कविता: मैले पनि उसलाई “मान्छे” मान्छु - Naya Online

कविता: मैले पनि उसलाई “मान्छे” मान्छु

मिलन समीर

मैले पनि उसलाई “मान्छे” मान्छु मित्र !
मैले पनि उसलाई “मान्छे” मान्छु
तर, तिमीले मान्ने “मान्छे”
र, मैले मान्ने “मान्छे” को माझमा
धर्ती र आकाशको अन्तर देखिन्छ ।

तिमीले उसलाई विश्वास गरेर आँखा चिम्लिदै गर्दा
विश्वासघातको अन्तिम परिणामस्वरूप
आफ्नै छातीमा तीर दागिरहेको देख्छौ
मैले उसलाई दुवै आँखा उघार्दै गर्दा
दीनदुःखीको सेवामा लागिरहेको देख्छु
मध्येरातमा पनि हमेसा जागिरहेको देख्छु
व्यक्तिगत स्वार्थदेखि टाढै भागिरहेको देख्छु ।

जरुर, मैले मान्ने गरेको “मान्छे” को मनमस्तिष्कमा
अस्पष्टताभित्र स्पष्टता छ, धमिलोभित्र निर्मल छ
र त, तितो भएर पनि औषधीको काम गरिरहेको हुन्छ
वैकल्पिक बाटो बनाउदै प्रत्येक “मान्छे”हरूलाई
सदैव अग्रगामी पृथक पाइला चाल्न सिकाएर
पाइलैपिच्छे ठडिएका दुम्सी काँढाहरू पन्छाउदै
इन्द्रेणी फुलहरूको गुच्छा छरिरहेको हुन्छ
हरेक मानवलाई मानवताको मुल मर्म सिकाइ रहेको हुन्छ
“मान्छे” लाई “मान्छे” को अस्तित्वमा टिकाइरहेको हुन्छ ।

प्रिय मित्र ! मेरो “मान्छे”
आफू जस्तै अर्को “मान्छे”लाई
कसैले अपमान गरेको कदापि देखि सहँदैन,
सत्यको नाममा असत्यलाई सल्काएर
त्यसैको सघन उज्यालोमा प्रत्येक भुइँमान्छेहरूको
सुनिश्चित भविष्यको खोजी गरिरहेको हुन्छ
अरु सबैको सजिलोका लागि
सदैव आफैं अप्ठ्यारोमा परिरहेको हुन्छ ।

मान्छेलाई एक – आपसमा लडाउँदै
मुक्तिको बहानामा युद्धमा धकेलेर
सिङ्गो धर्तीलाई रक्ताम्य बनाउँदै
गौतम बुद्वको अपमान गर्दैन
अरु कसैको आँखाको कसिङ्गर बनेर
अविरल अश्रुधारासङ्गै झर्दैन
बरु, शान्ति – यात्रामा परस्पर
हातेमालो गराएर आजीवन
आकाशको रक्ताम्य बादल बर्साउछ
“मान्छे” को स्वरूप मात्रै भएका
तथाकथित “मान्छे”हरूलाई तर्साउँछ ।

मैले पनि उसलाई “मान्छे ® मान्छु मित्र !
मैले पनि उसलाई “मान्छे” मान्छु
आफुले आफैंलाई कसले पो मान्दैन र ?
मैले निर्धक्कसँग निसंकोच भएर भनिरहेको हुन्छु
किनभने, म पनि त एउटा “मान्छे” नै हुँ
मैले “मान्छे”हरूलाई मात्रै
“मान्छे” देखिरहेको हुन्छु
“मान्छे” लेखिरहेको हुन्छु
“मान्छे” छानिरहेको हुन्छु
“मान्छे” जानिरहेको हुन्छु
“मान्छे” ठानिरहेको हुन्छु
“मान्छे” मानिरहेको हुन्छु ।

प्रिय मित्र ! मैले मान्ने गरेको “मान्छे”
रुने दुखियासँगसँगै रुन्छ
हाँस्ने सुखियासँगसँगै हास्छ
पिउने पियक्कडसँगसँगै गिलासभरी पिउँछ
जस्तो आइपरेको हुन्छ हो, त्यस्तैगरि जिउँछ ।

अन्याय – अत्याचार गर्नेहरूसङ्ग मेरो “मान्छे”
साक्षात दुर्वासा जस्तै रिसाइरहेको हुन्छ
तिम्रो “मान्छे”ले चाहिँ जहिले पनि
भालुको रिस मैमाथि बिसाइरहेको हुन्छ
तिम्रो “मान्छे”ले आजीवन अरुको
केवल कुभलो मात्रै चिताइरहेको हुन्छ
अरुलाई हराएर आफैंलाई जिताइरहेको हुन्छ
गलत कुरामा ध्यान दिएर समय बिताइरहेको हुन्छ
मेरो “मान्छे”ले सबैको भलो सोचिरहेको हुन्छ
वैचारिक लडाइँ लडिरहेको बेला
हतियारको नाममा कलम बोकेर
विचार विहीनहरूलाई बिस्तारै घोचिरहेको हुन्छ ।

जब उसको देह भस्म भएर बिलाउनेछ – मसानघाटमा
उसलाई नजिकैबाट चिन्ने – जान्ने र बुझ्नेहरूको
पवित्र हृदयको धड्कन बनेर उ आफैं धड्किरहेको हुन्छ
उसको अभाव भुइँमान्छेहरूका लागि सदैव खड्किरहेको हुन्छ
त्यतिबेला समयसङ्गै हावापानी पनि शुन्यमा अड्किरहेको हुन्छ ।

मैले पनि उसलाई “मान्छे” मान्छु मित्र !
मैले पनि उसलाई “मान्छे” मान्छु
तर, मैले मान्ने “मान्छे”ले कहिल्यै पनि
धमिलो पानीमा माछा मार्न खोज्दैन
अरुलाई अफ्ठ्यारोमा पार्न खोज्दैन
खाचो पर्दा काचो कुराले टार्न खोज्दैन
अरुको बाटो काढे तारले बार्न खोज्दैन
आकाशका जूनतारा झार्छु भन्दैन
जिराफलाई जुवामा नार्छु भन्दैन ।

मैले पनि उसलाई “मान्छे” मान्छु मित्र !
मैले पनि उसलाई “मान्छे” मान्छु
तर, मैले मान्ने “मान्छे” कहिल्यै पनि
अरु सबैलाई “जिरो” सम्झिदै
केवल आफू मात्रै “हिरो” हुँदैन
रोम शहर जलिरहेको बेलामा
बासुरीको धुनमा निमग्न भएर
आफैंमा हराउने “निरो” हुँदैन ।

करादीखोला, स्याङ्जा ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...