काठमाडौं २८, जेष्ठ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी कार्यक्रम बिथोल्न राष्ट्रिय जनता पार्टीले गोप्य तयारी गरेको खुलासा भएको छ । मधेसी जनताको नाममा राजपा कार्यकर्ताहरुले सके यादवमाथि आक्रमण गर्ने नसके चुनावी सभा बिथोल्ने तयारीमा जुटेको उच्च स्रोतको दाबी छ ।
सर्लाही क्षेत्र नं ५ र ६ को सिमानामा पर्ने मधुवनगोठ बजारमा ससफो नेपालले आज दिउँसो एक बजे बृहत् पार्टी प्रवेश एवम् चुनावी सभा गर्दैछ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका अध्यक्ष उपेन्द्र यादव नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन एवम् चुनावी सभाका लागि आइतबार बिहानै सर्लाही प्रस्थान गरिसक्नुभएको छ ।
सर्लाहीमा राजपासहित नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीका प्रभावशाली नेता एवम् कार्यकर्ताहरुको प्रभावशाली समूह आज ससफो नेपालमा प्रवेश गर्दैछन् ।
कार्यक्रमस्थल जाने सडक खण्डमा पहिचान नखुलेका केही व्यक्तिहरुले बिहानैदेखि टायर बालेर विरोध जनाएका छन् । उच्च स्रोतका अनुसार राजपा मण्डलका अध्यक्ष राजेन्द्र महतोको प्रत्यक्ष निर्देशनमा सर्लाहीमा यादवको कार्यक्रम बिथोल्ने रणनीति बनेको हो ।
‘महतोको निर्देशनमा राजपा सर्लाहीका नेताहरु जंगीलाल यादव, केदार नन्दन चौधरी, शिवपुजन यादव लगायतले उपेन्द्र यादवको कार्यक्रम बिथोल्न कार्यकर्तालाई खटाइसकेका छन्’– स्रोतले भन्यो,– ‘यादवजीको कार्यक्रम बिथोल्ने तयारी दुईदिन अघि नै बनिसकेको छ । राजपाका कार्यकर्ताहरुले कार्यक्रम बिथोल्ने अनि आरोप चाँहि आम मधेसी जनतामाथि थोपर्ने उहाँको रणनीति छ ।’
राजपा मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला सर्लाहीमा ससफो नेपालका अध्यक्ष यादवमाथि आक्रमण गर्नेदेखि कार्यक्रम बिथोल्नसम्मको रणनीति बनेपछि जिल्लामा केही तनाब देखिएको छ । तर, कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भन्नुभयो –‘यादवजीलाई अवरोध गर्दै उहाँको कार्यक्रम बिथोल्ने तयारी भइरहेको जानकारी हामीले पनि पाएका छौं । त्यही अनुसार सुरक्षा व्यवस्था पनि तयारी अवस्थामा छ ।’
स्थिति पूर्णरुपमा नियन्त्रणमा भए पनि सुरक्षा सतर्कताका लागि सशस्त्र प्रहरीको थप सुरक्षा बल कार्यक्रम स्थलमा खटाइसकिएको प्रजिअ कँडेलले जानकारी दिनुभएको छ ।
फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले केही उत्तेजित समूह बाहेक बाँकी आम मधेसी जनता उपेन्द्र यादवको स्वागतका लागि तयार भएर बसेको जानकारी दिनुभएको छ ।
राजपाका महामन्त्री एवम् सर्लाहीका क्षेत्र नम्बर ५ का सांसद् जंगीलाल यादवले भने फोरम नेपालको चुनावी सभा बिथोल्ने आफूहरुको कुनै तयारी नभएको प्रतिक्रिया दिनुभएको छ । यादवले भन्नुभयो –‘उपेन्द्रजीको कार्यक्रम बिथोल्ने हाम्रो कुनै योजना छैन । यो सब निराधार हल्ला मात्रै हो ।’
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।