काठमाडौं ३, असार ।
भारतीय राजदूत रञ्जिभसिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुलाई पटक पटक लैनचौरस्थित भारतीय दूतावासमै डाकेर चुनावमा जान सुझाव दिइसकेका छन् । भारतीय पक्षले मिडियाका सामु आफ्नो भूमिकालाई चुनाव पक्षधर देखाउने कोसिस गरिरहेको छ । समाचारहरु आएका छन् ‘चुनावमा जान राजपालाई भारतको सुझाव’ ।
तर, अन्तर्यमा भारत मधेसमा चुनाव हुनै नदिने खेलमा जुटिरहेको आरोप लागेको छ । भारतले राजपालाई चुनावमा जान सुझाव दिएको सुझाव बाहिरी दुनियाका लागि मात्रै हो । भित्री कुरा, भारत मधेसमा निर्वाचन नै हुन नदिने रणनीतिका साथ लागिरहेको उच्च राजनीतिक स्रोतले दावी गरेको छ ।
स्रोतका अनुसार भारत कुनै पनि हालतमा मधेस र समग्र देशमै निर्वाचन सम्पन्न होस् र मुलुक स्थिर राजनीतितर्फ फर्कियोस् भन्ने चाहँदैन । सार्वजनिक वक्तव्यमा ‘भारत नेपालमा राजनीतिक स्थिरता र संविधान कार्यान्वयनको पक्षमा सहयोग गर्न तयार छ’ भनिए पनि लैनचौरले भित्री रूपमा वर्तमान सरकारले चाहेको तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने गृहकार्यलाई बिथोल्न लागि परेको स्रोतको दावी छ ।
‘भारत आफैले चुनाव बिथोल्न मिल्दैन । उसले यो कार्यका लागि राजपालाई विभिन्न प्रलोभनमा पारेर उपयोग गरिरहेको छ’, स्रोतले भन्यो ।
मधेसमा क्रियाशील विभिन्न ६ वटा पार्टीहरुलाई अप्रत्यासित मिलाएर भारतीय जनता पार्टीकै आवरण मिल्दो राष्ट्रिय जनता पार्टी गठन गराएर अहिले सडक आन्दोलनका नाउँमा मधेसमा विताण्ड मच्चाउन लगाइएको बताइन्छ । मधेसमा बेलाबेला उग्र भड्काववादी गतिविधि गर्ने सिके राउतलाई अहिले सुरक्षा प्रशासनले कडा निगरानीमा राखेकाले पनि भारतलाई राजनीतिक आवरणमा राजपाको उपयोग गर्नु सहज हुने उच्च राजनीतिक स्रोतको दावी छ ।
राजपाको निकटमा रहेका एकाध जनजातिजन्य पार्टीहरु पछिल्लो राजनीतिक परिस्थिति बुझेर धमाधम चुनावमा जान थालेपछि यतिबेला राजपाका नेताहरु भारतीय दूतावासको डिनर र लन्चमा बाक्लै सहभागिता जनाइरहेका सुरक्षा स्रोतले जनाएको छ ।
सरकारले संविधान संशोधनका लागि लिखित प्रतिबद्धता जाहेर गरिसकेकाले अब मधेसमा कसरी आफ्नो प्रभावलाई विस्तार गर्ने ? कुन मुद्दामा अस्थिरता कायम गरिराख्ने भन्ने विषयमा भारतीय पक्ष नै अन्योलग्रस्त रहेका बेला स्थानीय चुनाव नै निशानामा पारिएको स्रोतको भनाई छ । राजपा चुनावको मिति सार्नुपर्छ भनेर अडान राखिरहने र सरकारले मिति सार्दै चुनावी माहोल निर्माणमा लागे पनि अन्ततः भारतीय चलखेलका कारण राजपाले निर्वाचनमै नजाने र आन्दोलनलाई जारी राख्ने तानाबुना बुनेको बताइन्छ ।
एक नेताका अनुसार भारतको दबावकै कारण राजपाभित्र निर्वाचनमा जानुपर्छ भन्ने मत जबरजस्त रहे पनि त्यसलाई रोकिएको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले निर्वाचनपछि संविधान संशोधन गर्ने र त्यसमा प्रमुख विपक्षी दल एमालेले पनि सहयोग गर्ने आश्वासन आफूले पाएको अभिव्यक्ति संसदमा भनी सकेका छन् । यस्तो अवस्थामा राजपा नेपालले आफ्नो हठलाई किन यथावत राखेको छ भनेर धेरैको मनमा आशंका उब्जिनु स्वभाविक हो ।
राजपा नेपालका नेताहरूले केही समय अगाडि नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई लैनचौरस्थित दूतावासभित्रै गएर सामूहिक रूपमा भेट गरेर राजनीतिक परिस्थिति बारे ब्रिफिङ गरेका थिए । राजपा नेपालका नेताहरूले राजदूत पुरीलाई एक्लाएक्लै भेटेर राजनीतिक सल्लाह लिने गरेको स्रोतको भनाइ छ । राजपाका नेताहरू आफ्नो निर्णयले भन्दा पनि भारतीय राजदूत पुरीको सल्लाहमा हिँडेका कारण पार्टीलाई नोक्सान भएको सोही दलका दोस्रो तहका नेताहरूको गुनाशो छ ।
के स्वार्थ छ भारतको ?
