साइनो (कथा) - Naya Online

साइनो (कथा)

जनकऋषि चाम्लिङ राई

उसले छोरालाई ‘नमस्ते’ गर्न लगाउँदा मेरो पहिलो उपस्थिति थियो, त्यो घरमा । त्यो उपस्थिति पनि उसैले कर गरेर भएको हो । साँच्चै भन्ने हो भने म पनि चाहन्थे कि उसले मलाई उसको घर लान कर गरोस् र म उसको घर जान सकुँ । त्यसपछि मेरो उपस्थिति त्यस घरमा निरन्तर रहोस् ।

उसले मलाई घर लान किन मरिहत्ते गरिन्, म उसको मनोविज्ञान बुझिरहेको थिएँ । सायद, उनीले पनि बुझेकी थिईन् होली । चिनजान नै नभएको एक्लो घरमा म किन आउन राजी भएँ । हाम्रो भेट खासै पुरानो पनि होइन । अझ भनौं न चिनेको नै महिना दिनमात्र भएको थियो । महिना अगाडिसम्म न त देखादेख थियो न त कुनै औपचारिक चिनजान । सात पुस्ता केलाउँदा पनि कुनै साइनो सम्बन्ध नपर्ने । तर, घनिष्ठ बनिसकेका थियौं–एउटा मनोविज्ञानले ।

मैले यत्तिमात्र सहयोग गरेको थिएँ । उनीलाई कि, उसको छोराको शल्यक्रियामा मैले रगत दिएको थिएँ । त्यसबेला रक्त सञ्चार सेवामा रगत अभाव थियो । चौकको क्लबले मेरो मोबाइल नम्बर दिएपछि उनीले मसँग रगतको याचना गरेको थिइन् । रगत अभावको समयमा मैले दिएको रगतले उनको छोराको ज्यान पनि बचेको थियो । भन्न त त्यसबेला नै भनेकि थिइन्–‘तपाईंले रगत दिनु भयो अब त तपाइँ पनि त्यसको बुबा बन्नुभो ।’ निकै कर गरेर एक बोतल बियर खान लगाएर फलफूल किनेका झोला मेरो हातमा थमाइदिएकि थिइन् । यही नै हो महिना दिन अगाडिको भेट । त्यसपछि फोनमा कुराकानी हुने गथ्र्यो–श्रीमान बिदेशमा भएको, अहिलेसम्म घरखर्च नपठाएको, आफू पनि विदेश जान लागेकोले पासपोर्टसम्म बनाएको कुरा ।

000

आज पहिलो उपस्थिति हो मेरो त्यस घरमा । बेलुकीको खाना खानेगरि बोलाएको हुनाले अलि साँझ पारेर कोठामा पुगेको थिएँ । बोलाएको समयभन्दा आधा घण्टा ढिलो गरेर पुग्दा उनको कोठाको बत्ति बलिसकेको थियो । त्यो हाम्रो पहिलो औपचारिक भेटमा मलाई पत्याएकी थिइनन् रे म अविवाहित भन्ने कुरा । उनले ढोकाबाटै भनिन् –‘भाउजूले आउन दिनु भएन कि क्या हो ?’ मलाई के लाग्यो भने उसले यो कुरा उनीसँगै डेरागरि बस्ने उनको छिमेकीलाई सुनाउनको लागि पनि थियो कि उसको घरमा बेलुकी अविवाहित केटा आउनु छिमेकीकोलागि फुर्सदमा गफ गर्ने मेलो बन्थ्यो । सायद, यही भएर पनि उसले मेरो ढिलो अनुपस्थितिलाई भाउजुसँग जोडेर सम्बोधन गरिन् । यसो गर्दा छिमेकीलाई कइरन हुन्थ्यो– हाम्रो साइनोको ।

मैले रगतमात्र दिएँ तर देखेको थिइन उसको छोरा कस्तो छ ? उनीले छोरालाई बोलाईन् र भनिन्–‘नमस्ते गर, अङ्कललाई ।’ पाँच वर्षको छोरो दौडेर आयो । र, आमासँग ढेसिएर लाज मानीमानी उभियो । बालक स्वभाव उसले आप्mनै लयमा जिब्रो निकाल्दै आमाको लुङ्गीको फेर समातेर लुकेर हेर्यो । अहँ, तर नमस्ते गरेन । उनी मतिर हेरेर भन्दै थिइन्–‘हेर्नु न दाइ, यो त जंगली छ । मान्छे नै नदेखे जस्तो ।’

