‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री - Naya Online

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको इतिहासमा श्रीजन श्री को नामले विशेष महत्व राख्दछ । नेपाली गजलका प्रणेता मोतीराम भट्ट भएजस्तै मलेसियाली नेपाली गजलका प्रणेता श्रीजन श्री हुन् । नेपालमा रहँदै गजल लेखनमा आफ्नो पहिचान बनाईसकेका श्रीजनले मलेसियामा नेपाली गजललाई संस्थागत मात्र गरेनन्, गजललाई उचाईमा समेत पु¥याएका छन् ।

गजल जिन्दगीको लय हो भन्ने मान्यता राख्नु हुने श्रीजन अनाममण्डली मलेसियाका संस्थापक अध्यक्ष हुन् । हाल विश्व नेपाली साहित्य महासंघ मलेसियाका सचिवसँगै अन्तराष्ट्रिय नेपाली गजल मञ्चलगायतका साहित्यिक संस्थाहरूसँग पनि सम्बद्ध छन् ।

‘माटो हाँस्छ‘ (वि.सं.–२०६४) र ‘माटो भन्नु मुटु रै’छ’ (वि.सं.–२०६६) जस्ता एकल गजल संग्रह र थुप्रै संयुक्त गजल संग्रह प्रकाशन गरिसकेका श्रीजनले यात्रा, सृजनाका स्वरहरू र दीपाञ्जलीलगायतको समेत सम्पादन गरिसकेका छन् । डोटेली र मलायू भाषामा समेत गजल लेख्न हैसियत राख्नुहुने श्रीजन दर्जनौ संघ–संस्थाहरूबाट पुरस्कृत र सम्मानित भै सकेका छन् ।

कुशल गजल प्रशिक्षक र गजल समालोचकका रूपमा पनि आफूलाई खरो रूपमा उभ्याइसकेका उनी नियात्राकार र दर्विला कवि पनि हुन् । उनको कलम र ब्यक्तित्व हाइकु, मुक्तक, संस्मरण, गीत र गजल हँुदै कवितासम्म विस्तार भएको छ । यो कुराकानी श्रीजन मलेसिया हुँदै गरिएको हो । अहिले श्रीजन नेपाल आइसकेका छन् । अहिले बहरको चर्चा चलिरहेको बेला सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ । कुराकानी दीप दर्शनले गरेका हुन ।

साहित्य लेखनमा बिताएको दुई र नेपाली गजल क्षेत्रमा पुर्याएको योगदानले यहाँको उपस्थिति अर्थपूर्ण छ । तपाई चैं के भन्नु हुन्छ ?
मेरो लेखनको समयसीमा यहाँले नै अवगत गराईसक्नु भयो । यद्यपि समयसीमाभन्दा पनि रचनाको गुणस्तरीयताले हो सर्जक बाँच्ने । योगदान र बिशेष अर्थ जस्ता शब्दहरूको लेखाजोखा गर्नपट्टि म लाग्दिन । त्यो जिम्मा प्रिय पाठकहरूको हो ।

गजलको संक्षिप्त परिचयसँगै नेपालमा यसको प्रादुर्भाव र बिकासक्रमबारे बताइदिनुस् ?
गजल अरबी भाषा साहित्यको एक लोकप्रिय काव्यविधा हो । इसाको सातौ शताब्दीतिर अरबमा जन्मेको गजल फारसी भाषा साहित्यमा पुगेर मात्र फक्रिएको पाइन्छ । यो अरबी भाषाको स्त्रीलिङ्गी वर्णगुच्छा हो । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको प्रेमपूर्ण सम्बाद हुन्छ भनिन्छ । यसका साथै अरबी भाषामा मृगशावकलाई गाजाला भनिन्छ र यो शब्दसँग पनि जोडेर हेर्छन एकथरीले । यता अंग्रेजीमा हरिणलाई GAZELLE भनिने हुनाले यससँग र संस्कृत भाषामा गाजल लाई कज्जल भनिने हुनाले यो शब्दसँग पनि गजलको नाम जोडछन् अर्कोथरी । उनीहरूको मान्यता के छ भने यी शब्दहरू अपभ्रंश भएर गजल बनेको हो ।

