नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा मतदान हुँदै - Naya Online

नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा मतदान हुँदै

काठमाडौँ, १९ जेठ ।

नयाँ प्रधानमन्त्री चयनका लागि यही जेठ २१ गते बिहान ११ बजे व्यवस्थापिका–संसद्मा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ ।
सभामुख ओनसरी घर्तीले आज राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोक्नुभएको हो । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको सत्ता साझेदारीबमोजिम यही जेठ १० गते राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिमा नयाँ सरकार गठन गर्न दिएको एक साताको समयमा सहमति नभएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको हो ।
सभामुखको आदेशबमोजिम व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिकामा यही जेठ २० गते बिहान ११ बजेदेखि ४ बजेसम्म व्यवस्थापिका–संसद्का कुनै सदस्यले आफूलाई ‘नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्’ भनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारी सूचना दर्ता गरिने र सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारीको सूचना प्रकाशन गरिने उल्लेख छ । उम्मेदवारको सूचना प्रस्तुत गर्दा समर्थक र प्रस्तावकसहित गर्नुपर्नेछ । व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम (२) बमोजिम सभामुखले प्रधानमन्त्रीको निर्वाचनको मिति तोक्नुभएको संसद् सचिवालयले जनाएको छ ।
सभामुखले कार्यतालिका सार्वजनिक गर्नुपूर्व भएको प्रमुख तीन दलका नेता र प्रमुख सचेतकको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले भने संसद्को बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नेसम्बन्धी सूचना (पत्र) प्रस्तुत भइनसकेकाले सूचना टाँसका आधारमा निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखी एमालेले बुधबार र बिहीबारको संसद् बैठक अवरोध गरेका कारण राष्ट्रपति कार्यालयको उक्त पत्र प्रस्तुत हुन पाएको थिएन ।
सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरुले भने सूचना टाँस गरेर भए पनि मनोनयनको प्रक्रिया अघि बढाउन सुझाव दिनुभएको थियो । भरतपुरको मतगणनास्थलमा ९० मतपत्र च्यातिएका कारण गणना स्थगन भएको छ । यसबारे निर्वाचन आयोगले अर्काे निर्णय दिएको छैन ।
कार्यतालिका सार्वजनिकको निर्णयपछि सभामुख घर्तीले दलको परामर्शका आधारमा आफूले विधि र परम्परानुसार सूचना प्रकाशन गरेको बताउँदै प्रधानमन्त्रीको निर्वाचनमा सबै दलको सहभागिता र सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षले पनि विधि र प्रक्रियालाई मान्दै आएको बताउँदै यसबीचमा उत्पन्न असमझदारीलाई दलहरु आपसमा बसेर निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने संसद् सञ्चालन भएको अवस्थामा मात्र प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढोस् भन्दै बरु त्यसपछिको प्रक्रियालाई छिटो गराउन आफूहरुले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर बाहिर सूचना टाँसेर गर्ने हो भने प्रधानमन्त्रीको निर्वाचन र सपथ पनि संसद् बाहिरै गर्दा हुन्छ, बाँकी निर्णय सभामुखमा भर पर्छ ।”
काँग्रेसका नेता एवम् मन्त्री रमेश लेखकले पहिलो स्थानीय चरणको निर्वाचन भइसकेको र दोस्रो चरणको मिति तय भई प्रधानमन्त्रीको राजीनामा आएका अवस्थामा राजनीतिक आवश्यकता, विधि र परम्परानुसार नयाँ प्रक्रिया प्रारम्भ हुनु आवश्यक भएको बताउनुभयो । माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले विपक्षीले सदन अवरोध गरे पनि प्रधानमन्त्री चयनलाई रोक्न मिल्दैन भन्दै सोहीबमोजिम सभामुखलाई सुझाव दिइएको बताउनुयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...