काठमाडौं, ८ जेठ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही दिनमै ढल्ने प्रष्ट संकेत देखिएको छ । १० महिनाअघि प्रचण्ड सरकार गठनको समयमा सत्तासाझेदार दल नेपाली काँग्रैससँग भएको भद्र सहमति अनुसार माओवादी केन्द्रले सरकारको नेतृत्व छाड्नुपर्ने निर्णय गरेसँगै प्रचण्ड सरकार ढल्ने भएको हो ।
दुई तीन दिनभित्रै प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने र काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माके कार्यालयको निर्णय अनुसार नयाँ सरकार गठनकै चरणमा बजेट पनि ल्याउनुपर्ने भएकाले प्रचण्ड नेतृत्वको कामचलाउ सरकारले नै जेठ १५ को बजेट भने ल्याउने स्रोतले जनाएको छ ।
माओवादी हेडक्वाटर बैठकले काँग्रेससँग भएको सम्झौता अनुसार सरकार हस्तान्तरणमा इमानदारिताका साथ प्रस्तुत हुने निर्णय गरेको हो । प्रचण्ड सरकारले राजिनामा दिए लगत्तै संसद्मा नयाँ सरकार गठनको प्रक्रिया थालिने माके स्रोतले जनाएको छ ।
सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार केही दिन लम्बिएको हो ।
पछिल्लो राजनीतिक परिस्थितिमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै प्रचण्डले राजीनामा दिएर देउवा नेतृत्वको नयाँ सरकारका गठनका लागि मार्ग प्रसस्त गर्ने सहमति भएको बताइएको छ ।
संसद्मा भने सोमबारबाट बजेट अधिवेशन सुरु भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल हुँदैछ । ११ गते राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।