साजन पासवान/बिराटनगर
बालमैत्री नगर बिराटनगर उपमहानगरपालिकामा अर्थपूर्ण बाल सहभागिता भएकोमा स्थानीयबासी तथा सरोकारवालाहरूले गर्ब गरेका छन् । बिराटनगरमा मात्र सबै निर्णय प्रक्रियामा अर्थपूर्ण बाल सहभागिता हुने गरेको दाबी गर्दै बालअधिकारकर्मी शर्मिला गुरुङले भनिन्– ‘मैले धेरै स्थानीय तहको अभ्यास हेरें तर बिराटनगरको जस्तो अर्थपूर्ण बाल सहभागिता अरु स्थानीय तहमा देखिन ।’
सहभागिता विकासको अधिकारमुखी अवधारणाको एउटा अभिन्न तत्व हो । मुलतः संयुक्त राष्ट्र संघले अगाडि सारेको यो अवधारणा मानवअधिकार र विकासका बीचमा निकटतम सम्बन्ध हुनुपर्ने मान्यतामा आधारित छ । आवश्यकता पहिचानदेखि नै परियोजनाको छनौट, कार्यान्वयन, अनुगमन र मुल्याङ्कनजस्ता निर्णय र कार्यान्वयनको सबै चरणमा सरोकारवालाको निर्णायक सहभागिता हुनुपर्छ भन्ने यस अवधारणाको मूल मर्म हो र संयुक्त राष्ट्र संघीय विकासको अधिकारसम्बन्धी घोषणाअनुसार यस्तो सहभागिता सक्रिय, स्वतन्त्र र सार्थक हुनुपर्दछ ।
बिराटनगरको नीतिगत निर्णय गरिने सबै संरचनाहरूमा बालबालिकाको सहभागिता हुने गरेको बिराटनगर उपमानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइराला बताउँछन् । भन्छन्– ‘उपमहानगरपालिका तहमा मात्र वडादेखि परिषदसम्म र बिषयगत क्षेत्रमा शिक्षा, स्वास्थ्यका इकाईहरूमा पनि बालबालिकाको सहभागिता रहेको छ ।’
सहभागिताबाट निर्णय प्रक्रिया र औचित्य दुबै पारदर्शी हुन्छ । बालबालिकाले पारदर्शीताको महत्व बुझ्ने र अभ्यास गर्ने अवसर पाएपछि सुशासनप्रति उनीहरूमा लगाव बढ्नेछ । पारदर्शीताले भ्रष्टाचार घटाउँछ । सुशासनका विशेषतामा सहभागिता, पारदर्शीता, उत्तरदायित्व, सहमतिमुलक निर्णय प्रक्रिया, समता, प्रभावकारिता, दक्षता तथा विश्वसनीयता जस्ता गुणहरू पर्दछन् । यस्ता गुणहरूसँग बालबालिका परिचित र अभ्यस्त भए भने सुशासनको पुर्वाधार तयार गर्न सहयोग हुन्छ ।
बालसहभागिता बालबालिकाको आधारभूत अधिकार हो । बाल अधिकारसम्बन्धी महासन्धी १९८९ ले बाल सहभागितालाई महत्व दिएको छ । बाल सभागिता शारिरीक वा भौतिक मात्र हुनु हुन्न । बिराटनगर उपमहानगपालिका स्थित नगर बाल सञ्जालका निबर्तमान अध्यक्ष प्रितम शाहले जानकारी दिएअनुसार हरेक तहमा बालबालिका सक्रिय सहभागी हुने गर्दछन् र आवाज र बिचारलाई सरोकारवालाले गम्भीरतापूर्बक लिने गरेका छन् ।
स्थानीय बाल अधिकारकर्मी नवराज निरौलाकाअनुसार उपमहानगरपालिकाका सबै वडामा बाल सञ्जाल गठन भएको छ । सबै बिद्यालयमा बाल क्लब छ । यसै गरी स्थानीय स्वास्थ्य संस्थाको स्वास्थ्य व्यबस्थापन समिति, बिद्यालयको बिद्यालय व्यबस्थापन समिति, वडा नागरिक मन्च, टोल विकास संस्थादेखि एकीकृत योजना तर्जुमा समितिसम्म बाल सहभागिता हुने गरेको छ ।
