सदा कविता लेखनमा समर्पित हुनेछु: कविता राई ।
सुनसरी, १० असार । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सवको ६८ औं “राष्ट्रिय कविता महोत्सव –२०७८” मा भोजपुरकी कविता राई प्रथम बनेकी छिन् । त्यसैगरि महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय, बर्दियाकी निरञ्जनाकुमारी चन्द, ताप्लेजुङकी सविता बराल र नुवाकोटका प्रकाश सिलवाल तृतीय हुनु बने । भर्चुअलमार्फत आयोजना गरिएको सो प्रतियोगितामा विजेता बनेकी कविता राईले ‘देशको नक्सा’ वाचन गरेकी थिइन् । यस्तै अमृता स्मृतिले ‘डढेलोपछि वसन्त आउँछ’ कविता वाचन गरेकी थिइन् । निरन्जना कुमारी चन्द, सबिता बराल र प्रकाश सिलवालले क्रमशः ‘युगिन प्रतिध्वनी’, ‘आमा म आएँ अब’ र ‘बोधिसत्वको खोप’ वाचन गरेका थिए ।
प्रज्ञाले प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गर्नेछ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताउनुभयो ।
कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताउनुभयो ।
यता राष्ट्रिय कविता महोत्सवमा प्रथम भएपछि सामाजिक सन्जाल फेसबुकमार्फत प्रतिकृया दिदै राईले एउटा कविले देख्ने सपना जस्तै आफुले नि कुनै दिन देखेको सपना पूरा भएको बताउदै आफ्ना शुभेच्छुक शुभचिन्तकहरु प्रति धन्यवाद ज्ञापन गरेकी छिन् । उनले भनेकी छिन् –“एकेडेमीले दिएको यो जिम्मेवारीलाई पूरा गर्न हरदम लागि पर्नेछु । कविता कर्ममा सदा समर्पित हुनेछु ।”
प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुका अनुसार महोत्सवमा ७६४ जनाले सहभागिता जनाएका थिए । अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशभरबाट प्रतियोगितामा सहभागिता जनाएका थिए ।
देशको नक्सा
म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।
खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।
अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !
विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !
ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !
छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।