अण्डाको रानो चिप्लिएको त्यो दिन - Naya Online

अण्डाको रानो चिप्लिएको त्यो दिन

दीप्स शाह 

मिति ठ्याक्कै याद भएन, २०६० को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिकको सह–सम्पादन गर्थेँ । तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा. दीर्घसिंह बमको जीवनी लेख्ने तयारी चल्दै थियो मेरो । मेरो लागि त्यो चानचुने कुरो थिएन । तर पनि सानैदेखि लेख्न भनेपछि हुरुक्क हुने हुँदा त्यातिबेला मैले उक्त जीवनीलेखन चुनौती र अवसरको रूपमा लिएर सुरुवात गरेँ ।

यो सुरुवातमा मेरा धर्मदाजु श्री गमनराज आचार्य (झापा, भद्रपूर) को ठुलो प्रेरणा थियो । उक्त जीवनी लेखाइले मलाई धेरैकुरा नियाल्ने, जान्ने, दुइचार ठाउँ पुग्ने र प्रत्यक्षता प्राप्त गर्ने अवसर समेत दियो, लाग्न पनि एक वर्षभन्दा बेसी समय लागेको थियो मलाई उक्त पुस्तकको पूर्ण खाका तयार गर्न । त्यही शिल्शिलामा डा. दीर्घसिंह बम कि जीवनसाथी श्रीमती सलोनी बम ज्युबाट केही जानकारी लिने हिसाबले उहासँगको समय मिलाएको थिएँ अन्तर्वाताको लागि एक कठ्याङ्ग्रे बिहानमा उहाको निवास थापाथलीस्थित सुन्दर घरमा । कठ्याङग्रे यस हिसाबले कि मलाई याद छ खासाबाट झिकाएको पहेँलो झ्यापुल्ले ज्याकेटको उद्घाटन त्यसैदिन गरेको थिएँ ।

तोकिएको समयमा अफिसकै साथी बिमला रेग्मीलाई लिएर पुगेँ सलोनीज्युको दैलो ढक्ढ्क्याउन । अत्यन्तै मिजास र सम्मानका साथ बैठकको नरम सोफामा बसालेर उहाले सत्कार गरिसकेपछि हाम्रो कुराको सुरुवात भयो । टेपरेकर्ड बोकेपनि किनकिन मलाई धेरैजसो अन्तर्वाता लिँदा बुँदागत टिपोट कापीमै गर्न मन पथ्र्यो ।

उहाको सम्भ्रान्तिय बिगतदेखि डा.दीर्घसिंह ज्युको जीवनका कैयन पाटा खोतलीसकेपछि एकछिन् अनौपचारिक वार्ता पनि भ्यायौँ अनि अन्तमा खाजा नास्ताको व्यवस्था पनि गरियो, नाइँ भन्ने ठाउँ त थिएन नै फेरि त्यसैदिन एकछिन् पछि एउटा न्युज रिपोर्ट गर्ने समय मिलाइसकेको हुँदा त्यही खाजालाई दिउसोको खाना बनाएर लाग्नु ठीक लागेकोले स्वीकार गरियो ।

खाजा आइपुग्यो ब्रेड, चिया अनि खोइ के थियो अरू तर साथमा अम्लेट थियो सलोनी जीको अनुसार ‘हाल्फ अम्लेट’ याने कि अण्डाको रानो चाँहीँ नपाकेको अवस्थाको । मलाई खासमा अझै पनि त्यस्तो अम्लेटको नाम के हो थाहा छैन । मैले भन्नुपर्दा रानो नपाकेको अम्लेट । त्यसबखत हतारै गर्नुपर्ने गरी भोकाएकी पनि थिइनँ न त डा. बमज्युको आरामदायी बैठकमा त्यती थर्थरी काँप्नेगरी जाडो नै थियो ।

