बेनी (म्याग्दी), १२ जेठ । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् ।
रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको स्थानीयवासीले बताएका छन् ।
बिहीवार बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित फापरखेतको खड्ग भवानी आधारभूत विद्यालय र बेनपा–१ अर्जमको ज्ञानपुञ्ज आधारभूत विद्यालयमा पनि विद्यालय पुस्तकालय स्थापना गरिएपछि म्याग्दीका १०१ वटा विद्यालयमा पुस्तकालयको पहुँच पुगेको हो ।
विद्यालय पुस्तकालयको उद्घाटन गर्दै बेनपा–२ का नवनिर्वाचित वडा अध्यक्ष हिराबहादुर थापाले पुस्तकालयको प्रयोगले निरक्षरता उन्मूलनमा सहयोग पुगेको बताउनुभयो । त्यस्तै, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति दुर्गाराम सुवेदीले पुस्तकालयले आत्मनिर्भर बन्न र स्वतन्त्र पाठक बनाउन मद्दत पुगेको बताउनुभयो ।
रुम टु रिड नेपालका कार्यक्रम अधिकृत मनोज सुवेदी, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले पुस्तकालय कार्यक्रममार्फत गरिएका गतिविधि र भविष्यमा हुने सहयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अर्जुन मावि, भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्री, विद्यालयका पूर्व अध्यक्ष यामबहादुर कार्कीले पनि मन्तव्य राख्नुभएको थियो । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।