मलेसियाले आर्जेको सिर्जना सम्पति पार्सल (पुस्तकका कुरा) - Naya Online

मलेसियाले आर्जेको सिर्जना सम्पति पार्सल (पुस्तकका कुरा)

प्रकाश दिप्साली राई

हामी वैदेशिक रोजगारीका निम्ति भनेर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भित्रिन्छौँ तब हाम्रो अर्को दुनियाँ सुरु हुन्छ । हामी लक्षित गन्तव्यमा पुगेपछिको दैनिकीको कुरा गरिसाध्य हुन्न । त्यो दैनिकीबिच आफ्नो मुख्य ध्येय त पैसा कमाउनु हो । अन्य कुराहरू कैफियत हुन् । पहिलो पल्टको प्रवास झनै कष्टकर हुन्छ । यहाँसम्म कि कविताको ‘क’ सम्म वास्ता नगर्नेहरू कवि बन्छन् । गाउँघरको याद, परिवारको सम्झना, रिङ्गटो घुमिन्जेल मेसिनसँगैको दौड, मेसिनसँगको पौँठेजोरी….. । सायद प्रवासको लेखन आधार यी नै हुनुपर्छ । त्यसो त प्रवासबाट लेखिएका कृति वा अभियानहरू नेपाली साहित्यमा कोषेढुङ्गा सावित भएको प्रशस्तै उदाहरण छन् । ती कुराहरूको धेरै ठाउँ उल्लेख गरिसकेको हुनाले यहाँ उठान गर्न उचित नहोला ।

नेपाली साहित्यका निम्ति विभिन्न देश(प्रवासी नेपाली)हरू साहित्य सिर्जनामा सक्रिय छन् । त्यसमध्ये पनि मलेसिया त नेपाली साहित्य सिर्जनाका निमित्त उर्वरभूमि नै, यसमा दुई मतै छैन । आ–आफ्नै छिटफुट ढङ्गले सिर्जना गरिएता पनि २०६२/६३ सालतिर प्रवाशी नेपाली साहित्यिक मञ्च मलेसियाको स्थापना पश्चात संस्थागत रूपमा त्यहाँको सिर्जना कर्मले उचाई लिएको पाइन्छ । यो पंक्तिकारलाई सम्झना छ रमेश तुफान, चन्द्र झापाली, इन्द्र नारथुङे, कोपिला गौतम, राज रोबर्ट अजनबी सुब्बा, देवेन्द्र खापुङ, दिलिप सगर राई, गणेश खड्का, मनि राई गोठाले, राम नशा, रुद्र कार्की प्रज्वल, राज मादेन ‘दिनदुःखी’लगायतले सिर्जना कर्ममा पसिना बगाएका छन् । र, नै मलेसियामा नेपाली साहित्य सिर्जना मौलाएको फस्टाएको पाइन्छ । त्यहाँबाट केही आयामका निम्ति हिम्मत पनि नगरिएका होइनन् । ‘केस्रा’ विधा लगभग स्थापित भइसकेको अवस्था थियो । तर खै के चाँजोपाँजो मिलेन ? अहिले चकमन्न छ । त्यहाँबाट साहित्यिक कृति तथा पत्रपत्रिकाहरू पनि प्रशस्तै प्रकाशन भएका छन् । जस्तैः पालामको राजकुमारी, नुरी, विम्ब, विम्ब गजल सङ्ग्रह, मुग्लानी चिनो(स्मारिका), नयन, आगमन, प्रवासी आवाज लगायत ।

मलेसियाको नेपाली साहित्यलाई आजको उचाईमा ल्याई पुराउन उल्लेख्य भूमिका खेल्ने अभियानताहरूमध्ये एक हुन् जीवन देवान गाउँले । यो पंक्तिकारले पनि मलेसियामा पसिना बगाएको छ, दुई चारथोपा मसी पोखेको छ । यी कुराहरू लेख्दै गरौँला ।

प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको दोश्रो अध्यक्ष बनेका जीवन जीले मलेसियाको भूमिलाई नेपाली सिर्जनाले मगमगाउँदो बनाउन निरन्तर लागि परे । प्रवासी नेपाली साहित्यिक मञ्च मलेसिया त्यो संस्था हो जसले लाखौँ श्रमिक सर्जकहरूलाई मन मुटुमा जोड्ने सेतुको काम गरेको थियो । सायद उनैको पालोमा हुनुपर्छ मञ्चलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज मलेसिया च्याप्टर बनाएको । जसले मलेसियाको सिर्जना कर्मलाई आकास जस्तै फराकिलो बनाउन भूमिका खेल्यो ।