(सरल सामान्य अझै निर्धन जीवन बाँच्दै भर्खर भर्खर सपनाका मोती खोज्दै शहर पुगेको ‘म’लाई कतिपय सहरीया खान्कीको नाम पनि थाहा थिएन । भनौं भने खाने तौरतरिका पनि आउँदैनथ्यो । बिस्तारै अक्कलको नक्कल र नक्कलको अक्कल पालोपालो गर्दै शहरमा पाइला टेक्तै थिएँ । ठाउँ हेरी जानेसुनेको बानी परेको झैँ अभ्यस्त देखिन खोज्थेँ । मलाई लाग्छ, यो आम ग्रामीण प्राणीलाई सुरुवातीका सहरीया जीवनमा पर्ने असर होला ।)

कसोकसो मिलाउँदा मिलाउँदै अम्लेटको प्लेट कोल्टेर त्यो बजिया अण्डाको नपाकेको रानो त स्वाल्यात्त ओइरियो मेरो खासाली भुवादार ज्याकेटमाथि ! कति माथि रहरले किनेर उसैदिन मात्र उद्घाटन गरेको ज्याकेट, उसमाथि त्यतैबाट सोझै अर्को कार्यक्रममा जानुछ उही लुगामा । अझै त्यो भन्दा चर्को कुरो त कत्ति न प्रोफेसनल बनेर त्यत्रो अन्तर्वाता लिन जान्ने ले एउटा प्लेट समात्न नसकेको हो कि अम्लेट खान नजानेको हो !!

यो सामान्य कुरो हुँदाहुँदै पनि म भित्रको उरन्ठ्यौलोपन हुत्तेर यसरी आयो कि जती अघि अम्लेट पोखिँदा सरम भएको थिएन त्यो भन्दा बेसी अहिले थाम्नै नसक्ने हाँसोको फोहराले पारीदियो । हरे मेरो आलोकाचो बुद्धि !! रोक्न खोज्छु मरे रोकिन्न त हाँसो । श्रीमती बमज्युले दिनुभएको टिस्यु पेपरले ज्याकेट सफा गरेर खाजा भ्याइसकेपछी बाटो लाग्यौँ हतार–हतार विदा मागेर । अनावश्यक सरमले यति गाह्रो भयो… हिँड्ने बेला कतिखेर त्यहाँबाट उम्केर पेट्भरी हाँसुलाजस्तो भएर हतार हतार गरी निस्क्यौँ र थापाथली चोकमा पुगेर आन्द्रा चुँडेला जसरी हाँस्यौँ ।

त्यसको लगत्तै सार्क राष्ट्रका क्षयरोग केन्द्रका डाइरेक्टरहरूको सम्मेलन थियो होटल हिमालयन्, कुपोन्डोलमा । एकातिर स–सानै भएपनि साप्ताहिक पत्रिकाको सम्पादक अर्कातिर उहाकै जीवनी लेख्दै गरेको हुनाले पनि डा. बम ज्युले उक्त सम्मेलनमा पत्रकारको हैसियतले मलाई निम्त्याउनुभएको थियो ।

त्यती तामझामको होटल पहिले कहिल्यै नजिकबाट देखेको त थिएन भने भित्रै पस्नु त परको कुरो । सानोमा गाउँमा हुँदा अरूले ‘तारे होटल’ को कुरा गर्दा भित्तोभरी झिलमिल तारा टल्किने होला भन्ने लाग्थ्यो । आफ्नै त्यो परिभाषा बदलिएर अहिले सर्वसुविधा सुसम्पन्न होटल भनेरसम्म बुझिएको अवस्थामा त्यसदिनको काकताली भनुभने भिरकै चिण्डो भएथ्यो त्यसबेला । डा. साहेबले होटलको रिसेप्सनमा भन्नुभाको रहेछ कोही ‘राइजिङ्ग स्टार’बाट आउनुभयो भने माथि पठाइदिनु भनेर ।

