एनआरएनए जापानको १०औं महाधिवेसनको नालीबेली - Naya Online

एनआरएनए जापानको १०औं महाधिवेसनको नालीबेली

शिशिर निङ्लेकु थक्साङ

विषय प्रवेशः
एनआरएनए जापानको १० औं महाधिवेसनको चुनाव जूलाई ३० तारिख तदनुरूप २०७८ साल श्रावण १५ गते शुक्रवारको दिन सम्पन्न भयो । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म मदतानको समयावधि तोकिएको थियो ।

मतदाताको ठेगाना, इमेल आइडी र मोबाइल नम्बरलाई आधार मानी इन्टरनेट प्रविधिमार्फत मतदान गर्न सकिने प्रणाली विकास गरिएको थियो । एनआरएनए जानिफकारहरू पेपरब्यालेट ढिला, भद्दा, बढी जनशक्ति चाहिने र कम भरपर्दो भएको हुँदा इन्टरनेट प्रविधिमार्फत मतदानको ब्यबस्था गरिएको बताउँछन् ।

चुनावअघिको एनआरएनए जापानः
एनआरएनए जापानको १०औं महाधिवेसनको संघारमा अध्यक्ष देवीलाल भण्डारीलाई आर्थिक घोटाला, संस्थागत बेइमानी र संस्थाको शक्ति दुरूपयोग गरेकोलगायत दर्जनौ आरोपहरू सामना गर्नुपर्यो । कार्यस्थलमा काम गर्दा–गर्दै नेपाली कामदारको मृत्यू भएको र सो घटनाको क्षतिपूर्तिसहित जीवनवीमाबाट मृतक परिवारले पाउने रकम हिनामिना गरेको आरोप तत्कालीन अध्यक्ष देवीलाल भण्डारीले खेप्नुपर्यो ।

उक्त घटनालाई लिएर एनआरएनए जापानमाथि तीव्र्र जनदबाब र चर्को आलोचना भएपछि संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा अनुसन्धान समिति गठन भयो । अनुसन्धान समितिले करिब दुईमहिनाको अनुसन्धानपछि एनआरएनए जापानमा आर्थिक अनिमियतता, बेइमानी र लेखाप्रणाली चुस्त र दुरुस्त नभएको प्रतिवेदन सार्वजनिक गर्यो ।

तर, को ? अध्यक्ष रहँदा कति रकम भ्रस्टचार भएको थियो ? कुन समयअवधिमा कति रकम बेरुजू हो ? लेखाप्रणाली ठिक नहुनुमा को दोषी ? आदि विषयमा मौन देखियो प्रतिवेदन । यसैबीच तत्कालीन कार्यसमितिको बहुमत सदस्यहरूले अध्यक्ष देवीलाल भण्डारीलाई अध्यक्ष पदबाट पदमुक्त गराउदै वरिष्ठ उपाध्यक्ष अनिता गुरुङलाई कार्यवाहक अध्यक्ष तोक्यो ।

३१ सदस्यीय समितिमा २२ जना अध्यक्ष देविलाल भण्डारीलाई कारबाही गरी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङलाई कावा मानेर जाने लाईन देखियो भने बाँकी ९ जना अध्यक्ष देवीलाल भण्डारीकै पक्षमा अडिग रहे ।

यी दुई पक्षबीच जुहारी चल्ने र प्रेस वक्तब्य निकाल्ने होडबाजी नै चल्यो । अन्ततः अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)ले दुवैपक्षलाई मान्यता दिएन बरु एनआरएनए जापानको १०औं महाधिवेसनमा समन्वयकारी भूमिकाको लागि पूर्वअध्यक्षहरू सम्मिलित अध्यक्षमण्डल गठन गरिदियो । भाडभैलोहरूको बीच १३ जुलाई २०२१मा निर्वाचन समितिले (नेत्रप्रसाद भण्डारी र ऋषव पौडेल) १० औं महाधिवेसनको लागि अन्तिम मतदाता कुल ९,३९४ जना रहेको सूचना नामावलीसहित सार्वजनिक गरेको थियो ।