जीवनजीको मलेसिया बसाईले निरन्तरता पाएको लगभग दुई दशक नाघेछ क्यार । त्यहाँको बसाई, भोगाईहरू र साहित्यिक गतिविधिसँगसँगै आफ्नो लेखनलाई पनि उत्तिकै निखार्न तत्पर रहि रहे र नै लेखे ‘पार्सल’ कथा सङ्ग्रह ।

‘पार्सल’ भित्रका कथाहरू ठुलठुला सपनाहरू बोकेर मलेसिया टेकेका जीवनकै सबैभन्दा उर्जाशील समयका कथा व्यथाहरू हुन् । कथाकार गाउँलेले ‘पार्सल’ मा मलेसियामा रहेका तन्नेरीहरूको मनोदशा सर्लक्कै उतारेका छन् । मलेसियासँग यो पंक्तिकारको नि कैयौँ किस्साहरू छन् । ति किस्साहरू बिस्तारै ओकल्दै जाउँला ।

माथि पनि कतै भनेँ हुँला घर देशमा देखेको सपना र खाडी मुलुकमा ओर्लेपछिको भोगाई त आकाशपातलै फरक हुन्छ । केही कथिङ्गल सपनाले मेल खायो भने त्यो अपवाद हो । नत्र त परदेश जानु भनेको अनेक हण्डर भोग्नु नै हो । कथाकारले कथाको आरम्भ नै ‘अरपे’ कथाबाट गरेका छन् । यो कथाले नेपाली समाजको अरब जानेहरू प्रतिको दृष्टिकोणलाई मिहिन ढङ्गले चित्रण गरेको छ ।

दुई चार पैसा कमाएपछि अरपेहरूको रवाफ, अरब जानुभन्दा अगाडीको मान्छे र अरबबाट एकदुई पैसा कमाएपछि समाजले गर्ने व्यवहार बडो रोमाञ्चक छ भने अर्कातिर अरपे हुँदा त्यसको नकरात्मक पक्षहरूलाई पाठकहरूको मन छुने ढङ्गबाट कलमको मसी सिन्चित गरेका छन् कथाकारले । यौन मनोविज्ञानको हिसाबले पनि अब्बल देखिन्छ यो कथा । हर्के साहु, अरपे र भाउजुबिचको संवादले यौन आनन्द त दिने भइ नै हाल्यो अर्को तर्फ यौनको महत्वलाई पनि उत्तिकै दर्शाएको छ यो कथाले ।

अर्को ‘मिसकल’ कथा हामी धेरैले भोग्ने कथा हो । यो कथाले सम्भवतः आम प्रवासी पाठकहरूलाई पक्कै रुवाएको हुनुपर्छ । कथामा ‘अवशेष’ त प्रतिनिधि पात्र मात्रै हुन्, हामीले आफ्नै अगाडी कैयौँ त्यस्ता घट्नाहरू भोगेका र देखेका छौँ । कति ठुलठला सपनाहरू पोको पारेर मलेसिया(परदेश)को भूमि टेकिएको हुन्छ, तर त्यो तन्नेरी सपना राती सुतेकै बेला फुस्स परलोक हुन्छ ।

त्योभन्दा अर्को पीडा के हुन्छ ? अझ त्यहाँका नेपाली पत्र–पत्रिकाहरूको समाचार नै ५/१० प्रतिशत नेपालीहरू सुतेको सुत्यै र नेपाली कर्मठ युवाहरूको सपना तुहिएको हुने गर्दछ । योसँगै वास्तवमा केही युवाहरूको परदेशीनु रहर वा सपना भए नि कतिपय चाहीँ देशको व्यवस्था, राजनैतिक असन्तुलन, अदुर्दशी नेताहरूको अहमताले परदेशिनु परेको छ , आफ्नै देशको सेवा गर्ने रहर भएर पनि । नत्र देशमा शान्ति सुव्यवस्था कायम भएको भए गा.वि.स. अध्यक्ष भैसकेको अवशेष यसरी परदेशिने थिएनन् । सेना र विद्रोही माओवादीको चपेटामा परेका लाखौँ लाख युवाहरूको प्रतिनिधि हो यो कथा ।

