शोक कार्यक्रमदेखि सपनासम्म - Naya Online

शोक कार्यक्रमदेखि सपनासम्म

तेह्रथुम खाम्लालुङका जसबहादुर सिंगक कुनैबेला धरानमा रहँदा खानाखान अघि एकपटक धनवीर सावाँको पालाम गीत ‘ए है हा….’ नसुनी भान्सामा पस्दैन थे । जसबहादुर मात्र नभएर अन्य धेरैले पनि दिनमा एकपटक अनिवार्य यो गीत सुन्ने गरेको गायक सावाँसँगको भेटमा बताउँथे रे ।

सानैदेखिको इच्छालाई पूरा गर्न गाएको गीतले यतिका चर्चा पाउला भन्ने सोचेकै थिएनन् सावाँले । लाहुरे पृष्ठभूमिका उनको परिवारमा बुबादेखि आफैमा आत्मनिर्भर बन्दआएको थियो । व्यावसायी बन्नुपर्छ भन्ने मानसिकताका साथ वाणिज्यशास्त्र अध्ययन गर्न धरान झरेका धनवीर चुम्लुङको एक कार्यक्रमबाट गायक भएर निस्किए ।

गायक त भए, तर लिम्बू गीत गाएर मात्र जीविकोपार्जन हुँदैन । एल्बम निकाल्न कि आफैमा सक्षम हुनु पर्‍यो कि घरबारी बेच्नुपर्‍यो । त्यसमाथि भविष्यमा व्यावसायी बन्ने सोच लिएका उनले त्यो जोखिम उठाउन चाहेनन् । र, तीन वर्ष हराए । पछि आफ्नै कमाईबाट आफ्नो पुरानो इच्छालाई पूरा गरेँ –‘मिक्वा चुरुर (आँशु तरर)’ एल्बम निकालेर । उनको एल्बममा समेटिएको पालाम गीतले एल्बमको चर्चा यति चुलाइदियो कि लिम्बू समुदायमा सबैभन्दा बढि बिक्री भएको दावी नै गरिरहेका छन् । एल्बममा गायिका पवित्र सुब्बा र मनु नेम्बाङले साथ दिएका छन् ।

किरकिरे माइलाको शोकबाट प्रेरणा
२०३२ मंसिरमा फुङलिङ ९ आम्बोटे ताप्लेजुङमा बुबाआमा मन्जित साँवा, केशमाया मादेनको कोखबाट दाजु २, दिदी २ मा कान्छो सन्तानको रुपमा उनले जन्म लिएका हुन् । गाउँकै महेन्द्र प्रावि आम्बोटेबाट प्रारम्भिक शिक्षा लिएर भानु जनमाध्यमिक विद्यालय अम्बिटारबाट एसएलसी गरी २०४९ तिर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनार्थ झरेका हुन् । परिवारमा काका तुम्बाहरू सबै लाहुरे थिए । बुबा पनि लाहुरे नै थिए तर बिचमै छोडी गाउँमै व्यापार गरिरहेका थिए । उनी र उनका दाईहरू लाहुरे बन्नको लागि कहिल्यै लाममा उभिएनन् । व्यापारी बुबाको स्वभाव उनमा स¥यो र राम्रो व्यावसायी बन्ने उद्देश्यले गर्दा वाणिज्यशास्त्र अध्ययनको लागि उनी धरान झरेका हुन् ।
गीतसंगीतमा उनको सानैदेखि रुचि थियो । आम्बोटे माझगाउँमा पर्ने भएता पनि गाईबस्तु चराउनको लागि सुकेटार, विजुवाभीर, याख्रेक्वा, सिस्नेनी, पच्चिसे, गौडे आदि डाँडा तथा खर्कहरूमा जाँदा गीत गाउने, पक्कन्दी खेल्ने, सुसेल्ने गर्दागर्दै गीतसंगीतको रस उनमा पसेको हो । त्यसो त २०४२ सालमा गाउँले सबैले माया गर्ने किरकिरे माइला भनिने दाई बित्नुभएदेखि उनको विरहमा गीत बनाएर शोक कार्यक्रम गरे । त्यहादेखि त एल्बम नै निकाल्नुपर्छ भन्ने मनमा गढिन पुग्यो ।