बालसहभागिता बालबालिकाको आधारभूत अधिकार हो । बाल अधिकारसम्बन्धी महासन्धी १९८९ ले बाल सहभागितालाई महत्व दिएको छ । बाल सभागिता शारिरीक वा भौतिक मात्र हुनु हुन्न । बिराटनगर उपमहानगपालिका स्थित नगर बाल सञ्जालका निबर्तमान अध्यक्ष प्रितम शाहले जानकारी दिएअनुसार हरेक तहमा बालबालिका सक्रिय सहभागी हुने गर्दछन् र आवाज र बिचारलाई सरोकारवालाले गम्भीरतापूर्बक लिने गरेका छन् ।
बाल सहभागिताको बहुपक्षीय सम्बन्ध हुन्छ । बाल सहभागिताको अभ्यास राम्ररी हुन सकेको खण्डमा अरू बालअधिकारको पनि सार्थक प्रचलन हुन सक्ने बिराटनगरको अनुभवबाट देखिएको छ । बास्तबमा बालअधिकारको व्यवस्था बालबालिकाको सर्वोत्तम हितका लागि भएको हो । तैपनि बाल सहभागिताका नाममा भएका कतिपय अभ्यासमा बालबालिकालाई प्रयोग र परिचालन गरिएको तथा उनीहरूको हितलाई प्राथमिकता नदिइएको पनि देखिन्छ । तर यी सबै नकारात्मक पक्षबाट बिराटनगर पृथक छ ।
विद्यालय वा समुदायमा आधारित बाल क्लबहरूमार्फत् बालबालिका विभिन्न गतिविधिमा सहभागी हुने गरेका छन् । समुदायमा आधारित बाल क्लबहरू विशेषगरी विषयगत प्रकृतिका रहेका छन् । बिराटनगरमा यस अघि श्रमिक बालबालिकाको बाल क्लब पनि थियो । तर यस बर्षबाट श्रमिक बाल क्लबलाई हटाईएको छ । ‘बिराटनगर बाल श्रममुक्त नगर भएकाले श्रमिक बाल क्लब हामीले हटाएका हौ ।’ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख धिमालले बताए ।
विकास र शासनमा बाल सहभागिताको अभ्यासले सकारात्मक परिणाम दिएको बिराटनगर स्थित युनिसेफ नेपालका कार्यक्रम अधिकृत सुन्दर लामाले बताए– ‘बालबालिकालाई शासन पद्धति परिचित गराउनका लागि पनि यस्तो अभ्यास हुन जरुरी छ ।’
बाल सहभागिताले बालबालिकाप्रतिको परम्परागत धारणा र दृष्टिकोणमा परिवर्तन ल्याएको छ । आमाबाबु वा राज्यका सम्पत्ति मानिने बालबालिकालाई अधिकारवाला नागरिकका रूपमा स्थापित गरेको छ । सहभागिताका नाममा बालबालिकालाई कार्यक्रमहरूमा वा बैठकहरूमा उपस्थित गराएर प्रदर्शनको वस्तु बनाउने प्रचलन भन्दा पृथक अभ्यासका कारण शारीरिक—मानसिक स्वास्थ्य र सामाजिक सम्मानमा अभिबृद्धि भएको छ ।
‘बाल सहभागिता बालबालिकाको व्यक्तित्व विकासका लागि सहायक हुन्छ’ जिल्ला शिक्षा कार्यलय मोरङका बिद्यालय निरीक्षक राजकुमार थापाको धारणा छ । उनी थप्छन् ‘बाल सहभागिता आफुसँग सरोकार भएको विषयमा सहभागी हुन पाउने आधारभुत मानवअधिकारको पनि अभ्यास हो । विशेषगरी बाल सहभागिताद्वारा बालबालिकाले बाल संरक्षणको अधिकारको जानकारी पाउन र अभ्यास गर्न समर्थ हुनेछन् ।’
