कला र सिर्जनाको उपमा शशी दिदी - Naya Online

कला र सिर्जनाको उपमा शशी दिदी

मुकेश राई

“जीवनमा देखेका दुःख, सुख र विभिन्न परिवेशहरूसँग मैले यस्तरी मितेरी लगाएछु कि आफ्नो खुशी, दुःखका अनुभव र उकुसमुकुसहरूलाई गीतमा पोखाउन थालेछु र गीतहरूको चाङ चुलिदै आएछ ।”

आदरणिय दिदी शशी थापा सुब्बाकै गीतिसङ्ग्रह “साँझकी शशी” मा लिखित उहाँकै शब्द सापटी लिएर लेख्न शुरु गर्दैछु । किनकी उहाँले कला, साहित्य र सामाजिक योगदानको विषयमा लेखिनु पर्छ भन्ने लागेको निकै भयो, आज बल्ल समय अनुकुल बनाएर लेख्न बसेको छु । हुन त उहाँमात्रै होईन प्रवासमा रहेर आफ्नो भाषा, कला, संस्कार र संस्कृतिको श्रीवृद्धिको निम्ति कुनै न कुनै रूपमा लागिपरेका व्यक्तित्वहरूको कुरोहरू लेखिनुपर्छ भन्ने लाग्छ, लेख्ने कोशिस पनि गरिरहेकै छु ।

मैले दिदीलाई शुरुमा कलाकारको रूपमै चिनेको थिएँ । सन १९९१ ताका हङकङमा शशी दिदीको श्रीमान धनबहादुर थापा गुरुजी र म एउटै पल्टनमा थियौ । डिजिटल जमानाको कल्पना पनि नगरिएको त्यो समयमा आफ्नो घर परिवारको फोटो फ्रेममा राख्ने चलन थियो, गुरुजीले पनि दिदीको फोटो राख्नु भएको थियो । गुरुजी र म एउटै कोठामा बस्ने भएकोले सम्बन्ध पनि नजिक भयो । विशेष रूपले दिदीलाई मैले त्यो बेला सम्मानपूर्वक चिन्नु वा सम्झनुको कारण गुरुजी धनबहादुर थापा मगरले सुनाइरहनु हुने उहाँको कला र सिर्जनाका कुरोहरू, दिदी धरानमा अनाम नाट्य समुहको कलाकार हुनु भएको अनि “तरेवा” चलचित्रमा उहाँ कलाकारको रूपमा आवद्ध हुनु भएको कुरोहरू नै थियो ।

लाहुरे जीवनमा प्रत्यक्ष भेट नभएको दिदीसँग सन २००९ सालमा लण्डनमा नेपालबाट आउनु भएको कवि विश्वविमोहन श्रेष्ठको स्वागत कार्यक्रममा एउटा साहित्यिक कार्यक्रममा भेट भएको थियो । यसपछि कैयौ कार्यक्रमहरूमा दिदीसँग भेट हुँदै गयो, दिदीको बहुप्रतिभाहरूसँग झनै निकटता बढ्दै गयो । यही निकटताले कैयौ सिर्जनात्मक र व्यक्तिगत अप्ठ्याराहरूमा दिदी मलाई मार्गदर्शन गरिरहनु हुन्छ, यही आत्मियताले गर्दा कहिलेकाही लाग्छ मैले एउटी आदरणिय दिदी पाएको छु, शशी दिदी । सिर्जनात्मक काम, बेलायतको ब्यस्तता र पारिवारिक समयलाई अत्यन्तै नै सन्तुलित रूपले अगाडी बढाउनु भइरहेकी दिदीको व्यक्तित्व पनि उस्तै शालिन र भद्र लाग्छ ।