रंगीन कथा नै कथाहरूको बीच क्षेत्रीय समितिहरूको चुनावहरू सकाउदै जूलाई २५ तारिख एनआरएनए जापानले ओसाकामा १० औं महाधिवेसनको खुलासत्रको कार्यक्रम गर्ने तय गर्यो । जूलाई २५ मा खुलासत्र र उम्मेदवारहरूबीच सहमति खोज्ने र सहमति नभएको हकमा जोलाई २७ मा चुनाव गराउने कार्यतालिका थियो ।

जूलाई २५ मा सहमति जुट्नु र जुटाउनुको सट्टा पाखुरा सुर्काइ र छाती पिट्ने काम भयो । तत्कालीन महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारितसम्म नभई अन्योलको बीच खुलासत्र सकिएको घोसणा गराएर चुनाव जूलाई ३० मा गर्ने मिति सार्ने काम भयो । चुनावको तयारी सबै सकिसकेको अवस्थामा तीनदिन किन ? र के का लागि सारियो ? यसको जवाफ कसैसँग छैन । यो आफैँमा रहस्यमय विषय बन्न पुग्यो ।

यसबिचमा आर्थिक घोटालाबारे प्रस्ट जवाफ दिएर मात्र चुनाव गरियोस् भन्ने जापानबासी नेपालीहरूको आवाज बलियो थियो । स्मरण रहोस्, नेपाल आदिवासी जनजाति महासंघ जापानले पनि आर्थिक घोटालाबारे एनआरएनए जापानले चित्तबुझ्दो जवाफ दिएर मात्र चुनाव गराउनु बुद्धिमानी हुने निष्कर्षका साथ जूलाई २२ मा ९ वुँदे सुझावपत्र पेस गरेको थियो ।

चुनावी मतपरिणामः
३० जूलाई २०२१, जापानको समय अनुसार बिहान १० बजेदेखि मतदान सुरु भई बेलुकी ८ बजे मतदान समय सकिएको थियो । एनआरएनए जापानको फेसबुक पेजबाट बिहान १० बजेलगत्तै ३०% मत वा कुल मत संख्याको ३ प्रतिशत मतदान भएको सूचना सार्वजनिक गर्यो र १० बजेर ३५ मिनेट जाँदा ४९८ मत (५%) मतदान भएको सूचना सार्वजनिक गर्दै अर्को सूचना ११ बजे सार्वजनिक गर्ने जानकारीसमेत उल्लेख गरेको थियो ।

७% अथवा ६४३ मतदान ११ बजे, २२% अथवा २०३७ मतदान १२ बजे । दिउसो १२ बजेदेखि १ बजेको बिचमा निर्वाचन समितिले एउटा सूचना सार्वजनिक गरेको छ । जसमा मतदानको रिमाईण्डर मेसेज अपरान्ह १ बजे, ४ बजेर साँझ ७ बजे गरिने र बेलुकी ८ बजे मतदान अन्त्य हुने उल्लेख गरिएको छ ।

सूचनामा उल्लेख छ –“अहिलेको स्थितिसम्म, १००० भन्दा बढि मतदाताहरूको इमेल र फोनमा मतपत्र पठाईएको तर फर्केर आएको देखिन्छ । यो समस्या मतदाताहरूको साइडमा सर्भर या फोन सिस्टमको समस्याका कारण हुन सक्छ र हाम्रो तर्फबाट केहि पनि गर्न नसकिने कुरा फेरि पनि जानकारी गराउन चाहान्छौं ।”

