देवेन्द्र सुर्केली
जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको पनि थिएन, बुझेपछि जान पनि चाहेको पनि थिएन, तर ऊ नै पछि लाहुरे बन्न पुग्छ ।
लाहुरे बन्नुमा पनि लामो कथा छ ।
नाम सेमन्त राई, जुन नामको अर्थ लाग्ने कुनै शब्द छैन । नेपाली बृहत् शब्दकोशमा चाही सेम भन्ने शब्द छ, भोटबर्मेली भाषाबाट लिइएको सिङलाई सेम भनिएको र जसको अर्थ दाउरा भनिएको छ । तर सेमन्तको नाम त्यसरी भने पक्कै राखिएको होइन । उनको खास नाम थियो श्यामकुमार राई । संस्कृतमा श्याम भनेको कालो वर्ण हो । तर श्यामकुमार त रातावर्णका थिए । त्यसैले स्कुलका शिक्षक योगराज गाउँलेले उनको नाम सेमन्त राखिदिए । साहित्यिक पारामा सुनिने योगराज सरको थर भने थपलिया हो । योगराज आफूलाई गाउँले उपनामले नै चिनाउँथे र उनलाई विद्यार्थीहरूले गाउँले सर भनेरै चिन्थे ।
श्यामकुमारबाट सेमन्त बनेका युवा देशमा केही गर्न चाहन्थे, धेरै पढ्न चाहन्थे, पढेर निजामति सेवामा प्रवेश गर्न चाहन्थे । त्यसैले पढ्नका लागि काठमाडौं आए, काठमाडौंका दुःख, सुख व्यहोरे । जागिरको लागि यत्रतत्र चहारे, कुनै समय पत्रकार पनि बन्न खोजे । मिल्ने र विदेश नभासिऔं है भन्ने साथी पनि लाहुर गयो । त्यसपछि बैरागी बनेका सेमन्तले पनि उही बाटो समाते ।
लाहुरे भएपछि राइफलसँगै पिरती बस्यो, पहिलो छुट्टि आयो, विवाह गर्यो । उनी त्यसैमा रम्न थाले । अवकाश पाए पछि भने केही फुर्सदिलो बने, गाउँ सम्झे, साहित्य सम्झिए अनि संस्कार संस्कृतिलाई छाम्न थाले । केटाकेटी छँदा बजाएको बाँसुरी खोज्न थाले । गीत गजलहरू लेख्दै आफ्ना मनका वह पोख्न थाले ।
कृषिमा आश्रित सेमन्तको परिवार
वि.सं. २०२७ भदौं ३० गते दलबहादुर राई र सलिना राई (वालाक्पु दुमी)बाट संखुवासभा जिल्ला खाँदबारी नगरपालिका रातमाटमा जन्मिएका हुन् सेमन्त । उनी परिवारको जेठो छोरो थिए । उनी दुई भाइ, दुई बहिनीसंग हुर्केका थिए ।
श्री बागेश्वरी नि मा वि (हालः उच्चमावि), ढुङ्गेधाराबाट निम्न माध्यमिक शिक्षा हाँसिल गरी हिमालय माध्यमिक विद्यालय, खाँदबारीबाट एस.एल.सी. उतीर्ण गरेका हुन् उनले । नेपाली विषय सोमनाथ घिमिरेले कक्षा दश सम्म पढाएका थिए । उनले कविता संग्रह समेत निकालेका थिए ऊ बेला नै । उक्त पुस्तक देखाएपछि सेमन्तलाई साहित्य प्रति झनै चासो बढेको थियो ।
बाल्यकालमा लज्जालु तथा आफ्नो कुरालाई बाहिर ल्याउन नसक्ने स्वभावका थिए । समय नै त्यस्तै थियो, कल्पनालाई साकार गर्न नसकिने । त्यसैले सृजनामा चाख राखे पनि पूरा गर्न असमर्थ थिए । कक्षामा वादविवादमा भाग लिन्थे उनी । गीतहरू सुन्ने गर्थे । नयाँ कुरा सिक्ने चासो लिन्थे र रोचक कुराहरू उत्सुक्ताका साथ सुन्ने गर्दथे ।
