सुरेश यक्सो
प्रिय
तिमीले सम्झे जस्तै
तिमीले बुझे जस्तै म
कठोर पक्कै हैन
म त बिल्कुल
ठिङ्ग उभिएको एेंना मात्र हुँ
मलाई जसले पनि चिहाउन सक्छ
जिस्काउन सक्छ
हाँस्न, रून, रिसाउन सब गर्न सक्छ
भनिहालेँ म त एेंना हुँ
दुरुस्तै फर्कन पनि सक्छ
तिम्रो हाँसोमा
मैले पनि साथ दिएको थिएँ
तिम्रो रोदनमा
मैले पनि आसुँ पुछेको थिएँ
दु:ख सुख सबैमा म थिएँ
कठोर त समय बन्दोरहेछ
त्यो रहरहरू
त्यो रोमान्सहरू
त्यो दिनहरू
अनि हाम्रा ती बुझाईहरू
सधैं एकैनास कहाँ हुँदो र छ र
हो प्रिय
हामी यहीँनेर चुकेछौं
तिमीले भने जस्तै
तिमीले सोंचे जस्तै
निष्ठुरी पक्कै हैन
ती सबै
फेरिएका तिम्रा स्वाभावहरू
रुखो भएका तिम्रा बोलीहरु
बढेर चूली भएका तिम्रा थुप्रै इच्छाहरू
म भई ठोक्किएर
फिरेका प्रतिविम्वहरू मात्र हुन्
हो यहीँबाट ठोक्किएर
फर्काउनुको पीडा
मलाई पनि उस्तै छ
मलाई प्रहार गर्ने
ती प्रतिविम्वका टुक्राहरूलाई
एकत्रित गरेर हेर
तिमीले आफ्नै आकार पाउनेछौं
अनि दाँजेर हेर्नु मसँग
दृष्टिभ्रम यति हो
शिशा सम्झी
एकोहोरो बाण हानिरह्यो
म त एेंना भएर निस्केको मात्र न हुँ |
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।