बालशोषण र उत्पीडनका विरुद्ध पनि बालबालिकाहरू सचेत हुन्छन् । बाल सञ्जालकी सचिब लाड्ली खातून भन्छिन् ‘बाल क्लबमा आएपछि नै बाल अधिकार बुझियो । यसका रक्षाका लागि आवाज उठाउन पनि समर्थ भएका छौ ।’
सहभागिता शासनमा नागरिकको पहँुच बढाउने लोकतान्त्रिक विधि हो । यस प्रक्रियाबाट नागरिकले आफुसँग सरोकार भएको विषयमा संलग्न हुने अधिकार पाउँछन् । नागरिकले आफ्नो सहभागितामा भएको निर्णयप्रति दायित्व बोध पनि गर्दछ । यसले निर्णयको प्रभावकारिता बढ्छ । सहभागिताका क्रममा हुने छलफल र निर्णयको प्रक्रियात्मक अभ्यासले सहभागीमा आत्मविश्वास बढ्छ । साथै सहभागीमा लोकतान्त्रिक मुल्य र मान्यताप्रति आकर्षण पनि बढ्छ । बाल सहभागिताको अभ्यासद्वारा बालबालिका लोकतान्त्रिक मुल्य र मान्यताप्रति आकर्षित र दीक्षित हुन्छन् । नागरिकहरूमा लोकतान्त्रिक संस्कारको जग बसाउने उत्तम उपायहरूमा सहभागिता पनि हो । बाल सहभागिताको अभ्यासले बालबालिकामा लोकतान्त्रिक विधि र प्रक्रियाप्रति विश्वास पनि सिर्जना हुन पुग्छ । बाल सहभागिताका माध्यमबाट उनीहरूले आफुसँग सरोकार राख्ने विषयको आधिकारिक जानकारी पाउँछन् ।
सार्वजनिक जीवनमा सहभागिताले बालबालिकालाई असल र लोकतान्त्रिक नागरिक बनाउन सहयोग गर्छ । यसैले नेपालजस्तो लोकतान्त्रिक संस्कृतिको जग बसि नसकेको मुलुकमा लोकतान्त्रिक मुल्य र मान्यता हुर्काउन बाल सहभागिता उपयुक्त उपाय देखिन्छ । बाल सहभागिता बालबालिका लागि लोकतान्त्रिक प्रक्रियाहरूको अभ्यास गर्ने अवसर र माध्यम दुबै हो ।
अधिकारमुखी अवधारणामा अधिकारवाला र दायित्ववाला दुई पक्ष हुन्छन् । बाल सहभागिता बालबालिकाको अधिकार हुनाले उनीहरू अधिकारवाला हुन् भने परिवार, समुदाय, विद्यालय, स्थानीय निकाय र राज्य सहभागी गराउने दायित्ववाला हुन् । अधिकारवालले हक दाबी गर्न पाउँछ र दायित्ववालाले पुरा गर्नुपर्ने हुन्छ । अधिकारमुखी अवधारणाको मर्म यही हो ।
अधिकारमुखी अवधारणा विकास प्रक्रिया, संस्थाहरू, सूचना र असहमति व्यक्त गर्ने संयन्त्रलगायतमा सरोकारवालाको पहुँचमा विशेष ध्यान दिईन्छ । अधिकारमुखी अवधारणामा निर्णयमा सरोकारवालाको अधिकतम् हितको ख्याल राखिनुपर्छ भन्ने मानिन्छ । यसैले सहभागिता बाहिरबाट थोपरिएको कुनै निर्णय वा संयन्त्रका आधारमा हँुदैन । सहभागिता त आन्तरिक विधि र तरिकामा आधारित हुन्छ ।
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।