काठमाडौं, ४ जेठ ।
स्थानीय निर्वाचनका क्रममा मारिएका दुई जनालाई सरकारले शहीद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय गरेको हो ।
नमोबुद्धमा बैशाख ३० गते राति पाठकलाई गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्यापछि नमोबुद्धको जनक मावि केन्द्रमा स्थानीय चुनाव स्थगित गरिएको थियो । यसैगरी माओवादीसँग झडप हुँदा जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।
सरकारले मृतक दुवै जनालाई शहीद घोषणा गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिनुभएको हो ।
थरुहट र तराई आन्दोलनका मुद्दा फिर्ता
त्यस्तै बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा लिँदै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले बताउनुभयो । सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।
सरकारले चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने पनि निर्णय गरेको छ । गुरुयोजनामा नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, वन विकास र नवीकरण ऊर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गर्ने सरकारी निर्णय छ ।
प्रेस काउन्सिल अध्यक्षमा बराल
मन्त्रिपरिषद्ले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बराल मोफसलमा बसेर तीन दशक बढी समयदेखि पत्रकारिता गर्दैआउनुभएको छ । विजयपुर साप्ताहिक पत्रिकाको सम्पादक बराल उत्पीडित समुदायका मुद्दामा खरो वकालत गर्ने विश्लेषक पनि हुनुहुन्छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।