नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छिन् ।
नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बनेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरे ।
यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी भएका छन् । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बनेका हुन् ।
अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गरेका थिए ।
यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गरे ।
यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी भएका छन् । यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी भइन् ।
योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।