संखुवासभाको तुम्लिङ्गटारमा तल्लो र माथिल्लो गरी ठुलाठुला दुई टारहरू छन् । एउटा टार तुम्लिङटारमा विमानस्थल नै बनेको छ । त्यसैले त्यस गाउँ वरीपरी बस्ने बासिन्दाहरूको प्रमुख पेशा खेतीपाती थियो । त्यहाबाट प्रशस्त उब्जनी भएरै उनिहरूको लाहुर तथा परदेश जाने मन नभएको हो । सेमन्तको परिवार कृषिबाटै पालिएको थियो । कृषिमा खेतीपाती र पशुपालन मुख्य उत्पादन थियो ।
गाउँको पहिलो एस.एल.सी. र आइ.ए. पास र लाहुरे सेमन्त
पढाईमा गाउँको पहिलो एस.एल.सी. र पहिलो आइ.ए. उतीर्ण गर्ने व्यक्ति पनि सेमन्त नै थिए । वि.सं. २०४३ सालमा एस.एल.सी. गरेका हुन् उनले । एस.एल.सी. पश्चात उनले वरुण क्याम्पस खाँदबारीमा प्रमुख विषय नेपाली लिएर पढ्न थाले । नेपाली भाषाको अध्ययन पछि उनमा नेपाली साहित्यमा चासो बढेको हो । क्याम्पसमा खगेन्द्र चापागाईले मुख्य नेपाली विषय पढाउँथे । उनको प्रभावले नेपाली भाषा र साहित्यमा झन चाख बढेर गयो तर पनि सृजनामा कलम भने अझै बढ्न सकेन ।
खाँदबारीबाट प्रविणतापत्र तह उतीर्ण गरेपछि स्नातक अध्ययन गर्न काठमाडौं आए ।
विदेश नजाऔं भन्ने साथी नै भर्ती हिडेँपछि….
माध्यमिक विद्यालय देखि नै सेमन्तका मिल्ने साथी भए भरत लोहरूङ्ग । उनी लोहरूङ्गसँगै काठमाडौंको आरआर क्याम्पस पढ्न थाले । उनीहरू दुवै विदेश नजाने सल्लाह गर्दथे । तर भरत पढ्दा पढ्दै बेलायती सेनामा भर्ती लागे ।
त्यसबेलाका क्याम्पसमा पढाई भन्दा ज्यादा विद्यार्थी राजनीति चल्थ्यो । अनेरास्ववियू र नेविसंघबीच झडप भै रहन्थ्यो । काठमाडौं बसाई कति समस्याग्रस्त थियो भन्ने कुरा सेमन्तले एक अनलाइनमा लेखेका पनि छन् ।
भरत व्रिटिस सेनामा भर्ति भएपछि सेमन्त काठमाडौंमा एक्लै भए । उनले नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा पनि भिडे ।केहि समय देशान्तर साप्ताहिकमा पत्रकारिता पनि सिके । केही सरकारी सेवामा छिर्न पनि खोजे । दुर्भाग्य, चौतर्फी असफलता भोगे ।
दशैंतिर घर जाँदा खाँदबारीका साथीहरूले वेलायती सेनामा भर्ति खुलेको जानकारी दिए । आइ.ए वा सो सरह उतीर्ण गरेकाले पोटेन्सियल टेक्निसियन रेक्रुट र क्लार्कमा भिड्न सक्ने मौका थियो । उनी काठमाडौं फर्कने क्रममा धरानमा भइरहेको भर्तीकेन्द्रमा छिरे । गल्लापास नलिए पनि उनले भर्तीकेन्द्रमा स्थान पाए र पोखरा सम्म पुगे ।
सेमन्तमा भर्ती हुने कुनै आशा थिएन, स्नातक तहको परिक्षा आइरहेको थियो । उनमा भर्ती हुने भन्दा पनि परिक्षा बिग्रिने सम्भावनाको चिन्ता थियो ।