अर्को एक थरीको भनाई के छ भने अरबमा एकजना मदिरापान र प्रेमबिलासमा आफ्नो जीवन समर्पित गर्ने शायर थिए र उनको नाम गजल थियो रे । र, उनको मृत्यू पश्चात उनको सम्झनास्वरूप यो बिधाको नामै गजल राखिएको हो । जे होस अरबी भाषा साहित्य हुँदै फारसी भाषा साहित्यमा पुगेर मौलाउँदै सयौ बर्षपछि मात्र उर्दु, हिन्दी भाषा साहित्यमा गजलले पर्दापण गरेको पाईन्छ ।

नेपाली गजलको प्रणेता हुन् मोतीराम भट्ट । उनको वि.सं. १९४० तिर हिन्दीभाषाबाट नेपाली भाषा साहित्यमा भित्र्याए यसलाई । उनैले मोतीमण्डली नामक संस्थाको स्थापना पनि गरे । यही मण्डलीबाट नेपाली भाषाको पहिलो गजल संग्रह प्रकाशित पनि भयो—संगीतचन्द्रोदय । त्यसपछि भीमनिधी तिवारीको ‘मेरीबयासी गजल’ (वि.सं.१९९४), उपेन्द्र बहादुर जीगरको ‘एकसय एक गजल’ (वि.सं.१९९६) र पछि तिवारीकै ‘बयासी र बीस मेरो गजल’ (वि.सं.२०२) गजल संग्रहहरू प्रकाशनमा आए । यो समय (वि.सं.१९४० – २००२) लाई नेपाली गजलको पहिलो चरण मान्न सकिन्छ ।

वि.सं.२००२ देखी २०३५ सम्म गजल लेखिदै लेखिएन भन्दा पनि हुन्छ नेपाली साहित्यमा । यसर्थ यसर्थ यो शुसुप्तकाललाई दोश्रोचरण भन्न सकिन्छ । किन्तु वि.सं.२०३५ साल यताबाट भने ज्ञानुवाकर पौडेल, ललीजन रावल, मनु ब्रजाकी लगायतका गजलकारहरूको सक्रियतामा गजल फेरि लेखिन थाल्यो । र, यो पुस्ताले गजलको पुरानो धार, भक्तिधारलाई पूर्णतः पछि छोड्दै पुरानो पुस्ताको श्रृङ्गारिकधार र आफ्नै मौलिकधार (समसामयिक धार) लाई अबलम्बन ग¥यो ।

हाल यही धार नेपाली गजलमा बिद्यमान छ । तसर्थ वि.सं. २०३५ सालदेखि हालसम्मको चरणलाई नेपाली गजलको तेश्रोचरण मान्न सकिन्छ । यो चरणमा हजारौं गजलकार र संग्रहहरू, सयौ गजल एल्बमहरू, गजलीय कार्यक्रमहरू र देश–परदेशमा सयौं बिशुद्ध गजलीय संस्थाहरूका माध्यमबाट गजल रहरलाग्दो रूपमा प्रस्तुत हँदैछ नेपाली साहित्यमा ।

तपाई सशक्त गजलकार हुनुहुन्छ । गजल प्रशिक्षण, समिक्षा र समालोचना पनि गर्नु हुन्छ । मलेसियाको नेपाली गजल लेखनप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
पहिलो कुरा आफूलाई म सशक्त गजलकारको रूपमा मान्दिन । गजललाई जति न्याय गर्नु पर्ने हो त्यो न्याय गर्न सकेको छुईन मैले । दोश्रो यो ‘कार’ भन्ने विशेषणसँग पनि विमती रहँदै आएको छ मेरो । साँच्चै ‘कार’को मापदण्ड के त ? दुई–चार रचना लेख्दैमा वा दुई–तीनवटा कृति प्रकाशित हुँदैमा वा कुनै संस्थाको बस्दैमा ‘कार’ भइन्छ जस्तो लाग्दैन मलाई । तेश्रो प्रशिक्षण र समालोचनाका कुरा उप्काउनु भयो, यो त सर्जकको कर्म हो, कर्तब्य हो ।