मैले गोजीबाट ‘जंक फुड’को पोका नानीलाई दिएँ । उभिरहेको आमाको लुङ्गीको फेरबाट नै आफुलाई लुकाउँदै नानीले मेरो हातबाट थुतेर लग्यो । उसले यति छिटो त्यो पोका थुत्यो कि मैले अनुमान नै गरेको थिइन । नानी पोको बोकेर दौडदै बाहिरियो । मलाई उसको थुताई मजा लाग्यो एउटा बालसुलभ व्यवहार । म पनि सानोमा एकदमै लजालु थिएँ रे आमाले भन्नु भएको कुरा–पाहुना आउँदा साइनो अनुसार ढोगेर भागिहाल्थेँ रे पाहुनाले ल्याइदिएको खानेकुरा भाइलाई थाप्न पठाउँथे रे मलाई मेरो पुरानो कुराको सम्झना गराईदियो उसकी नानीले । नानी दौडेर बाहिर गएपछि अलिक जिस्किने पारामा भनिन्–‘ऊ..ऽ..ऽ…त्यस्तो पो छ है तपाइँको छोरो ।’ उनी पनि हाँस्दै बाहिरिइन् । अनुभूत गरिन् होली, नबोल्ने कुरा बोलेँ भनेर ।

झ्यालमा झुण्डाएको फोटो हेरेर अनुमान गरेँ फोटो श्रीमानश्रीमतीको हो । नानीसँग ठ्याक्क अनुहार मिल्दोरहेछ, उनको श्रीमानको । मैले वातावरण मेरो अनुकुल बनाउनको लागि जिज्ञासा राखें– ‘नानीको बाऊ उहाँ नै हो भन्ने कुरामा दुईमत छैन । अनुहार ठ्याक्क मिल्छ ।’

‘त्यो फटाहासँग अनुहार मिलेपनि त्यसको जस्तो बिहोरा नमिलोस् मेरो छोराको ।’

यसरी ‘त्यो’ शब्द भनेर सम्बोधन गर्दा उनीहरूबीच सम्बन्ध राम्रो नभएको अनुमान गरेँ । दुई वर्ष भयो रे श्रीमान् विदेशिएको, दुई वर्षमा चार पटक गरेर जम्माजम्मी एक लाख पैतिस हजार पठाईदिएको रे इत्यादि । उनी भन्दै थिइन् ‘नानीलाई पढाउनु पर्यो, घरभाडा तिर्नु पर्यो, दुःख बिराम पर्छ त्यसको एकलाखले पुग्छ । कति दुःख खपेर बसेको छु ।’

उनीले मेरो अनुहारमा हेरेर अलिक लजाएजस्तो गरि मुसुक्क हाँसिन् । यो हाँसो उनी आफैले बोलिसकेको ‘कति दुःख खपेर बसेको छु’ भन्ने शब्दपछिको मौनतालाई तोड्नको लागि थियो । किन हाँसिन् ? भन्ने कुरा पहिले त बुझिनँ । पछि अनुमान गरें–उनले बोलेको ‘कति दुःख खपेर बसेको छु’ भन्ने शब्दले उनलाई बढी लज्जावोध गराएको थियो । सायद, त्यही भएर पो हाँसेकी हुन् कि ?

