अर्जुन मादेन लिम्बू
राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा
मुलतः राजनीतिमा नै जीवनको उर्वर समय बिताएका मीनबहादुर थापाका अन्य परिचय पनि छन् । थापा राम्रो गीतकार अनि निस्वार्थ भावले सेवा गर्ने समाजसेवी पनि हुन् ।
पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथुमको छथर, पञ्चकन्यामा वि.सं, २०१६ सालमा जन्मिएका थापा पारिवारिक पृष्ठभूमिका कारण सानैदेखि राजनीति र नेपाली कांग्रेससँग नजिक रहेका थिए । पहाडबाट तराई झरेपछि नेपाल विद्यार्थी संघहुँदै कांग्रेसमा सक्रिय बनेका थिए । नेपाली कांग्रेसका शीर्ष नेताहरू वीपी कोईराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईरालादेखि अहिलेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मसँग भेट्ने, नजिकबाट संगत गर्ने दुर्लभ मौका पनि पाएका थिए । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यसम्म बनेका थापा २०६२/२०६३ को जनआन्दोलनपछि महाशक्ति राष्ट्र भनिने संयुक्त राज्य अमेरिका ‘सिफ्ट’ भएका थिए । अमेरिका पुगेको केही समयपछि नै आफूले जिन्दगीको धेरै समय खर्चिएको, जेलनेल समेत भोगेको पार्टी छाडेर स्वतन्त्र बनेका थिए । नेपालबाट धेरै टाढा रहेपनि उनी नेपालको अवस्थालाई निरन्तर नियालिरहेका छन् । गणतन्त्र नेपालका नेताहरूको चरित्र, खिचातानीबाट लाखौं नेपाली झैँ थापा पनि निराश र आक्रोशित छन् ।
थापाले लेखेका गीतहरूमा त्यसको प्रतिबिम्ब प्रष्ट देख्न सकिन्छ । मीनबहादुर थापाको गीतकार व्यक्तित्वको चर्चा गर्दा उनका झण्डै ३५ वटा जति गीतहरूमा विभिन्न चर्चित तथा वरिष्ठ संगीतकारहरूको संगीतमा लोकप्रिय गायक गायिकाहरूले स्वर भरिसकेका छन् । उनको शब्दमा संगीत भर्ने संगीतकारहरूमा चर्चित संगीतकार टीका भण्डारी, शिशिर योगी, मोनी ताम्लिङ आदि छन् भने शिशिर योगी, टीका भण्डारी, राज सिग्देल, मिलन नेवार, प्रल्हाद तिमिल्सिना, मीना निरौला, मोनी ताम्लिङ, नारायण लामालगायतका लोकप्रिय गायकगायिकाहरूले स्वर दिएका छन् ।
गीतकार मीनबहादुर थापाले लेखेका गीतहरूमा मुख्यतः देशको चिन्ता, देशमा मौलाएको राजनीतिक वेथितिप्रति आक्रोश, गरिब जनताको पीडा, देशभक्ति, राष्ट्रप्रेम, सनातन हिन्दू धर्मप्रति आस्था, पुर्खाका वीर गाथाहरूको बयान, केही मायाका कुरा र जन्मदिने आमाको महानताको वणर्न भेटिन्छ । अल्पायुमै बितेका आफ्नै छोरा अन्जील थापाको वियोगमा लेखिएको गीत अत्यन्त मार्मिक छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहमाथि उनले लेखेको गीत जसको संगीत शिशिर योगी र स्वरमा शिशिरलाई मीना निरौलाले साथ दिएकी छिन् । जुन यस्तो छः