शुरुवाती दिनमा नेपाली चलचित्रका लोकप्रिय कोरियोग्राफर एव नृत्य निर्देशक प्रवेश बान्तावा राईसँग कत्थक नृत्य प्रशिक्षण लिएपश्चात चर्चित नृत्य गुरु देवदत्त ठटालसँग भारत नाट्यम र हिमालय कल्चर एसोसिएशन काठमाण्डौमा लोक नृत्यहरू सम्बन्धी २ वर्ष प्रशिक्षण लिनुभएको छ ।

वि.सं. २०३९ सालको तिहारमा सामुहिक देउसी भैलो कार्यक्रम गरेर संकलन भएको रकमले पहिलोपल्ट नाटककार शारदा सुब्बाद्वारा लिखित “देउरालीमा एक थुङ्गा फूल” नामक नाटक मन्चन गर्नुभएकी अवष्मरणीय क्षण अझै सम्झिनुहन्छ । उक्त नाटकको एक पात्रा चमेलीको भूमिकामा गर्नुभएको सशक्त अभिनयले रङ्गकर्ममा दरिलो पाईला टेकनुभएको हो । साथै, नाटकले पनि निकै लोकप्रियता हासिल गरेको थियो । त्यो बेलाको देउसी भैलो कार्यक्रममा गायिका पवित्र सुब्बा, गायिका अमृता थापा, गायक संगीतकार देवेन्द्र थापा, नाटककार एवं कानुन व्यवसायी शारदा सुब्बा, संचारकर्मी मोडल कला सुब्बा, अजय राई, बिजय राई अनि दिल गुरुङ जस्ता चिरपरिचित स्रस्टाहरूको महत्वपूर्ण सहभागी रहेको थियो । उहाँहरूले थालनी गरेको सामुहिक देउसी भैलो कार्यक्रम सम्भवत धरानमा पहिलो पटक थियो जो आजसम्म पनि यथावत चल्दै आएको र उक्त कार्यक्रमबाट उठेको पैसा विभिन्न सामाजिक र सिर्जनात्मक कार्यमा खर्च गरिदै आएको छ ।

वि.सं. २०४४ सालमा निर्देशक नविन सुब्बाको अध्यक्षतामा गठित “अनाम नाट्य समुह धरान”मा उहाँको सशक्त भूमिका रहेको थियो । त्यहाँ हुँदा उहाँले लामो समयसम्म नृत्य निर्देशक एवं कोरियोग्राफरको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसै समयमा कवि टंक घिमिरेको बीस वर्ष शिर्षकको कवितालाई शास्त्रीय संगीतवद्ध गरी कत्थक नृत्य गर्नुभएको उहाँ सम्भवत नेपाल मै यसरी कवितामा पनि नृत्य गर्ने नृत्याङ्गना हुनुहुन्छ । यही समुहमा रहँदा नै उहाँकै अवधारणामा राष्ट्रिय गीतहरूमा कलात्मक नृत्य गर्ने परिपाटी बस्यो ।

यसैले हाल गीत, कविताहरू लेखिरहनु भए पनि उहाँले औपचारिक रूपमा कला यात्रा अभिनयबाट शुरु गर्नु भएको हो भन्दा अत्युक्ति नहोला । चर्चित रङ्गकर्मी सुनिल पोखरेलको लोकप्रिय टेलिसिरियल ‘जेठो छोरो’मा एक प्रौढ महिला नैनादेवीको भूमिका निर्वाह गरेपछि त्यसै पात्र नैनादेवीको नामले उहाँ जनमानसमा चिनिन पुग्नुभएको हो । उक्त नामको प्रभाव पछिसम्म पनि रहिरह्यो भन्ने कुरो दिदी कहिलेकाही अझै सम्झना गर्नु हुन्छ ।