000

‘उहाँ नै त हो नी मेरो छोरालाई रगत दिने ।’ उसले पल्लो कोठाको अधबैंसे महिलासँग मलाई चिनाइ दिई । मैले नमस्ते गरेँ, ति महिलाले पनि उसैगरि फर्काइन् । दुईबीच अलिक टाढाको साइनो अनुसार सासु–बुहारी पर्ने रहेछ, ति अधबैसें महिलाको सम्बोधनबाट थाहा पाएँ । ति महिलाले भनेकि थिइन्–‘हेर्नु न नानी, भतिजो विदेश गएको खोजखबर पनि छैन । यस्तो बेला धन्न मेरो नातिको जिऊ जोगाईदिनु भयो ।’ पहिलो आगमन भनेर होला मेरो लागि वियर ल्याईदिएकि थिइन् । मैलेपनि हार्दिकता साट्न अर्काे गिलास मागेर अधबैँसे महिलालाई पनि दिएँ, ति महिलाले ‘पर्दैन’ भन्दै थिइन् । अधबैँसे महिलाले मेरो बारेमा यतिधेरै सोधखोज गरे कि मैले त्यसरी सोधखोज हुन्छ भनेर कल्पना नै गरेको थिइँन । उनी कुराकानीको सिलसिलामा यो पनि भन्न छुटाउँदैनथे कि ‘मेरो त बानी नै यस्तो हो, नरिसाउनु है ।’

मैले ति महिलालाई सुरुमा त ठानेँ यी त हनुमान ढोकाको केरकार शाखाको हवल्दार हुन् कि क्या हो ? तर, जतिबेला उहाँले कुरा गाँठो पार्नुभो त्यसपछि भने मेरो सारा शङ्का हट्यो । मैले त सोचेको थिएँ यी महिलाले श्रीमान् नभएको घरमा आउनुको उदेश्यलाई शङ्का गरेर सोधेको होलाजस्तो लागेको थियो । कुरालाई गाँठो पार्दै भनेकि थिइन्–‘हेर्नु न नानी, के पर्छ पर्छ परदेशको माम्लो ? तपाइँ खोटाङकै ‘रोदुङ’(१) रहेछ, मेरो माइती पनि खोटाङ नै हो । मेरो माइती गाउँको मान्छे भएपछि नानी त मेरो माइती नै हो नि केही सारोगारो प¥यो भने तपाइँलाई सम्झन्छौँ है ।’ ति महिलाले अनेकथरि सोधेर साइनो लाउन खोजे पनि साइनो नपरेपछि मलाई ‘गाउँले माइती’ भनेकी थिई ।

मैले पनि किराती संस्कार अनुसार नै ‘नाना’(२) मानें र नमस्कार गरे । नानाले भन्दै हुनुहुन्थ्यो– ‘बाटोमा भेट्दा बोल्नु है नानी ।’

राति नौ बजेसम्म गफिएर बस्यौं । त्यसबेलासम्म ति अधबैँसे महिला आफ्नो कोठामा गइसकेकि थिइन् । मपनि विदा मागेर जुत्ता लगाउँदै थिएँ, लोड सेडिङको कारणले विजुली गयो । उसले सुस्तरी भनिन्–‘एकछिन बस्नु न । लाइन आएपछि जानु ।’ अधबैसें महिला पनि मैन बत्ति बालेर बाहिर निस्कदैँ भनिन्–“नानी लाइन पनि गयो, एकछिन बस्नु लाइन आएपछि जानु ।’

त्यसपछि अधबैसें महिलाले हकार्दै उनलाई भनिन्–‘पारुको आमा तिमी त कस्तो मान्छे, पाहुनालाई बाहिर राखेको ।’

‘उहाँले जान्छु भनेपछि के गर्नु त ?’

‘त्यो त तिमीले पो जान्नुपर्छ । फेरिफेरि काम लाग्ने मान्छेलाई एकैपटकमा काबु बनाउँछ ।’ मतिर हेरेर बोलिन् ‘नानी, अहिलेको आइमाईसँग नि नानी सोमत नै हुँदैन ।’

मैले त्यसबेला थाहा पाएँ छोराको नाम पारु रहेछ । मेरो अनुमानमा पारुहाङ नाम होला सजिलोको लागि पारुमात्र भनिएको होला । नामको सवालमा बाँकी थियो–सोध्ने कुरा । मैले अनेक गर्दा पनि उसले नाम भनेकि थिइनन् । ‘भेटमै भनौंला’ भनेर टारेकि थिइन् । आजभने नाम सोध्ने मौका जुरेको थियो ।

