दिलदुःखी जन्तरे । जसको वास्तविक नाम हो –पेशल मावुहाङ । २०५५/५६ ताका पेशल मावुहाङ ‘दिलदुःखी’ को नाममा साहित्य कोर्ने गर्दथे । ‘सोल्टिनी’ हवाई पत्रिकाको सम्पादन गर्दथे । उनी सन्तानमा जन्तरे । उनी आफैले सन्तानमा माइला या कान्छा बनाउन सकेनन्, तर आफैमा जन्तरे भएपछि उक्त शब्दसँग यति गहिरिए कि आफ्नो मनपर्ने नाममा दिलदुःखीमा जन्तरे थपेर आफै न्वारान गरे । र, साहित्यमा सक्रिय बने । आफूलाई लागेको कुरा भन्न नधकाउने हक्कि स्वभावका जन्तरे पहिला गजलमा कलम चलाउँथे भने हालः कवितामा रमाइरहेका छन् । उनै जन्तरेले हालै ‘पालामको राजकुमारी’ कविता सङग्रह बजारमा ल्याएका छन् । कवितामार्फत उनका खरो अभिव्यक्तिले पाठकलाई एकहदसम्म सोचमग्न र रमाउनेसक्ने त बनाउँछ नै, कविता लेख्नुको तात्पर्य र कविताबारे उनको बुझाईबारे नयाँ अनलाइनले उनीसँग गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
कविता विधा किन रोज्नुभयो ?
किन रोजे म आफै लाई थाहा छैन यसर्थमा थाहा छैन कि मेरो घर परिवार गीत संगीत साहित्यभन्दा धेरै टाढाको हो । तर मलाई गीत संगीत साहित्यले किन छोयो छोयो । म सानो छँदा कस्ले बजाएको कता बजेको केही थाहा छैन तर यस्तो आवाज आएर मेरो कानमा ठोकियो कि “सुन मेरो निरमाया “भन्ने गीत त्यो गीत अझै मेरो दिमागमा बज्ने गर्छ उत्तिकै मीठोगरि । उसैगरि चारपाँच कक्षामा पढ्दा देखि नै कविताले छुन्थ्यो तेसोरी छुदै गएपछि रोजे होला ।
अभिव्यक्त गर्न कवितामा सजिलो कि अन्य विधाबाट ?
मेरो हकमा अविता नै सजिलो लाग्छ । अन्य विधाबाट पनि सजिलो होला । कविता लेख्दा पढ्दा मलाई असिम आनन्द लाग्छ । आनन्द आउनु नै सजिलो हो हैन र ?
कविताबाहेक कुन कुन विधामा कलम चलाउनुहुन्छ ?
पहिला पहिला खुब गजल लेखियो र छिट्पुट कथा पनि । तर अहिले गीत लेख्दा पनि बडो आनन्द लाग्न थालेको छ ।
लिम्बू जातिको बोली नै कवितात्मक हुन्छ भन्छन्, यसमा तपाईको धारणा ?
यो चै गलत होला हौ । एक जातीले अर्को जातिको भाषा बोल्न जिब्रोले दिदैन दिदैन शुद्ध उच्चारण कहिले हुदैन तसर्थ त्यस्तो सुनिएको होला । हुन त लिम्बू जातिमा एक पुस्ताले अर्को पुस्तालाई मुन्धुम गाएर सुनाउदै आउने चलन छ त्यसको प्रभाव पनि हो कि ?
आजकल बढि मिथकिय कविताको बाढी आएको छ नि ?
बाढी आएको होइन चेतना आउन थालेको हो । एक भाषा एक धर्मको मिथक मात्र प्रयोग भैरहेको अवस्थामा अन्य पिछडिएको जातिको मिथकहरू प्रयोग हुन थालेपछि तेस्तो देखिएको मात्र हो । हेर्नुहोस मुन्धुममा विश्व ब्रमाण्ड छ । सृष्टिको कुरा छ कति रोचक मिथकहरू छ्न । तसर्थ मिथकिय कविता लेखिन सुरु भएको हो । समयले माग्यो पनि ।
कविताले मिथक खोज्छ कि मिथकले कविता ?
