नयाँ अनलाइन व्यूरो (लिम्बुवान)
आसन्न स्थानिय तहको निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपाल र नेपाली काँग्रेसले चुनावी तालमेल गरेसँगै माङसेबुङ गाउँपालिकामा जित्ने पक्का भएको छ ।
गाउँपालिका अध्यक्षमा काँग्रेसबाट डेकेन्द्रसिंह इधिङ्गो र उप प्रमुखमा ससफोबाट विनोद नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो ।
इलामको पश्चिमी गाउँपालिका माङसेबुङमा अन्तिम चरणमा आएर काँग्रेस र संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका हुन् । दुवै पार्टीको चुनावी तालमेलपछि माङसेबुङमा जितको माहोल बनेको पार्टी समबद्ध नेताहरुले दावी गरेका छन् ।
किरात धर्मावलम्बीहरुको पवित्र धार्मिकस्थल माङसेबुङसमेत यसै गाउँपालिकाभित्र पर्ने र दुवै पार्टीको प्रभाव पनि राम्रो भएकाले आफूहरुले चुनाव जित्ने निश्चित रहेको ससफोबाट उपाध्यक्षको उम्मेद्वार बनेका नेम्बाङले दावी गर्नुभएको छ । माङसेबुङ क्षेत्रमा पहिचान पक्षधर समुदायको बाक्लो बसोबास रहेकोले पनि चुनावी माहोल आफूहरुका लागि अनुकूल रहेको नम्बाङको भनाइ छ ।
दुवै पार्टीले यस अघि छुट्टाछुट्टै रूपमा उम्मेद्वारी घोषणा गरी चुनावी प्रचारप्रसार गरिरहेको थियो तर उम्मेद्वार मनोनयन दर्ताको अन्तिम समयमा चुनावी तालमेल भएको हो ।
गाँउपालिका प्रमुख, उपप्रमुख र वडा नम्बर २ मा तालमेल गर्ने र अन्य वडाहरुमा स्वस्थ प्रतिस्पर्धा गर्ने दुवै पार्टीबीच सहमति भएको बताइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।