योमुई/पोमोई चम्खासिं यक (पञ्चकन्या गढी): संक्षिप्त चिनारी - Naya Online

योमुई/पोमोई चम्खासिं यक (पञ्चकन्या गढी): संक्षिप्त चिनारी

–खजुम प्रेम लिम्बू


इतिहासको गर्भमा गौरवशाली इतिहास बोकेका किरात लिम्बूहरु हिमाली क्षेत्रबाट यो धर्तीको उत्पत्तिसँगै उदय भएका कुरा सदियौंदेखि हाम्रा अगुवा फेजिकुम फेदाङ्माहरुले आजतक मुन्धुममा हामी भूमि पुत्र खाम्बोङ्बासा लुङ्बोङ्बासा हांै भनेर सगर्व भन्ने गरेबाट स्पष्ट हुन्छ । इडेन भान्सिटार्ट र इमानसिं चेम्जोङका अनुसार छथर इलाकामा ताक्लुङ खजुमहाङले राज्य गरेको उल्लेख पाइन्छ । इतिहासमा उल्लेख भएबमोजिम आठौं शताब्दीतिर थाक्थाकुम माबोहाङले राज्य गरेको समयमा खजुम मन्त्री थिए भन्ने पाइन्छ । तथापि ती मन्त्री खजुमको बारेमा विस्तृत जानकारी पाउन सकिएको छैन ।

खजुमहरुको ऐतिहासिक योमुई/पोमोई चम्खासिं यक (पञ्चकन्या गढी) छत्थर क्षेत्रमा पर्नेे यकहरु मध्येको एक प्राचीन यक हो । यो यक तेह्रथुम जिल्लाको पञ्चकन्या गाउँ विकास समितिको वडा नं ४ मा पर्दछ । यसरी गर्मी समयमा चङसिङ गढीमा र जाडो समयमा पञ्चकन्यामा राज्य गरेको कुरा आफ्नो माङ्गेना गर्दा ‘चङसिङ गढीरे कुयेप्मासा, पञ्चकन्या गढीरे कुगप्मीसा’ भनेर मुन्धुम वाचन गरी ल्याएकोबाट प्रष्ट हुन आउँछ । (हाल आएर चङसिङ गढीलाई साँवा लिम्बूहरुले आफ्नो यक मान्दै आएका छन् ।) नेपाल एकिकरण अभियानसँगै गढीबाट शासन गर्ने व्यवस्थाको अन्त्य भएपनि त्यस्ता गढीहरुले लिम्बुवानको इतिहासमा लामो समयसम्म आफ्नो अस्तित्व बोकेका थिए । यसरी नेपालको इतिहासमा लामो समयसम्म आफ्नो अस्तित्व कायम राखी हाल भग्नावशेषको रुपमा रहेको गढी हो योमुई/पोमोई चम्खासिं (पञ्चकन्या गढी) यक ।

पहिलेको जनबोलीमा खजुमहरुको यस गढीलाई योमुई/पोमोई चम्खासिं यक भनिएता पनि अहिले आएर सबैले पञ्चकन्या पोखरी या गढी भनेर चिन्ने गरेको पाइन्छ । पञ्चकन्या नामाकरण चाँहि वि.सं. १८०० तिर त्यहाँका स्थानीय खौनन्द लेक्वा थरका खजुम लिम्बूले सपनामा हाल पञ्चकन्या अवस्थित पोखरीमा पाँचजना कन्याको दर्शन पाएको र त्यही पोखरीको छेउमा पञ्चकन्या देवीस्थान निर्माण गरेपछि पञ्चकन्या शब्दले व्यापकता पाएको देखिन्छ ।
यस पञ्चकन्या यकलाई कहिले र कुन अवस्थामा स्थापना गरिएको थियो भन्ने बारेमा हालसम्म प्रामाणिक दस्तावेजहरु पाउन सकिएको छैन । तर पनि यसको भग्नावशेषको अध्ययनबाट निश्चय नै यो यक प्राचीन यकहरु मध्येकै एक हो भन्नमा अत्युक्ति नहोला ।