वास्तवमा मिथकले कविता खोज्नु पर्ने हो विडम्बना कविताले मिथक खोजिरहेको छ ।
प्रायः कविहरूले आफ्नै भाषा बनाएर लेख्न खोजिरहेका छन्, तपाई पनि यहि बाटोमा हो ?
अलिकति खुड्किलो चढे पछि मान्छेमा अहमता बढ्छ कवि पनि मान्छे नै हो नि तसर्थ अनेक प्रयोग गर्न तम्सिन्छ । हेहेहेहे म मा पनि सनक चढ्नु के बेर ।
अलिक पुरानाहरूमा बैरागी काइला विक्रम सुब्बा श्रवण मुकारुङका कविता मनपर्छ्न पछिल्लो छिमलका बिनोद बिक्रम के.सी. र स्वप्निल स्मृति । स्मृतिको कविताहरू पढेर कहिले थाक्दिनँ । उ जतिको कविता लेख्न अरुले लेख्छ्न जस्तो लाग्दैन ।
कवितालाई भाषाले लेख्ने कि भाषामा ?
कविता मन मस्तिष्कले लेख्ने हो उत्तर दिनैपर्दा भाषाले लेखिनुपर्छ भन्ने तर्क छ मेरो ।
तपाईले भाषाले लेख्न खोज्दा अलमलिनु भएको भान भएको छैन ?
अलमलिएकोको त छैन बुझ्न सकेको छैन बुझ्दैछु छुदैछु छाम्दैछु माया गर्दैछु ।
भाषाले लेख्न खोजेका तपाईका कविता पूर्ण छन् ?
म आफै कसरी भनुँ पुर्ण छन् या अपुर्ण पाठकहरूले जे भन्छन् तेहि हो ।
प्रवासमा सबैभन्दा बढि फस्टिएको साहित्य विधा कुन होला ?
गजल ।
प्रवासबाट कस्तो खालको विम्ब आउनुपर्छ ?
प्रवासदेखि कस्तो बिम्ब आउनुपर्छ भन्दा पनि प्रवास आफै दुःख पीडाको बिम्ब हो । हालसालै कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुँदा नेपालीसहित तीन कामदारको मृत्यु भएको छ केही घाइते भएका छन् । यस्तो दर्दनाक अवस्था आउने गर्दछ । आफै अनुमान लगाउनुहोस कस्तो बिम्ब आउँछ भनेर ।
के तपाईका कवितामा लिम्बुवानदेखि प्रवाससम्मका विम्ब अटाइएका छन् ?
अवश्य पनि । म लिम्बुवानको माटोमा जन्मी हुर्केको मान्छे अहिले प्रवास छु स्वत बिम्बहरू आउने नै भए ।
नेपालमा चर्चित भइरहेका कविहरूमध्ये तपाईको कसको अनुयायी हुनुहुन्छ ?
अलिक पुरानाहरूमा बैरागी काइला विक्रम सुब्बा श्रवण मुकारुङका कविता मनपर्छ्न पछिल्लो छिमलका बिनोद बिक्रम के.सी. र स्वप्निल स्मृति । स्मृतिको कविताहरू पढेर कहिले थाक्दिनँ । उ जतिको कविता लेख्न अरुले लेख्छ्न जस्तो लाग्दैन ।
आजकल कवितामा झुण्ड झुण्ड चलिरहेको छ नि ?
झुन्ड जेमा पनि हुने गर्दछ । जनावरहरूको त पनि झुण्ड हुदोरहेछ मलेसियाको पिजेमा काम गर्दा देखेको अनुभव सुनाउछु । कुकुरहरू धेरै थिए आ–आफ्नो झुण्डको अखडा थियो अउटा झुण्डको अर्को झुण्डमा गयो कि सबै मिलेर टोक्दै खेदाउथे पछि झुण्डले साहित्यलाई किन बाँकी राख्थ्यो र अझै कवि साहित्यकारहरूको आदर्श बुझिनसक्नुको जटिल हुन्छ बिचार विमर्श मिल्दैन तसर्थ झुण्ड हुने त भैगो ।
झुण्डमा विश्वास छ कि छैन ?
विश्वास छैन भनौ भने एक्लो परिन्छ छ भन्नै प¥यो नि
अन्त्यमा केही ?
प्रश्नहरू सोध्नु भो धन्यवाद । पालामको राजकुमारीलाई सोध्नु भएन ?
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।