अहिले पनि यो देशको व्यवस्था, राजनीति चाकरीको कारण अवशेष जस्ता कैयौँ दक्ष जनशक्तिहरू परदेशिनु परेको छ । र अनेक बहानामा उतै प्राण त्यागेर बाकसमा अकल्पनीय ‘पार्सल’ बनेर फिर्नु परेको छ । र पनि यो हाम्रो कथा हो । यी यस्ता घटनाहरूले त्यहाँ रहेका कैयौँ नेपाली श्रमिकहरूलाई मानसिक पीडा दिने गर्दछ । त्यो मानसिक्ताका बिच अनेकौँ शंकाको घेरमा रहेर काम गर्न बाध्य छन् नेपाली श्रमिकहरू ।

अर्को कवि कलाकार तथा लेखकहरूका निम्ति रोचक कथा चाहीँ ‘एक पात्र’ हो । कथामा एकातिर आफ्ना शुभेच्छुक (फ्यान)हरूले कवि लेखकलाई दिएको मान मनितो देखाउन खोजिएको छ भने अर्कोतिर फ्यानहरूले भोग्ने पीडाहरू उजागर गरिएको छ । हिजोको दिनमा मलेसियाको बजार वा पार्कतिर एक नेपालीले अर्को नेपालीलाई देख्दा वा भेट्दा जति चिज(महत्व) हुन्थ्यो ? तर पछिल्लो अवस्थामा एकअर्कामा विश्वासघातको बढ्दो श्रृंखलाका कारण आफु आफुमा वितृष्णा जागेको छ ।

‘म’ पात्रको शुभेच्छुकले नेपाली होटल छाडेर ‘म्याकडोनाल्स’मा म पात्रलाई बोलाउनु यसको उदाहरण हो । एउटा नेपालीकै कारण अर्को नेपालीले परदेशमा कतिसम्म दुःख पाएका छन् ? भन्ने कुरालाई पनि रहस्योद्घाटन गरेका छन् कथाकारले । अन्त्यमा मलेसियन पुलिस देख्ने बित्तिकै बिचरा ‘उ’ पात्र हतास भएर भाग्नु । यो भन्दा परदेश बसाईको पीडा के हुन सक्छ ? हामीले भोगेका दैनिकीहरू नै उत्कृष्ट सिर्जना हो । किनकी त्यो कठिनताका बिच पनि ‘उ’ पात्र कथा फुहुराईहन्छ र आफ्ना प्रिय कथाकार ‘म’ पात्रलाई देखाईरहन्छ ।

जो कोहीलाई भावविह्वल बनाउने अर्को कथा हो ‘सुयोग’ । यो कथा प्रेमको आदर्श बोकेको कथा हो । ‘सिमरन’ र ‘सुयोग’को प्रेमिल जोडीले प्रेमको नाउँ(डुँगा)मा सयर गर्दागर्दै उनीहरूको प्रेम उत्सवमा एक्कासी बज्रपात आई पर्दा जो कोही पाठक पनि भावुक हुन्छन् नै । साथै हामी स–साना गल्तिका कारण कति ठुलो दुर्घट्ना भोग्न विवश हुन्छौँ भन्ने तितो यथार्थलाई प्रष्फुटित गरिएको छ । सिमरन पाठेघरको क्यान्सरको कारण अल्पायु मै अन्तिम धड्कन धड्किदैै गर्दा कुन प्रेमीहरू भक्कानिदैनन् होला ? यो कथाको उठानीले जति आनन्द वा खुशी दिलाउँछ वैठानमा पाठकलाई ऐठन पनि उत्तिकै पार्छ ।

कथा सङ्ग्रहको नाममाथि लेखिएको ‘पार्सल’ अर्को मन छुने पठनीय कथा हो । यस्ता कथाहरू लेख्दा कथाकारले निक्कै चनाखो भएर लेख्नु पर्छ । सङ्ग्रहकै नाममाथि कथा लेख्दै गर्दा एउटा कथाकारको लेखन हैसियतसँग जोडिने गर्दछ । यो सङ्ग्रहका अन्य कथाहरूले झण्डै जित्न खोजेको छ पार्सललाई तर कथाकारले विवेक पुराउँदै यो कथालाई पठनीय बनाएका छन् । जब एउटा मस्त तन्नेरी छोरो परदेशिन्छन् तब आफ्ना ती सन्तानमाथि परिवारले ठूलो सपना देखेका हुन्छन् । सुख, खुशी र शान्तिको सास फेर्ने परिकल्पना गरेका हुन्छन् । तर परदेश कहाँ त्यति सहज छ र ?