नेपालमा संविधान कार्यान्वयन भएको र राजनीतिक स्थिरतासहित दीगो विकास भएको देख्न सक्दैन भारत । नेपालको राजनीतिलाई अस्थिर राख्ने एक मात्र उपाय मधेसमा विभिन्न बहानामा खेल्न सक्नु हो । भारत कहिले दसगजा मिचेर आउँछ । कहिले हतियारधारी सुरक्षाकर्मी पठाएर दादागिरी प्रस्तुत गर्छ । एक नेताका अनुसार नेपालमा बनेको नयाँ संविधानबाट भारतीय पक्ष खुसी छैन । त्यसकारण भारत न चुनाव चाहन्छ, न संविधानको कार्यान्वयन ।
स्थानीय तहमा नेपाली जनताले जसरी बलियो अधिकार पाएका छन्, भारतीय पक्षलाई त्यसले पनि दुखाएको छ । जनताले अधिकतम अधिकार उपयोग गर्न पाए भने राजनीतिक नेतृत्वहरुलाई पनि टेर्दैनन् आफूअनुकूलका नेताहरुबाट भारतीय पक्षको चाहना अनुसारको स्वार्थ पद्दरा हुन नसक्ने बुझाइ भारतको छ ।
हिन्दूराष्ट्र र राजतन्त्रमा जोड
भारत जुनसुकै हालतमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने रणनीतिमा लागेको छ । राजतन्त्रसहितको हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि भारत सबै उपायको अवलम्बन गर्ने दाऊपेचमा पहिलेदेखि नै छ । अन्तरिम संविधान र नयाँ संविधानमा धर्मनिरपेक्षता शव्द समावेश भएदेखि नै भारतले नेपालमा जारी भएको संविधानलाई रुचाएको छैन । मधेसी, आदिवासी जनजाति, शिल्पी (दलित), महिला वा उत्पीडित समुदायको अधिकार संविधानमा समेटिएन भन्दै भारतले जतिसुकै कुतर्क गरे पनि यथार्थमा भारतलाई जनताको मुद्दासँग होइन, नेपाललाई कसरी अस्थिर राखिरहने ? त्यसका लागि कसरी नेपालको आन्तरिक मामिलामा खेल्ने ? यो उसको प्रमुख चासोको विषय हो भन्ने प्रष्ट हुँदै आएको छ । भारत मामिला एक जानकारका अनुसार नयाँ संविधान समावेशी भएन, जनता अधिकार समेटिएन भन्नु भारतको देखावा मात्रै हो, उसको मुख्य एजेन्डा त नेपालाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गराउनु हो ।
विवादित बन्दै भारतीय राजदूत पुरी
राजपा नेपाललाई भारतीय राजदूत पुरीले पनि अघिल्ला राजदूत रञ्जीत रेले जस्तै प्रयोग गर्न थालेको आरोप लाग्न थालेको छ । नेपालमा राजदूत भएर भरखरै आएका पुरीले मधेस केन्द्रित दलका शीर्ष नेताहरूलाई मात्रै बोलाएर भेट्नुले पनि आशंका गर्ने प्रसस्त ठाउँ राखिदिएको स्रोतको भनाइ छ ।
नेपालको आन्तरिक मामिलामा भारतीय राजदूत पुरीले खुला रूपमा हस्तक्षेप गर्न थालेको आरोपहरू दिन प्रतिदिन बढ्न थालेका छन् । पुरीको गतिविधिलाई पुष्टि हुने गरेर राजपा नेपाले आफ्ना काम गर्दा झनै आशंका बढेको हो ।
राजदूत पुरीले राजनीतिक दलका नेताहरू विशेष गरेर मधेस केन्द्रित दलका नेतासँगको दैनिक भेटवार्ता र सम्वादले गर्दा पनि उनी विवादमा तानिन पुगेका छन् । उनले मधेस केन्द्रित मात्रै होइन कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरूसँग पनि बेलाबेला भेटवार्ता गरेर विभिन्न विषयमा परामर्श गर्ने गरेको स्रोतको भनाइ छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।