यसपछि उहाँले निरन्तर विवश आकाश, नभेटिएको बाटो, कलियुगको रामायण, रहर, आजभोलि, हर्के अब के गर्ने ? जस्ता नाटकहरूमा सशक्त भूमिका निभाउनुभयो । जसले एकतर्फ नवप्रवेशी कलाकारहरूलाई प्रेरणाको श्रोतजस्तै बन्नुभयो भने आफैँ पनि चर्चाको शिखरमा पुग्नुभयो । यही सफलताले गर्दा उहाँको पाइला विस्तारै साना पर्दाका चलचित्रतर्फ पाइला मोडियो । यसरी उहाँले तरेवा, विषालु धुवाँ, आश, छर्किदेउ सिन्दुर लाशमाथि, जीवनधारा, क्याबिन गर्ल, छिमेकी जस्ता चलचित्रहरूमा पनि आफ्नो भूमिकालाई सशक्त ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

उहाँको नाम शशी थापा सुब्बा हुनुको रोचक प्रसँग रहेछ । पहिले माइतीमा हुँदा आफ्नो नाम शशिकला सुब्बा थियो बिहेपछि दर्ता गराउने क्रममा श्रीमानको थर थपियो शशीकला थापा मगर । केही समय यही शशीकला थापा मगर नामबाट परिचित हुनुभयो तर लिम्बु भाषाको चलचित्र “तरेवा“ मा अनुबन्ध भएको समयमा उक्त चलचित्र निर्देशक नविन सुब्बाले कुनै विवाद नहोस् भन्ने कारणले समाचार र चलचित्रमा नै उहाँको नाम शशी थापा सुब्बा राखिदिए । त्यसपछि शशी थापा सुब्बा नामबाटै उहाँको परिचय बनिएको र शुरुवाती दिनहरूमा कसै कसैले तपाईं थापा मगर कि सुब्बा, लिम्बु भनेर सोध्ने गरेको स्मरण गर्नुहुन्छ ।

आफ्नो पितापुर्खादेखि वीर गोर्खाली हुनुको गौरव बोक्नुभएको छ । सैन्य सुपुत्रीका श्रीमान पनि गोर्खाली सैन्य पेशामा नै आबद्ध सिपाही भएको कारण आफु पनि विदेश जानुपर्ने बाध्यताहरूले गर्दा चाहना भएर पनि आफ्नो सशक्त कला यात्रालाई निरन्तर रूपमा अधि बढाउन सक्नुभएन यद्दपि उहाँले गर्नु भएको समाजसेवाका सुकार्यहरूले अझै पनि धरानमा होस् वा बेलायतमा साथै उहाँसँग सहकार्य गरेका धेरैले प्रंसशापूर्वक सम्झन्छन् ।

वि.सं. २०५०–५५ को ताका गठन भएको गोर्खा सैनिक महिला संघ सुनसरीको संस्थापक अध्यक्षसमेत रहनुभएकी शशी दिदीले आफु अध्यक्ष रहिन्जेल लाहुरे परिवारहरूबाट लुगाफाटा र अन्य सरसमानहरू संकलन गरी सुकुम्बासी बस्तीमा अति नै न्युन मुल्यमा बिक्री गरी जम्मा भएको रकमले गरीब र असहाय महिलाहरूलाई सहयोग गर्ने गरेको सुनाउनुहुन्छ । यसबाहेक संस्थाले एकजना स्थानिय साहित्यकारहरूको कृति बार्षिक रूपमा प्रकाशित गरिदिने र सम्मान गर्ने गर्दथ्यो ।

जसमा कवि बेनु आचार्यको “एक टुक्रा आकाश” (कविता सङ्ग्रह), कथाकार राजेश विद्रोहीको “वधशालाको तस्वीर” (कथा सङ्ग्रह) आदि प्रकाशित गरिदिएका थिए भने साहित्यकार स्व.गोविन्द विकललाई सम्मान पनि गरिएका थिए । यस संस्थाले भुपु सैनिक संगठनसँग समान रूपमा भुपु गोर्खाहरूको न्याय र समान हक अधिकारको निम्ति गरेको आन्दोलनको फलस्वरूप बेलायती सैनिक वा सो सरहको हक अधिकार पाएकोमा आफु सन्तुष्ट रहेको ब्यक्त गर्नुहुन्छ । धरानबाट प्रकाशन हुने चर्चित राष्ट्रिय साप्ताहिक न्यूजटाइम्सको प्रकाशक भएर पत्रकारितामा आवद्ध हुनुहुन्थ्यो ।

