनश्याम राजकर्णिकारको ‘विदेशको यात्रा, स्वदेशको सम्झना’ (२०३७), निर्माेही व्यासको ‘नौ पाइला’ (२०४६), भिष्म उप्रेतीको ‘यात्राका केही थुँगा फूल’ (२०४६), डोर बहादुर विष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ (२०३६), पूर्णप्रकाश नेपाल यात्रीको ‘सेतीको नालीवेली’ (२०३४), मदनमणि दिक्षितको ‘बर्लिनको डायरी’ (२०४१), विजय चालिसेको ‘अप्रिलको वेलायत’ (२०४५), गंगा प्रसाद उप्रेतीको ‘स्मृतिको छालमा इटाली’ (२०४४), मातृका प्रसाद कोइरालाको ‘मेरो आसाम यात्रा’ (२०५५), लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन (१९९२)’, विपि कोइरालाको ‘हिटलर र यहुदी’ आदि चर्चित छन् ।

पञ्चायतकालिन समयमा सरकारी कर्मचारी, कुटनीतिज्ञ, शैक्षिक, राजनीतिज्ञ, पत्रकारदेखि कलाकार व्यक्तित्वसम्मका नियात्राकार देखिन्छन् । २००७ सालदेखि २०४७ सम्मको ३० वर्षे समय यात्रा साहित्यको लागि अति उर्वर समय हो । यो समयमै लैनसिंह वाङदेल, डा. ताना शर्मा, मञ्जुल, रमेश विकल, विजय चालिसे, मदनमणि दिक्षीत, मातृकाप्रसाद कोइराला, घनश्याम राजकर्णिकार, डा. वानिरा गिरी, निर्माेही व्यास, भिक्षु अमृतानन्द, डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, खगेन्द्र संग्रौला, श्रीओम श्रेष्ठ रोदन, जगदिश घिमिरे, परशु प्रधान, डा. ध्रुवचन्द्र गौतम, भिष्म उप्रेती, सुलोचना मानन्धर, तेजप्रकाश श्रेष्ठ, घटराज भट्टराई, विश्वम्भर चञ्चल, डा. तुलसी प्रसाद भट्टराई, टंक उप्रेती, डा. हर्क बहादुर गुरुङ, शैलेन्द्र प्रकाश नेपाल, आदि श्रष्टाहरूको आफ्नो उर्वर प्रतिभाले नेपाली यात्रा–साहित्यको भण्डार समृद्ध बनाएका छन् ।

३. वि.सं. २०४७ सालदेखि यताको यात्रा–साहित्य
जब एकदलीय व्यवस्थाको पञ्चायत ढलेर बहुदलीय प्रजातन्त्र आयो । धर्म निरपेक्ष, बहुल संस्कृति चेतको विकास भयो । माओवादी युद्धले नेपाली जनजीवनमा मारकाट चल्यो । युवाहरू विदेश पलायन हुन थाले । वि.सं. २०५८ जेठ १९ मा राजदरवार हत्याकाण्डले देश शोकमा डुब्यो ।

२०६२÷६३ को जनआन्दोलन–२ ले राजतन्त्रको विदाई गर्दै गणतन्त्र घोषणा भयो । देश विदेश पुगेका नेपाली सर्जकहरूले भरमग्दुर उत्साहको साथ यात्रा–साहित्य लेखन अगाडि बढाइरहे । यही समय टेलिफोन, कम्प्युटर, एफ एम, गुगल, फेसबुक आदिको तिव्र विकाससँगै साहित्य लेखन पनि दु्रत गतिमा विकास भयो । दिनदिनै इन्टरनेटमा समेत साहित्य लेखनको बाढी आयो । यस अघिका यात्राकारले आफ्ना कृतिहरू धमाधम प्रकाशन गर्न थाले ।

यो बेलाका चर्चित यात्रा सर्जकहरूमा जय छाङछा, प्रतीक ढकाल, गोविन्द गिरी प्रेरणा, युवराज नयाँघरे, गणेश रसिक, हिरण्य भोजपुरे, मनु ब्राजाकी, विश्वासदीप तिगेला, सरुभक्त, क्षेत्रप्रताप अधिकारी, जगदिश घिमिरे, जया राई, हरिकुमार श्रेष्ठ, दुवसु क्षेत्री, सुधा त्रिपाठी, इल्या भट्टराई, डा. सञ्जिव उप्रेती, अनिल पौडेल, कृष्ण धरावासी, रोशन शेरचन, राजन मुकारुङ, शारदा शर्मा, महेशविक्रम शाह, नयनराज पाण्डे, तारालाल श्रेष्ठ, राजेन्द्र सुवेदी, राजकुमार बानियाँ, केदार संकेत, गणेश राई आदि अग्रपंक्तिमा छन् ।