धरान झरेपछि कार्यक्रममा जानेबाहेक सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेबाहेक उति जम्दो भएन । पछि हिमायती परिवारसँग नजिक भएर केही गीतहरूमा स्वर दिए । किरात याक्थुङ चुम्लुङको ११ औं स्थापना दिवसको अवसरमा आफ्नै रचना तथा संगीतमा ‘त्वाव?मु फोन्छिङ तुख्ख ऐन…’ बोलको गीत गाएपछि उदाउँदो कलाकारको रुपमा उनी झुल्किएका हुन् । उनी बसेको चौकीबारी क्षेत्रमा विभिन्न भोजभतेर हुँदा लेखनदासको रुपमा चिनिएका उनी गायक भएर झुल्किदिँदा अझ धेरै गाउनको लागि अनुरोधहरू आउन थाल्यो ।

जागिरे जीवन र एल्बम
चौकीबारी क्षेत्रमा धेरैले चिन्ने भएकोले उनलाई फास्ट इन्टरनेशनले काठमाडौंमा गएर एकाउण्ट हेर्नको लागि अनुरोध गर्‍यो । योभन्दा अगाडि कुनै जागिर नखाएका उनले एक्कासी यस्तो प्रस्ताव आउँदा एकछिन अलमलमा पनि परे । धरानका लिम्बूसमुदायबीच भर्खर गायक भनेर चिनिन लागेको बेला काठमाडौं आउनुपर्ने प्रस्ताव आएपछि उनले पहिलो सर्त राखे पढ्न पाउने । पढ्ने निहुँमा ठूलाठूला संगीतकारहरूसँग भेटेर एल्बम निकाल्ने सपना थियो । जागिर दिनेले हुन्छ भनेपछि उनी काठमाडौं आए तर एकाउण्ट शाखाको कामले उनी यस्तरी हराए कि गीतसंगीतको कुरै भएन पढ्ने समय पनि भएन । करिब ३ वर्षपछि आफ्नो एल्बम निकाल्ने सपना निकै मडारिएर आयो । त्यतिबीचको तलब निकै नै जम्मा भइसकेको थियो । फास्टमा आउने जाने कुमार सुब्बासँग उनको भेट भयो । उनी संगीतकार अशोक राईको रेकर्डिङ स्टुडियोमा काम गर्दा रहेछन् । उनैले सम्पूर्ण काम गरिदिए । समयाभावले गर्दा राती ८ बजेदेखि रेकर्डिङको काम हुन्थ्यो । एल्बममा रहेका सहयोगी गायिकाहरू पवित्र सुब्बा र मनु नेम्बाङको चाही शनिबार पारेर रेकर्डिङ गरिएको हो । धरान तीनकुनेमा निर्माण गरिएको सिरिजंगाको शालिक उद्घाटनको दिन विमोचन गरिएपछि उक्त एल्बमको चर्चा निकै नै चुलियो । युके, ब्रुनाई र हङकङमा राम्रो विक्री भयो । उनको अनुसार लिम्बू समुदायको एल्बममध्ये सबैभन्दा बढि विक्री हुनेमा पर्नसक्छ ।

मिक्वा चुरुरु पछि पक्कन्दी, हल्ला चलेछ, पहिलो भेट, जिन्दगी नै रुवाउने एल्बमहरू उनको स्वर आएको छ । मिक्वा चुरुरुको चर्चित गीत ‘ए है हा..’ लाई कमला कन्दङ्वाले भिज्युलाइज गरिदिएकी छिन् ।

