तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल ढुङ्गाहरुलाई छाताआकारको निर्माण गरेर ठड्याइएको छातेढुङ्गा भत्किन, नासिन थालेकोप्रति चिन्तित हुँदै टुट्फुट् भएकालाई सिमेन्ट प्रयोग गरी पुरानै ढाँचामा ल्याउन कोशिष गरिएको हो । आठराईको चर्चित पर्यटकीय स्थलमध्येको यस ढुङ्गाहरुलाई संरक्षण गर्न र पर्यटकीय स्थल बनाउन बारबेर पनि गरिएको छ ।
पाँचवटा छातेढुङ्गा भएकोमा दुईवटा पूर्णरुपमा भत्किएकोले सिमेन्टको छाता बनाइएको छ भने दुईवटा सिमेन्टद्वारा मर्मत गरिएको हो । एउटा भने पुरानै अवस्थामा सग्लै रहिरहेको छ ।
छाताको फेदमा बसी मसिनो ढुङ्गा माथि अड्याउन सके आफूलाई भाग्यमानी सम्झनेहरुले छातेढुङ्गाको स्वरुप बिगारेको आठराई २ निवासी सुमन खापुङले बताए । उनका अनुसार सानोमा देख्दा सबै छाताहरु सग्लै रहेको, एउटा भने केही बाङ्गो रहेको थियो । युवाहरुले शुरुमा मसिना ढुङ्गा फाल्ने, बिस्तारै ठूलठूला ढुङ्गा पनि फाल्ने गरेकाले छाताको भागहरु भत्कन शुरु गरेका थिए ।
विसं १९५९ सालमा स्थानीय स्व. सुकलाल कन्दङ्वाले छातेढुङ्गाको निर्माण गरेका हुन् । आफ्नो कलाकौशल देखाउने क्रममा सुकलालले उक्त छातेढुङ्गा निर्माण गरेको स्थानीय शिक्षक लक्ष्मी कन्दङ्वाले बताए । लक्ष्मी कन्दङ्वाका अनुसार यसै गाउँका वरपर अन्यले छातेढुङ्गा बनाएका थिए । सुकलाल कन्दङ्वाले म पनि सक्छु र झन् धेरै बनाउँछु भनेर यस स्थलमा ५ वटा छातेढुङ्गा निर्माण गरेको लक्ष्मी कन्दङ्वाको दावी थियो । त्यसैगरी यस स्थल र छाताहरु लिम्बूको मुन्धुमसँग सम्बन्धित नरहेको, आफ्नै कलाकौशल प्रदर्शनमात्रै भएको कन्दङ्वाको भनाई थियो ।

सिमेन्ट प्रयोग गरेर मर्मत गर्नु स्व. सुकलाल कन्दङ्वाको परिवारको इच्छा रहेको बुझिएको छ । परिवारले आफ्नो पूर्खाको कलालाई संरक्षण गर्नको लागि स्थानीय निकाय र शुभेच्छुकको सहयोगबाट ग्रिलबार बनाई छातेढुङ्गालाई मर्मत गरेका हुन् ।
शुरुमा यसै स्थानलाई नाम दिएर छातेढुङ्गा गाविस बनेको थियो भने हाल आठराई गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्छ । यस ठाउँ आठराईको पर्यटकीय स्थलमध्ये पर्ने आठराईका सक्रिय समाजसेवीसमेत रहेका सुमन खापुङले जानकारी दिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।