वि.सं २०४४ अघिसम्म अन्दाजी तीन हात वा साढे पाँच फुट उचाईको पर्खालले घेरिएको र पर्खाल कुना–कुना पारेर उठाइएको अवस्थाको थियो । गढीमा नकुदिएका ढुंगाको चोसो चोसो कुना कुना निकालिएको तीन हात चौडाई र मान्छेको छाती छातीसम्म उचाई भएको ढुंगाको पर्खाल थियो । वि.सं. २००० सालमा स्थापित स्थानीय विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालयको पुननिर्माण गर्ने क्रममा सो पर्खाल भत्काई त्यहाँको ढुंगा प्रयोग गरिएकाले हाल सो पर्खाल अस्तित्वमा छैन । गढीको अवशेषका रुपमा यत्रतत्र छरिएर रहेका स–साना ढुंगाहरु, वरिपरि खाडल र भित्र पस्ने ठाँउ केवल एक ठाउँ मात्र रहेको छ । गढीको थुम्कीमा पुग्नलार्ई जताबाट गएपनि उकालो चढेर जानुपर्ने हुन्छ । गढीको थुम्की निकै उचाईमा रहेको छ ।

यो गढसँग सम्बन्धित प्राचीन ऐतिहासिक कोतघरको भग्नावशेष हालसम्म गढीको पूर्वोत्तरतिर रहेको छ । तोपखला वा तोपबर्षा भएको प्रसंग जुन यही गढीसँग जोडिन्छ । नाम मात्रको भएपनि कालुम राजा कालुम रानीको दरबार भएको भन्ने किंवदन्ती बोकेको एउटा थुम्को छ जसलाई हाल पनि सबैले कालुम डाँडा नै भन्ने गर्दछन् । गढीकै आसपासमा एउटा ओढार छ जसलाई हाङ्मा फुक्ताङ (रानी ओढार) वा कसैले युमा फुक्ताङ (बोजु ओढार) पनि भन्दछन् । गढीको तल ठूला–ठूला पोखरीहरु थिए तर ती पोखरीहरु भत्काएर खेल मैदान बनाइयो । हाल खेल मैदानको छेउमा सानो डुबुल्की भएको पोखरी मात्र अस्तित्वमा रहेको छ ।

यही पोखरी भएको वरिपरि सम्पूर्ण गाँउलाई छत्थर पोखरी भनिन्छ । पोखरीको बीचमा खौनन्द लेक्वा खजुम पुर्खाले स्थापना गरेको इट्टा, चुन र सुर्गीले जडान भएको गुम्वज शैलीको कलात्मक वराह मन्दिर छ । यहाँ बँदेल उत्पन्न भएको, खेलेको, खजुमहरुले लखेटेको, लखेट्दा दुःखविमार भएको र बराह मन्दिर स्थापना गरेपछि दुःख विमारबाट छुटकारा मिलेको किंवदन्ती छ । बराह लखेट्दा हाल फयाक भन्ने ठाँउमा बँदेलको पाइला भेटिएकोले फाकयक सुँगुरको पाइला भन्दा भन्दै फाकयकबाट फयाक भएको किंवदन्ती छ ।

गढीको केही माथि प्राचीनकालमा खजुम राजाका पुर्खाले सम्झौता गरी गाडिएको शिलास्तम्भ ‘सोत्लुङ्’ छ । जुन शिलास्तम्भ क्रमशः फुङ्याङ् राय (वयाङ्), कुम्भुङ् राय (कुरुम्भङ्) र जमुन राय (चोङ्वाङ्) खजुम थरका पुर्खाहरुले गाडेको भन्ने मान्यता छ । पारघरी र लेक्वा खजुम थरका पुर्खाको प्रतिशिला स्तम्भ तांखुवा गाउँ विकास समिति वार्ड नं ५ मा अवस्थित छ जसलाई ताङ्जुम्लुङ्/ ताङ्फुङ् लुङ् भनिन्छ । त्यही शिलास्तम्भमा पञ्चखत बाहेकका मुद्धाहरु पारघरी खजुमका पुर्खाले निशान साक्षी राखी सत्यधर्म भाकी इन्साफ गर्दथे भन्ने किम्बदन्ती छ । जुन शिलास्तम्भको समीपमा निशानस्थान वा निशान अवस्थित रहेको छ । समग्रमा भन्नुपर्दा लिम्बुवानका विभिन्न ठाउँहरुमा रहेका प्राचीन यकहरु मध्येको एउटा महत्वपूर्ण अस्तित्व बोकेको यक योमुई चम्खासिं (पञ्चकन्या यक) हो ।