कस्ले भन्छ यो देश पृथ्वी शाहले आर्ज्यानन् ।
ईतिहास बोल्छ यो देश पृथ्वी शाहले आज्र्या हुन् ।
होशियार विदेशी दलाल हो ।
अर्को उत्तिकै सन्देशपूणर् देशभक्तिले ओतप्रोत उहाले लेखेका गीतः
खोजौं न हामी नेपाली पूर्खाको इतिहास कहाँ छ ।
शहरमा हैन, गाउँमा नेपाली पन जहाँ छ ।
माथि उल्लेख गरिएकासहित ७ वटा उहाँका देशभक्तिका गीतहरूको संगालो हाईलाईटस् नेपालको युट्युब च्यानलमा सुन्न सकिन्छ ।
उनले लेखेको मायाप्रेमको गीतको कुरा गर्दा टीका भण्डारीको संगीतमा मिलन नेवार र प्रल्हाद तिमिल्सिनाले गाएको यो मीठो गीत निकै कणर्प्रिय लाग्छः
फूल झै फुल्न सके जिन्दगी कति मजा हुन्थ्यो फुल्नलाई ।
पानी झरी हुरी बतास सँगसँगै हास्दै खेल्नलाई ।
गीतकार थापाले आफ्नो गीत सिर्जनाको दायरालाई फराकिलो बनाउदै व्यवस्था परिवर्तन भए पनि गरिब किसान, मजदुर या काम गरेर खाने जनताहरूको जीवनमा कुनै परिवर्तन नआएको कुरालाई “हो..होे..हो.. हली दाई” भन्ने गीतमा समेटेका छन् । टीका भण्डारीको संगीतमा नारायण लामाले गाएको यो गीत पञ्चायतकालमा कम्युनिष्टहरूले भन्ने जनवादी गीत झैँ पनि लाग्नसक्छ ।
हो…हो…हो…हो..हो..हली दाई, हलो जोत्ने दाई, हलो जोत्ने दाई ।
भनन के भयो तिम्रो देशलाई, भनन के भयो, के भयो तिमीलाई ?
बिहानीको झिसमिसेमा तिमी खेत पुग्छौं ।
चरी गुडँ पस्ने बेला तिमी घर फर्कन्छौं ।
ढुङ्गा,माटो, पानी, झरी, तिम्रै जीवनकथा ।
तिम्रै भोको पेट फेरि, तिम्रै किन व्यथा ?
जन्म दिने आमाको महानताको जति मुक्त कण्ठले वणर्न गरे पनि कम नै हुन्छ । सात जुनिमा पनि आमाको दुधको “भारा” तिर्न सकिन्न भन्ने भनाई नै छ । यिनै भावनालाई गीतकार थापाले सुन्दर शब्दमा उतार्नुभएको छ जसमा टीका भण्डारीले स्वर र संगीत दिएका छन् ।
सुक्दैन सागरको पानी जति झिके पनि ।
रित्तिदैन आकाशमा तारा लाखौं झरे पनि ।
त्यहि सागर हुन् हाम्री आमा ।
त्यहि आकाश हुन् हाम्री आमा ।
जीवनमा गुमाउनुको पीडा त गुमाउनेलाई मात्र थाहा हुन्छ । त्यसमा पनि आफ्नै प्रिय पुत्र स्व.अन्जील थापाको वियोग अर्थात एउटा जवान छोरा गुमाएको बाबुको आफ्नै पीडामा लेखिएको गीत साँच्चै नै मनछुने र कारुणीक छ ।
मरेर जाने फर्कदैनन् यो पनि थाहा छ ।
रुन्छ यो मन छिनछिन किन बुझाउने को छ ?
आशाको दियो निभेछ मेरो संसारै अधेरी ।
बल्दैन अब त्यो दियो फेरि मन बुझाउ कसरी ?