निर्वाचन समितिको सूचना अनुसारको समयमा मतदानको जानकारी वा रिमाईण्डर मेसेज नआई एक–एकघण्टामा मतदानको जानकारी भइरहयो । क्रमशः दिउसो १ बजे ३५१२ मत (३७%), २ बजे ४७६१ मत (५१%), ३ः३० बजे ५९०८ मत (६३%), ४ः३० बजे ६६८३ मत (७१%), ७१४२ मत (७६%), साँझ ६ः३० बजे ७३६४ मत (७८%), ७ः३० बजे ७६२५ मत (८१%) र ८ बजे ७७५७ मत (८३%) मतदान भएको र विजय हुने नामावलीहरू पनि एकैसाथ सार्वजनिक गर्यो ।

आजको मतदानमा, कुल मतदाताहरूमाई मेलमा मतपत्र लिङक पठाइएका मतदाता संख्या ९३१७ जना, मोबाइल फोनमा एसएमएस मतपत्र लिङ्गक पठाइएका मतदाता संख्या ८,३३२ र इमेल तथा एसएमएस दुवै पठाउन नसकिएका मतदाता संख्या ११६० जना रहेको सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

जूलाई ३० को निर्वाचन विधिप्रति तीव्र असन्तुष्टिः
१. निर्वाचन समितिको मनोमानी
निर्वाचन समितिले हतासिएर सूचनाहरू सार्वजनिक गर्ने । सार्वजनिक भएको सूचनाअनुसार कामकारवाही भएको पाइदैन । निर्वाचनसम्बन्धि जारी गरिने सूचनाहरूबारे सरोकारवाला र उम्मेदवारहरू जानीकारक हुनुपर्छ । उम्मेदवारहरूको आमसहमतिमा निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्नु उसको कर्तब्य हो ।

तर, निर्वाचन सुरु भएपछि निर्वाचनसँग सम्बन्धित सूचना जारी गर्ने काम जूलाई ३० मा निर्वाचन समितिले गरिरहेको थियो । जस्तै, निर्वाचन समितिले जूलाई ३० तारिख दिउसो १२ बजेपछि रिमाईण्डर मेसेजर १००० मतमतदाताबाट फर्की आएको सूचना जारी गरेको छ ।

निर्वाचनको दिनभन्दा अघि नै निर्वाचनको ताजाविवरण कतिसमयको अन्तरालमा सार्वजनिक गर्ने ? कसको हस्ताक्षरमा सार्वजनिक गर्ने ? कुन माध्यमबाट सार्वजनिक गर्ने आदि कुराहरू निर्वाचन समिति र उम्मेदवारबीच आपसी समझदारी हुनुपर्दथ्यो त्यो नगरी निर्वाचन समितिको इच्छा अनुसार सूचना जारी गरीयो । फर्कीआएको १००० मतबारे के गर्ने ? भन्नेबारे निर्वाचन हुनुअघि छलफल गरिनुपर्दथ्यो । छलफल नै नगरी बिनासमझदारी जनमतमाथि खेलबाड गर्नु लोकतन्त्रमा अपराधसरह मान्न सकिन्छ ।

२. निर्वाचन समितिको तथ्याक आपसमा मेल खादैनः
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार कुल मतदाता ९,३९४ जनामा इमेलमा मतपत्र पठाएको मतदाताको संख्या ९,३१७ जना र मोबाइल फोनमा एसएमएस मतपत्र पठाइएका मतदाता ८,३३२ जना रहेका छन् । इमेल र मोबाइल फोनमा मतपत्र पठाउन नसकिएको संख्या १,१६० रहेको उल्लेख गरेको छ ।

कुलमतदाताबाट (९,३९४ जना) इमेलमा मतपत्र पठाइएका मतदाताको संख्या (९,३१७ जना) घटाउदा ७७ जनालाई मात्र इमेलबाट मतपत्र नपठाएको देखिन्छ त्यसै गरी कुल मतदाताको संख्या (९,३९४ जना)बाट मोबाइल फोनमा मतपत्र पठाइएका मतदाताहरूको संख्या (८,३३२) घटाउदा १,०६२ जना हुन आउछ । तर, निर्वाचन समितिले १,१६० जनालाई मतपत्र पठाउन नसकिएको सूचना जारी गरेको छ जुन रहस्यमय र तथ्यांकसँग मेल खादैन ।