त्यस्तै निरन्तर पत्रपत्रिकामा यात्रा सिर्जना लेख्नेहरूमा गीता त्रिपाठी, आचार्य प्रभा, कृष्ण बजगाईँ, वसन्त बस्नेत, घनश्याम खड्का, अमृत भादगाउँले, शर्मिला खड्का (दाहाल), रामदेवी महर्जन, देवी पन्थी, देवेन्द्रराज भट्टराई, चर्चित ढुङ्गेल, सरस्वती प्रतिक्षा, शुशिला देउजा, विन्दु सुवेदी, देवी नेपाल, मनिषा गौचन, भारती गौतम, कल्पना वान्तवा, अमर न्यौपाने, स्वप्निल स्मृति, टंक सुब्बा, बुद्धिसागर, सगुन सुसारा, मनि राई गोठाले, जीवन देवान गाउँले, देवेन्द्र सुर्केली, इन्द्र नारथुङे, दिलिप राई सगर, धनकुटे कान्छा, उमेश राई अकिञ्चन, शिव मुखिया, आदि निकै लामा फेहरिस्त भेटिन्छन् ।

यात्राकार र कृति
लैनसिंह वाङ्देल—स्पेनको सम्झना (२०२०), युरोपको चिठ्ठी (२०१४) रोमको यौटा फूल र पेरिसको
यौटा काँडा (२०५७) मुलुक बाहिर म (२०६८)
डा. ताना शर्मा—वेलायततिर बरालिँदा (२०२६), पाताल प्रवास (२०४१)
मञ्जुल—सम्झनाको पाइलाहरू (२०४४), जाने होइन दाइ आलापोट (२०४७)
रमेश विकल—सात सूर्य एक फन्को (२०३४) निलगिरीको छायाँमा
निर्माेही व्यास—नौ पाइला (२०४६), ठोरीको एल्बम (२०४८) झलझली आँखामा (२०५१) साँचेको सम्झना (२०७०)
जय छाङछा—कंगारुको देशदेखि आइफल टावरसम्म (२०५२), चाँप फुल्ने पहाडमुन्तिर (२०५४) बादल रुँदाको जुरीच (२०५९) विव्ल्याँटो आकाशको धरातलतिर (२०६४)
सुलोचना मानन्धर—अर्काे गोलार्धका मनहरू (२०६९)
कुमार ज्ञवाली—देश परदेश (२०५४)
घनश्याम राजकर्णिकार—सम्झनाको लहरमा लहरिँदै जाँदा (२०५२) विदेशको यात्रा, स्वदेशको सम्झना (२०३७) यात्रा अमेरिकाको, माया नेपालको (२०७०)
लिल बहादुर क्षेत्री—बसाइँ (१९५७), ब्रह्मपुत्रको छेउछाउ (१९८६)
प्रा.डा. गोविन्दराज भट्टराई— एक्लै एक्लै एक्लै (२०५९) सँगै बसुँ यो रात (२०६४) गोधुलीमा दश पाइला (२०६४) मिर्मिरेमा दश पाइला (२०७०)
प्रतिक ढकाल—हिमालपारि पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधार शिविरबाट (२०६४), चीनको विचित्र चित्र (२०६६), पाइतालाका छापहरू (२०६६), गण्डकीको मुहानतिर (२०६४)
हिरण्य भोजपुरे—सगरमाथाभन्दा माथि, अमेरिका ओ अमेरिका (२०६९)
गोविन्द गिरी प्रेरणा—फेरो (२०५३) टिष्टाको किनारै किनार (२०५५) गुडबाई अमेरिका
डा. रामदयाल राकेश—देश विदेश (२०६४)
गणेश रसिक—दसगजामा उभिएर
भिष्म उप्रेती—यात्राका केही थुँगा फूल (२०४६) निलोपानी र निला भावनाहरू (२०५५), एकपटक टोकियो (२०६९)
पूर्णप्रकाश नेपाल यात्री—सेतीको नालीवेली (२०३४) नियात्राको सुसेली (२०३९)
सुधा त्रिपाठी—बादल, धर्ती र आस्थाहरू (२०५०) जीवन सुत्र र स्वप्नाभाष (२०५३
विजय चालिसे—अप्रिलको वेलायत (२०४५)
मदनमणि दिक्षीत—बर्लिनको डायरी (२०४१)
युवराज नयाँघरे—अनाम पहाडमा फनफनी (२०६२) घामको चुम्वन (२०६८) ह्वाइट हाउसको घामपानी (२०७०)
कृष्ण धराबासी—शरणार्र्थी (२०७०) गेष्टाफो (२०७०) कागजको मान्छे (२०७०)
देवेन्द्रराज भट्टराई—मरुभूमिको डायरी (२०६८)
देवेन्द्र सुर्केली – आमुल परिवर्तनको बाटोमा (२०६३)
केदार संकेत—एथेन्सको झरी (२०६७)
ईल्या भट्टराई—लफबराको वरिपरि (२०६१) युरोप, एउटा नौलो परिवेश (२०६५)
इश्वरी प्रसाद मानन्धर—लण्डनदेखि बद्रीनाथसम्म (२०५२)
विश्वासदिप तिगेला—गृहयुद्धको पीडा (२०६१) देश बोक्नुको पीडा (२०६४)
हरिकुमार श्रेष्ठको—अविरल यात्रा (२०६४)
प्रमिला शर्मा—सम्झनाको झरी अमेरिकामा घरिघरि (२०६२)
श्यामल—रित्तो गाउँ (२०७०)
तुलसी प्रसाद भट्टराई—हामी सुखी छौँ तर खुशी छैनौँ (२०६८) फड्के तर्दातर्दै (२०६७)
श्रीओम श्रेष्ठ रोदन—अर्थहिन अर्थहरू (२०५४)
प्रदिप नेपाल—पाइला टेकेर विदेशमा (२०६९)