यसबाहेक पिण्डेश्वर वरपरका गरीब र सुकुम्बासीहरूको निम्ति प्रारम्भिक स्कुल सञ्चालक, व्यवस्थापन समिति गठन गरी स्कुल चलाउने र शिक्षकहरूलाई समितिले नै तलब दिने गरेको थियो । यसैगरी धरानका तत्कालिन प्रहरी निरिक्षक शिवाजी श्रेष्ठ एव प्रशासनसँग समन्वय गरेर चेलीबेटी बेचबिखन तथा बाल यौनशोषण नियन्त्रणको निम्ति महत्वपूर्ण कार्यमा संग्लग्न रही सेवा गर्नुहुन्थ्यो ।

यसैगरी इन्द्रमाया राईको अध्यक्षतामा सञ्चालित आमा समुहमा सचिवको कार्यभार सम्हालेर माओवादी द्वन्दकालको समयमा महिला हकअधिकारको निम्ति जागरुकता अभियान कार्यक्रमहरू गर्ने, एचआई भि एडस लागेका र लागु औषधी दुव्र्यसनीहरूका परिवार अनि नानीहरूको निम्ति प्रहरी तालिम लिएर सहयोग कार्य गर्नुभएको थियो । तिनीहरू मध्ये कोही अशक्त विरामी परेको खण्डमा डाक्टर तपनसँग सहकार्य गरी निशुल्क उपचार अनि अवस्था गम्भिर भएमा इण्डियन आर्मी क्याम्प हस्पिटलमा उपरार्थ लगिने गरेको थियो !

बाबा मेघदल नयोङ सुब्बा र आमा बिना राई सुब्बाको कोखबाट साउन ५ गते शनिबार दार्जिलिङको सुकियापोखरीमा जन्मिनु भएकी शशी दिदी स्कुले जीवनमा नै गीत र कविताहरू कोर्ने गर्नुहुन्थ्यो । प्रायः महिला मुक्ति, आत्मअभिमान र गौरवपूर्वक बाँच्नु पर्छ भन्ने विचार बोक्नुभएकी उहाँलाई लिम्बु समाजको छोरीचेलीहरूप्रतिको उदारता र स्वतन्त्रताले झनै सोचलाई बल पु¥याएको देखिन्छ । जसको कारण उहाँमा आफुले चिताएको गर्छु भन्ने दृढ इच्छाशक्ति र स्वतन्त्र विचारले कला र साहित्यका बहु आयामिक बाटोमा अग्रसर हुन पुग्नुभएको हो भने समाजका विसङ्गतिहरूको विरुद्ध आवाज उठाउने पनि गरिरहनुभएको छ ।

आकाश ओडेर सुत्नेहरू
उठ फेरि क्रान्ति बोकेर
तिमीले ओढेको आकाश
अझै स्वतन्त्र भएको छैन ।

उहाँको यी कविताका अंश हेर्दा कला, साहित्य, रङ्गकर्म, समाजसेवा मात्रै नभएर राजनैतिक चिन्तनमा पनि राम्रो दक्खल भएको भेटिन्छ । सामाजिक विसँगतिहरूको विरुद्धमा खरो रूपमा प्रस्तुत हुने उहाँको कविता, गीत, गजल, मुक्तकजस्ता छोटा विधाका सिर्जनाहरूमा मौलिक निजत्व, जातीय संवेदना र सहअस्तित्वका बिषयहरूलाई सुन्दर र शालिनताका साथ अभिव्यक्त गर्नु हुन्छ । अहिले गीत, संगीतमा कमसल सिर्जनालाई पनि पैसाको भरमा बजारमा ल्याउने कसरतमा लागेका मान्छेहरू र चर्चाको निम्ति लाखौं खर्च गर्ने सर्जकहरूलाई उपयुक्त बातावरण र साधना गरेर आफ्नो सिर्जना ल्याउन सल्लाह दिनु हुन्छ भने जस्तो सुकै रचनाहरू पनि पैसा कै भरमा संगीत भरिदिने र गाइदिनेहरूप्रति आफ्नो त्यसो नगर्न रोषपूर्ण विपुल आग्रह गर्नुहुन्छ ।