मलेसियाको गजल लेखनको सन्दर्भमा भन्नुपर्दा म निक्कै सन्तुष्ट छु । हिजो जतिखेर हामी गजललाई मलेसियामा संस्थागत गर्दै थियौ त्यो समय र यो समयमा लेखिएका गजलहरू तुलनात्मकरूपमा राम्रो बनेर आएको छ । यसर्थ संख्यात्मक र गुणात्मक दुवैकोणबाट यहाँको गजल लेखन राजमार्गमा यात्रारत छ । हिजो त गोरेटोमा समेत थिएन ।

मलेसियामा रहेर गजल लेखिरहेका जुझारु गजलकारहरूलाई के छ सुझाव तपाईको ?
जुझारु त जुझारु छँदैछन् नि के सुझाव दिउँ उहाहरूलाई ? यो त सूर्यलाई बत्तिले तताउनु भन्या जस्तो पो भो । (हाहाहा…) र पनि के भन्छु भने जुध्नको निम्ति सिङ, सहास र सौर्यको अधिक महत्व हुन्छ । सिङ, सहास र सौर्यलाई बलियो बनाउनुस् । सिङ जोगाउनुस् । गजललाई बलियो बनाउनुस् । गजलको साख जोगाउनुस् ।

सामाजिक संञ्जालहरूमा गजलबारे निक्कै विवाद देखिन्छ । कोही लय र बहरमा अनिवार्य लेखिनुपर्छ भन्छन् भने कोही भावको पक्षमा मात्र वकालत गरिरहेका छन् । यहाँलाई कस्तो लाग्छ ?
सुनलाई भुङ्ग्रोमा हाल्यो भने झन्झन् चम्किन्छ । यो विवाद होईन, विवादरूपि भुङ्ग्रो हो । जसमा परेर गजल झन्झन् चम्किदैछ । बहसले गजलको औचित्य पुष्टी हुँदैछ । जहाँसम्म लय (बहर) को कुरा छ, हामी के कुरामा प्रष्ट हुनुपर्छ भने लय भनेकै बहर हो । यहाँ फारसी बहर र संस्कृत छन्दहरूलाई मात्र बहर हो भन्ने भ्रम विद्यमान छ, कसै–कसैमा । यो भ्रमबाट मुक्त हुनैपर्छ हामी । अर्को कुरा जहाँसम्म लयवादी र भाबवादी वीचको टकरावको कुरा छ, यस सन्दर्भमा म के भन्छु भने लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन् । अब भन्नुस् कुन् आँखाको महत्व कति हुन्छ ?

वैदेशीक रोजगारको सिलसिलामा आएको नेपालीहरू बीच साहित्यलाई कसरी प्रभावकारी बनाउन सकिएला ?
अब समय हिजोको जस्तो प्रतिकुल रहेन । असाध्यै अनुकूल समयमा छौं हामी । प्रविधीले सिंगो संसारलाई नै एउटा गाउँजस्तो बनाइदिएको छ । वैदेशीक रोजगारको सिलसिलामा आएका नेपालीहरू बीचमात्र होईन जोसुकै सँग पनि प्रविधिको माध्यमबाट नेपाली साहित्यको उत्थानका लागि संसारका जुनसुकै कुनाबाट महत्वपूर्ण कार्यहरू गर्न सकिन्छ ।

