देवेन्द्र सुर्केली
विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको लागि कलाकार छनौटमा सहभागी हुनेबारे । भाषा, संस्कृति तथा पहिचानको लागि केही गरौं भन्ने युवाहरूको लाम लाग्यो धरानस्थीत गीतामन्दिरको भवनमा ।
लिम्बू भाषाको प्रथम चलचित्र निमात्री शोभा खजुम तथा चलचित्रको लागि निर्देशक विनोद सेरेङ र निर्माता हरि चोङबाङ कलाकार छनौटको लागि आएका थिए । यस पंक्तिकारले पनि केही ‘डायलग’ बोल्दै अभिनय गरेको थियो । उक्त चलचित्र त निर्माण भएन । पछि निर्देशक विनोद सेरेङ नयाँ बानेश्वरको ‘दृष्टि नेपाल’मा भेटिए । चलचित्र बगर (युट्युवमा ‘संघर्ष जिन्दगीको’) तथा केही टेलिचलचित्रको निर्देशन गर्दै थिए । उनीसँग एकै टेबलमा बसेर लामो छलफल पनि हुने गर्दथ्यो । गम्भीर, कुनै पनि विषयमा गहन विचार गरेर मात्र बोल्ने सेरेङसँग दृष्टि नेपालको टेबलमा पनि निकै लामो कुराकानी हुने गर्दथ्यो । प्रेम सेर्माद्वारा सम्पादित माङ्गेना तथा याक्थुङ कलाकार संघको प्रकाशन ‘पक्कन्दी’मा केही कुराकानी प्रकाशित पनि गरिएको थियो ।
पछि सेरेङले ‘अंगालो यो मायाको’ र ‘निशानी’ जस्ता चर्चित चलचित्र पनि बनाए । चलचित्र निर्माणबारे सोचिरहने विनोद अन्य समयमा डकुमेन्ट्रीलगायत भिडियोसम्बन्धि काममै व्यस्त हुने गर्दछन् । नाटक, भिडियो, टेलिचलचित्र तथा चलचित्रको लेखन/निर्देशन गरिसकेका सेरेङसँग जीवनमा सम्पूर्ण कुरा उक्किने गरी कुराकानी गर्ने प्रस्ताव राखियो । प्रस्तावमुताविक उनी नयाँअनलाइनको कार्यालयमै आइपुगे । र, आफ्नो जीवनी धाराप्रवाह बक्न थाले ।
‘म सन् १९६० दार्जिलिङ लिङ्तेन वस्तीमा बुबाआमा धनराज सेरेङ, जसमाया नाल्बोको कोखबाट चारजना दाजुभाई, २ जना दिदीबहिनीमध्य कान्छा छोराको रूपमा जन्मिएको हुँ । परिवारमा एकजना दाजु आर्मी अरू खेतीपातीमा छन् ।’
सेरेङले दार्जिलिङको लिङ्तेन प्राइमरी स्कुलबाट प्रारम्भिक शिक्षा शुरु गरेर गभर्मेन्ट हाइस्कुलबाट म्याट्रिक पास गरेका रहेछन् । त्यसै स्कुलबाट हाइयर सेकेण्डरी लेभल सिध्याएर गभर्मेन्ट कलेजमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका रहेछन् ।
सानोमा नाच्ने र फ्रुट बजाउने गरेका सेरेङ दार्जिलिङको प्रभावमा गाउने पनि गर्थे । स्कुल तथा गाउँका अन्य कार्यक्रमहरूमा गीत गाउथे । कलेजलेभलमा उनी थिएटरमा लागेका थिए । गाउँमा दाईहरूले संचालन गर्ने नाटक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन्थे । सेरेङले बन्द पर्दाभित्र, च्यातिएको साइनवोर्ड आदि नाटकको निर्देशन गरेका थिए । नाटक चलचित्रसम्बन्धि स्वअध्ययन गरी चलचित्र क्षेत्रमा प्रवेश गरे ।
ताप्लेजुङको सन्थाक्रा मुलघर भएकोले गर्दा नेपाल आउजाउ भइरहने हुन्थ्यो विनोदको । यसैक्रममा वि.सं. २०४२ सालमा काठमाडौं आएका हुन् । विनोद भिडियो चलचित्रको फोटो कन्सर्नको लागि आएका थिए । दिदीहरू काठमाडौं रहेकाले उनलाई यता आउन सजिलो नै थियो । फोटो कन्सर्नमा वरिष्ठ निर्देशक प्रताप सुब्बासँग भेट हुनपुग्यो । प्रताप सुब्बाको ‘बाँच्न चाहनेहरू’ चलचित्रको छायांकनमा दार्जिलिङको सिङ्मारी कपुरथानमा पहिल्यै भेट भएको थियो ।