बेलायत आएपश्चात उहाँले रङ्गकर्मलाई पनि निरन्तरता दिने प्रयास गर्दै दुईवटा एकांकी लेखन र निर्देशन गर्नुभएको छ । नारी दिवसको उपलक्ष्यमा नारी प्रधान एकांकी ‘कान्छी’, झापामा अवस्थित रत्न वृद्धा आश्रमको सहयोगार्थ ‘आत्मसन्तुष्टि’ अनि गोर्खा वेल्फेयर सोसाइटीका युवा समुहसँग सामुहिक लेखनमा पुर्णांकी चाहीँ गोर्खालीहरूको जीवनका कथाव्यथा समेटिएको ‘बन्धकी जिन्दगी’ निर्देशन गर्नुभएको छ । यसबाहेक बेलायतमा हुर्कदै गरेका युवा पुस्ताका नानीहरू र तथा महिला कमिटीका दिदिबहिनीहरूलाई उद्घोषण तालिम दिने कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ ।

सन् २०१९ मा उहाँको गीतिसङ्ग्रह “साँझकी शशी” प्रकाशित भएको थियो यधपि गीत लेखन उहाँको सिर्जनात्मक पक्षका एउटा अंश मात्रै हो । यद्यपि यसैमार्फत पनि विशुद्ध नेपाली कला र संस्कृतिलाई निजत्व दिनुभएको छ, सुन्दर शैलीवद्ध गरेकी छिन् । लोक भाकाका शब्द, बिम्ब र प्रतिकहरूलाई कुशलतापूर्वक आफ्नो गीतहरूमा समाविष्ट गरेर मौलिकता प्रस्तुत गरेकी छिन् ।

सपना ठुलो पाइपाइ जोडी किन्नु छ आना सुन
टायरको फ्याङटा टालेको दौरा ढाकरमा ढिके नुन ।

टाउकोमा थाप्लो काँधैमा खकन तोक्मा चाह हातैमा
बिसाउँदा भारी मनैको पिर बजाउँछ पातैमा …

जस्ता ग्रामीण जनजिब्रोमा झुण्डिएका शब्दहरू संयोजन होस वा

जिन्दगी कैले दियो झै जल्छ
कहिले आफै आधी भै चल्छ

बुझ्न् खोज्दा खोज्दै यसले
हर मोडमा रूप बदल्छ …

जस्ता जीवन दर्शनका गहिराईमा डुबिएका शब्द संयोजन, गीतिकारीतामा पनि उहाँ खरो उत्रनुभएको छ ।

परदेशिनु बाध्यता कि रहर ? जीवनलाई परिस्थिती र परिबन्दले अनेक भोगाइ र अनुभूतिहरूसँग बाँच्न सिकाउँछ तर मलाई सधैं यो प्रश्नले सोच्न बाध्य गराउँछ, आखिर हाम्रो नियति नै किन यस्तो कि लाखौं युवा पुस्ता विदेशमा भौतारिन बाध्य छौ ? यही रहर र बाध्यताको पौठेजोरी खेल्दै २०० वर्ष भन्दा बढीको गौरवपूर्ण इतिहास बोकेको गोर्खाली सिपाही र उनीहरूका परिवारहरूले आवासीय भिसा पाएसँगै बेलायतमा पनि नेपालीहरूको सघनबस्ती बसिसकेको छ ।