मलेसियामा बिभिन्न साहित्यिक संस्थाहरू छन् र यी संस्थाहरूले साहित्यलाई कस्तो मलजल गरेको देख्नु भएको छ ? र, भावीदिनमा के कस्तो कार्यक्रमहरू सञ्चालन गरियोस् भनी ध्यानाकर्षण गराउन चाहनु हुन्छ ?
हो मलेसियामा नेपाली सर्जकहरूको सक्रियतामा स्थापना भएका साहित्यिक संस्थाहरू छन् । ती मध्ये केहीले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्म निक्कै महत्वपूर्ण कार्यहरू सम्पन्न पनि गरेका छन् भने केही संस्थाहरू उम्रिन नपाउँदै बिलाएका पनि छन् । अनाममण्डली, विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा, उदाउँदो तारा साहित्य समाज र प्रवासी नयन साहित्य समाज जस्ता संस्थाहरू क्रियाशिल छन् अहिले । अन्तर्राष्ट्रिय गजल मञ्चको प्रतिनिधित्व समेत गरेको छ मलेसियाले । यो सुखद पाटो हो । यही मेसोमा के आग्रह गर्न चाहन्छु भने मलेसियाको नेपाली साहित्यको इतिहासलाई कालन्तरसम्म सम्झिरहनका लागि एउटा संयुक्त अक्षयकोष खडागरी राम्रो साहित्यिक पुरस्कारको स्थापना गर्न सके अत्युत्तम हुने थियो ।

तपाईले अनाममण्डली स्थापना गरेर धेरै बर्ष नेतृत्व गर्नु भयो । तपाईको कार्यकालमा निकै प्रभावशाली कार्यहरू सम्पन्न भए । तपाई सम्बन्धित यस अनाममण्डली मलेसियाले गजलका लागि कुनै नयाँ कार्यक्रमहरू तर्जुमा गरेको छ कि ?
मैले तीन कार्यकाल अनाममण्डलीको नेतृत्व गरें मलेसियामा । त्यसबखत केही राम्रा कार्यहरू सम्पन्न भए । अनाममण्डली मलेसिया मज्बुत भैसकेपछि नेतृत्व हस्तान्तरणको गरें । नेतृत्व हस्तान्तरणसँगै मण्डली झन् उर्जावान भएर निस्कियो । साथीहरूको लगन, क्रियाशिलता र नेपाली गजलप्रतिको समर्पणभावकाकारण अनाममण्डली मलेसिया स्थापित भएको हो ।

विशेषतः टंक चन्द, रुद्र मिश्र, प्रेम श्रेष्ठ ‘दीन’, रुबेन पुन, गनिन्द्र बिवश, भीम स्नेही, मनोज बिराली, यलबी सागर, राज अबिरल यात्री, सन्तोष लिङ्देन, सोभनाथ सुवेदी, नन्द श्री, रमेश गोठालो, निश्चल परदेशी, आदर्श शुसिल र सन्तोष माबुहाङ जस्ता साथीहरूको आर्थिक, बौद्घिक र भौतिक लगानीका कारण मण्डली ‘मण्डली’ बन्न पुगेको हो । निकट भबिश्यमै एउटा महत्वपूर्ण कार्य गर्न गैरहेको छ मण्डलीले । जो एउटा राम्रो उपहार हुनेछ प्रवासी नेपाली गजलका लागि, सिंगो नेपाली गजलका लागि । अहिल्यै घुम्टो नउघारौं कि ।

साहित्यभन्दा अलिक फरक प्रश्न गरें, बैदेशिक रोजगार नेपालीहरूका लागि अहोभाग्य कि दुर्भाग्य ?
देश कंगाल बन्दै जानु र युवाहरू आफ्नै पैसामा बेचिएर अर्काको गुलाम बन्नु अहोभाग्य हो र ?

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

नयाँ भेट: ‘एउटा सुन्दर चित्र कोर्न धैर्यतासंगै चित्रप्रति प्रेम पनि हुनुपर्छ’

इन्दु राई याम्फु । पछिल्लो समयका एक अब्बल चित्रकार । प्राकृतिक सुन्दरताको दृष्टिले स्वर्गको...

‘लेखनमा भन्दा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु’ -भीम रसाईली विश्वकर्मा (चित्रकार)

भीम रसाईली विश्वकर्मा एक सुन्दर चित्रकार हुन् । मोरङको केराबारी, बिबिरेमा जन्मेका विश्वकर्मा हाल...

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...