मैले नाम सोधें, उसले उसैगरि भनिन्–“किन चाहियो र नाम ? तपाइँलाई जे प्यारो लाग्छ त्यहि नै भन्नु नि ।’ वर्षाै देखिको निकट्ताजस्तो लाग्ने शब्दले मलाई अलिक बढि हौस्यायो । उनले चलाउँदै गरेको मोबाइल थुतेँ र नाम हेरेँ – स्वस्तिका ।

उनीले भनिन्–“अर्काको थुत्न त जान्ने हुनुहुँदोरहेछ ?’ उनले मलाई प्रयोग गरेको अघिल्ला शब्दहरू–मलाई नानीको बुबा मानेको, श्रीमान्लाई त्यो भनेको, दुःख खपेर बसेको छु भन्दै हाँसेको तथा थुत्न जान्ने भनेको शब्दमा मैले ‘खालि ठाउँ’ देखिरहेको थिएँ । उनका सबै कुरामा मैले किन खाली ठाउँ देखिरहँे, म आफै अचम्मित छु । उसैले जानजानी खाली ठाउँ छोडिदिएका हुन् कि मेरो अविवाहित मनोविज्ञानले मलाई त्यो खाली ठाउँ देख्ने बनाएको हो, म अलमलमा परिरहेको थिएँ ।

मैले उनको मोबाइलको ‘म्यासेज’हरू हेर्न ‘फोल्डर’ ओपन गर्दै थिएँ, छेवैमा उभिएका उनी मोबाइल तान्ने निहुँमा मसँग ढेसिइन् । त्यो ढेसाई अलि अनावश्यक थियो । यद्यपि मैले पनि दिन नमाने जस्तो गरेँ, मैले त्यसो गर्नुको रोमान्चकता अर्कै थियो । सायद, हामीले एकअर्कालाई पढिसकेका थियौँ । उसले म्यासेज नहेर्न अनुरोध गर्दै मसँग ढेसिए । म जसरी भए पनि म्यासेज हेर्ने आग्रहपूर्ण अडानमा थिएँ । मेरो आग्रहमा मादकताको अंश थियो, त्यसलाई स्वस्तिकाले पनि अनुभूत गरिन् होली । त्यसबेला म सबै संरचना छिचोलेर खुल्ला मैदानमा आएको खेलाडी झैँ भएको थिएँ । कति सहजै प्राप्त भएको अवसर झैँ थियो, त्यो परिवेश ।

हाम्रो सासे बोली पल्लो कोठाको महिलाले सुन्छ भनेर उत्तिकै त्रसित थियौँ । मैले नै मोबाइल छोडिदिएँ । यहीबेला बिजुली पनि आयो । उ अझै मसँग ढेसिएकी थिइन् ।

000

उसले तीजको निम्तो भनेर बेलुकी फलाहार गर्न बोलाएकि थिइन् । रातो साडीचोलीले सजिएकी उनी क्यासेट लगाएर तीन चारजना साथीहरूसँग नाच्दै थिइन् । पल्लो कोठाको नाना भने नाचमा उत्साह भर्न थपडी बजाउँदै थिइन् । त्यो रमझम मैले बाहिरबाटै थाहा पाइसकेको थिएँ ।

गाउँको माइती भाई भएकोले मैले नै नानालाई नमस्ते गरेँ । ‘मेरै कोठामा बस्नु नानी, यता त हल्ला छ ।’ स्वस्तिकाले कोठामा हल्ला भएकोले मलाई नानाले उहाँको कोठामा बस्न आग्रह गर्दै भन्दै थिइन्–‘ह्यामख्यादा झारा ओदा हिङेइन्ने । त्यँदा कादिम कासिपचु हिङे ।”(३)

‘प्रसाद खाँदै गर्नु है नानी ।’ यतिभनेर नानाले मलाई एक्लै छोडेर स्वस्तिकाको कोठामा लाग्नु भयो । मैले सुनिरहेको थिएँ क्यासेटको गीतमा स्वस्तिकाले पनि लय थपिरहेको थियो ।

000

‘म विदेश जाने तपाईँले के सहयोग गर्नुहुन्छ ?’ स्वस्तिकाले यो प्रश्न मलाई फोनबाट गरेकी थिइन् । म सामान्य कर्मचमरी मान्छे, मैले जवाफ दिएको थिएँ –‘तिम्रो राजश्व सबै छुट गरिदिन्छु ।’

स्वस्तिका आफैले ‘तिमी’ भनेर सम्बोधन गर्नु भनेकोले मैले उनीलाई ‘तिमी’ नै भन्न थालेको थिएँ । म त्यो घरमा दोहोरिएर सातामा एकपल्ट कुनै पनि बहानामा पुग्थेँ । तर कहिले पनि पारुले मलाई नमस्ते गरेन । उनले मलाई नमस्ते नगर्दा मैले कहिले पनि नराम्रो ठानिन, उसको स्वभावलाई बाल सुलभ मनोविज्ञान ठानेँ । मैले धेरै कोशिश गरेँ, पारु मसँग झ्याम्मिएन पनि । मैले दिएको खानेकुरा उसैगरी थुतेर लान्थ्यो र आमाको लुङ्गीको फेर समातेर मलाई लुकेर हेथ्र्यो । पारुको यो स्वभावलाई स्वस्तिकाले भन्थिन् –‘नयाँ बाउ भएकोले लाज लागेको होला, बोल्न ।’

हाम्रो निकट्ता एकापसलाई दिनमा एकपटक फोन गर्नै पर्ने दैनिकीजस्तो भएको थियो । जीवनको घोषित लय जस्तो लाग्ने यो क्रियालाई निरन्तरता दिन मैले धेरै साथीहरूलाई पैसा सापटी मागेर स्वस्तिाकासँग रेष्टुरेण्टमा खाजा खान गएँ । अत्तर छर्केर आफैलाई किन सुगन्धित बनाएँ ? सहकर्मीलाई आफैले जवाफ दिन नसक्ने पनि भएको थिएँ । पासपोर्ट बनाउने भनेर स्वस्तिकालाई दिएको पाँच हजार नफर्कने सापटीको सूचीमा किन पहिले नै राखेँ यो पनि थाहा छैन । मेरो चेतन मनले गरेको सबै क्रियाकलापको जवाफ मसँग नै थिएन । म डुब्दै थिएँ स्वस्तिका जमेको गहिराईमा ।

000

चिया पसलमा साथीहरूसँग उभिएर कुराकानी गरिरहेको बेला गरेको नमस्तेले हतप्रभ बनायो । मैले सोचेको पनि थिइँन, पारुले मलाई त्यसरी नमस्ते गर्छ भनेर । विद्यालय छुट्टि भएर साथीसँग घर फर्कदै गरेको पारुको यो नमस्तेले मलाई त्यसबेला अचम्मभन्दा बढी अप्ठ्यारो बनाएको थियो ।

मसँग उभिएका साथीले भनेको थियो– ‘कस्तो कल्चर्ड नानी रहेछ ।’

त्यस बेलुकी म सोचीरहेँ पारुको नमस्ते । हिजोको रातमात्र मैले स्वस्तिकालाई पुरुष हुनुको प्रमाण दिएको थिएँ । मध्यरातमा मैले प्राप्त गरेको बिजयसँग बेखबर पारु थिए । मन परेर नै बियरले गन्हाएको सासलाई स्वस्तिकाले स्वीकारेकी थिइन् । र, उसको लोग्ने र मेरो अस्तित्वको भेद समाप्त पारिदिएकी थिइन् ।

हिजोको यो घटना नै पारुले नाङगो उतारी दिए जस्तो लाग्यो । उनले दिएको सममानले म सयौँ पटक लछारिएँ । मेरो आत्मबोधले मेरो शरीरलाई आज ओडार मान्यो । मलाई पारुले नमस्ते गरेको कुरा मैले स्वस्तिकालाई सुनाइनँ ।

शब्दार्थ:
१.आफ्नै जातको या एउटै जाति वा समुदाय
२.दिदी
३.परदेश हो सबै एकै ठाउँमा छौँ । त्यहाँ कामी दमाई पनि छ क्या ।
(प्रयोग भएका शब्द किराँत राई चाम्लिङ समुदायका भाषा हुन् )
(कथाकार नेपाल पत्रकार महासंघ, सुनसरीका वर्तमान अध्यक्ष हुन् । )

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...