३. भारतको उडिसाबाट मतदानः
भारतको उडिशा (udisha) भन्ने ठाउँबाट ४०२ मत मतदान गरिएको छ । चुनाव जापानमा हुने मत भारतबाट मतदान हुने ? यस्तो अचम्मको चमत्कार एनआरएनएको चुनावमा बाहेक अरू ठाउमा सायद हुँदैन । नेपाली समुदायलाई प्रतिनिधि गर्ने संस्थामा भारतबाट मतदान जो भएको छ त्यसको खोजिनीति गर्नु आमजापानवासी नेपालीहरूको कर्तव्य हो ।

४. एउटै आइपी एड्रेसबाट अधिक मत मतदानः
एकजना बराबर एक मत मतदान गर्न पाउने वा एकजना मतदाताको मोबाइल वा कम्प्यूटर (डिभाइस)द्वारा एक मत खसाल्न पाउने निर्वाचनको सामान्य नियम हो । तर एनआरएनए जापानले गरेको जूलाई ३० को चुनावमा एउटा डिभाइसबाट र एउटै लोकेशनबाट एकभन्दा बढी मत मतदान गरिएको प्रमाणहरू बाहिर आएका छन् ।

जापानको फुकुओकाबाट एउटै मात्र डिभाइस प्रयोग गरि १,०१८ मत मतदान भएको छ । त्यसैगरी जापानकै ओशाकाबाट १,०२५ भन्दा बढी एउटै डिभाइसबाट मतदान भएको प्रमाणसहित सार्वजनिक भएको छ । एउटैमात्र डिभाइस प्रयोग गरि मतदान गरिएको नगन्यमात्रामा छन् ।

५. मतदानको रेसियो अप्राकृतिकः
बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्ममा मतदान भएको मतहरूको समयचाप हेर्ने हो भने सबैधन्दा अत्यधिक मतदान भएको समय दिउसो १२ बजेदेखि अपरान्ह ३ः३० बजे सम्मलाई मान्न सकिन्छ । अपरान्ह ३ः३० देखि मतदानको संख्या विस्तारै घट्दै गएको छ ।

मतदान भएको दिन जूलाई ३० तारिख शुक्रबारको दिन बहेको हुँदा विद्यार्थीहरू स्कूल वा अनलाइन अध्ययनमा ब्यस्त हुने र कम्पनीमा काम गर्नेहरू पनि दिउसो आ–आफ्नो काममा ब्यस्त भएको हुँदा यो आकडा प्राकृतिक छैन भन्न सकिन्छ । विदेशको ठाउमा काम नगरी कसैलाई सुख छैन । एनआरएनए जापानको मतदान गर्नलाई दशौंहजार बिदामा बसे होलान् त ?

सामान्यतया बिहान एकपटक पिकमा मतदान, दिउसो अलि कममात्रामा मतदान र साँझ ५ बजे आसपासमा फेरि पिकमा मतदान हुनुपर्ने हो भनि अनुमान गर्न सकिन्छ । एकनासले मतदान हुनु, मानिसहरू कम्पनीमा काम गर्दैगरेको बेला अधिकमात्रामा मतदान हुनुले मतदान खास व्यक्तिहरूले खास–खास ठाउँहरूबाट प्रतिस्पर्धिको झरेको मत हेर्दै आफु अनुकुल मतदान त गर्दै थिएनन ? शंका गर्ने प्रसस्त ठाउँ रहेको छ ।

६. मतदानबाट बन्चितः
१० औं महाधिवेसनमा मतदान गर्नलाई तोकिएको सबै प्रक्रिया पुरा गरि एनआरएनए जापानको साधारण सदस्य बनेको तर मतदान गर्नलाई निर्वाचन समितिबाट कुनै इमेल वा जानकारी प्राप्त गर्न नसकेको मानिसहरूको भिड छ ।

