गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू - Naya Online

गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू

एक गुमनाम पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू

७० वर्षभन्दा लामो ईतिहास बोकेको नेपाली कांग्रेस पार्टी हजारौं नेता र लाखौं कार्यकर्ताहरूको असंख्य योगदान, त्याग र समपणकै कारण आजसम्म आईपुगेको हो । काग्रेस भन्ने वित्तिकै वीपी, गणेशमान, सुवर्ण शम्शेर, किशुनजी, गिरिजाबाबु हुदै सुशील, शेरबहादुर, रामचन्द्रदेखि गगन थापासम्मलाई त सजिलै चिनिएला । तर त्यसरी नचिनिने पार्टीमा लागेर जेल, नेल, यातना, अनेक दुःख भोगेका कार्यकताहरूको तप्का पनि ठुलै छ । जो २०४६ सालको बहुदलीय प्रजातन्त्रको पुर्नस्थापनादेखि गणतन्त्रसम्मको यात्रामा कांग्रेस पटकपटक सत्ता, सरकारमा रहँदा पनि हमेशा “पाखा’मै पारिए । यसैका एकजना प्रतिनिधि कांग्रेसी कार्यकता हुन् मीन बहादुर थापा ।

२०१६ सालमा तेह्रथुम जिल्लाको तत्कालीन पन्चकन्या गाविसको वडा नं. ८ मा जन्मिएका उनी पिता लिलम बहादुर थापा र उनका दुई श्रीमतिहरूबाट जन्मेका ७ दाजुभाई र ६ दिदीवहिनीहरूमध्ये काइँलो हुन् । नेपाली काँग्रेससँग उनको परिवारको नजिकको साईनो कसरी पनि बन्यो भने वि.सं. २०१५ सालमा मोरङ्बाट चुनाव लड्दा वीपी कोईराला थापा परिवारको खेती रहेको मोरङ जिल्लाको हसन्दहस्थीत घरमै बसेका थिए । त्यतिबेला वीपीलाई धानको बालाको माला लगाईदिएर स्वागत गरिएको थियो । घरमै ४,५ घण्टा कार्यक्रम पनि भयो । सोही अवसरमा वीपीको हातबाट पिताजी लिलम बहादुर थापाले नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।

पञ्चायती शासनको मध्यकालतिर अर्थात २०३० साल जेठ २९ गते विराटनगरबाट भारु ३० लाख बोकेर काठमाडौं उडेको विमान नेपाली कांग्रेसले अपहरण गर्यो । उक्त प्लेन हाईज्याकमा संलग्न एकजना तत्कालीन नेविसंघका कार्यकर्ता वसन्त भट्टराई मीनकै फुपुका छोरा थिए । यो समाचार रेडियो नेपालबाट सुनेपछि उनको पहाड घरमा रुवावासी नै चलेको थियो । यो घटनाले पनि १३, १४ वर्षका मीनलाई काँग्रेससँग नजिक गरायो । पछि अध्ययनका लागि विराटनगर झरेपछि त पारिवारिक वातावरण र स्थानीय माहोलका कारण उनी अझ नजिकिए । किनकी २०३६ सालको आन्दोलनको समयमा विराटनगर, सरोऊचियास्थित उनको घर पार्टी कार्यालय जस्तै भएको थियो । मीन आफै त्यतिबेलाको एक्शन कमिटिमा जुनियर सदस्यका रूपमा संगठीत थिए । जनमतसंग्रहपछि उनी महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको सचिव बने । अध्यक्ष भने प्लेन हाईज्याक काण्डका एक नायक नागेन्द्र ढुंगेल थिए । आममाफी पाएर विजय गच्छालार, उमेश गिरी, वसन्त भट्टराई, नागेन्द्र ढुंगेलहरू नेपाल फर्किएपछि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएको समय थियो त्यो । वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी पनि त्यो बेला त्यही क्याम्पसमा अखिलको राजनीतिमा सक्रिय थिइन् । २०३९ सालमा विजय गच्छाचार क्याम्पसका स्ववियु सभापति थिए, त्यहिबेला चर्चित गोलीकाण्ड भयो । त्यसपछि तितरवितरकोे अवस्था सिर्जना हुनपुग्यो । सोही समयमा नेविसंघका केन्द्रिय पर्यवेक्षक भएर जयप्रकाश गुप्ता (पूर्वमन्त्री) विराटनगर आए र थापालाई नेविसंघ मोरङको सभापति बनाए । उनले ६ महिनाभित्र संघको जिल्ला अधिवेशन सम्पन्न गरेर तत्कालीन नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोईरालाको अनुरोधमा अमृत अर्याल (पूर्व सांसद तथा नेपाली काग्रेस, मोरङ जिल्ला सभापति)लाई जिल्ला नेतृत्व सुम्पिए । त्यतिवेला उनलाई गिरिजाबाबुले नेविसंघको केन्द्रिय सदस्य बनाउने आश्वसन दिएका थिए जुन पुरा भएन । २०४४ सालमा अशोक कोईरालाको सभापतित्वमा बनेको नेपाली कांग्रेस, मोरङ जिल्ला समितिमा मीन बहादुर थापा सबैभन्दा कान्छो सदस्यका रूपमा रहेका थिए ।

