काठमाडौँ, ४ असार । साहित्य सन्ध्याको नियमित मासिक ३७४ औँ शृङ्खलामा दर्शनशास्त्री विष्णु प्रभातले ‘साहित्य दर्शन’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै पूर्वीय दर्शनले एघारौँ शताब्दीमै साहित्य दर्शनका बारेमा बहस चलाएको तर पाश्चात्य साहित्यमा अठारौँ शताब्दीदेखि मात्र बहस चल्न थालेको बताउनुभयो ।
दर्शन र जीवनको अन्योन्याश्रित सम्बन्ध छ भन्दै उहाँले साहित्य भनेको स्वान्त सुखाय हो भन्ने एक खाले मान्यता र अर्काले प्रयोजनबद्ध अर्थात् समाजको हितका लागि साहित्य लेखिनुपर्ने मान्यता राखेको बताउनुभयो । “अहिले साहित्यमा के, किन, कसरी र कसलाई भन्ने बहस चलेको छ र साहित्यको दर्शनले पनि यिनै कुरालाई अङ्गीकार गरेको छ । नेपालमा २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना भएपछि स्पष्टरूपमा साहित्यमा दुइटा धार देखापरेका छन् । वास्तवमा वैज्ञानिक चिन्तन राख्नेहरूले छ्याङ्ग र स्पष्ट हुनेगरी विचार वा धारणा राख्नुपर्छ ” उहाँले भन्नुभयो ।
गोष्ठीमा अतृप्त पाण्डेय, ललित ‘भिमाली’, प्रा डा खेम दाहाल, रचना दाहाल, नारायण जनकपुरी, ख्यालमान राई, नवराज श्रेष्ठ, उमेश उपाध्याय, अमृता स्मृति, यदुनाथ वसन्तपुरे, पुण्य गौतम ‘विश्वास’, कृष्णदेव रिमाल, अच्युत घिमिरे, वैरागी जेठा, प्रशान्त खरेल, नारायण निराशी, उर्मिला पाण्डेय, गोमादेवी कटुवाल, नर्मदेश्वरी सत्याललगायत २७ जनाले आआफ्ना कविता, गीत र गजल वाचन गर्नुभएको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा पूर्वमन्त्री शान्ता मानवीले साहित्य सन्ध्याको अविच्छिन्न यात्रा उदाहरणीय र अनुकरणीय रहेको बताउनुभयो । प्राज्ञ नर्मदेश्वरी सत्यालले समाजका रुढि र अन्धविश्वासलाई समाप्त नपार्दासम्म र महिला र पुरुषको बराबरी सहभागिता नहुँदासम्म समतामूलक समाज निर्माण हुन सक्तैन भन्ने मान्यता बोकेर अभियान चलाइरहेको साहित्य सन्ध्याको उद्देश्यको प्रशंसा गर्नुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।