चर्चित फुटकर यात्रा सिर्जना:
सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’, क्षेत्रप्रताप अधिकारीको ‘नयाँवर्ष’, डा. ताना शर्माको ‘धनघस्याको उकालो काट्दा’ (नियात्रा), भानुभक्त आचार्यको ‘कान्तिपुरी नगरी’, तेजेश्वरबाबु ग्वंगको ‘मेरो भक्तपुर’ (कविता), श्रवण मुकारुङको ‘गाउँ र आमा’ (कविता), रमेश क्षितिजको ‘वर्लिनको साँझ’ (कविता), मनुमञ्जिलको ‘एउटा गाउँले बालक सम्झेर’(कविता) राजन मुकारुङको ‘हाट जाने अघिल्लो रात’ (कविता), शैलेन्द्र साकारको ‘सनफ्रान्सिस्को, इन्द्र बहादुर राईको ‘खीर’ (कथा), विपी कोइरालाको ‘सिपाही’ (कथा), इन्द्र नारथुङेकोे ‘शून्य शून्य कोतराया’ (कविता) आदि ।

संघार
मानव आफ्नो जीवन रक्षा, अस्तित्व र पहिचानको खातिर एक ठाउँबाट अर्काे ठाउँ जाने शिलशिला परापूर्व कालदेखिकै हो । प्राकृतिक प्रकोप र विषम परिस्थितिले यसलाई ठूलो प्रभाव पार्दछ । घाम, पानी, खडेरी, झरी, वर्षा, भेलबाढी, आँधी, जाडो, हिमपात, भुकम्प, सुनामी, रोगव्याधी, युद्ध, दुर्घटना आदिले उलटपुलट गर्दछ ।

असिमित चाहना एवं असन्तोषको कारण मान्छे एक शैली, संस्कृति, दर्शन, सिद्धान्त, समाज र देशमा अटाउँदैन र विचरण गर्छ अन्य मुलुकतिर । पृथ्वीदेखि बाहिर अन्तरिक्षतर्फ जस्तै ः चन्द्रमा, मंगल ग्रह आदि प्रस्थान गर्ने होडबाजीमा छ मान्छे । यो मानव विकास यात्रा हो जो अनन्त चलिरहन्छ, बढिरहन्छ निरन्तर । अविरल युग–युगान्तर । सृष्टी चलिन्जेल । यात्रा दर्शनको दृष्टिकोणले हेर्ने भने संसारै गतिशील छ । जीवन गतिशील छ । कुनै पनि चिज स्थायी हुन्नन् जस्तैः धनसम्पत्ति, इष्टमित्र, आफ्नै जीवन र चेतना पनि ।

यदि यो गतिशील नभए जड भएर धर्तीमा यता उता गरीरहन्छ ढुङ्गा, धुलो, पत्कर सरह । यात्रा साहित्यमा केवल यात्राकारको निजी जीवन अनुभव, अनुभूति र विचार वर्णन मात्र हुन्न । उसले बाँचेको समय, परिवेश, घटनाक्रम पनि सशक्त रूपमा जीवन्त र यथार्थ भएर प्रतिविम्वित हुन्छ । यही नै यात्रा साहित्यको शक्तिशाली पाटो हो । यसभित्र स्थानीय रीति–रिवाज, इतिहास, प्रकृति, जनश्रुति, आर्थिक अवस्था, चेतनाको अवस्था आदि अनेक विषयमा लेखकले स्थानीय धारणासमेत उल्लेख गर्न सक्छ ।

जसले पाठकीय उपयोगिताका साथै विश्वसनीयताको समेत कार्य गरेका हुन्छन् । यसको महत्व र सान्दर्भिकता सर्वकाल हार्दिक रहिरहनेछ, सर्जकको जीवन मृत्युपर्यन्त पनि । पुस्तौँ पुस्ता अनमोल, विशिष्ट र अमर वैभव बनेर सजिरहन्छ । सजिरहन्छ इतिहास भएर । जय यात्रा साहित्य ! स्यामुना !

श्रोत सामग्री:
१) स्पेनको सम्झना (२०२०) लैनसिंह वाङदेल,
२) अनेसास स्मारिका (२००८) मलेसिया,
३) युवामञ्च (असोज–मंसिर २०४६),
४) मधुपर्क (२०५५ फगुन अंक १०, वर्ष ३१),
५) डायस्पोरा र नेपाली डायस्पोरा साहित्य (कार्यपत्र २०७०) पुरन राई,
६) कोलम्बस, आइन्सटाइन, ग्राहम वेल, टेगोरको जीवनी,
७) डा. गोविन्दराज भट्टराई, मिर्मिरेमा दश पाइला (२०७०)
८) विविध पुस्तक, शब्दकोष, फेसबुक आदि ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...