खजुम रायको नाममा जारी भएको बि.सं १७१९को हरिश्चन्द्र सेन वृख सेनको श्याम मोहर अहिले सम्मको प्रकाशित मोहरमा सबैभन्दा पहिलो मोहर हो । यो यक ऐतिहासिक प्राचीन र समृद्ध भएको कुरा यस गढीसँग सम्बन्धित श्याम मोहर, खजुमहरुसँग ४ सिट नगरा निसान छ । यो नगरा निसान कुन समय कसको पालामा प्राप्त भएको हो भन्ने खोजीको बिषय छ । तर शाह राजाको पालामा यस नगरा निसान उल्लेख भएको लालमोहर (…हिजो हिन्दुपतिले बक्सेको नगरा निसान मान म¥यादा ज्या हो हामीले पनि बक्सयौं…इति सम्वत १८३९ श्रावण वदी ८ रोज ५ शुभम…), कोतघर, गढीको बनावट आदिबाट थाहा हुन्छ ।

विदेशी लेखक वी.एच हड्सनले सन् १८४६ देखि सन् १८५८ भित्र नेपाल र दार्जीलिङमा बसी संकलन गरेको लिम्बू भाषा र लिपिको हड्सन पाण्डुलिपि भोल्युम ७४ को दोश्रो उपखण्ड १७ (ख) पृ. १३५–१३६ मा छथरे लिम्बू भाषिकाको १८८ शब्द टिपिएका छन् । पृ.१४५ को उल्टो पातामा र पृ.१४६ मा खजुम बोलि भनेर छथरे लिम्बू भाषिकाको वाक्यहरु दिइएका छन् । तत्पश्चात लिम्बू जातिमा खेवा लिम्बूहरुको सीमाना दिएर खजुम लिम्बूहरुको थरहरु र तिनको किपटको चार किल्लाको विवरण दिइएको छ । छथरे लिम्बू भाषिकाको शब्द संकलनमा सहयोग गर्ने मूख्य सूचकका बारे तांषुवा गाउँको गुनमान लिम्बूको जवा नि खोजुम बोलि लेख्या को मिति ज्येष्ठ वदी १२ रोज ३ तपशिल वोलिज्मा भनि उल्लेख गरिएको छ । यसबाट छथरमा खजुमहरुको सो समयमा पनि बलियो उपस्थिति रहेको कुरालाई नकार्न सकिंदैन ।

यसको विस्तृत अध्ययन अनुसन्धान गरी उत्खनन् गर्न सकेको खण्डमा यस यकको ऐतिहासिक तथ्य जनमानसमा ल्याउन सकिने कुरामा दुईमत छैन । खजुम पुर्खाहरुको विरासतको रुपमा रहेको यस यकलाई भावी पुस्ताहरुसम्म अस्तित्वमा राखिराख्न उचित संरक्षण र संवद्र्धनको पनि उत्तिकै खाँचो रहेको छ । यसो गर्न सकेको खण्डमा यस क्षेत्रका पुरातात्विक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, जैविक तथा भौगर्भिक सम्पदाहरुको जगेर्णा हुने लगायत विविध धर्म, जाति, भाषा, सँस्कृति, भेषभूषा रहनसहन आदिको महत्व बढ्दै जानेछ । त्यस्ता बस्तुहरुको मौलिकता, संबेदनाशिलता कायम राख्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्न गई स्थानीय स्तरमा आयबृद्धि हुने र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।

यसका लागि देशको विकाससँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाय संवेदनशील हुनुपर्ने देखिन्छ । तथापि यसो हुन नसकिरहेको तीतो सत्यलाई मध्यनजर गर्दा यस यकसँग सम्बन्धित पक्षबाट नै पहल गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले यथासिघ्र देश विदेशमा रहेका सम्पूर्ण खजुम बन्धुहरु लगायत प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्ने महानुभावहरुबाट यस यकको संरक्षण र सम्बद्र्धन गर्नका निम्ति हातेमालो गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...