एमाले १३ मा विजयी, काँग्रेस र माओवादी १०/१० स्थानमा विजयी
काठमाडौं, २ जेठ ।
स्थानीय तह निर्वाचनको जारी मत गणना अनुसार प्राप्त पछिल्लो मत परिणामका आधारमा प्रतिपक्षी दल एमालेले अग्रता लिएको छ । मंगलबार साँझा ७ बजेसम्म प्राप्त मत परिणाम अनुसार एमालेले १३ वटा गाउँपालिकामा बाजी मारेको छ ।
पछिल्लो परिणामका आधारमा काँग्रेसले १० गाउँपालिका प्रमुखमा बाजी मारेर एमालेलाई पछ्याइरहेको छ भने सत्ता नेतृत्वको माओवादी केन्द्र पनि १० गाउँपालिका प्रमुखमा आफूलाई स्थापित गरेको छ ।
संसद्को चौंथो ठूलो दल राप्रपाले भने हालसम्म खाता खोल्न सकेको छैन । अन्य दलहरुमध्ये १ गाउँपालिकामा विजयी भएको निर्वाचन आयोगबाट जानकारी प्राप्त भएको छ ।
जारी मत गणनाका क्रममा एमालेले विभिन्न ७६ स्थानमा अगुाई गरिरहेको छ भने काँग्रेसले ५२ स्थानमा अगुवाई गरिरहेको छ । पछिल्लो जानकारी अनुसार माओवादीको ३२ स्थानमा अगुवाई कायम छ । प्रमुखमा खाता खोल्न नसकेको राप्रपाले १ स्थानमा अगुवाई गरिरहेको छ । ससफो–नयाँ शक्तिले २ स्थानमा अग्रता कायम राखेका छन् । अन्य दलहरुले भने ४ स्थानमा अग्रता कायम राखेका आयोगबाट जानकारी प्राप्त भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिकामा माओवादीको एकल प्यानल
सिन्धुलीको मरिण गाउँपालिका प्रमुख र उपप्रमुखदेखि सात वटै वडाका वडा अध्यक्षदेखि वडा सदस्यसमेत सबै पदमा माओवादीले बाजी मारेको निर्वाचन आयोगले जनाएको छ ।
माओवादी उम्मेद्वार पानीराज बम्जन नेतृत्वको प्यानलले काँग्रेस, एमाले, राप्रपा लगायत दलका उम्मेद्वारलाई धुलो चटाएको हो ।
चार महानगरपालिकामा को को अगाडि ?
वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मत गणनाका आधारमा चार महानगरपालिकाहरुमा एमालेले तीन महानगरपालिकामा लिड गरिरहेको छ । काठमाडौं बाहेकका महानगरपालिकामा एमाले अघि छ ।
काठमाडौंमा काँग्रेसका मेयर उम्मेद्वार राजु जोशी ५४७ मतसहित अघि छन् भने एमालेका विद्यासुन्दर शाक्यको ३४८ मत छ । ललितपुरमा उमालेका हरिकृष्ण व्यञ्जनकार ४९२६ मत पाएर अगाडि छन् भने काँग्रेसका चिरीबाबु महर्जन ४७४४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
भरतपुरमा एमाले उम्मेद्वार देवी ज्ञावाली १३६२ मत पाएर अघि छन् भने माओवादी केन्द्रकी रेणु दाहाल ९७७ मत पाएर उनलाई पछ्याइरहेकी छिन् ।
वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ नम्बर प्रदेशमा विभिन्न ३४ जिल्ला अन्तर्गत २८१ स्थानीय तहमा मतदान सम्पन्न भएपछि हाल मत गणना जारी रहेको छ । कतिपय स्थानहरुमा मतगणनामा ढिलासुस्ती भएको आरोप पनि लागेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।