
काठमाडौँ, २८ जेठ । विसं २०७४ को ‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार साहित्यकार कात्यायन (धन्वन्तरी मिश्र) लाई प्रदान गरिएको छ ।
अभिनव साहित्य समाजले सञ्चालन गर्ने गरी श्रीकृष्ण पुडासैनीले आफ्ना मातापिता विष्णुमाया पुडासैनी र चन्द्रप्रसाद पुडासैनीको नाममा स्थापित उक्त पुरस्कारको राशी रु छ हजार रहेको छ ।
समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।
समाजको १८४ औँ साहित्यिक शृृङ्खलाको अवसरमा पहिलोपटक आयोजित स्थलगत मुक्तक लेखन प्रतियोगिताका विजयीहरुलाई पनि सो अवसरमा पुरस्कार प्रदान गरियो । राष्ट्रियता, राजनीति, नारी जीवन, आमा र प्रेम प्रणय गरी पाँचवटा विषयमा गरिएको उक्त प्रतियोगितामा प्रकाश बस्नेत ‘गफाडी’ पहिलो, सुनिल अधिकारी दोस्रो, उत्तम विचार तेस्रो तथा तिलस्मी प्रभास र प्रमोद गिरीले शान्त्वना पुरस्कार पाउनुभयो ।
प्रतियोगितामा पहिलोलाई रु तीन हजार, दोस्रोलाई रु दुई हजार, तेस्रोलाई रु एक हजार, शान्त्वनालाई रु पाँच/पाँच सय प्रदान गरियो ।
सोहि अवसरमा आयोजित कवि गोष्ठीमा कणाद महर्षि, शेषराज आचार्य, गोविन्द नेपाल, राममणि पोखरेल, मञ्जु प्रधान (केसी), सोमप्रसाद कोइराला र अनन्त अर्याल लगायतले कविता बाचन गर्नुभएको थियो । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।