अन्तमा सेमन्त पास भए । यद्यपि बेलायती सेनामा छानिदा उनी खासै उत्साहित भएनन् । अन्य साथीहरू झोला फालेर खुशिले उफ्रदा उनी भने अचम्म मान्थे ।
लाहुरे र लडाइँ
लाहुरेको जीवनमा लडाइँ पर्यायवाची नै हो । लाहुरे भएपछि युद्धभूमिमा लड्ने मनस्थिति पनि हुन्छ । तर सेमन्तले त्यसरी धित गर्नेगरी लड्ने मौका पाएनन् । उनले जीवनमा पहिलो पटक सन् ज्ञढढट सालमा बोस्नियामा शान्तिमोर्चामा पहिलो पटक भाग लिए । सन् १९९९ मा कोसोभोमा भएको शान्तिमोर्चामा झडपको स्थिति आए पनि गोली हानाहान खालको लडाइँ भएन रे । द्दण्ण्घको इराक लडाइँमा कुवेतको सीमानामा झण्डै झण्डै लडाइँ भइहाल्ला जस्तो भएको क्षण नै उनको नजिकको लडाइँको अनुभव रहेछ । अफगानिस्तानको युद्धभुमि नै उनको युद्धभुमिको अन्तिम पाईला भएको कुरा उनी बताउँछन् ।
लडाइँको लागि पूर्व तयारी पछि लड्नु एउटा सिपाहीको कर्तव्य हो भन्ने बुझाइ छ उनको ।
सन् १९९५ मा भोजपुरको नेपाले डाँडा साना मझुवा निवासी रीता राईसँग उनी वैवाहिक जीवनमा प्रवेश गरे । उनीहरूको कोखमा एक छोरा रियाज राईको जन्म भएको छ जो हाल ज्ञट वर्षका भए ।
बाँसुरी बादक पनि
सेमन्तका बुबा राम्रो बाँसुरी बजाउँथे । केटाकेटी छँदा सुत्ने बेलामा बुबाले बाँसुरी बजाएर सुनाउने गर्दथे । उक्त धुनले सेमन्तहरू मन्त्रमुग्ध हुन्थे । ती धुनहरू नै उनका बाँसुरी बादनमा प्रेरणाका श्रोत बने । उनले पनि कहिलेकाँही बाँसको टुक्रा नहर्नीले खोपेर बाँसुरी बनाई बजाउने कोसिस गर्थे । कुनै धुन बजाउन जान्दा खुबै हौसिन्थे उनी । त्यसपछि स्कुल, क्याम्पस, लाहुरको चपेटामा परेर बाँसुरीलाई चटक्कै भुलिदिए ।
अचानक सन् २०१६ मा स्केल बिनाको बाँसुरी बजाएर फेसबुकमा उहि पुरानो साथी भरतसंग सेयर गरे । त्यसपछि भरत लगायत अन्य साथीहरूले उनलाई हौस्याए । यसरी बेलायतमा अन्यले पनि बाँसुरी बजाउँदै सेयर गर्न थाले । संख्या बढ्दै गए पछि वादकहरू संगठीत समेत भए ।
सन् २०२० जनवरीमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले दुतावासमा बाँसुरी समुहलाई बोलाए । दुतावासमा भएको नेपाल भ्रमण वर्ष द्दण्द्दण् को उद्घाटन कार्यक्रममा बेलायतमा बाँसुरी बाजालाई चिनाएको भन्दै उनीहरूलाई प्रोत्साहित गरे ।
दोश्रो पुस्ताको उदासिनताप्रति चिन्तित
बेलायतको केन्ट, मेडस्टोनमा सपरिवार बस्दै आएका छन् सेमन्त । उनी यहाँको हावापानीमा आफूलाई उभ्याउन प्रयासरत छन् । तर दोश्रो पुस्तालाई भने पुरै बेलायती हावापानीले छोइसकेको छ । जसमा उनी चिन्तित छन् ।