२०३८÷०३९ सालतीरको एउटा रोचक प्रसँग । नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनहरूमा भाग लिनका लागि गिरिजाबाबुले विद्यार्थी नेताका रूपमा बोलाएपछि उनिहरू काठमाडौं आए । कार्यक्रमस्थान थियो पोखरा । पोखरा जानका लागि किशुन र रामबाबु प्रसाई चढेको गाडीमै थापा बसेका थिए । थानकोट नपुग्दै, टायर पन्चर भयो । वर्कशपमा मिस्त्रीले पन्चर बनाउदै गर्दा ‘थाहा’ लेखेको स्कुटरमा नीलो क्याप लाएका रूपचन्द विष्ट आउदै गरेको देखियो । स्कुटर रोकेर विष्ट किशुनजीलाई जय नेपाल भन्दै भेट्न आए । त्यहीबेला रामबाबुले थाहा भनेको के हो भनेर विष्टलाई सोधें । ठट्यौली गर्दै किशुनले म भन्दिछु भन्दै था भनेको थापा, हा भनेको हार्यो, भनें । त्यो तत्कालीन शक्तिशाली राजनीति खेलाडी सुर्य बहादुर थापाप्रति कटाक्ष थियो ।

पोखरामा फेवातालपारि २०१५ सालमा मन्त्री बनेका मीन बहादुर गुरुङको घरमा बसोवासको प्रवन्ध गरिएको थियो । भोलिपल्ट प्रहरीले तालका डुङ्गाहरू नियन्त्रणमा लिएपछि २ दिन त्यहि बस्न बाध्य हुनुपर्यो । त्यहाँ किशुनजी, गिरिजाबाबु, वासु रिसाल, दमननाथ ढुंगाना, शैलाजा आचार्य, रामचन्द्र पोखरेल, उमेश गिरी, वसन्त भट्टराई, मनहरी थापालगायतका हस्तीहरू थिए । तेस्रोदिन प्रहरीले डुङ्गा छोडेपछि शुक्रराज शर्माको घरमा कार्यक्रम सम्पन्न भयो ।

अर्को क्षेत्रिय सम्मेलन नारायणगढमा थियो । मीनबहादुर थापाहरू बस चढेर कार्यकम स्थानतिर लागे । किशुनजी, गिरिजाबाबुहरू जीपमा आउने तय भएकोमा बाटैमा प्रहरीले उनीहरूलाई रोकेर गेष्ट हाउसमा राख्यो । नारायणगढमा रहेका मीनलाई गिरिजाबाबुले उमेश गिरीको हातमा चिठीसहित १०० रूपैया पठाए । चिठीमा प्रहरीले अवरोध गरेकाले तिमीहरू जिल्ला फर्क भनेर लेखिएको थियो ।

२०३९ सालमा कोईराला निवास, विराटनगरमा ज्योती कोईरालाको विवाह थियो । विहेमा किशुनजी पनि आएका थिए । किशुनजीले हिडेरै विराटनगर घुम्ने ईच्छा व्यक्त गरेपछि गाईडका रूपमा किशुनजीलाई साथ दिन नोना आमाले थापालाई भनिन् । त्यतिबेला किशुनजीसँग झण्डै अढाई घण्टा बिताउन पाएको क्षण अहिले पनि थापा सम्झिरहन्छन् । सन्त नेताले उनलाई राजनीतिसँगै पढाईलाई पनि निरन्तरता दिन सुझाव दिएका थिए त्यो बेला ।