काठमाडौँको त्यो भेट विनोदको लागि टर्निङ प्वाइन्ट भयो । उनी काठमाडौं नै बस्न थाले ।
प्रताप सुब्बाको संगतले विनोद पनि चलचित्र बनाउने भए । उनले ‘बन्द पर्दाभित्र’ नाटकलाई भिडियो चलचित्र बनाए । नैकापका राजेन्द्र मानन्धरले लगानी गरेको यस चलचित्रमा अर्जुन श्रेष्ठले डेब्यु गरेका थिए । नीर शाहको पहलमा भृकटी मण्डपमा प्रदर्शन भएको थियो । जसले ८० हजारमा निर्माण गरेको चलचित्रले ५ लाख कमाएको प्रसँग कोट्याए विनोदले । चलचित्रमा अन्य कलाकारहरू हिउँवाला गौतम, मदनदास श्रेष्ठ, रवि गिरि, भीमवरसिंह थापा आदि थिए ।
त्यसपछि विनोदले ४५ मिनेटको टेलिफिल्महरू धेरै गरेका थिए । प्रताप सुब्बासँगको सहकार्यमा दोबाटो, सत्यको महत्व, काँचको चुरा, वेजिम्मेवारी भाका, अनाहर जाली (भोजपुरी), मास्टरजी (मैथिली) आदि टेलिफिल्मको निर्माण गरे ।
भिडियो फिल्महरू अधिकार, उसले जन्माएको मृत्यु निर्देशन गरे । वेजिम्मेवारी भाका, थत्थामा, चट्याङ आदि चलचित्रका पटकथा लेखे । धरानको ‘चिनारी’, सिक्किमको संस्कृति, इतिहास र विकाससम्बन्धि ‘परिवर्तन’, सिक्किमकै कथामा ‘डिफाइन माझिटार’, याक्थुङ ऐतिहासिक परिचय –१, आवाससम्बन्धि वृतचित्र निर्माण गरेका छन् । नेपाल टेलिभिजनको साइनो कार्यक्रममा कार्यक्रम निर्देशक, एनटिभी टुमा म्युजिक जर्नीमा कार्यक्रम निर्देशक, काठमाडौं उपत्याकाका विभिन्न धार्मिक ऐतिहासिक स्थलको वृत्तचित्रमा निर्देशन गरेका छन् । जुन नेपाल टेलिभिजनको लागि थियो ।
टेलिचलचित्र मर्दीको किनारमा, गोरीको गाउँ निर्देशन गरेका सेरेङले दिदी, चट्याङ, भिष्म प्रतिज्ञा आदिमा मुख्य सहायक निर्देशन गरे । त्यसपछि आफ्नै लेखन निर्देशनमा बगर, (यसलाई ‘संघर्ष जिन्दगीको’ नाममा प्रदर्शन गराइयो, युट्युवमा पनि त्यही नाममा छ), अंगालो यो मायाको, निशानी आदि चलचित्र निर्देशन गरेका छन् ।
लिम्बू भाषा लेखिने अक्षरका प्रचारक सिरिजंगालाई चलचित्रमा ढाल्ने भनेर अनुसन्धान गरे, स्क्रिप्ट तयार पारे । त्यसको लागि धरानमा कलाकार खोजिएको कुरा शुरुमा चर्चा गरिएको छ तर चलचित्र बन्न नसकेको नमिठो स्मरण पनि गरे ।
संस्मरणै संस्मरणको चलचित्र दुनियाँ
टिष्टा खोलामा ‘अंगालो यो मायाको’ छायांकन भइरहेको थियो । अचानक माथिदेखि खोला खोलिदिएकोले झण्डै बगाएको कथा पनि रहेछन् । त्यसैगरी निशानी फिल्मको लडाइँको छायांकनमा पेट्रोल बम्ब पड्काउँदा सिस्नुघारीमा पु¥याएको क्षणलाई दोश्रो जन्मको रूपमा लिन्छन् ।
चलचित्र चट्याङ प्रशोधनका लागि मुम्बईमा पुगेको बेला होटल शान्ता क्रुजमा बसेको बेला राती प्रहरीले कोठा घेरेर उठाएको तथा आङ खस्नेसम्बन्धि पाँचथरमा डकुमेन्ट्री बनाउँदा ३० जनाको निःशुल्क उपचार भएको क्षण उनको लागि अविश्मरणीय बनेको छ । लामो समयदेखि आङ खस्ने समस्यालाई उपचार गर्ने कुनै उपाय नभेटाइरहेको बेला डकुमेन्ट्रीको लागि पुगेका साच्चिँकैका डाक्टर तथा नर्सले अचानकै उपचार गर्न पुगेका थिए । त्यसले गर्दा बिरामीहरूले धर्रधरी रोए, भगवान आएको बताए । त्यसको प्रभावले श्रीमतीसँग मिलेर करुणाआश्रमको स्थापना गर्न पुगेको बताउँछन् ।
जति धेरै प्रिन्ट, यति राम्रो फिल्म
