टहरो मुक्तिका लागि आग्रह - Naya Online

टहरो मुक्तिका लागि आग्रह

शिव उप्रेती/देउराली, गोरखा


विद्यालय परिसरमा पहिलो पटक बालभेलाको आयोजना हुँदै थियो । ९ कक्षाकी रुपा गुरुङलाई असाध्यै जिज्ञासा थियो, बाल भेलामा के के होला ?
परिचय कार्यक्रमको चरण आयो । उनले पनि परिचय दिइन् । सबैले परिचय दिए । केहीबेर समन्वयकर्ता पवित्रा भट्टराईले बालभेलाको परिचय र भूमिका सुनाइन् । ‘बडीम्यापिङ’ गरेर बालबालिकाको रुचि, जिम्मेवारी, कर्तव्य आदि पत्ता लगाउने कुरा सुनिरहँदा उनी रोमाञ्चित भइरहेकी थिइन् । कसरी हुन्छ होला बडिम्यापिङ ? उनलाई जिज्ञासाले कुत्कुत्याइरहेको थियो ।
सहजकर्ताले बडिम्यापिङका लागि कोही विद्यार्थी साथीलाई अगाडि आइदिन अनुरोध गरिरहेकी थिइन् । अगाडि जान धेरैबेरसम्म कोही तयार नभएपछि उनको नजिकको साथी राधा परियार उठिन् र सरासर अगाडि गइन् । सबै साथीहरू अचम्मित थिए । पहिलो पटक बडिम्यापिङ गरेर बालबालिकाको बिभिन्न पक्षको पहिचान गर्ने कार्यक्रम अबलोकन गर्न उनीहरू तम्तयार थिए ।
सहजकर्ताले यतिबेलासम्म भुइँमा न्यूजप्रिन्ट ओछ्याएकी थिइन् । राधालाई त्यहाँ सुत्न भनियो । उनी नहिच्किचाई सुतिन् । अर्को एकजनालाई उनको शरीरको नक्शा बनाउन आग्रह गरियो । सृष्टि भण्डारीले उनको सिङ्गो शरीरको नक्शांकन गरिन् । अब त्यहीबाट बिभिन्न छलफल सुरु भयो ।
बाल भेला सञ्चालन गर्दा बालबालिकाको बुझाईलाई मूल्यांकन गर्नका लाागि शरीर नक्सांकनको औजार प्रयोग गरिन्छ । एउटा जीवन सञ्चालनमा मानव अंगको जति महत्व हुन्छ, त्यसरी नै बाल अधिकार कार्यन्वयनमा पनि सबै अंग सुचारु हुनु पर्छ भन्ने यसको मुख्य सन्देश हो । सामुहिक छलफल बिधिद्वारा सबै अंगको मूल्यांकन यसबाट हुन्छ ।
रुपाले पनि आफ्नो समस्या सुनाइन् । जसरी मानब इन्द्रीयहरू सबै सक्रिय भएनन् भने सबलताको अभाव हुन्छ त्यसरी नै बाल अधिकार बहाली हुन पनि सामाजिक वातावरण सबल हुनु पर्छ । उनको एकै मात्र समस्या टहरोको कष्टबाट मुक्ति थियो । बाँसको कप्टेराले बारेको, कटुसको स्याउलाले छाएको टहरोमा बसेर पढ्दा धेरै समस्या भोग्नु परेको उनको मुख्य गुनासो थियो । रुपाको मात्र होइन गोरखा देउरालीका अधिकांश बालबालिकाको यो साझा समस्या थियो ।
गत बर्ष भूकम्प गएपछि भूकम्प पीडित क्षेत्रमा बालबालिकाले यस्तै प्रकारका समस्या व्यहोरिरहेका छन् । २०७२ साल बैशाख १२ गते र त्यसपछि पटक पटक गएको भूकम्पबाट अधिकांश बिद्यालय भवन र निजी आवासहरू भत्केका छन् र ती पुनर्निर्माणका क्रममा छन् ।