२०३६ देखि २०४६ सम्मै भएका विभिन्न विरोध, धर्ना, आन्दोलनमा निरन्तर सहभागी र नेतृत्व गरेका थापा बाराम्बर पक्राउ परि हप्ता दिन देखि डेढ महिनासम्म पटकपटक हिरासतमा बसे । २०५२ को मध्यावधि निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारका लागि मोरङको क्षेत्र नं. २ बाट थापाको नाम एकल सिफारीस भएको थियो । त्यहिबेला गिरीजाबाबुले काठमाडौं बोलाएर सो स्थान बसन्त भट्टराईलाई छोडिदिन आग्रह गरे । बदलामा केन्द्रमा कतै लाने आश्वसन दिए । आफ्नो नाममा आईसकेको पार्टीको टिकट पनि अन्तत उनले भट्टराईलाई छाडिदिए । यो चोटी पनि कोईरालाले थापालाई दिएको आश्वासन पुरा गरेनन् ।

पछि कांग्रेस विभाजन भयो । उनि शेरबहादुर देउवाले नेतृत्व गरेका नेपाली कांग्रेस प्रजातान्त्रिकतिर लागेर महासमिति सदस्य बने । २०६२/०६३ को जनआन्दोलनमा कांग्रेस प्रजातान्त्रिककै तर्फबाट स्वास्थ्यकर्मी परिचालन गर्ने जिम्मा लिएर आन्दोलनमा सहभागी भए । जनआन्दोलन सफल भएपछि सन् २००६ को अगष्टमा उनी अमेरिका उडे । पछि नेपाली कांग्रेस एक भयो । तर यसमा उनको व्यक्तिगत रूपमा फरक मत थियो । प्रजातान्त्रिक शक्तिको पनि विकल्प हुनुपर्छ, त्यसैले कांग्रेस एक हुनु हुदैन भन्ने उनको विचार थियो । राजनीतिक घटनाक्रमहरू विकास हुदै जाँदा नेपाली कांग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको लाईन समातेपछि उनले सधैँका लागि कांग्रेस त्यागे ।

अहिले पुरा जीवन विताएको पार्टी छाडेर ६२ बर्षीय थापा स्वतन्त्र छन्, अमेरिकामा बस्छन् । तर मातृभूमिको राजनीतिक खिचातानी देखेर ढुक्कले बस्न सकेका छैन । कहिले सुध्रेलान् हाम्रा नेताहरू र कहिले बन्ला नेपाल ? यो गम्भीर प्रश्न सधै मनमा खेलिरहन्छ अमेरिकामै भए पनि ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जनगणनामा थर लेख्ने प्रचलन

निनाम कुलुङ ‘मंगले’ लामो समयदेखि (लगभग एकसय २० वर्ष अघिदेखि) नेपालमा पनि राष्ट्रियस्तरमा जनगणना...

‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’

रोना लिम्बू वर्देवा १५ वर्ष अघि मैले अन्तरजातीय विवाह गरेकी थिएँ । चाडवाडमा भेटघाटको...

शुद्ध हुनुपर्छ भरिएको घडा

आश्मा अर्याल आयो दशैँको बेला अरे । के आएकै हो त दशैँ? तिथि, मिति,...

दसैँसँग याक्थुङ जातिको के साइनो लाग्छ ?

प्राज्ञ अमर तुम्याहाङ चाड भनेको के हो ? चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो...

समसामयिक राजनीतिक रङ्गमञ्चमा प्रतिगामी र अग्रगामी आरोप–प्रत्यारोपको शल्यक्रिया

उदय ‘पूर्वेली’ चोङ्बाङक्याक अहिलेको सत्ताको केन्द्रलाई नियाल्दा लिबरल डेमोक्रेसी प्रकृतिको देखिन्छ । काँग्रेस र...

लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध

नन्द कन्दङवा किरात, याक्थुङ र लिम्बुको सम्बन्ध किरात भनेको आर्यहरूले इंगित गरेको एउटा ठुलो...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...

सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी

युवराज ठकुरी उन्यु र बुकी फुल्ने उत्तरी मोरङ केराबारी–२, सिंहदेवीमा रहेको पाखोबारी आज हराभरा...

“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?”

जीवन देवान गाउँले मेरो एकजना जिग्री थियो –दीलदुःखी जन्तरे । थियो ! सुनेर चिसो...

विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना

लक्ष्मण कटुवाल एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको...