सपनाको गन्तव्य
- सुमित्रा अश्रुधारा
छेउमै खुर्सानी र आलु राखेर
खुसीको मुस्कानबाट बोकेर
एक अर्कामा मुस्कुराउँदै
खुसी साटेर बसेको आलुको छाक
जब तिमी बोस्टनको एक नामी क्याफेमा
देशको माया छातीमा च्यापेर
पसिना बेच्दै गर्दा खुब सम्झिने छौ
आफ्नै प्रेमिकाको सपनाहरुले दास बनाउँदा
परिवर्तन गरिरहन्छन् सपनाहरुले
आकार र गन्तव्यहरु ।
आलिसान सोफा र लचकदार बेडहरुले
बिझाइरहँदा त्यो पराई सहरमा
खुब याद आउनेछ
पराले गुन्द्री र काठको सिरानी
आमालाई गनगन गर्दै गुनासो पोखेको
गरिबको नाम दिएर सिरानिकै निम्ति
बिजाउँछ जब रुवाले नै पराई भूमिमा ।
बोटुकीमा अलिकति बासीभात
छेवैमा भुटेको मकै
साइडमा गुन्द्रुकको अचार
त्यसको ठीक सामुन्ने चन्द्र मुहार
सामुन्नेको ऐनामा
झल्को बनेर आउने छ एकदिन
पिज्जा र बरगरको सुगन्धले मात लाग्दा
वर्षांै नहेरिएको आफ्नो प्रेमिकाको
मलिन अनुहार हेर्न प्यास लागेपछि ।
अनि फर्किएर आफ्नो देश एकदिन
पढाउने छौ तिमीले आफ्नो पछिल्लो पुस्तालाई
रोजीरोटी र सपनाका परिभाषाहरु
जब हुँदै हुँदैन पुग्नै पुग्दैन
सपनाका गन्तव्यहरु
किनकि सपनाको आकार हुँदैन
सपनाको रंग हुँदैन र
हुँदैन सपनाको भरोसा पनि ।
संखुवासभा, चैनपुर
हाल काठमाडौं ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।