बिर्तामोड, ३० वैशाख ।
विभिन्न ६ वटा मधेस केन्द्रित पार्टीहरुबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१ को स्थानीय चुनावमा सहभागिता जनाउने बताएका छन् ।
सम्वाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा शनिबार सम्पन्न छलफलमा राजपा झापाको अध्यक्ष मण्डलका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको मुद्दा सम्बोधन भए स्थानीय चुनावमा जाने बताएका हुन् । उनीहरुले चुनाव मुलुकको लागि अपरिहार्य भएको भन्दै वर्तमान सरकारले मधेसी जनताको भावना सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
उनीहरुले ४ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शान्ति, सहमति, सहकार्य र गणतन्त्रको स्थायित्वको पक्षमा प्रतिबद्ध रहँदै पार्टीको कार्यक्रम र अभियानलाई शान्तिपूर्ण रूपमा अघि बढाउने उनीहरुको प्रतिबद्धता छ ।
संविधान संशोधनमार्फत राजपा लगायतका दलले उठाएको मुद्दा सम्बोधन गरी दोस्रो चरणको स्थानीय चुनावमा मधेसी दलहरुको सहभागिताको वातावरण बनाउन पनि उनीहरुको माग गरेका छन् । राजपा झापाले दलहरुबीच सहमति, सहकार्य, एकताको राजीनितक संस्कार र संस्कृतिलाई बढावा दिई मुलुकलाई तत्काल निकास दिन माग समेत गरेको छ ।
राजपा नेपाल झापा अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले दलहरुबीच सहमतिको विकल्प नरहेको भन्दै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनमार्फत मधेसीको अधिकार सुनिश्चितसँगै भावना समेट्नुपर्ने गणेशले स्पष्ट पार्नुभयो ।
सम्वादमा पार्टी अध्यक्ष मण्डलका सदस्यहरु अनुतसिंह राजवंशी, प्रदीपकुमार अग्रवाल र देवेन्द्रकिशोर ढुंगानाले सबैको सहभागितामा दोस्रो चरणको स्थानीय निर्वाचन गर्न सहमति र सहकार्य जरुरी रहेको बताएका हुन् । सद्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको हो । सो पार्टीले झापामा एकता घोषणासभा गरिसकेको छ भने जेठ १ गते जिल्लाभर मोटरसाइकल र्याली गरेर एकताको सन्देश दिने समेत जानकारी दिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।