मोनी ताम्लिङले संगीत दिएको यो गीतमा मोनी ताम्लिङ र संगीता मसरंगीको स्वर सुन्न सकिन्छ ।
निष्कर्षमा, गीतकार मीन बहादुर थापाले लेखेका गीत सुन्दा र गीतमा निहित सन्देश केलाउदा थापाका गीतहरू सरल तर निकै सशक्त छन् ।
समाजसेवामा पनि उत्तिकै सक्रिय थापा
मीनबहादुर थापा नेपाली कांग्रेसको एउटा बफादार सिपाही त थिए नै । राजनीतिसँगसँगै उहाँले समाजसेवामा पनि पाईला बढाए ।
मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र स्थापना उहाकै नेतृत्वमा भएको हो । यसको पनि निकै रोचक कथा छ ।
२०४६ सालमा बहुदलिय व्यवस्था आएपछि बनेको गिरिजाप्रसाद कोईरालाको सरकारले प्रत्येक चुनावी क्षेत्रमा एक जना एसबिबिएस डाक्टर र स्वास्थ्य केन्द्र खोल्ने स्वास्थ्य नीति ल्याएको थियो । डा. शेखर कोईरालाले उक्त “कोटा”बारे जानकारी गराएपछि थापाँले मंगलबारेका स्थानीयबासीहरूको भेला आयोजना गरि सो विषयमा छलफल आयोजना गरेका थिए । भेलाले थापालाई नै अध्यक्ष बनायो र उनकै नेतृत्वमा मंगलबारेमा स्वास्थ्य चौकी ल्याउन पहल गर्ने निणर्य गर्यो ।
डा. शेखर कोईराला र डा.रामेश्वरलाल करुवामार्फत स्वास्थ्य चौकीका लागि सम्बन्धित निकायमा निवेदन हालियो । सडक विभागको नाममा रहेको जग्गामध्येबाट २ विगाहा जग्गा उक्त स्वास्थ्य केन्द्रका लागि छुट्टाउने निणर्य सहजताका साथै सम्पन्न भयो किनकी यो परियोजनाबारे जानकार सडक विभाग, मोरङमा डिभिजन ईन्जिनियर रहिसकेका तनुकलाल यादव त्यतिबेला मन्त्रालयमै कार्यरत थिए ।
यसैगरी थापाले आफ्नै गाउँ तत्कालीन मोरङ जिल्लाको हसन्दह गाविस वडा नं. ३ मा ओखलढुङ्गा – टिम्मुरबोटेमा शहिद भएका रामलक्ष्मणको नाममा शहिद रामलक्ष्मण प्राथमिक विद्यालय २०५५ साल ज्योष्ठ २२ गते स्थापना गरेका थिए । विद्यालय स्थापनाका लागि उनकी आमा चीजमाया थापाले ५ कठ्ठा जग्गादान गरेका थिए भने बुबा लिलम बहादुर थापाले कान्छी धर्मपत्नी स्वर्गीय पदमकुमारी थापाको स्मृतिमा गाउकै स्वास्थ्य केन्द्रमा ४ कोठे भवन व्यक्तिगत खर्चमा निर्माण गरिदिएका थिए ।
उद्घाटन चाहि तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष बेनीबहादुर कार्कीले गर्ने तय भई सम्पूणर् तयारीसमेत गरिसकिएकोमा गिरिजाप्रसाद कोईरालाको सिधा हस्तक्षेपमा त्यो रोकिएको थापा बताउँछन् । त्यो समय मीनबहादुर थापाको कोईरालासंग मतभिन्नता शुरु भइसकेको थियो । अध्यक्ष कार्की नआउने भएपछि कांग्रेस नेता प्रदिप गिरिले विद्यालय, तत्कालीन सांसद बद्री नारायण बस्नेतले स्वास्थ्य चौकीका लागि निर्माण गरिएको भवन र थापाका बुबाले सोही अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।
अमेरिका जानुअघिसम्म थापाले आफ्नो गाउँठाउँमा वर्षेनी व्यक्तिगत लागतमा स्थानीय क्लबसँंग सहकार्य गरेर स्वास्थ्य शिबिरहरू आयोजना गरिरहेका थिए ।
सम्बन्धित लेख
गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।