टोक्यो किता आकाबानेस्थित रहेको नेपाली रेस्टुरेन्ट ब्यबसायी सरु लिम्बू (नाम परिवर्तन)ले आफ्नो रेस्टुरेन्ट कर्मचारी र सपरिवार गरि ७ जनाले मतदानको लागि नाम दर्ता गरेकोमा ४ जनालाई मात्र मतदानको लागि इमेल आएको ३ जनालाई इमेल वा मोबाइल फोनमा केहि पनि जानकारी नआएको जानकारी दिनुभयो । मतदानको लागि ४ जनालाई मतपत्र प्राप्त भएपनि १ जनाको मतपत्र इमेलमा खोल्दा पहिला नै मत मतदान भएको (already voted) सन्देश इमेलमा प्राप्त भएको बताउनुभयो ।

७ जनाले मतदान गर्न चाहेकोमा ३ जनाले मात्र मतदान गर्न सफल बाँकी ४ जना मतदानबाट बन्चित गराइएको तथ्यले पुष्टि गर्दछ । त्यसैगरि, चिवाकोफुनावासी बस्ने बिक्रम लामा र बिरेन्द्र बिस्टको पनि मतपत्र प्राप्त नगरेको गुनासो सुनाउनु हुन्छ । प्रस्तुत व्यक्तिहरू प्रतिनिधि पात्रमात्र हुन् । मतपत्र प्राप्त नगर्ने मतदाताहरू हजारौको संख्यामा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

७. लोकप्रिय उम्मेदवारको अलोकप्रिय मत प्राप्तः
अध्यक्षपदका उम्मेदवार सरोज कुमार खत्रीले जम्मा १९१ मतमात्र प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको छ । १९१ मत कुल खसेको मत (७,७५७) को दुई दशमलव ५ प्रतिशतमात्र हो । अध्यक्ष पदको उम्मेदवार सरोजकुमार क्षेत्रीले मोबाइलको फेसबुक मेसेन्जरमा २०० जनाभन्दा बढी मतदाताले आफुलाई मतदान गरेको फोटो सुरक्षित रहेको दावी गर्नुहुँदै चुनावमा धाँधली बहेको अभिव्यक्ति सार्वजनिक गर्नुभएको थियो ।

९ औं महाधिवेसनमा अत्यधिकतमले वरिष्ठ उपाध्यक्षमा निर्वाचित अध्यक्ष पदको उम्मेदवार अनिता गुरुङले पनि १,८६९ मत मात्र प्राप्त गर्नुभयो । जुन कुलमतको २४ दशमलव ७ हो । एनआरएनए जापानमा लामो समयसम्म काम गरेको जनसमर्थन पनि भएको उम्मेदवारले विजेताभन्दा धेरैथोरै मत प्राप्त गर्नुले निर्वाचन प्रणालीमाथि थप शंका उत्पन्न भएको छ ।

८. प्रविधिमा कमजोर निर्वाचन समिति
निर्वाचन समितिले प्रयोग गरेको प्रविधिबारे स्वयम निर्वाचन समिति अनविज्ञ देखिन्छ । मतदाताहरू सबैलाई मतपत्र पठाउन नसक्नु, मतदाताहरूले मतपत्र प्राप्त गरेको ठम्याउन नसक्नु र जूलाई ३० तारिख दिउसो १२ बजे १००० मतपत्र मतदाताहरूबाट फर्कीआएको तर त्यसको विकल्प दिन नसक्नुले निर्वाचन समिति प्रविधिमा निकम्मा देखियो । निर्वाचन समितिले दख्खल नराख्ने वा क्षमताभन्दा बाहिरको प्रविधि प्रयोग गरेर मतदाताहरूको मताधिकारको हक हनन गर्न मिल्छ कि मिल्दैन ?