त्यस समयमा नेपाली चलचित्रमा काम गरिरहँदा मुम्बईको भर पर्नुपथ्र्यो । नेपालमा कामहरू सकेर मुम्बई र कलकतामा हुने भएकोले यहाँ काम भइसकेको म्याटर लिएर जानु पथ्र्यो । चलचित्र दिदीको लागि सिलिगुडीको एनजीबीदेखि फिल्म प्रिन्ट लिएर आउँदा कागजपत्र नपुग्दा बागडुग्रामार्फत रिक्सामा ओसारेको क्षण कहिल्यै नबिर्सने क्षण बनेको रहेछ सेरेङको लागि । त्यसबेला जति प्रिन्ट गर्न सकियो, उति राम्रो हुने भएता पनि नेपाली चलचित्रहरू धेरै प्रिन्ट गर्न नसकिने भएकोले हलमा मधुरो हुने कुरा स्पष्ट पारे । एक प्रिन्टमा ८० हजार खर्च हुने भएकोले नेपाली चलचित्रहरू १÷२ प्रिन्टमै सकिन्थे । तर बलिउड हलिउडको १०÷१५ प्रिन्ट गर्दै कलर करेक्सन गरेपछि उताको चलचित्रहरू क्लियर हुन्थेछन् ।
निर्देशन गर्दा कन्फिडेन्टली हुनुपर्ने, टेक बढि खाएको खण्डमा घाटा हुने चुनौती थियो । एक सेकेण्डमा २४ फ्रेम हुने र २४ फ्रेमको २ सयदेखि अढाईसय सम्म पर्ने भएकोले अनुभवी निर्देशककै जरुरी हुन्थ्यो ।
कोरस नृत्यको लागि महेन्द्र पुलिस क्लवको भर
त्यसबेला अर्को समस्या भनेको कोरस डान्सर नपाउने स्थिति थियो । कोरसको लागि महेन्द्र पुलिस क्लवको भर पर्नुपथ्र्यो । पोखराको डाँफे क्लवले कलाकार उत्पादन गर्ने गरेकाले त्यताबाट झिकाएर काम गर्नु पथ्र्यो, जुन खर्चिलो र चुनौतिपूर्ण थियो ।
वि.सं. २०५० सालमा डायमण्ड एक्टिङ इन्स्टिच्युट खोलेपछि त्यसबाट धेरै कलाकार, टेक्निसियन, निर्देशकहरू जन्माइएको स्मरण पनि सेरेङले गरे ।
विनोदले नारायण कायस्थले सञ्चालन गरेको एक्टिङ ट्रेनिङको क्लास दिएका थिए भने २०७३ मा सुर्यविनायक भक्तपुरको सुनौलो कला केन्द्रमा एक महिनाको एक्टिङ वर्कसप गराएका रहेछन् ।
प्रेम र विवाह
विनोद सेरेङको जीवनमा प्रेम पनि चलचित्रको कथा जस्तै छ । कलासँग नजिक रहेका विनोद प्रेमिल थिए । त्यसैले दार्जिलिङमा उनको एक प्रेमिका थिइन् । तर काठमाडौं आएपछि २०४६ ललिता धौभडेलसँग विवाह गर्न पुगे । मामाको छोरी दिदी विष्णु राई सुब्बा नर्सिङ कलेजमा प्रिन्सिपल थिए । उनको विद्यार्थी थिइन् ललिता । त्यसैले दिदी विष्णुबाटै विवाहको कुरा पुग्यो । ससुरा पशुपतिभक्त धौभडेल लेखक भएकाले अन्तर्जातीय विवाहमा कुनै समस्या नआएको पनि सेरेङले बताए ।
सेरेङ धौभडेल दम्पतीका तीन जना सन्तान छन् १ छोरी र दुई छोरा । उनीहरू भक्तपुरमा स्थायी रूपमा बस्न थालेको ३५ वर्ष भइसकेको छ ।
आगामी योजनाहरू
सेरेङमा चलचित्र निर्माणको भोक मरिसकेको छैन । केही स्क्रिप्टहरू लेखिसकेका छन् । उनका आगामी स्क्रिप्टहरू अध्ययनमुलक छन् । दुईवटा प्रोजेक्ट पनि अगाडि बढिरहेको छ –पारीको गाउँ र गोर्खेपानी । त्यसैगरी पुस्तकहरू लेख्ने योजनामा छन् । चलचित्र निशानीको बतासै सरर, बगरको भेट हुन्छ यानीमै भेट्न जुरेको, गीत लेखिसकेका उनले आफ्ना गीतहरूको सङ्ग्रह निकाल्ने जमर्को पनि गरिरहेका छन् । चाडै नै आफ्नै स्वरमा गीत रेकर्ड गर्न गइरहेका छन् ।
त्यसैगरी नेपाल आदिवासी जनजाति प्रतिष्ठानको सहयोगमा आठपहरिया राई र धिमाल जातिको जन्म र मृत्यु संस्कार सम्बन्धि डकुमेन्ट्री निर्माणमा जुटेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।