यसैसँग हामीले ल्याएका छौं, आफ्नै थातथलो र माटोको सुगन्ध, आफ्नै कला, भाषा, संस्कार, संस्कृतिहरूको चिनारी जसले हामीलाई अनेकतामा एकता र बेलायतको बहुल सांस्कृतिक समाजको एउटा अंश बनेर बाँच्न सिकाएको छ । यसै समाजमा भित्रिएका छन् र जन्मिरहेका छन् शशी थापा सुब्बाजस्तै बहुआयामिक व्यक्तित्वहरू अनि गरिरहेकै छन् सामाजिक र सिर्जनात्मक कर्म ।

आफ्नै आमाको पदचाप टेकेर उक्लिरहेकी नेपाली चलचित्रमा स्थापित हुँदै गरेकी मिरुना थापा मगर, जसले आफ्नी आमाले जस्तै गोर्खाली हुनुको आत्मा गौरव र आत्माभिमानले अघि बढिरहेकी छिन्, यो श्रेय अवश्य पनि शशी दिदी अनि हरेक पाईलामा दिदी र परिवारलाई सामाजिक र सिर्जनशिल यात्रामा दरिलो साथ सहयोग दिदै आउनु भएका सबैको भेनाज्यु अर्थात धनबहादुर थापामा जानेछ !

बेलायतको हाम्रो निम्ति कर्मथलो हो, जीवन आफ्नै दैनिक कार्यव्यस्तताले भरिएको छ तर पनि यो ब्यस्ततालाई पन्छाएर कुनै न कुन कर्म सामाजिक र सिर्जनात्मक कर्म गरिरहनु भएकै छ । यसरी नै कुनै साहित्यिक वा सामाजिक कार्यक्रममा उदघोषकको रूपमा होस वा सहयोगीको उहाँको सहभागिता रहेकै हुन्छ ।

उहाँले सन २०१४, १५ ताका बेलायतमा हुर्कदै गरेका नयाँ पिढीका युवाहरूलाई उत्साहित गर्न र जोश भर्न “पुस्तान्तर” नामक अन्तरङ्ग कार्यक्रम पनि युकेको अनलाइन टिभीमार्फत चलाउनुभएको थियो, कार्यक्रम लोकप्रिय हुँदै गए पनि समयाभाव, आर्थिक र प्रविधिक जटिलताको कारण छोडनु परेकोमा दुःख व्यक्त गर्नु हुन्छ ।

आफ्नो कार्यब्यस्तता, समाजसेवा र सिर्जनात्मक यात्रासँगै पारिवारिक जिम्मेवारीहरू पनि उत्तिकै सक्रियता र सफलताका साथ अघि बढाइरहनु भएकी दिदी हाल आफ्नो श्रीमान धन बहादुर मगर अनि दुई छोरीहरू एलिजा र मिरुनाको साथ नर्थहोल्ट लण्डनमा रहदै आउनु भएका छ । पुख्र्यौंली धरान भए पनि समयले दिएको अवसर भनेर बेलायत आईपुगेका उहाँले भविष्यमा फेरि नेपाल नै गएर आफ्नो जीवनको उतरार्ध ब्यतित गर्ने इच्छा रहेको बताउनुभएको छ ।

जीवनको हरेक आयाममा कुनै न कुनै रूपमा आफ्नो क्षमता र अवसर मिलेसम्म कला, सिर्जना र सामाजिक अभियन्ताको रूपमा सहभागिता जनाएर एउटा सफल र गतिशिल जीवन बाँचिरहनु भएकी दिदीको बाँकी समय अझै उर्जाशिल र गरिवान बनोस् भन्ने शुभेच्छाका साथ उहाँकै गीतका आंशिक हरफहरू शेयर गर्न चाहन्छु,–

अन्जुली भरिका सपनाहरू थोपा थोपा झरिरहेछन्
उदाउने घामको लालीसँगै मेरा दिनहरू मरिरहेछन्
भित्र र बाहिरको साँधमा नाघ्नै पर्ने संघार मेरो
शायद यही नै हुनुपर्छ जीवनको मध्यान्तर मेरो !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...