९. जवाफदेहिताको अभावः
मतपत्र नपाएका मतदाताहरूको सन्दर्भमा, मतदाताहरूको मतपत्र फिर्ता बहेको बारेमा र चुनावमा धाँधली, भारतको उडिशाबाट मतदान, एउटै डिभाइसबाट धेरै संख्यामा मत हालिएको (किर्ते) भनिपरेको उजुरीको विषयमा निर्वाचन समितिले जावाफदेहिता देखाएन । बरु उल्टै “फर्की आएको मतबारे निर्वाचन समितिले केहि गर्न नसक्ने “सूचना जारी गर्यो । मतपत्रबारे निर्वाचन समितिले गर्न नसके, सक्ने कसले हो ? मतदाताले हो ?

विवादविच सपथः
निर्वाचन पारदर्शी नभएको, व्यक्तिगत विवरणको गलत प्रयोग गरिएको, पुर्वयोजना र नियतबस मतदानबाट मतदाताहरूलाई बन्चित गरिएको, भारतको उडिशा भन्ने ठाउँबाट मतदान भएको लगायत दर्जनौ उजुरीहरू निर्वाचन समितिमाथि र अध्यक्षमण्डल समतिमा पेस भएका छन् ।

अध्यक्षमण्डलमा परेका उजुरीहरूको आधारमा जूलाई ३१ तारिख अध्यक्षमण्डलले एक विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचनबारे सत्यतथ्य अध्ययन गर्ने र चाडै प्रतिवेदन सार्वजनिक गराउने उल्लेख गरेको छ । अध्ययन समितिको संयोजकमा एनआरएन जापानको संस्थापक पुर्वअध्यक्ष राजन प्रधानाङ्ग तोकिएका छन् । अध्यक्षमण्डल र निर्वाचन समितिबीच निक्कै घम्साघम्सी परेको थियो । निर्वाचन समिति आधिकारिक कि अध्यक्षमण्डल आधिकारिक ? आदि विषयमा टकराव चलिरहयो । विभिन्न पत्रपत्रिकाहरूमा, सामाजिक संजाल, यूट्युवर जापानवासी नेपाली समुदायमा असन्तुष्टि छपक्कै छाएको थियो ।

विवादहरूको चुलिमाथि र अध्यक्षमण्डलको अध्ययन प्रतिवेदन तयार नभई अगस्ट ८ तारिख आइतवार निर्वाचन समितिले टोकियोको हामामाच्योस्थित एक नेपाली रेस्टुरेन्टमा सपथ कार्यक्रम गरायो ।

एनआरएनए जापान निरन्तर ओरालो झर्दैः
गैरआवासिय नेपाली संघ जापानको ओरालो यात्रा सन् २०१५ बाट सुरु भएको हो । सन् २०१५ अप्रिल २५ तारिख गोरखा बारपाक केन्द्र रहेको विनाशकारी भूकम्पको राहत जापानमा एनआरएन जापानको अगुवाइमा संकलन गरिएको तर संकलित रकम नेपाल नपठाई केहि व्यक्तिहरूले बिनाब्याज लामो समय चलाएको र नेपालमा के कति रकम पुग्यो भन्नेबारे आमनागरिक र सरोकारवालहरूलाई जानकारी नगरिएको जनगुनासो व्याप्त छ ।

पछिल्लो समय मृतकको (लास) पैसा खाएको भनि एनआरएन जापानले आरोप खेपीरहेको बेला चुनावमा धाँधली गरिएको अर्कोघटनाले गैरआवासिय नेपाली संघ जापानले ओरालो यात्रा कायम राखेको छ । एनआरएन जापानप्रति जनचासो एकदमै कम रहेको छ ।

१० औंमहाधिबेशनबारे धमूधीं जापानका अध्यक्ष सौगात गुरुङ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ –“एनआरएनए जापानको कार्यकाल २ वर्षलाई हो तर भोट (मत ) चोरको दाग सधैँलाई हुने हो ।”