भित्र प्रवेश गर्नासाथ बढो नम्रतापूर्वक हामीलाई सोधपुछ गरी एकजना भलाद्मीले लिफ्टसम्म पु¥याइदिए । तर त्यहाँ भएका जतिले अनौठो गरी हामीलाई नियालेको भने मैले अड्कल गरेको थिएँ । जति नै मेहनत गरेर सकेसम्म गतिलो पर्सानालिटी बनाउन खोजेपनि हाम्रो लवाइमा एकखालको संक्रमित अवस्था प्रस्ट झल्किरहेकै थियो । (गाउँले तरिकाले नछोडिसकेको र शहरीया तरिकाले पूर्ण स्वागत गरिनसकेको उक्त संक्रमित लवाइ बोलाईमा विशिष्ट ठाउँमा पुग्दा प्रायः निकैको आँखाले घुरेको म महसुस गर्थेँ त्यहा पनि त्यस्तै भयो ।)

तर जे भएपनि म डा. सा’ब बाटै बोलाइएको पत्रकार न परेँ । अनि ति भलाद्मीले लिफ्टभित्र पुर्याएर बन्द गरेर फर्किए । र, फर्किने बेला “माथि थर्ड फ्लोर को ग्रीन हलमा जानुस् है !” पनि भने । आक्कलझुक्कल विशालबजारको सुरुरुरुरुरु माथि जाने भर्याङजस्तो लिफ्ट मात्रै देखेको यो आँखाले पहिले त अचम्मै मान्यो । पहिलोपटक सानो चिटिक्क परेको, भित्तामा ऐना राखेको लिफ्टमा रहँदा “एस्तो पनि कस्तो लिफ्ट हो ?” भन्ने लागेर म र साथी अचम्ममा पर्यौँ । त्यसपछि फसाद पर्यो ! अब कताजाने ?? लिफ्ट हल्चल नै गर्दैन ! माथि जानलाई स्विच थिच्नुपर्ने पनि थाहा भएन, त्यो भन्दा पहिला कहिल्यै देखेको भएपो !

के गर्ने नगर्ने सुद्धि नआएर एक्छिन त असिनपसिन भयौँ । न बाहिर जान सक्नु न माथि जान सक्नु, अनि त जे पर्लापर्ला भनेर ३ लेखेको बटन दबाएको त स्वाट्टै गयो माथि तर कसरी ढोका खोल्नु भनेर सोच्दासोच्दै माथि पुगेर आफैँ ह्वाङ्गै ढोका खुलेपछि निधारमा टिल्पिलाउन खोजेको पसिना आफैँ ओभाउन थाल्यो । एसो अगाडि हेरेको भित्तामा ग्रीन हल तिरको सिग्नल रहेछ अनि त्यतै हानियौँ ।

भित्रपुग्दा त सार्कका प्रतिनिधि र अरू दुई जनामात्र रहेछन् छलफलमा । कार्यक्रमको जानकारी फ्याक्सबाटै सम्बन्धित मिडियामा पठाइने हुँदा अरू पत्रकार कोही निम्त्याइएको रहेनछ । डा. बमको जीवनी लेख्नेक्रममा निक्कै आवतजावत, फोनवार्ता, भेट्घाट भैरहेको हुँदा डा. बमज्यु मलाई आफ्नो कोही अभिभाबक झैँ लाग्थ्यो र उहाले मलाई पनि आफ्नी छोरी दीलाशाजस्तै छिन् भन्ने गर्नुहुन्थ्यो, जो मलाई पत्रकार कम आफन्त बेसीको व्यबहार गर्नुहुन्थ्यो शायद यसैले पनि होला उहाँले ति सार्क प्रतिनिधिहरूसँग मेरो परिचय गराउने हेतुले पनि त्यहा निम्त्याउनुभएको थियो तर अहिले म ति कसैको नाम समेत सम्झन्न ।

ठुलो भब्य ‘ग्रीन हल’ मा पस्दा पहिले त विश्वासै लागेन त्यस्तो भव्य कोठा नेपालमै पनि हुँदोरहेछ भन्ने । नाम नै ‘ग्रीन हल’ भएकोले हल पुरापुर हरियो थियो । अझै भुइँमा साँच्चैको लाग्ने हरियो लहलहाउँदो दुबोमा हाम्रा धुलोमा रङ्गिएका जुत्ता छोपिँदा गाउँमा बिहेको समयमा माला बनाउने दुबो खोज्दाको क्षण याद आइदियो ।

