सन्देश सुब्बा/ १० जेठ
पाँचथर/ जिल्लाको कुम्मायक गाउँपालिका–२, निबासी सुशील सेर्माले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् । शेर्माले जेठ ६ गते बिहान ८ बजेर ५३ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेका हुन् ।
शेर्मा लिम्बू समुदायबाट सगरमाथाको चुचुरो चुम्ने पहिलो पूरुष तथा पाँचथर जिल्लावाट सगरमाथा चढ्ने पहिलो व्यक्ति बनेका छन् । लिम्बू समुदायबाट यसअघि सन् २००९ अगस्त १६ मा तेह्रथुमका जूनिता सम्बाहाम्फेले सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
शेर्माले तीन वर्ष अघिदेखि आरोहणको प्रयास सुरु गरेका थिए । उनको आरोहण यात्राा हिम पहिरो र भूकम्पका कारण दुई पटक सम्म स्थगित भएको थियो । २०६८ सालमा सैनिक जागिर छाडेर हिमाल आरोहण शुरु गरेका २८ वर्षीय सेर्मा काठमाण्डौंवाट १ अप्रिल २०१७ मा सगरमाथा आरोहणको लागि प्रथान गरेका थिए ।
उनले २०६८ भदौमा सोलुखुम्वु जिल्लामा अवस्थित ६,१८९ मिटर उचाइको आइसल्याण्ड पिकबाट हिमाल आरोहण यात्रा शुरु गरेका थिए । त्यसपछि उनले २०६९ साल जेठ २७ देखि असार ७ गतेसम्म नेपालको सवैभन्दा होचो भू–भाग झापाको केचना देखि विश्वको तेस्रो हिमाल ताप्लेजुङको कञ्चनजंघा आधार शिविर सम्मको पदयात्रा पनि गरे ।
उनले १६ नोभेम्वर २०१४ मा रसुवा जिल्लामा अवस्थित ६ हजार २ सय मिटर उचाईको लाङटाङ हिमालको पनि सफल आरोहण गरेका थिए । उनी दक्षिणी मोहडावाट विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर पुगेको बताइएको छ । संविधान कार्यन्वयन, धार्मिक सहिष्णुता, भ्रष्टाचार नियन्त्रण, मानव अधिकारको रक्षा साथै आणविक अस्त्र निशस्त्रीकरण र विश्व शान्तिको सन्देश दिन शेर्माले सगरमाथा आरोहणको यात्रा सुरु गरेको शेर्माले बताएका थिए ।
उनी काठमाण्डौंको अरुणटेक एजेन्सी मार्फत् गाइड सिङ्गी ह्याल्मु लामाका साथ दक्षिणी मोहडावाट सगरमाथा चढेको अभिलेखका लागि नेपाल सरकार पर्यटन मन्त्रालय त्यस मातहतको पर्यटन बोर्डमा प्रतिबेदन बुझाएका छन् । उनलाई एकसाता भित्रै प्रमाण–पत्र दिने पर्यटन बोर्डले जनाएको छ ।
आरोहण पछि मंगलबार बिहानै काठमाण्डौ पुगेका शेर्मा ओम अस्पतालमा स्वास्थ परिक्षण पछि आराम गरिरहेका छन् । सेर्मालाई सगरमाथा आरोहणका लागि स्वदेश र विदेमा रहेका नेपाली सहित विभिन्न व्यक्ति र सस्थाले सहयोग गरेका थिए । शेर्माले सगरमाथाको सफल आरोहण गरेर जिल्लाको प्रतिष्ठा उच्च बनाएको भन्दै पाँचथरबासी हर्षित भएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।