भाषा, साहित्य, संस्कार र संस्कृतिमा लगाव राख्ने सेमन्तहरूको कामलाई नयाँ पुस्ताले त्यति चासो लिएको छैन । स्थानिय रहन–सहन र वातावरणका कारण यस्ता कुरामा उनीहरूको चासो नभएको उनको ठम्याई छ । यस्ता कुराहरूमा अविभावकहरूले नयाँ पुस्तालाई जबरर्जस्ती लाद्न नसकिने भएकाले यो विषय गम्भिर बन्न नसकेको हो । यद्यपि चासो राख्ने थोरै नयाँ पुस्ताको संख्याहरू पनि रहेको उनले जानकारी दिए ।
नयाँ पुस्ताका लागि बेलायतमा भएका नेपाली तथा जातीय संस्थाहरूले थोरबहुत रूपमा पहल गर्न खोजेका छन्, तर प्रयास पर्याप्त नभएको उनको ठम्याई छ । हरेक कुरामा नयाँ पुस्तालाई कभरेज गराउन खोजिएको त छ तर सजिलो भने छैन । यायोक्खा, याक्थुङ चुम्लुङले उनीहरूलाई आआफनो संस्कार सिकाउन कोशिश गरेको देखिन्छ तर धेरै युवापुस्ता उदासिन नै छन् ।
युवाकालमा टुसाएको साहित्य मौलाउँदै
हिड्दाहिड्दै पाइँलाले जे भेट्छ, त्यहि अनुभूत गर्ने व्यक्ति हुन् सेमन्त । त्यसैले उनको पाइँलाले साहित्य पनि टेक्न पुग्यो । उनले २०४८ सालतिर नै सेमन्तले साहित्य कोर्न थालेका हुन् । सबैभन्दा पहिलो रचना कविता थियो । जुन संग्रहित गर्न सकेका छैनन् ।
प्रकाशनको हिसाब भने उनको पहिलो रचना ग्राण्डन्युज अनलाइनमा आएको थियो । गीत, गजल, मुक्तक, कविता, संस्मरण लेख्न रुचाउने उनका ४ वटा गीत रेकर्ड भै सकेका छन् । पूर्णिमा लामाको स्वर, डीआरअटुको संगीतमा पहिलो गजल “चोखो माया”, सुनिल राईको संगीत र सुनिता थेगिमको स्वरमा आधुनिक गीत “चाहे जस्तो”, दृष्टिविहिन गायिका रिता राईको स्वरमा एक जिल्ला भक्ति गीत “हाम्रो संखुवासभा” र हालै साकेला गीत “उभौली” सुनिल राई र मेलाना राईको स्वरमा रेकर्ड भएको छ जसको भिडियो भरखरै बजारमा ल्याएका छन् ।
नेपाली नयाँ वर्ष २०७८ सँगै उनको मुक्तक सङ्ग्रह प्रकाशन भएकको छ । ‘मुक्तक मुन्धुम’ पुस्तकको नाम । यस पंक्तिकारलाई पुस्तक त हात परेको छैन । तर किरातीहरूको समाजलाई डोर्याउने बाटो हो मुन्धुम । त्यसैसँग जोडेर मुक्तकको मुन्धुमलाई केलाइएको होला ।
मुक्तक नेपाली साहित्य विधाको एउटा पाटो, हुन त यसको प्रमुख रूप रुबाई हो । उमर खै्यामले रचनाको गरेको रुबाईका दुरुस्त रूप मुक्तकमा पाइन्छन् । नेपालीमा खै्यामकै भाका लेखिएको तर त्यसको विधा पत्ता नलागीकनै मुक्तक नामले न्वारान भयो । र, मुक्तक नामसँगै हुर्किरहेको छ । त्यसैको मेसोलाई समात्दै सेमन्तले पनि एउटा मुक्तकिलो इँटा थपिदिएका छन् ।
त्यसैगरी गीत, गजल तथा कविताहरूको सङ्ग्रह ल्याउने योजना छ भने भविष्यमा संस्मरण तथा लेखहरूको पुस्तक पनि प्रकाशन गर्ने लक्ष्य राखेका छन् ।
उनी भन्छन् –‘लेखकको रूपमा बाहिर निस्कन सकेको छैन । मिडियाहरू या दर्शकश्रोताहरू सबैले मेरा कमिकमजोरीलाई केलाइदिन अनुरोध गर्दछु ।’
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।