एमालेका पूर्व सभाषद् चौहान र केन्द्रीय सदस्य गिरी ससफो प्रवेश गर्ने तयारीमा
वीरगञ्ज, ८ जेठ ।
नेकपा एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्व सभाषद् एवम् पर्सा क्षेत्र नम्बर ४ का अध्यक्ष प्रद्युम्न चौहानले सोमबार एमाले परित्याग गरेका छन् । मधेस आन्दोलनबाट उठेका मागहरुलाई एमालेले अपमान गरेको भन्दै एमाले नेताद्वय गिरी र चौहानले पार्टीबाट राजीनामा दिएका हुन् ।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी दुवै नेताले एमाले पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पदबाट मुक्त भएको घोषणा गरेका हुन् । मधेस आन्दोलनबाट उठेका मागहरुलाई संस्थागत गर्नुपर्ने जनचाहना भए पनि मधेस आन्दोलनको भावनालाई एमालेले उपेक्षा गरेको भन्दै गिरी र चौहानले एमाले छाडेको बताउनुभएको हो । संयुक्त प्रेस विज्ञप्ति जारी गरेर एमाले पार्टी र सबै जिम्मेवारीबाट मुक्त भएको दुवै नेताले उल्लेख गर्नुभएको हो ।
ससफो नेपाल प्रवेश गर्ने
एमाले परित्याग गरेका नेता गिरी र चौहानले मधेसको मागहरुलाई समर्थन गर्दै आगामी १४ गते विरगञ्जमा हुने कार्यक्रममा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पहिलो चरणको स्थानीय निर्वाचनअघि सरकारले गरेको सहमति अनुसार तराई मधेसमा स्थानीय निकायको संख्या बृद्धि गरी दोस्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनीतिक आवश्यकता भए पनि एमालेको मधेस विरोधी आडानका कारण राजनीतिक निकास निस्कन नसकेको नेताद्वयको आरोप छ ।
मधेसको मागहरुलाई पूरा गर्न पार्टीमा पटक–पटक दवाव दिइए पनि शीर्ष तीन नेताहरुले मधेस आन्दोलनबाट उठेका मागहरुलाई भारतसँग जाडेर आउने एमाले नेताहरुको नश्लीय अभिव्यक्तिले एमालेमा रहेका सबै मधेसी नेता कार्यकर्ताहरुलाई कलंकित बनाएको समेत उहाँहरुले आरोप लगाउनुभएको छ ।
पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम, नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादव, केन्द्रीय सदस्यद्वय हरिनारायण रौनियार, मोहनलाल चौधरी, तराई मधेस प्रदेशका कोषाध्यक्ष एवम उद्योगपति विजय सरावगी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै फोरम नेपालका जिल्ला अध्यक्ष यादवले मधेस आन्दोलनको मर्म, भावना र एमाले पार्टीको वास्तविक चरित्र बुझेर नेता गिरी र चौहानले समयमै राजीनामा दिनुभकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
आगामी जेठ १४ गते बृहत् कार्यक्रम गरी एमाले परित्याग गरेका नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।