गोरखामा मात्र तीनहजार भन्दा धेरै कक्षाकोठा पूर्ण रुपमा नष्ट भएको थियो । सरकारी तथा गैरसरकारी संस्थाहरूले केही विद्यालय भवन निर्माण गर्ने भने पनि पुनर्निर्माणको काम द्रुत गतिमा हुन सकेको छैन ।
प्रधानाध्यापक गणेश श्रेष्ठकाअनुसार रामशाह माविको कक्षा ९ र बाल विकास कक्षाका विद्यार्थी अहिले पनि बाँसको कप्टेराले बारेको विद्यालयमा पढिरहेका छन् । भुकम्पले विद्यालय भवन भत्काएपछि कक्षा ९ का ४४ जना र शिशु कक्षाका २५ जना बालबालिका टहरोमा पठनपाठन गर्ने उनी बताउँछन् ।
‘पानी पर्दा र हावाहुरी चल्दा असाध्यै समस्या हुन्छ’ रुपा भन्छिन् ‘यो जाडो महिनामा झन् काठ्ठिएर पढ्नै सकिन्न ।’ कप्टेराको बार पनि भत्किन थालेको उनको भनाइ छ । ‘यसै त कप्टेरा, स्याँठ छेक्दैछेक्दैन, त्यसमाथि पनि अहिले त उख्लिन थालेका छन् । ढल्न थालेका छन् ।’ हिउँदमा चिसो बतास र बर्खामा बाछिटाले पढाइमा धेरै नै डिस्टर्ब गरेको उनको भनाइ छ ।
उदाङ्गो बारबाट विद्यार्थीहरू बाहिर मात्र हेरिरहने अर्का विद्यार्थी आवाज घिमिरे बताउँछन् । ‘बाहिर सबै देखिन्छ, अनि घरिघरि आँखा बाहिर पुगिरहन्छ । ध्यान पनि बाहिर गइरहन्छ’ उनी भन्छन् ‘पक्की कक्षा कोठामा भए यस्तो हुदैनथ्यो ।’ भुकम्पका कारण यो दुई बर्षदेखि विद्यार्थीहरूको पढाइको गुणस्तरमा असर पारेको उनको दाबी छ ।
अस्थायी टहरोमा पढ्नुपर्दा सरसफाइमा समेत समस्या भएको अर्का विद्यार्थी राजेश हमालको भनाइ छ । ‘टहरोको भुइँभरि धुलो हुन्छ । यस्सो झोला खस्यो भने पनि धुल्लै हुन्छ’ उनी भन्छन् ‘लुगा पनि दिनदिनै धुल्लै हुन्छ । हप्तामा एकफेर धोएर पनि हुँदैन । दुईफेर धुन फेरफार दुईजोर छैन ।’ पानी पर्दा छानाबाट पनि जमिनबाट पनि पानी भरिने उनी बताउँछन् ।
टहराको भुईँमा बसेर पढ्दा शिशु कक्षामा पढ्ने ससाना विद्यार्थीलाई अझै गाह्रो हुने इसिडीकी शिक्षिका मुना नराल बताउँछिन् । ‘बेन्च नि छैन । भुइँमा कार्पेट ओछ्याएर राख्ने गरेको छु’ उनी भन्छिन् ‘चिसोले सिधै असर गर्छ । कतिपय विद्यार्थीहरू चिसोका कारण रुघा, खोकी, पेटका बिरामी भइरहन्छन् । पानी पर्दा भित्रै भल पस्छ ।’ खेलौंना राख्ने ठाउँ पनि नभएको उनी बताउँछिन् ।
भवन भुइँचालोले भत्काइदिएपछि विद्यार्थीहरूको बिचल्ली भएको प्रअ श्रेष्ठ बताउँछन् । केही दातृ निकायले भवन निर्माणको काममा सहयोग गरिरहे पनि पर्याप्त नभएकाले अझै केही समय यस्तै समस्या झेल्नु पर्ने उनको भनाइ छ ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...