अनेकौँ कष्ट नहुने कुरै छैन । मरुभूमिको बालुवाघारीमा पसिना बगाएर वसन्त उमार्नु छ । झण्डै ४० देखि ५०/५५ डिग्रीको बगरमा भेँडाबाख्रा र उँट चराएर आफु अघाउनु छ र रेमिट्यान्सले देशलाई बचाउनु छ । त्यति सहज छैन ती कामहरू । अझ मलेसियामा त आफ्नैबाट लुटिने ठाउँ, मेनपावरमा एउटा काममा हस्ताक्षर गरेर कम्पनि पुगेपछि अर्कै काम गर्नु पर्ने बाध्यता । भने जस्तो नभएपछि इलिगिल हुनुपर्ने, अनेकौँ विकृति । यी र यस्तै समस्याहरूबिच एउटा नेपालीले भोगेको पीडा हो यो कथा ।

‘बिरेन’को भाई मेनपावर र कम्पनी अनुसारको काम र कमाई नभएपछि इलिगल हुनु परेको, इलिगल जीवन बिताउँदै गर्दा नै उनको हत्या भएको छ । भाईको लास नेपाल ल्याउन नपाएर उतै दाहसंस्कार गर्नु परेको दर्द, अस्तु समेत ल्याउन नमिल्दा भाइको खरानी पोको पारेर आफ्नो सग्लो भाई सम्झेर बुबाआमालाई जिम्मा दिनु पर्दाको दृष्य कहानी गरि साध्य छैन । अनि बुबाआमा पनि त्यही एक पोको खरानीलाई जिउँदो छोरा सम्झेर लट्ठी टेकेर पर्खनु, त्यो बेला कुन बुबाआमाले मन थामिएला ? बडो हृदयविदारक छ पीडा । यो कथा पढ्दा लाग्छ म थिएटरमा नाटक हेर्दैछु ।

त्यसरी बगेको छ यो कथाको घटनाक्रम । अर्कोतिर सोचे जस्तो उपलब्धि हात नपरेपछि घर पुग्दाको अवस्थाको मनोविज्ञानलाई कलात्मक शैलीमा उतारेका छन् । ‘म’ पात्र मध्ये रातमा मात्रै घर जाने आँट गर्नु, घर पुग्दा आफ्नी श्रीमतीले ‘किन हिम्मत हार्नुहुन्छ ?’ भनेर दिएको ढाडस खुब आनन्दिको छ तर रमाइलो चाहीँ त्यो ‘म’ पात्रको आनन्दी सपना हुन्छ ।

यसरी कथाकारले ‘पार्सल’ कथा सङ्ग्रहभित्र १२ वटा कथाहरू अटाएका छन् । छोटो बसाइमा नि पढिसकिने खालका कथा भएकोले जो कोही पाठकले चासोका साथ पढ्न सक्छन् । परदेशमा भोग्नु परेको समग्र अनुभूति हो ‘पार्सल’ सङ्ग्रह । समिक्षाको ढङ्गले यी कथाहरूलाई हेर्ने हिम्मतसम्म गर्न सकिँन, बरु कथाहरूका पात्रमा ‘म’ स्वयमलाई भेटिरहेँ किनकी कथाकारले जिएको र लेखेको माटोमा स्वयम म पनि जीवनको परिभाषा खोज्न कुनै कालखण्डमा अलमलिएकोे छु । ‘पार्सल’ मलेसियामा सिर्जना भएका सुन्दर कृतिहरूमध्ये एक हो । पछिल्लो पुस्ताको पठन संस्कृतिको मनोभाव बुझिएर लेखिएको कृति हो ‘पार्सल’ ।

अन्त्यमा, कथाकार जीवन देवान गाउँलेको ‘पार्सल’ जस्तै अन्य सुन्दर तथा शसक्त कृतिहरू पनि पढ्न पाउँ, शुभेच्छा ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...