‘लिम्बू गीतहरू धेरै गाइए, तर विशुद्ध संस्कृति बोकेको गीतहरू आएका छैनन् ।’ उनको विश्लेषण छ । ‘हाक्पारे, ख्याली, पालामलगायतका धेरै लिम्बू गीतको लयहरू छन् । त्यसको लय मात्र समाइएको छ । कुरोको चुरोचाही बोकेको छैन ।’ अब धेरै अनुसन्धान गरेर मौलिक लिम्बू गीतहरूको सिर्जना गर्ने उनको लक्ष्य छ । किरात याक्थुङ चुम्लुङ ललितपुर शाखाले प्रकाशन गरेको ‘चुम्लुङहिम अभिलेख’ उनको ‘लिम्बू संगीतः विगत, वर्तमान र समस्या’ नामक लेख लेखेपछि यसैसम्बन्धि सिंगो पुस्तक नै लेख्नुपर्ला भनेर हौसिएका पनि छन् ।

उनले काठमाडौं, धरान, माङ्सेबुङ इलाम, तेह्रथुममा आफ्नो प्रस्तति दिइसकेका छन् । हङकङमा तीन पटक (याक्थुङ स्वर्णिम साँझको पहिलो कोअर्डिनेटर र ताप्लेजुङ समाज हङकङले गरेको कार्यक्रममा पनि कोअर्डिनेटहित) पुगेका छन् । २०१२ जुन २५ मा याक्थुङ साम्लो साँझको कार्यक्रममा उद्घोषणसहित प्रस्तुति दिनुपरेको थियो ।

संघसंस्थामा
लिम्बू समुदायबाट थोरै चिनिएका व्यक्तिलाई संघसंस्थाले समातीहाल्ने गर्छ । यसमा उनी पनि अछुतो छैनन् । फक्ताङलुङ सयङ, चान्जो नेपाल, याक्थुङ मुनचइत सयङको संस्थापक तथा क्रियाशिल सदस्य, कियाचुको आजिवन सदस्य तथा मिडिया सोसाइटी माङसेबुङको आजिवन सदस्य रहेका छन् । संघीय मासिकको कलासंस्कृति हेर्ने स्तम्भकार पनि बनेका छन् । त्यस्तै लामो समयसम्म हङकङका नेपालीहरूसँग काम गरेकाले उनी हङकङका धेरै संस्थाहरूका नेपाली सम्पर्कश्रोतका रुपमा रहेका छन् ।

श्रीमती कविता ओख्राबोसँग गायक धनवीर

अब व्यावासायमै
व्यावसायी बन्छु भनेर उच्च शिक्षा अध्ययनको लागि शहर पसेका उनी जागीर र गीत संगीतमै अल्मलिए । फास्ट इन्टरनेशनलको लामो अनुभव लिएपछि हाल उनले सेवारो नेपाल प्रा.लि. नामक ट्राभल एजेन्सी र तिवाजो बुक्स स्टेशनरी सञ्चालन गरिरहेका छन् । श्रीमती कविता ओख्राबो र छोरी मासेमीको लागि पनि व्यावसायलाई निरन्तरता दिइरहेका छन् ।पछिल्लो समयमा श्रीमती कविता ओख्राबो पनि गायन र कलाकारितामा आफ्नो खरो प्रस्तुति देखाउँदै आएकी छिन् ।०

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका

काठमाडौं १ भाद्र । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न...

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

सुकोमल स्वर र शालिन ब्यक्तित्वकी धनी सुमिता

मुकेश राई ‘हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म चुपचाप तिम्रो मन भित्र...

‘अझै क्याम्पस गएको सपना देख्छु’ -जानु काम्बाङ लिम्बू (साहित्यकार)

युकेमा सक्रिय साहित्यकारहरूको नाम लिनुपर्दा पहिलो पंक्तिमै जानु काम्बाङ लिम्बूको नाम आउँछ । लेखिरहने,...

शोक कार्यक्रमदेखि सपनासम्म

तेह्रथुम खाम्लालुङका जसबहादुर सिंगक कुनैबेला धरानमा रहँदा खानाखान अघि एकपटक धनवीर सावाँको पालाम गीत...