त्यसैगरि किरात याक्थुङ् चुम्लुङ् जापानको महासचिव लक्ष्मीहाङ् आङ्बोले १० औं महाधिबेशन प्रति टिप्पणि गर्दै “पुर्वअध्यक्ष देवीलालले एकजनालाई ठगी गर्नुभएको समाचार बाहिर आएको थियो तर अहिले मतदानबाट बन्चित गराई हजारौलाई ठगी गरिएको छ यो लोकतन्त्रको उपहास हो ।” लेखेका छन् ।

नेपाली समाज जापानको अध्यक्ष पेम्बा शर्पाले “जनताको मन जित्न नसकेपछि कमजोरहरूले अपनाउने बाटो नै जालझेल हो ।” लेखेका छन् ।

अबको विकल्पः
१०औं महाधिबेशनको निर्वाचन परिणाम सार्वजनिक भएपछि जुन रफ्तारमा चुनावबारे विषयहरू उठान भएका थिए । त्यो रूपमा र रफ्तारमा अहिले देखिन्दैन ।

चुनावमा मतपत्र दुरूपयोग भएको विषय टोक्यो अदालतमा दर्ता गराउने तयारी रहेको अन्तराष्ट्रिय समन्वय परिषद सदस्य पदको उम्मेदवार डा.बलराम श्रेष्ठले दुईहप्ता अघि जानकारी दिनुभएको थियो । अरू थुप्रै उम्मेदवारहरू अन्यायमा परेको भन्दै सामाजिक सञ्जालमा लेख्ने र अनलाइनन्यूजहरूमा अन्तर्वार्ता दिंदै हिडेको प्रमाणित नै समाचारमाध्यम साँची छन् ।

सपथ कार्यक्रम सकिएको आज ९ दिन बितिसक्दा निर्वाचन विधि÷प्रक्रियाबारे पहिला बोलेकाहरू अहिले कोहि बोलेका छैनन् । यसबाट दुइवटा पक्ष अनुमान गर्न सकिन्छ । ११ औं महाधिवेसनमा कसलाई अध्यक्ष बनाउने भनेर आन्तरिक सल्लाह भएको हुनसक्छ अर्को चाहिँ हारेको बेला बेस्सरी उफ्री–पाफ्री गरेको, समय बित्दै जाँदा मत्थर भएको भन्ने बुझिन्छ ।

जापानबासी जनता न्यायको पक्षमा उभिन सक्नुपर्छ । अर्को महाधिवेसनमा अध्यक्ष तिमीलाई बनाउला अहिले चुपलागभन्दा चुपलाग्ने र हारेको बेलामात्र न्यायको कुरा गर्ने दुवैपक्ष आमनागरिकको लागि हानिकारक हुन् ।

१० औं महाधिवेशनमा जेजति कमिकमजोरीदेखियो त्यसको भागिदार मुख्य त निर्वाचन समिति हो । निर्वाचन समितिले निष्पक्ष र बिना धाँधली निर्वाचन गर्नसक्नु पर्दथ्यो । अहिले निर्वाचित कार्यसमितिको पदाधिकारीहरूले आफै धाँधली गरेर आएको भने होइन ।

अतःविवादबीच र धाँधलीपूर्वक निर्वाचित कार्यसमितिले आगामी ११ औं महाधिबेशन निष्पक्ष र लोकतान्त्रिक विधिबाट गराउने ल्याकत राख्नुपर्छ । एनआरएनए जापानलाई थोरै भएपनि संस्थागत विकास र आमनेपाली समुदायको साझा संस्था हो भन्ने आभास दिलाउन कोशिस गरे राम्रो होला ।

लेखक नेपाल आदिवासी जनजाति महांसघ जापानको महासचिव हुन् । प्रस्तुत भनाइहरू लेखकको नीति विचार हुन् ।

यो पनि पढ्नुहोस्

एनआरएन जर्मनीमा फर्जी मत प्रयोग भएको भन्दै विज्ञप्ति

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...