भित्र पस्नासाथ भर्खरै अर्कै ग्रहबाट टप्किएका प्राणीजस्ता हामी दुइलाई देखेर ‘सार्क प्रतिनिधि’हरू पनि अचम्मित् भए होलान्, तर बढो शिष्टतापूर्वक सबैले एक्साथ उठेर स्वागत अभिवादन गर्दा त्यो सम्मान पचाउने हैसियत आफुभित्र खोज्दै मेरा दुबै कान रिनिक्क ताता भए, हामीलाई लगेर एउटा सोफामा बसाइयो र सँगै परिचय पनि । परिचयको क्रममा सामान्य कुराकानीमा जति नम्रता, शिष्टता र इज्जत पाइयो त्यहाँ ति बुद्धिजिविबाट उसबखत मैले शिक्षा र मेहनतको महत्व निक्कै टड्कारो महसुस गरेँ ।

हाम्रो परिवेशका बाबजुद एउटा पत्रकार भएर त्यति गहकिलो समयमा उपस्थित हुनु आफैँमा मलाई गर्व लाग्यो र ति सबैले अत्यन्त सम्मान गरे जुन मैले होइन मेरो मेहनत, शिक्षा र लगावले पाएको थियो भलै त्यो निक्कै ठुलो डिग्रीको शिक्षा थिएन ।

त्यसपछि उनीहरूको छलफल सुचारु भयो । बडेमानको भित्तामा जडान गरिएको स्क्रीनमा परबाट रिमोट्कन्ट्रोलको मद्दतले औँल्याउदै जानकारी प्रस्तुत गरेको देख्दा स–सानो सिनेमा हल नै पो जस्तो लाग्यो । तिनै अचम्म र असमयन्जस्यताका बिच करिब एक घण्टा बितेछ अनी अर्को अचम्म के भने ति सबै प्रतिनिधिहरू छलफलको क्रममा यति मसिनो गरी बोल्ने कि, कतिपय शब्द मैले सुन्नै सक्दिनथेँ ।

बिस्तारै कार्यक्रमले समयको पुछार ताकेको संकेत मिल्न थालेपछि भने म झस्किएँ नराम्रोसँग । मलाई थाहा थियो अवस्य कार्यक्रमको अन्तमा खाजापानिको ब्यबस्था यहाँ पनि होला, अब यती महत्वको अन्तर्राष्ट्रिय छलफलको उपलक्ष्यमा, यति विशिष्ट होटलमा झन के के तरिका र प्रकारका खानेकुरा आउलान् ।

‘पाखे त हुँदै हुँ यहाँ अडबाङ्गे पनि बनुला’ भन्ने पिरले कोतर्न थाल्यो । फेरि त्यै माथि अघि भर्खर बिहान उनै डा सा’बका घरमा अम्लेटको रानो पहिरो गाको सम्झना दिमागबाट त हटेको थिएन नै खासाली झ्याप्ले पहेलो ज्याकेटमा दागपनि कतै कतै बाँकी नै थियो । फेरि कति न ठुलो पल्टेर खान्न भन्न पनि झनै नसुहाउने कुरा । त्यस्तो विषम अवस्थामा मैले एउटै उपाय भेटेँ खाजा आउनु अघि नै त्यहाँबाट कुलेलम ठोक्ने । अनि औलाको इशाराले डा. बमज्युलाई सोफाको छेउमा बोलाएँ, उहाँ आउनुभयो ।

मैले भनेँ, “भोलिको पेपरका लागि निक्कैकाम पेण्डिङमा छ, अर्को एक जना स्टाफ आज बिदामा छन्, मिल्छ भने यो विवरण मेरो अफिसमै फ्याक्स गर्दा कसो होला !?” एसो सोचेर उहाले हुन्छ नि त भन्दै सबै सँग विदा माग्दिनुभयो र उहाँको पिए कृष्ण पन्तज्युलाई हामीलाई तलसम्म छोड्न भन्नुभयो । अनि हलुको मन बोकेर सबैसँग बिदाको हात उचालेर तल झर्यौँ तर यो पाली लिफ्टबाट लगेनन् कृष्ण जीले, भर्याङबाट ओराले । बाहिर गेटसम्मै पुर्याएर उनी फर्किए ।

अनी हतार–हतार तल बाग्मतीको पुलतिर लम्किँदा बल्ल मेरो साथी बिमला जङ्गिई –“किन ढाँटेको ! आज त पेपरको काम त कति नै छ र ? कस्तो मजा आइराको थ्यो ग्रीन हलको हरियालिमा हराउन ।”

मैले भनें –“अघि बिहान अम्लेटको गति देखिनस् ! फेरि त्यै दशा फक्र्यो भने नि !” त्यसपछि एक्छिनलाई पत्रकारिता, लेखनी, जागिर, सम्मान सबैलाई आफुबाट पन्छाएर नित्तान्त उही ग्रामीण सादा जीवनमा पदार्पण गरेर धित मरुन्जेल हाँस्यौँ बागमती पुलको पेटिमा आड लागेर । एसो हेरेको त हाम्रा जुत्ताको धुलो पनि पो सबै त्यै ग्रीनहल को दुबोले त्यहीँ राखेछ, सफा भएछ !! झन आशु र सिँगानको ओइरो लागुन्जेल पेट मिची मिची हाँस्यौँ र लाग्यौँ डिल्लीबजारतिर आफ्नै अफिस भेट्न ।

जिन्दगीका भङ्गाला पारगर्ने शिल्शिलामा यस्ता अनेकन उतारचढाब देख्दै भोग्दै आएको छु, अझै योभन्दा घत लाग्ने कति अवस्था र प्रसँगका गुँडुल्को छन मनभित्र भलै कसैलाई कथा या अझै दन्तेकथा लाग्ला तर यो मेरो जिन्दगीको मिठो रमाइलो भोगाइ मध्यको एक केस्रो हो जो व्यस्त जिन्दगीको यदाकदा सुस्ताइमा मलाई बरोबर याद आउँछ र अनायासै हाँसो फुस्किन्छ अझै पनि ।

deepssanu@gmail.com

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

कप्तान रत्नबहादुर लिङथेप, २००७ को जनक्रान्ति र चैनपुर

उत्तमकुमार लिङथेप कुराः उहिलेका हिजोआज वि.सं. २००७ सालको कुरा उप्काउनु मात्रै पर्छ, कुरा नसक्किदैं...

याक्थुङ लिम्बू जाति र मर्चा उत्पादन एक चिनारी

उदय पूर्वेली चोङ्बाङक्याक घरायसी जाँड बनाउन प्रयोग हुने मुख्य निर्विकल्प पदार्थ “मर्चा”को बारेमा हामी...

नियात्रा: सेभोइ ग्रिल, लण्डनका अविस्मरणीय यादहरू !

भीम राई भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरू टिमटिम टल्किरहेका मज्जाले...

याक्थुङ समुदायमा चेली माइतीबीच फूल वर्जित छ

दिलेन्द्र कुरुम्बाङ तिहार हिन्दूहरूको दशैंपछिको दोश्रो ठूलो चाड हो । दिपावली, दिवाली, यमपञ्चक आदि...

प्राचिन किरातकालिन नेपालसँग लिम्बू मानव समूहको सम्बन्धः केही तर्क र प्रमाणहरू

नन्द कन्दङवा ०. किरात शासनकाल र किरात मानव समूहको अस्तित्व कतिपयले किरात र प्राचिन...

नयाँ सन्दर्भः लिम्बूवान राजनीतिका अवयव र उतारचढावहरू

उदय पूर्वेली चोङबाङक्याक लिम्बूवानी इतिहास र राजनीतिक पतनको टर्निङ प्वाइन्टको रूपमा विशेषगरी वि.सं १८३१...